बिहीबार, १३ असार २०८१
ताजा लोकप्रिय
विपद् पूर्वतयारी

कोशी प्रदेश : बाढी र पहिरोले सयौँ विस्थापित, बनेन विपद् प्रतिकार्य योजना

सरकारले पारित गर्नुपर्ने विपद् प्रतिकार्य योजना मुख्यमन्त्रीकै टेबुलमा थन्कियाे
बुधबार, ०५ असार २०८१, ०७ : ०३
बुधबार, ०५ असार २०८१

विराटनगर । कोशी प्रदेशमा मनसुन सुरु भएसँगै जनधनको क्षति भइरहेको छ । पूर्वी पहाडी जिल्लाहरू सङ्खुवासभा, तेह्रथुम, ताप्लेजुङ र पाँचथरमा परेको अविरल वर्षाको कारण कैयौँको घर बगाएको छ भने सयौँ विस्थापित भएका छन् । तर प्रदेश सरकारले विपद् व्यवस्थापनका लागि गर्नुपर्ने नीतिगत काम नै गरेको छैन । 

कोशी प्रदेश सरकारले ‘मनसुन पूर्व तयारी तथा प्रतिकार्य कार्ययोजना’ बनाउनु पर्ने थियो । तर, अहिलेसम्म मुख्यमन्त्री कार्यालयबाट उक्त योजना पारित भएको छैन । कार्ययोजनाको ड्राफ्ट बनाएर विपद् व्यवस्थापन कार्यकारी समितिबाट पास गरेको भएपनि मुख्यमन्त्रीको अध्यक्षतामा रहने विपद् परिषद् समितिबाट पास हुन बाँकी रहेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ । प्रदेश विपद् परिषद्मा पठाएर पास गरेपछि मात्रै प्रतिकार्ययोजना पास हुनेछ । 

प्रदेश विपद् परिषद्को अध्यक्ष भने मुख्यमन्त्री हुनेछन् । असार ६ गते प्रदेश विपद् परिषद्मा पठाएर पास गर्ने योजना रहेको आन्तरिक मामिला तथा योजना मन्त्रालयका प्रवक्ता कमलबहादुर थापाले बताए । कार्ययोजनामा सबै मन्त्रालय तथा निकायहरूलाई जिम्मेवारी दिनेगरी बनाइएको प्रदेश विपद् कार्यकारी समितिका विज्ञ सदस्य राजकुमार दाहालले बताए ।

‘सबै मन्त्रालय तथा मातहतका निकायहरूलाई नै जिम्मेवारी बनाउने गरी प्रति कार्ययोजना बनाएका छौ,’ विज्ञ सदस्य दाहालले भने, ‘यो पास भएपछि स्वास्थ्यसम्बन्धी स्वास्थ्य मन्त्रालय, खाद्यसम्बन्धी कृषि मन्त्रालयले काम गर्नेगरी योजना बनाएका छौँ । यो पास भएपछि अब स्वतः लागू हुन्छ ।’ अहिले पुरानै कार्ययोजनाले काम गरिरहेको मन्त्रालयले जनाएको छ ।  

मनसुनबाट चालु आर्थिक वर्षमा नै ७ जनाको ज्यान गइसकेको छ । मनसुन सक्रिय रहँदा सुदूर पूर्वका पहाडी जिल्लाहरूमा लगातार वर्षा भइरहेको छ मनसुनको सुरुवातमै पूर्वी पहाडका सङ्खुवासभा र ताप्लेजुङमा बाढी पहिरो सुरु भएको हो ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुनजन्य विपद्बाट सबैभन्दा बढी कोशी प्रदेशमा प्रभावित हुने अनुमान गरेको थियो । अघिल्लो वर्ष पनि मनसुन सुरु हुने बित्तिकै ताप्लेजुङ, सङ्खुवासभा र पाँचथरमा बाढीले क्षति पुर्याएको थियो । यसवर्ष पनि मनसुनको क्षतिबाट यी नै जिल्ला प्रभावित हुन थालेका छन् ।

यस वर्ष कोशी प्रदेशमा ४ लाख ९५ हजार ३५२ जना प्रभावित हुने अनुमान छ । एक लाख १३ हजार ३५३ घरधुरी प्रभावित हुने अनुमान छ । जसमध्ये २२ हजार घरधुरी प्रत्यक्ष प्रभावित र ५ हजार घरधुरीलाई उद्धार र राहत दिनुपर्ने गृह मन्त्रालयको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

मनसुनबाट चालु आर्थिक वर्षमा नै ७ जनाको ज्यान गइसकेको छ । मनसुन सक्रिय रहँदा सुदूर पूर्वका पहाडी जिल्लाहरूमा लगातार वर्षा भइरहेको छ मनसुनको सुरुवातमै पूर्वी पहाडका सङ्खुवासभा र ताप्लेजुङमा बाढी पहिरो सुरु भएको हो ।

जल तथा मौसम विज्ञान विभाग धरानका प्रमुख रामबाबु मिश्रले मङ्गलवार दिउँसो ३ बजे अगाडिको २४ घण्टाको मापन गरिएअनुसार पूर्वमा सबैभन्दा बढी झापाको केचनामा २१४ मिलिमिटर पानी परेको जनाएका छन् । उनका अनुसार सुनसरीको धरानमा १४४.३ मिलिमिटर, झापाको चन्द्रगढीमा १४३.३ मिमि, सुनसरीको चतरामा ६८.८ मिमि, झापाको कन्काइमा १५२.५ मिमि, मोरङको लेटाङमा १७३ मिमि, झापाको दमकमा १३७ मिमि पानी परेको छ । यस्तै २४ घण्टाको मापन अनुसार झापा, मोरङ र सुनसरी जिल्ला तथा इलाममा मनसुनको बढी प्रभाव रहेको मिश्रले जानकारी दिए । 

‘मनसुन प्रणालीको प्रभावले गर्दा नै मध्यमदेखि भारी वर्षा भएको छ । ठाउँ ठाउँमा पहिरो पनि गएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार अझै तीन दिनसम्म कोशी प्रदेशमा केही स्थानमा र मधेसमा मेघ गर्जनसहित पानी पर्ने सम्भावना छ,’ मिश्रले भने । आम जनताले सतर्कता अपनाउन जरुरी रहेको उनले बताए । पहाडी इलाकामा पानी पर्न अलिक कम भएको उनले बताए । तीन दिन अगाडि सङ्खुवासभाको नुम क्षेत्रमा बढी पानी परेको थियो । 

एक वर्षमा १७ जनाको मृत्यु

कोशी प्रदेशमा बाढी र पहिरोमा परी चालू आर्थिक वर्षको ११ महिनामा १७ जनाको मृत्यु भएको छ । चालु आर्थिक वर्षको साउनदेखि जेठ ३२ गतेसम्म बाढी र पहिरोमा परी ७ जना घाइते, ४ जनाको अवस्था अझै अज्ञात र ७ करोड ६३ लाख ४३ हजार ५ सय रुपैयाँ क्षति भएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता सुमन कुमार तिम्सिनाले जानकारी दिए ।

उनका अनुसार झापामा ७ जना, ताप्लेजुङमा ५ जना, भोजपुरमा २ जना, इलामका २ जना र खोटाङमा १ जनाको मृत्यु भएको छ । बाढी पहिरोमा परी ताप्लेजुङमा २ जना घाइते, ओखलढुङ्गामा २,  इलाम, सुनसरीमा १–१ जना बेपत्ता भएका छन् । सङ्खुवासभामा ४ जना बेपत्ता भएकाहरूको अवस्था अहिले पनि अज्ञात रहेको प्रहरीले जनाएको छ । 

३२ जेठमा पहिरोमा परी ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–२ खेजेनिममा एकै घरका ४ जनाको मृत्यु भयो । फक्ताङलुङ गाउँपालिकाका उपाध्यक्ष रविन साम्राका बुबा, कान्छी आमा र उनीहरूका दुई सन्तानको मृत्यु भएको हो ।

मृत्यु हुनेमा ७० वर्षीय रामबहादुर साम्रा, उनकी ४८ वर्षीय श्रीमती जसमाया लिम्बू छिन् । त्यस्तै उनीहरूका १० वर्षका जुम्ल्याहा छोरीहरू गंगा र जमुनाको पनि पहिरोमा परी मृत्यु भएको छ ।

राति सुतिरहेका बेला माथिबाट खसेको पहिरोमा उनीहरू पहिरोमा पुरिएका हुन् । त्यस्तै खेजेनिम मावि छेउमा गएको अर्को पहिरोमा परी ४० वर्षीय युगेन साम्रा र उनका तीन वर्षीय छोरी घाइते भएको प्रहरीले जनाएको छ । 

आर्थिक वर्ष २०७९-०८० मा बाढी पहिरोमा परी २३ जनाको मृत्यु भएको थियो भने १२ जना घाइते र ३० जना बेपत्ता भएको प्रदेश प्रहरीको अभिलेखमा देखिन्छ । जसबाट ५ अर्ब २२ करोड ५० लाख ७५ हजारको क्षति भएको प्रहरीको अनुमान छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप