बिहीबार, १३ असार २०८१
ताजा लोकप्रिय

काठमाडौँ विश्वविद्यालयले दुर्गा प्रसाईंको बीएण्डसी मेडिकल कलेजको अनुगमन गर्ने

बुधबार, ०५ असार २०८१, ११ : ५५
बुधबार, ०५ असार २०८१

काठमाडौँ । चिकित्सा शिक्षा आयोगले झापास्थित बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिने निर्णय गरेको छ । मंगलबार आयोगका अध्यक्ष प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको बैठकले सम्बन्धन दिने निर्णय गरेको थियो ।

अब आयोगले काठमाडौँ विश्वविद्यालयलाई उक्त निर्णयबारे जानकारी गराउनेछ । आयोगका सदस्य–सचिव कृष्णप्रसाद काप्रीले उक्त निर्णयबारे जानकारी गराएपछि काठमाडौँ विश्वविद्यालयले थप प्रक्रिया अगाडि बढाउने बताए ।  

‘अब विश्वविद्यालयले अनुगमन गरेर भौतिक पूर्वाधार, फ्याकल्टीहरू सबै हेर्नेछ । त्यो क्रममा आयोगको टोली पनि जान्छ । भौतिक पूर्वाधार लगायतका विषय हेरेर सम्बन्धन पाएपछि सिट निर्धारण गरिन्छ,’ सदस्य–सचिव काप्रीले भने ।

विश्वविद्यालयले सम्बन्धन दिएपछि अन्य प्रक्रिया अगाडि बढ्ने उनको भनाइ छ । आयोगले हरेक वर्ष मेडिकल कलेजहरूको सिट निर्धारण गर्दै आएको छ । सोही आधारमा यो वर्षका लागि बीएण्डसीसँगै अन्य मेडिकल कलेजहरूको समेत सिट तोकिने काप्रीले बताए ।

भौतिक पूर्वाधार लगायतका अन्य क्षमता हेरेर कति सिट तोक्ने भनेर आयोगको सिट निर्धारण समितिले तोक्ने उनको भनाइ छ ।

सर्वोच्च अदालतले जेठ २४ गते काठमाडौँ विश्वविद्यालय र चिकित्सा शिक्षा आयोगका नाममा परमादेश जारी गर्दै १५ दिनभित्र बीएण्डसीलाई सम्बन्धन दिन आदेश दिएको थियो । यही शैक्षिक सत्रबाट पठनपाठन गर्न पाउनेगरी व्यवस्था मिलाउन भनेको थियो । उक्त परमादेशपछि काठमाडौँ विश्वविद्यालय कार्यकारी समितिको जेठ २७ गते बसेको बैठकले आयोगलाई सम्बन्धन दिनका लागि लेखी पठाउने निर्णय गरेको थियो । सोही आधारमा मंगलबार बसेको आयोगको बैठकले सम्बन्धन दिने निर्णय गरेको थियो ।

बीएण्डसीले २०६४ सालमा नै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट आशय पत्र लिएको थियो । आशय पत्र लिएर पूर्वाधार तयार पारेर सञ्चालनको तयारी गरेको थियो । तर, २०७५ सालमा चिकित्सा शिक्षा ऐन जारी भएपछि सम्बन्धन पाउन सकेको थिएन । त्यसपछि मेडिकल कलेज सञ्चालक दुर्गा प्रसाईँ सर्वोच्च पुगेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप