बिहीबार, १३ असार २०८१
ताजा लोकप्रिय

विराटनगरमा १ अर्ब १५ करोडका योजना सञ्चालन

बुधबार, ०५ असार २०८१, १४ : १६
बुधबार, ०५ असार २०८१

विराटनगर । आन्तरिक राजस्व खुम्चिएको अवस्थामा पनि विराटनगर महानगरपालिकाभित्र १ अर्ब १५ करोडभन्दा बढीका विभिन्न योजनाहरू सञ्चालनमा रहेका छन् । 

हाल  १९ वटै वडामा १ अर्ब १५ करोडभन्दा बढीका ठुला साना परियोजना सञ्चालन भइरहेका हुन् ।

 वडास्तरमा पनि १ करोडभन्दा माथिका थुप्रै योजनाहरू निर्माणको चरणमा रहेका छन् । सीमित स्रोत साधनको बाबजुद पनि हामीले विराटनगरको विकासलाई समानुपातिक रूपमा अगाडि बढाइरहेको मेयर नागेश कोइरालाले बताए । 

 अनुसार वडा नम्बर १ मा २ करोड ११ लाखको लागतमा बाल उद्यान, १ करोडको लागतमा वडा कार्यालय भवन, वडा नम्बर २ मा ५ करोडको लागतमा सन्ध्याकालीन आरतीस्थल, ४ करोडको लागतमा त्रिभुवनमार्गमा कालोपत्रे निर्माणाधीन चरणमा रहेका छन् । 

वडा नम्बर ५ मा १२ करोडको लागतमा महानगर बहुप्राविधिक शिक्षालयको भवन पनि निर्माण भइरहेको छ । १ करोडको लागतमा डिपीएस दक्षिणमा नाला र सडक पनि बनिरहेको छ । वडा नम्बर ६ मा ५ करोड ३८ लाखको लागतमा विएफएम अगाडिको सडक अब कालोपत्रे हुन मात्रै बाँकी रहेको मेयर कोइरालाले जानकारी दिए । 

 वडा नम्बर ७ मा १७ करोडको लागतमा प्रधानमन्त्री पार्क, १४ करोड ७५ लाख रुपैयाँको लागतमा महानगरको प्रशासनिक भवन, वडा नम्बर ७ मै २२ करोडको लागतमा निर्माण भएको वीरेन्द्रसभा गृह हस्तान्तरणको चरणमा पुगेको छ । वडा नम्बर ७ स्थित श्मसान घाट जाने सडकको निर्माणले पनि गति लिएको छ । विराटनगर–८ स्थित विश्वकर्मा चोकदेखि रेल्वे हुँदै सिंघियासम्मको सडक पनि धमाधम निर्माण भइरहेको छ । 

वषौंदेखि जीर्ण रहेको विराटनगर बसपार्कदेखि पश्चिम पिचरा जाने सडक करिब १ करोडको लागतमा नालासहित कालोपत्रे हालै सम्पन्न भएको छ ।

 विराटनगर–११ को केशलिया रोडदेखि रानीसम्मको नहरको डिलको सडक निर्माणका लागि ६ करोडमा ठेक्का लागिसकेको छ । विराटनगर–१२ नम्बरस्थित लेखनाथ वाचनालयदेखि पश्चिम १ करोडको लागतमा नाला, विराटनगर–१३ आँखा अस्पताल अगाडिको सडक ३ करोडको लागतमा निर्माण भइरहेको छ भने १४ नम्बर वडास्थित भगवती मार्गको सडक पनि १ करोडको लागतमा धमाधम निर्माण भइरहेको छ ।

 महानगरको बहुवर्षीय योजनाअन्तर्गत वडा नम्बर १४ मा ५ करोडको लागतमा रानीपोखरी, ६ करोड बढीको लागतमा मण्ठापोखरी पनि धमाधम निर्माण भइरहेको भौतिक पूर्वाधार महाशाखाका प्रमुख इन्जिनियर अर्जुन थापाले जानकारी दिनुभयो । करिब १ करोड लागतमा १५ नम्बर वडाको सुँडी टोलस्थित नाला र सडक निर्माण, १ करोडकै लागतमा १६ नम्बर वडाको आर्जे क्लिनिक पूर्व तथा परागमान श्रेष्ठको घर अगाडिको सडक निर्माणले पनि गति लिएको उनले बताए । 

 १७ नम्बर वडाको मटेरुवा चोकदेखि पूर्वको सडक, १८ नम्बर वडाको फडानी चोकदेखि नहर हुँदै उत्तर निर्माण भइरहेको सडकको लागत पनि १ करोड रहेको छ । विराटनगर–१८ स्थित विराट राजाको दरबार उत्तरमा रहेको पोखरीलाई करिब ८० लाख रुपैयाँको लागतमा आकर्षक बनाइएको छ । सिंढीसहितको पोखरीलाई आकर्षक तरिकाले घेराबारासमेत गरिएको छ ।

 त्यस्तै विराट राजाको दरबार क्षेत्रको सरसफाईसँगै पर्खालमा रंग लगाएर चिटिक्क पारिएको छ । वडा नम्बर १९ मा पर्ने पञ्चकन्या मार्गको सडक पनि १ करोडको लागतमा निर्माण भइरहेको छ । यी बाहेक चालु आर्थिक वर्षको बजेटबाट वडास्तरका १ करोडभन्दा मुनि लागतका दर्जनौँ योजनाहरू सम्पन्न हुने क्रममा रहेको उहाँको भनाइ छ । विगत दुई वर्षको अवधिमा २० किलोमिटर कालोपत्रे भएको छ भने ४२ किलोमिटर नयाँ सडकमा ग्राभेल गरिएको छ । विभिन्न वडामा १ सय ५२ वटा कल्भर्ट निर्माण गरिएको छ । 

वडास्तरमा पनि कालोपत्रे, ग्राभेल, रिटेरिङ वाल, विभिन्न सामुदायिक भवनको निर्माण तीव्रता पाएको छ । महानगरको निरन्तरको अनुगमनले गुणस्तरीय सँगै सम्झौताभन्दा अगाडि नै धेरै योजनाहरू सम्पन्न भइरहेको उपमेयर शिल्पा निराला कार्कीले बताइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप