बुधबार, १४ कात्तिक २०८१
ताजा लोकप्रिय

‘५ सय र हजारका नोटमा प्रतिबन्ध लगाए ८० प्रतिशत गैरकानुनी कारोबार रोकिन्छ’

बुधबार, ०५ असार २०८१, १४ : ०१
बुधबार, ०५ असार २०८१

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले पाँच सय र हजारका नोटमा प्रतिबन्ध लगाउन सरकारसँग माग गरेका छन् । 

मुलुकमा आर्थिक सुशासन कायम गर्ने हो भने सरकारले ५ सय र हजारको नोट प्रतिबन्ध लगाउनुपर्ने उनको जिकिर थियो । बुधवार प्रतिनिधि सभा बैठकमा युवा तथा खेलकुद मन्त्रालयको विनियोजित बजेटमाथिको छलफलमा भाग लिँदै उपसभापति गुरुङले ती नोटहरू प्रतिबन्ध गरियो भने मुलुकमा ८० प्रतिशत भ्रष्टाचार नियन्त्रण हुने, सोही अनुपातमा  गैरकानूनी कारोबार रोकिने र ८० प्रतिशत राजस्व चुहावट नियन्त्रण हुने दाबी समेत गरे । उनले अवैध रूपमा राखिएका धनराशि पनि ५ सय र हजारका नोटमा प्रतिबन्ध लगाएपछि बाहिर आउने उल्लेख गरे । 

उनले भने, ‘आर्थिक सुशासनका लागि मेरो प्रस्ताव हो यो–५ सय र हजारको नोट क्वीट गर्न सक्नुपर्दछ । सरकारमा बसेका साथीहरूलाई म यो निवेदन गर्न चाहन्छु सभामुख महोदय । आजको दिनमा यदि आर्थिक सुशासन सुशासन कायम गर्ने हो भने हामीले ५ सय र हजारको नोट अब क्वीट गरेर जान आवश्यक छ । यदि यी नोटहरू क्वीट गर्‍यौं भने ८० प्रतिशत गैरकानूनी कारोबार रोकिन्छ ।’

उपसभापति गुरुङले सिरानी मुनि, खाटमुनि, जमिनमुनि र  पानीमुनि भएका सबै पैसा बाहिर ल्याउनका लागि पनि सरकारले ५ सय र हजारको नोटमा तत्काल प्रतिबन्ध लगाउन आवश्यक रहेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप