बिहीबार, १३ असार २०८१
ताजा लोकप्रिय
न्यायालय

निर्वाचन नतिजाविरुद्धका मुद्दा १८ महिनापछि पेशीमा

बुधबार, ०५ असार २०८१, १२ : ४४
बुधबार, ०५ असार २०८१

काठमाडौँ । २०७९ मङ्सिरमा भएको निर्वाचनको परिणामलाई लिएर सर्वोच्चमा दायर भएका मुद्दा करिब १८ महिनापछि पेशी चढेका छन् ।

एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल, नेकपा एमालेका कर्णबहादुर थापा, नेपाली कांग्रेसका महेन्द्र यादव, सुरेन्द्र चौधरीसहितले पुन मतदान र मतगणनाको माग गर्दै दायर निवेदनलाई सर्वोच्चले बल्ल पेशी तोकेको हो । सर्वोच्चको संवैधानिक इजलासमा वुधवार निर्वाचन सम्बन्धी मुद्दाहरूको पेशी तोकिएको हो ।

प्रधानन्यायाधीश विश्वभरप्रसाद श्रेष्ठ, न्यायाधीशहरू प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुङ्गाना र मनोजकुमार शर्माको इजलासमा पेशी तोकिएको छ । निर्वाचन सम्बन्धी विवाद संवैधानिक इजलासले टुङ्गो लगाउने संवैधानिक व्यवस्था भएकाले यी विवाद सिधै संवैधानिक इजलासमा पेशी चढ्नेगरि दर्ता भएका थिए ।

निर्वाचन सम्बन्धी १७ थान निवेदनलाई एकै पटक पेशी तोकिएको सर्वोच्चले जनाएको छ । यी रिटमा पहिलो सुनुवाइ सकेर दोस्रो सुनुवाइका लागि बुधबार पेशी तोकिएको हो । २०७९ मंसिर र पुसमा दायर यी निवेदनहरू बिस्तारै औचित्य समाप्त हुनेतर्फ गइरहेका छन् ।

थोरै मतान्तरले पछि परेर पराजित भएका, मतदानकै समयमा चित्त नबुझेर परिणामपछि सर्वोच्च पुगेका र समानुपातिक सांसद चयनका क्रममा भएका विवादहरू सर्वोच्च पुगेका थिए । तीमध्ये सर्वोच्च पुग्ने पूर्व प्रधानमन्त्री खनाल एक्ला हुन् ।

नेकपा एकीकृत समाजवादीका नेता खनाल इलाम १ प्रतिनिधिसभाको चुनावमा पराजित भएका थिए ।  उनी एमालेका मोहन बस्नेतसँग पराजित भएका थिए पराजित भएपछि खनालले निर्वाचन बदर गरी पुन: मतदानको माग गर्दै २०७९ मंसिर २७ गते रिट दायर गरेका थिए । उक्त रिटमा २०७९ पुस ६ गते कारण देखाऊ आदेश जारी भएको थियो । त्यसपछि सुनुवाइ हुन सकेको थिएन । त्यस्तै अर्को मुद्दा दायर गर्ने नेता थिए नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादव । उनी धनुषाबाट नेकपा एमालेका सचिव रघुवीर महासेठसँग पराजित भएका थिए ।

धनुषा निर्वाचन क्षेत्र नम्बर ४ मा महासेठले यादवलाई १ सय २४ मतको मतान्तरले पराजित गरेका थिए । महासेठले ३२ हजार २ सय ३६ मत ल्याउँदा यादवले ३२ हजार १ सय १२ मत पाएका थिए ।

मतगणनाको क्रममा धाँधली भएको भन्दै यादवले २०७९ मंसिर २८ गते सर्वोच्चमा रिट दायर गरेका थिए । त्यस्तै नेकपा एमालेका कर्णबहादुर थापाले पनि सर्वोच्चमा रिट दायर गरेका थिए ।

बाजुरामा नेपाली कांग्रेसका उम्मेदवार बद्रीप्रसाद पाण्डे प्रतिनिधिसभा सदस्यमा विजयी भएपछि थापा सर्वोच्च पुगेका । पाण्डेले ३१ हजार ७ सय ८६ मत ल्याएका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी थापाले २६ हजार ३४९ मत पाएका थिए । थापा ५ हजार ४३७ मतान्तरले पराजित भएका थिए ।

निर्वाचनमा तत्कालीन सत्तापक्षले धाँधली गरेको आरोप लगाउँदै एमालेले पुनः मतदान गर्न माग राख्दै निर्वाचन आयोगमा उजुरी दिएको थियो । एमालेको उजुरी पछि आयोगका टोलीले स्थलगत रिर्पोटिङ गरेर पुनः मतदान गर्न नपर्ने गरी मतगणना अघि बढाउन निर्देशन दिएको थियो । त्यहाँ निर्वाचन भएको ११ दिनपछि मतगणना भएको थियो । तर आयोगको निर्णय गैरकानुनी भन्दै थापाले पुन निर्वाचनको माग गरेर २०७९ पुस ३ गते रिट दायर गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप