बिहीबार, १३ असार २०८१
ताजा लोकप्रिय

दुग्ध किसानहरूले पाउने भुक्तानी सरकारले तत्काल उपलब्ध गराउनुपर्छ : सचेतक बर्तौला

बुधबार, ०५ असार २०८१, १३ : २२
बुधबार, ०५ असार २०८१

काठमाडौँ ।  नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले दुग्ध किसानहरूको भुक्तानी तत्काल गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । बुधवारको प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले दुग्ध किसानहरूले पाउने भुक्तानी सरकारले तत्काल उपलब्ध गराउनुपर्ने बताए । 

उनले संविधान बमोजिम शान्तिपूर्ण ढंगबाट आफ्ना मागहरू लिएर आन्दोलन गरिरहेका किसानहरूमाथि प्रहरीले हस्तक्षेप गर्नु उचित नभएको बताए । उनले किसानहरूको जायज मागलाई अविलम्ब सम्बोधन गरी दुधको रकम भुक्तानी गर्न सरकारले ढिलाइ गर्न नहुने बताए । 

उनले भने, ‘संविधान बमोजिम शान्तिपूर्ण ढंगबाट आफ्ना मागहरू लिएर आन्दोलन गर्न पाउने त्यो नागरिकहरूको अधिकार हो । संवैधानिक हकको अधिकार हो । यो देशका झन्डै ६ लाख भन्दा बढी किसानले विशेष गरी दुध किसानहरूले आफूले बेचेको दुधको रकम भुक्तानी पाउँ भनेर आजदेखि काठमाडौँमा आन्दोलन सुरु गर्नुभएको छ । आज बिहानदेखि उहाँहरूले आन्दोलनका कार्यक्रम अघि बढाउनु भयो । यो आन्दोलनका कार्यक्रम उहाँहरूले अपर्झट कसैलाई थाहा नदिई गरेको होइन । प्रशासनलाई, गृह प्रशासनलाई जानकारी दिएर सूचना गरेर यो ठाउँमा कार्यक्रम गर्छु भनेर अनुमति लिएर उहाँहरूले धर्ना गर्दै हुनुहुन्थ्यो । दुध किसानहरूले काठमाडौँको दुग्ध विकास संस्थान लैनचौरको परिसरमा धर्ना बस्दै हुनुहुन्थ्यो । प्रहरीहरूको धरपकड भयो, प्रहरीले ४५ भन्दा बढी किसानहरूलाई गिरफ्तार गर्‍यो । उहाँहरूमाथि मर्यादित व्यवहार भएन भन्ने छ ।’ 

’किसानहरूको जायज माग छ । उहाँहरूको न्यायोचित विषय छ । उहाँहरूले दुध बेच्नुभयो । सरकारलाई बेच्नुभयो, निजी व्यक्तिहरूलाई बेच्नुभयो । दुध बेचेको रकम लिन आन्दोलन गर्नुपर्ने परिस्थितिमा किसानहरू पुगे । सरकारबाट झन्डै २ अर्ब किसानहरूले रकम प्राप्त गर्नुपर्नेछ । निजीबाट झन्डै ३ अर्ब छ । ६ लाख किसानहरूको दुधको रकम झन्डै ६ अर्ब राज्यबाट वा निजी डेरीबाट प्राप्त गर्नुपर्नेछ । उहाँहरू भुक्तानी नपाउँदा पीडित हुनुहुन्छ । दुधको भुक्तानी बक्यौता अविलम्ब प्राप्त गराइयोस् । भुक्तानी गरियोस्,’ उनले थपे । उनले सरकारलाई वार्ताको माध्यमबाट भुक्तानीको सुनिश्चितता गर्न आग्रह गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप