बिहीबार, १३ असार २०८१
ताजा लोकप्रिय

पेरिस पारा ओलम्पिक खेल्न भरत महताले पाए ‘वाइल्ड कार्ड’

बुधबार, ०५ असार २०८१, १४ : ५७
बुधबार, ०५ असार २०८१

काठमाडौँ । पारा तेक्वान्दो खेलाडी भरतसिंह महताले पेरिस पारा ओलम्पिक–२०२४ मा सहभागिता जनाउने भएका छन् ।  भरत ‘वाइल्ड कार्ड’ कोटामार्फत पेरिस पारा ओलम्पिकका लागि छनोट भएको जानकारी नेपाल तेक्वान्दो संघले दिएको छ ।

विश्व तेक्वान्दोले मंगलबार पत्र पठाई भरतको सहभागिता निश्चित गरेको संघले जनाएको छ । भरतले पेरिस पारा ओलम्पिकमा के–४४ क्याटगोरीअन्तर्गत पुरुष ५८ केजीमुनि तौलसमूहमा प्रतिस्पर्धा गर्ने बताइएको छ ।

पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामाका अनुसार, यो तौलसमूहमा १२ खेलाडी सहभागी रहने छन् । उक्त समूहमा छनोट हुने भरत अन्तिम खेलाडी हुन् । वरीयताका आधारमा ६ खेलाडी र बाँकी पाँच खेलाडीले छनोट चरण पार गरी सहभागिता सुनिश्चित गरिसकेका थिए ।

दार्चुला अपिहिल गाउँपालिका वडा नम्बर ८ का २७ वर्षीय भरत विगत १८ महिनादेखि राष्ट्रिय टिममा रहेर प्रशिक्षण गर्दै आइरहेका छन् । भरतसँग हालसम्म दुईवटा अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको अनुभव छ । उनले चीनको ताइयानमा गत चैत २ देखि ४ गतेसम्म पेरिस ओलम्पिकका लागि भएको एसियाली छनोट र भियतनामको दनाङमा जेठ ६ गते भएको नवौं एसियाली पारा तेक्वान्दो प्रतियोगितामा सहभागिता जनाएका थिए ।

एसियाली छनोटको पहिलो खेलमा इन्डोनेसियाका खेलाडीलाई पराजित गरी सेमिफाइनल पुगेका भरत सेमिफाइनलमा मंगोलियाका खेलाडीसँग पराजित भएका थिए । उक्त प्रदर्शनपछि भरत विश्व वरीयताको ८१औँ स्थानमा पुगेका थिए । त्यसअघि उनी वरीयताविहीन थिए ।

भियतनाम पनि भरतले एसियाली छनोटकै नतिजा आत्मासात् गरेका थिए । पहिलो खेलमा काजाकिस्तानका खेलाडीलाई हराएका भरत दोश्रो खेलमा अजरबैजानका खेलाडीसँग हारेका थिए । भियतनामको प्रदर्शनपछि भरत विश्व वरीयताको ५८औँ स्थानमा उक्लिएको जानकारी प्रशिक्षक लामाले दिएका छन् ।

पेरिस पारा ओलिम्पिकमा नेपालबाट तेक्वान्दोमा सहभागी हुने खेलाडीको संख्या दुई पुगेको छ । पलेशा गोबर्धन यसअघि नै छनोट भइसकेकी छन् । पलेशा भने छनोट चरण पार गर्दै पेरिस पारा ओलम्पिकका लागि छनोट भएकी हुन् ।

चीनको ताइयानमै भएको एसियाली छनोटको के–४४ क्याटगोरीअन्तर्गत महिला ५७ केजीमूनि स्वर्ण जित्दै पलेशाले पेरिस यात्रा पक्का गरेकी थिइन् । चौथो एसियाली पारा खेलकुदकी ऐतिहासिक कांस्य विजेता पलेशा छनोट चरण पार गरेर पारा ओलम्पिक खेल्ने पहिलो नेपाली खेलाडी पनि हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप