बिहीबार, १३ असार २०८१
ताजा लोकप्रिय

अक्सफोर्डभन्दा ६०० वर्ष पहिले खुलेको थियो यो विश्वविद्यालय, खिलजीले आगो लगाएर पारेका थिए ध्वस्त

बुधबार, ०५ असार २०८१, १५ : ०६
बुधबार, ०५ असार २०८१

बिहार । झन्डै ८०० वर्षको प्रतीक्षापछि नालन्दा विश्वविद्यालय आफ्नो पुरानो स्वरूपमा फर्किँदै छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबार नालन्दा विश्वविद्यालयको नयाँ क्याम्पसको उद्घाटन गरेका छन् । यसलाई धेरैले ऐतिहासिक महत्वका रूपमा हेरेका थिए नालन्दा विश्वको पहिलो आवासीय विश्वविद्यालय भएको बताइन्छ ।

कति पुरानो छ नालन्दा विश्वविद्यालय ?

दुनियाँको शीर्ष विश्वविद्यालयको कुरा आउँदा बेलायतको अक्सफोर्ड विश्वविद्यालयको नाम आउँछ । तर नालन्दा विश्वविद्यालय अक्सफोर्ड भन्दा सयौँ वर्ष पुरानो हो । यो विश्वविद्यालयको निर्माण ५ औँ शताब्दीतिर गुप्त कालमा सुरु भएको थियो । ७ औँ शताब्दीसम्म आइपुग्दा यो महान् विश्वविद्यालय बनिसकेको थियो । यो विशाल बौद्ध मठको हिस्सा रहेको र यो झन्डै ५७ एकड क्षेत्रफलमा फैलिएको थियो ।

केही रिपोर्टले त विश्वविद्यालय यो भन्दा धेरै क्षेत्रफलमा फैलिएको दाबी पनि गरेका छन् । विश्वविद्यालय आँपको बगैँचामा बनेको र यसलाई व्यापारीहरूले गौतम बुद्धलाई दिएको भन्ने पनि सुनिन्छ । आधुनिक संसारलाई यो विश्वविद्यालयबारे १९ औँ शताब्दीमा मात्रै थाहा भयो । कयौँ शताब्दीसम्म विश्वविद्यालय माटोमुनि पुरिएको थियो । सन् १८१२ मा बिहारका स्थानीयहरूले बुद्ध मूर्ति भेटे । त्यसपछि विदेशी इतिहासकारहरूले यसमाथि अध्ययन गर्ने क्रममा विश्वविद्यालयको बारेमा थाहा भयो ।

को–को आउँथे पढ्न ?

कुनै समयमा महानम् शिक्षकहरूले पनि यही विश्वविद्यालयमा पढेका थिए । यी मध्ये केही नागार्जुन, बुद्धपालिता, शान्तरक्षिता र आर्यदेव आदि हुन् । विश्वविद्यालयमा अध्ययन गर्न भने चीन, ग्रिस, पर्सिया, तिब्बत कयौँ देशबाट मानिस आउँथे । चीनका प्रसिद्ध यात्री र विद्वान ह्वेन साङ्ग, फह्यान र इतिसङ्गले पनि यही पढेका थिए । ह्वेन साङ्ग यहाँ ६ वर्षसम्म कानुन पढेका थिए ।

कति ठुलो थियो विश्वविद्यालय ?

यो विश्वविद्यालय अति नै ठुलो थियो । यहाँ ३०० कोठा, ७ ठुला कक्ष र पढ्नका लागि ९ तले पुस्तकालय भएको बताइन्छ । हरेक विषयको गहन अध्ययनका लागि ९ तले पुस्तकालय भएको र यहाँ ९० लाखभन्दा धेरै पुस्तकहरू भएको बताइन्छ ।

विश्वविद्यालयमा आगो लाग्दा ३ महिनासम्म आगो बलिरहेको थियो भन्ने कथन पनि सुन्नमा आएका छन् । यो विश्वविद्यालय कति ठुलो रहेछ भन्ने कुरा यसबाट पनि अनुमान गर्न सकिन्छ । यो विश्वविद्यालयलाई ज्ञानको भन्डार मानिन्थ्यो । यहाँ धार्मिक ग्रन्थ बाहेक साहित्य, उपचार, धर्मशास्त्र, तर्क शास्त्रलगायत कयौँ विषयको पढाई हुन्थ्यो । त्यतिबेला यहाँ संसारमा अन्यत्र कतै पढाई नहुने विषय पनि पढाइन्थ्यो भनिन्छ।

कसरी भयो ध्वस्त ?

यो विश्वविद्यालयले ७०० वर्षसम्म ज्ञानको ज्योति बाँडिरह्यो । यहाँ बारम्बार हमला पनि भए । तर १२ औँ शताब्दीमा तुर्को–अफगानी सेना प्रमुख बख्तियार खिलजीले विश्वविद्यालयलाई जलाइदिए ।

एक पटक खिलजी निकै बिरामी भए ।कयौँ तरिकाले उनको उपचार गरियो । तर उनको रोग निको भएन । त्यसपछि रिसले खिलजीले सन् ११९३ मा विश्वविद्यालयका पुस्तकालयमा आगो लगाइदिए । सो घटनामा सारा विश्वविद्यालय ध्वस्त भएको बताइन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप