बिहीबार, १३ असार २०८१
ताजा लोकप्रिय

प्राइम सहकारी घोटाला प्रकरण : डेढ अर्ब अपचलनमा ६५ जना प्रतिवादी

बुधबार, ०५ असार २०८१, ११ : ५१
बुधबार, ०५ असार २०८१

पोखरा । पोखराको प्राइम सहकारी घोटाला प्रकरणको मुद्दा अदालत पुगेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले विज्ञसहित अनुसन्धान गरेर सरकारी वकिलको कार्यालयमा प्रतिवेदन पठाइएपछि उक्त मुद्दा कास्की जिल्ला अदालत पुगेको हो ।

अहिलेसम्मको अनुसन्धानमा प्राइम सहकारीमा सर्वसाधारणले बचत गरेको डेढ अर्बभन्दा बढी रकम अपचलन भएको पुष्टि भएको छ । जिल्ला सहकारी वकिलको कार्यालयले सहकारीका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रमणि पौडेलसमेत ६५ जनालाई प्रतिवादी बनाएर ८ देखि १० वर्षसम्म कैद सजाय तथा १ अर्ब ५७ करोड १५ लाख ८ हजार १ सय २४ रुपैयाँ ८५ पैसा बिगो रकम माग दाबीसहित आइतबार कास्की जिल्ला अदालतमा अभियोग पत्र दायर गरेको छ ।

मुद्दामा मंगलबारदेखि थुनछेक बहस सुरु भएको छ । मंगलबार न्यायाधीश रामचन्द्र शर्माको इजलासमा सरकारका तर्फबाट जिल्ला सरकारी वकिलको कार्यालय कास्कीका सहायक जिल्ला न्यायाधिवक्ता शान्तिदेवी शर्माले बहस गरेको जिल्ला अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए ।

बहस नसकिएपछि मुद्दालाई हेर्दाहेर्दैमा राखेको छ भने बुधबार पनि निरन्तर बहस हुने अदालतले जनाएको छ ।

पहिलो दिन ९ जना प्रतिवादीलाई अदालतमा हाजिर गराइएको छ । गैह्रापाटनमा कार्यालय रहेको प्राइम सहकारी ठगी मुद्दामा सहकारीका पूर्व तथा वर्तमान पदाधिकारी, कर्मचारी, लेखापरीक्षक, नेपाल सरकारका कर्मचारी समेतलाई विपक्षी बनाइएको छ ।

सहकारी ठगीको प्रारम्भिक रिपोर्ट पाएपछि कास्की प्रहरीले जेठ १ गते सहकारीका निवर्तमान अध्यक्ष निदेशप्रसाद कोइराला सहित ८ जनालाई पक्राउ गरेको थियो । सोही दिन बचतकर्तालाई उजुरी दिन आह्वान पनि गरेको थियो । जेठ २० गतेभित्र ९ सय ९३ बचतकर्ताले उजुरी दिएका थिए । सहकारीमा बचत खाता ३ हजार ५ सय ८५ र १ हजार ८ सय ६२ बचतकर्ता रहेका छन् ।

सहकारी रकम अपचलन गरेको अभियोगमा अध्यक्ष शंकर कार्की, सहकारी व्यवस्थापक निरु थापा केसी, प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रमणि पौडेल, कानुनी सल्लाहकार इन्द्रप्रसाद बराल, पूर्व कोषाध्यक्ष कुलदीप भट्टराई, कर्जा अधिकृत सुनिल थापा र शेयर सदस्य एवं सल्लाहकार मानबहादुर गुरुङ छन् । कानुनी सल्लाहकार बराल बन्दी प्रत्यक्षीकरण रिटमा तारेखमा छुटेपछि हाल उनी फरार छन् ।

अर्का प्रतिवादी सन्तोष घिमिरेलाई कारागारबाट झिकाइएको छ । घिमिरे पोखराकै मित्रमिलन सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा थिए । प्रहरीले उत्तम मगरलाई पनि थुनछेक बहसमा उपस्थित गराएको थियो । हालसम्म ९ जना उपस्थित भएपनि अन्य ५६ जना प्रतिवादी अझै फरार सुचीमा छन् । अभियोग पत्रमा मुख्य योजनाकारका रूपमा प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रमणि पौडेल र व्यवस्थापक निरु थापा भएको ठहर गरिएको छ । प्रतिवादी बनाइएका ६५ जनामध्ये सबैलाई सहकारी ठगी र केहीलाई सम्पत्ति शुद्धीकरणमा मुद्दा चलाउनुपर्ने राय रिपोर्टमा छ ।

यो प्रकरणमा सहकारी विभाग काठमाडौँका पूर्व कर्मचारीले रकम लिएको, सहकारीकै खर्चबाट वैदेशिक भ्रमण गएको, सहकारी विभागबाट अनुगमनमा आएका शाखा अधिकृत सन्देशप्रसाद जोशी र नासु कमल पोखरेलले समेत १५ लाख रकम लिएको अभियोग छ ।

गण्डकीका पूर्व सहकारी रजिस्ट्रार उदयबहादुर पराजुली, सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय कास्कीका तत्कालीन प्रमुख बद्रीनाथ अधिकारी, सहकारी डिभिजन कार्यालयका कर्मचारी बालकृष्ण सुवेदी र राष्ट्रिय सहकारी बैंक पोखराका शाखा प्रमुख सन्तोष घिमिरेले पनि रकम र अन्य सुविधा लिएको अभियोग पत्रमा आरोप छ ।

बद्रीनाथ अधिकारी अहिले गण्डकी प्रदेश नीति तथा योजना आयोगको सचिवका रूपमा कार्यरत छन्, उनी अहिले फरार छन् । पराजुली मित्रमिलन सहकारीको ठगीमा पनि छानबिनकै क्रममा छन् । फरार रहेका ५६ जनै प्रतिवादीलाई पक्राउ गर्न प्रहरीले आफ्नो संरचना परिचालन गरिसकेको कास्की प्रहरी प्रमुख एसपी मोहनबहादुर थापाले जानकारी दिए ।

यसअघि पोखरामै कार्यालय रहेका सूर्यदर्शन, शिवशिखर, इमेज, मित्रमिलन, विन्ध्यावासिनी, बलिदानी लगायत सहकारीमा पनि ठुलो रकम अपचलन भएको घटना सार्वजनिक भएको थियो । ती सहकारीका बचतकर्ता पीडितले पनि न्याय पाएका छैनन् । नेपाल सरकारका उच्च तहका कर्मचारीसमेत मुछिएको प्राइम सहकारी ठगी गण्डकी प्रदेशमै सबैभन्दा ठुलो प्रकरण हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप