बिहीबार, १३ असार २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१० बजे, १० समाचार

मङ्गलबार, ०४ असार २०८१, २१ : ४२
मङ्गलबार, ०४ असार २०८१

आज २०८१ असार ४ गते मंगलबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘रात्रिकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–

कर्मचारीहरूको आन्दोलन 

देशका लागि कानुन बनाउने, सरकार बनाउने, जनताका समस्या, गुनासो र आवाज उठाउने थलो संसद्का कर्मचारीहरूले आफ्नो आवाज सुनुवाइ नभएको भन्दै संसद् भवनभित्रै आन्दोलन गरेका छन् । मंगलबार बिहान नयाँ बानेश्वरस्थित संसद् भवन हाताभित्र हातमा कालो पट्टी बाँधेर सङ्घीय संसद् सचिवालयका कर्मचारीले संसद्का महासचिवको कार्यकक्ष घेराउ गरेका छन् ।

प्रदेश आर्थिक सर्वेक्षण प्रतिवेदन

कोशी प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले आर्थिक सर्वेक्षण प्रतिवेदन सार्वजनिक गरेको छ । उक्त प्रतिवेदन अनुसार कोशी प्रदेशमा बैंक तथा वित्तीय संस्थाहरूले प्रभाव बढाउँदै लगेको देखिएको छ ।

 

आम्दानीका स्रोत खोज्दै कर्णाली सरकार

कर्णाली प्रदेशको आफ्नै आयस्रोत छैन । रातोपाटीलाई प्राप्त विवरण अनुसार सङ्घीयता लागु भएदेखि आर्थिक वर्ष ०७९/०८० सम्म प्रदेश सरकारको आन्तरिक आम्दानी जम्मा २ अर्ब २४ करोड १३ लाख ६३ हजार रुपैयाँमात्रै छ ।

 

 मन्त्रीलाई बढी बजेट

बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि बजेटको आकार बढाए पनि केही मन्त्रालयको बजेट भने अस्वाभाविक रूपमा कटौती गरेको छ । आगामी आर्थिक वर्षको बजेटमा आर्थिक मामिला मन्त्री जगन्नाथ थपलियाले नागरिकहरूको प्रत्यक्ष सरोकार रहने र सरकारलाई आम जनतासँग जोड्ने मन्त्रालयको बजेट कटौती गरेका छन् भने विकासे र वितरणमुखी मन्त्रालयको बजेट बढाएका छन् ।

कार्यविधिमै अड्कियो

जर्मनी, जापान, रोमानिया लगायतका मुलुकमा श्रम सम्झौता गरेर नेपालीहरूलाई रोजगारीका लागि पठाउने योजना सरकारको छ । यद्यपि यसबारे बहस तथा छलफल भएको लामो समय हुँदा पनि निष्कर्षमा पुग्न सकिएको छैन ।

युट्युबरदेखि रियालिटी शोसम्मले प्रस्फुटन गरेका प्रतिभा

अहिले समय फेरिएको छ । सूचना प्रविधिको विकाससँगै प्रतिभा उजागर गर्न फेसबुक, युट्युब, टिकटक लगायतका सामाजिक सञ्जालदेखि थुप्रै टेलिभिजन रियलटी शो भरपर्दो माध्यम बनेका छन् । जसबाट नेपाली कलाक्षेत्रमा विभिन्न नवप्रतिभा उत्पादन हुने गरेका छन् । प्लेटफर्म थुप्रै भए पनि धेरै प्रतिभा टिकटक, युट्युब र रियलटी शोबाट भित्रिएका छन् ।

महासमितिका प्रतिवेदनमा संशोधन 

नेपाली कांग्रेसले महासमिति बैठकबाट पारित मुख्य तीन वटा प्रतिवेदन संशोधन गरेको छ । गत फागुन ७—१० मा ललितपुरको गोदावरीमा सम्पन्न महासमिति बैठकबाट पारित प्रतिवेदनमाथिको संशोधनको काम सकिएको महामन्त्री गगन थापाले रातोपाटीलाई बताए ।

मोहीको मोह

नेपालमा पछिल्लो समय मोहीप्रति उपभोक्ताको मोह बढेको छ । मोही गर्मी मौसमका लागि स्वास्थ्यवर्द्धक पेय पदार्थ हो । मोहीमा विभिन्न पोषण तत्त्व पाइने भएकाले यसले पाचन प्रणाली, शरीरलाई स्वस्थ र तन्दुरुस्त बनाउन मद्दत गर्ने जानकारहरूको भनाइ छ ।

सुमनाको १०० दिन

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले मंगलबार आफ्नो १०० दिनको कार्यकालमा भए गरेका कामकारबाहीको प्रगति विवरण सार्वजनिक गरेकी छन् । मंगलबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले शिक्षक सरुवासम्बन्धी निर्देशिका जारी गरी अन्तर जिल्ला सरुवा फुकुवा गरिएको, शिक्षा नियमावली (दशौँ संशोधन), २०५९ लाई कानुन मन्त्रालयमा रायका लागि पठाएको, शिक्षकको दरबन्दी मिलानका लागि अध्ययन सुरु गरिएको जानकारी दिइन् । 

महाधिवेशनबाट नटुङ्गिएको कार्यसमिति

जनता समाजवादी पार्टी (जसपा) नेपालको एकता महाधिवशेन सम्पन्न भएको झण्डै एक साता हुन लाग्दा पनि पदाधिकारी चयन नहुँदा नेता तथा कार्यकर्तामा छटपटी बढेको छ । जसपा नेपालको अध्यक्षमा आफू सर्वसम्मतिले चयन भएपछि उपेन्द्र यादवले बाँकी पदाधिकारी पनि सर्वसम्मतिले चयन गर्ने भन्दै त्यसको जिम्मा आफैँसँग राखेका छन् । तर अहिलेसम्म उनले पदाधिकारी चयन गरेका छैनन् ।

​​​​​यो पनि

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप