बिहीबार, १३ असार २०८१
ताजा लोकप्रिय

सहमतिमा दलको नेता फेर्न प्रचण्डको प्रस्ताव, राजीनामा नदिने धामीको अडान

मङ्गलबार, ०४ असार २०८१, २२ : ०९
मङ्गलबार, ०४ असार २०८१

काठमाडौँ । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सुदूरपश्चिम माओवादी संसदीय दलको विवाद समाधानका लागि सहमतिमा दलको नेता फेर्न प्रस्ताव राखेका छन् । मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा तीन घण्टा भएको छलफलमा प्रचण्डको प्रस्तावमा कुनै सहमति नभएको बहुमत सदस्यहरूले दाबी गरेका हुन् ।

दलको बहुमत सदस्यहरूले गएको माघ १२ गते स्थायी समिति सदस्य खगराज भट्टलाई दलको नेताबाट हटाएको विवाद बढ्दै गएपछि प्रदेश इन्चार्ज गिरिराजमणि पोखरेल, सहइन्चार्ज बिना मगर, अध्यक्ष हरिराम चौधरी, संसदीय दलका नेता मानबहादुर धामी, उपनेता अक्कल रावल लगायत बहुमत सदस्यहरू प्रधानमन्त्रीसँग छलफलमा बसेका थिए ।

छलफलमा विवाद समाधानका लागि अध्यक्ष प्रचण्डले सहमतिमा नेतृत्व परिवर्तन गर्न राखिएको प्रस्तावमा सहमति नभएको उपनेता रावलले रातोपाटीलाई जानकारी दिए ।

‘प्रधानमन्त्रीज्यूले दलको नेता पुनर्स्थापना गरेर मिल्छ कि कसरी मिल्छ भन्ने विषयमा प्रस्ताव राख्नुभएको हो । दलको नेता फेर्ने सम्बन्धमा कुनै सहमति भएको छैन । प्रदेश सभाको आफ्नै विधान छ, प्रक्रियामा गएर नेता चुनिनु पर्छ’, रावले भने, ‘दलका नेताले सहमतिमा राजीनामा नदिएसम्म खगराजजी नेता बन्न सक्नु हुन्न । बहुमत जोसँग छ, दलको नेता उही हुने हो । प्रक्रिया जाँदा उहाँसँग बहुमत छैन । मानबहादुरजीले राजीनामा दिन्न भन्नुभएको छ ।’

बहुमत र अल्पमतबाट हल गर्नेभन्दा पनि प्रचण्डले मिलेर जाने प्रस्ताव गरेको भन्दै उनले नेता बन्न खगराजले आफूसँग बहुमत सिद्ध गर्नुपर्ने कि त सर्वसम्मत नेता बन्न सम्पूर्ण सदस्यलाई विश्वासमा लिनुपर्ने बताए ।   

बैठकमा प्रदेश इन्चार्ज गिरिराजमणि पोखरेल, सहइन्जार्च बिना मगर, अध्यक्ष हरिराम चौधरी सहभागी थिए । संसदीय दलबाट मन्त्री रावलसहित दलका नेता धामी, गीता माल, लक्ष्मी विक, झपट साउद, रमेशसिंह धामी, शिवसिंह ओली, जानकी कुँवर पौडेल लगायत सहभागी दिए । प्रदेशसभामा सभामुखसहित माओवादीका ११ सांसद रहेका छन् ।

सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घ सोडारीलाई विश्वासको मत दिनुअघि बसेको माओवादी संसदीय दलको बैठकले खगराजलाई संसदीय दलभन्दा माथि सम्मानित नेता बनाएर राख्ने आन्तरिक सहमति गरेको थियो । इन्चार्ज पोखरेलको प्रस्तावमा सो निर्णय भएपनि कानुनी रूपमा कुनै मान्यता नपाउने भएकाले कार्यान्वयनमा नगएको रावलले जानकारी दिए । सोडारी सरकारमा रावलसहित ओमविक्रम भाट र लक्ष्मी विक मन्त्री छ । मन्त्री नियुक्तिप्रति खगराज समूहले असन्तुष्टि जनाएका थिए । संसदीय दललाई कुनै जानकारी नदिएको खगराजसहित झपट साउद, शिव ओली, रमेश धामी र जानकी कुवँर पौडेलले मुख्यमन्त्री सोडारीलाई पत्र पठाएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप