बिहीबार, १३ असार २०८१
ताजा लोकप्रिय

राष्ट्रपतिको स्विट्जरल्यान्ड र जर्मनी भ्रमण फलदायी र सफल : परराष्ट्र मन्त्रालय

बुधबार, ०५ असार २०८१, ११ : ३४
बुधबार, ०५ असार २०८१

काठमाडौँ । परराष्ट्र मन्त्रालयले राष्ट्रपति रामचन्द्र पौडेलको स्विट्जरल्यान्ड र जर्मनीको भ्रमण फलदायी र सफल रहेको जनाएको छ । 

राष्ट्रपति पौडेलको भ्रमणबारे जानकारी दिन त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र सचिव सेवा लम्सालले राष्ट्रपतिले स्विट्जरल्यान्डमा नेपाल स्विट्जरल्यान्डबीच द्विपक्षीय सहयोग, उच्चस्तरीय भ्रमणको आदान प्रदान,सांस्कृतिक एवं जनस्तरको सम्बन्ध विस्तार लगायतका द्विपक्षीय सम्बन्धका सबै पक्षहरूमा छलफल भएको बताइन् । 

त्यस क्रममा विशेषगरी कृषि, ऊर्जा, पर्यटन विकासका क्षेत्र, लगानी तथा जलवायु परिवर्तनका नकारात्मक असरविरुद्ध लड्ने छलफल केन्द्रित भएको परराष्ट्र सचिव लम्सालले जानकारी दिइन् । 

छलफलमा राष्ट्रपति पौडेले, नेपालको सामाजिक आर्थिक विकास, सङ्घीयता कार्यान्वयन र शान्ति प्रक्रियामा स्विट्जरल्यान्डले गरेको सहयोगको त्यहाँको सरकारलाई धन्यवाद दिएका थिए । त्यसैगरी स्विट्जरल्यान्डका राष्ट्रपतिले नेपाल सम्मृद्धितर्फ अघि बढेकोमा सन्तोष व्यक्त गरेका थिए । साथै उनले दुई देशबीचको सम्बन्धका चासो राखेका थिए । त्यसपछि राष्ट्रपति पौडेलले स्विट्जरल्यान्डका राष्ट्रपतिलाई नेपाल भ्रमणको निम्ता दिएका थिए । 

भ्रमणको दोस्रो दिन जेनेभामा आयोजना भएको अन्तर्राष्ट्रिय सम्मेलनमा सम्बोधन गरेका थिए । त्यस क्रममा राष्ट्रपति पौडेलले श्रमिकका समस्या र समाधान, जलवायु परिवर्तन लगायतका विषयमा अन्तर्राष्ट्रिय क्षेत्रको ध्यानाकर्षण गराएका थिए । सोही क्रममा अन्तर्राष्ट्रिय श्रमसंगठनका महानिर्देशकले राष्ट्रपतिसँग शिष्टाचार भेटवार्ता गरेका थिए । स्विट्जरल्यान्डको भ्रमणपछि असार १ गते जर्मनीको बर्लिन भ्रमणका लागि प्रस्थान गरेका थिए । जर्मनीमा रहँदा राष्ट्रपतिले जलवायु परिवर्तनसम्बन्धी कार्यक्रममा सहभागिता जनाउनुका साथै आफ्नो धारणा राखेका थिए । असार ३ मा राष्ट्रपतिले जर्मनीका राष्ट्रपतिसँग भेटवार्ता गरेका थिए । भेटवार्तामा द्विपक्षीय हित तथा जलवायु परिवर्तनका क्षेत्रमा सहयोग आदान प्रदानबारे छलफल भएको थियो । त्यस क्रममा युक्रेनमा अलपत्र रहेका नेपालीको रिहाइको लागि जर्मन सरकारलाई सहयोग गर्न आग्रह गरेका थिए भने जर्मनी राष्ट्रपतिलाई नेपाल भ्रमणको निम्तो दिएका थिए । त्यसपछि राष्ट्रपतिलाई जर्मनीका तर्फबाट गार्ड अफ अनर प्रदान गरिएको थियो । 

जर्मनी राष्ट्रपतिसँगको भेटवार्तामा राष्ट्रपति पौडेलले लुफथान्सा एयरलाइन्स सुचारु र युरोपेली आकाशमा भएको प्रतिबन्ध फुकुवा गर्न आग्रह गरेका थिए । राष्ट्रपति पौडेल जेठ २९ गते स्विट्जरल्यान्ड र जर्मनी भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप