शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय
राजनीति

पूर्वराष्ट्रपति भण्डारी एमालेको सक्रिय राजनीतिमा फर्कन लागेकी हुन् ?

मङ्गलबार, ०४ असार २०८१, २० : ३८
मङ्गलबार, ०४ असार २०८१

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको सक्रिय राजनीतिमा पुनः फर्कने चर्चाबारे एमालेभित्र दुईथरी प्रतिक्रिया आएका छन् । एउटा पक्ष भण्डारी सक्रिय राजनीतिमा फर्कने चर्चालाई स्वाभाविक रूपमा लिएर उत्साहित देखिएको छ भने अर्को पक्ष त्यति सहजै उनी सक्रिय राजनीतिमा फर्कनेमा विश्वास गर्न नसकिने बताइरहेको छ ।

दुई कार्यकाल गरी झण्डै साढे सात वर्ष राष्ट्रपतिको जिम्मेवारी सम्हालेकी भण्डारी २०७९ फागुन २९ गते शीतल निवास छाडेर बुढानीलकण्ठस्थित निजी निवासमा बस्दै आएकी छन् । एमालेका तत्कालीन महासचिव मदन भण्डारीकी पत्तीसमेत रहेकी भण्डारी पछिल्ला दिनमा एमालेको राजनीतिक कार्यक्रममा समेत सहभागी हुन थालेसँगै उनी सक्रिय राजनीतिमा फर्कने चर्चा बढ्न पुगेको हो ।

यद्यपि भण्डारी स्वयंले भने ‘के गर्ने ?’ भन्ने स्पष्ट मुख खोलेकी छैनन् । भण्डारीले मुख नखोले पनि पार्टी कार्यक्रममा उनको सहभागिताले सक्रिय राजनीतिमा फर्कन लागेको आकलन बलियो हुन पुगेको हो ।

भण्डारी नेकपा एमाले महिला सङ्घद्वारा जेठ १६ गते आयोजित कार्यक्रममा प्रमुख अतिथिका रुपमा सहभागी भएकी थिइन् । त्यसअघि एमालेको हिरक महोत्सवमा पनि उनी सहभागी भएकी थिइन् । असार ३ गते उनले मदन भण्डारी फाउन्डेसनको स्थलगत अवलोकनसमेत गरिन् ।

उनका पछिल्ला गतिविधि नियालेका एमालेका कतिपय नेता कार्यकर्ताले उनी केही समयभित्रै सक्रिय राजनीतिमा फर्कने विश्वास व्यक्त गरेका छन् ।

यही क्रममा भण्डारीले एमालेको सदस्यता समेत नवीकरण गरेका चर्चा भइरहेको छ । तर उनले एमालेको सदस्यता नवीकरण गरेको विषयबारे एमाले नेताहरूले आधिकारिक पुष्टि गरिसकेका छैनन् ।

एमालेका देशभरका नेता कार्यकर्ताको अभिलेख राख्ने निकाय हो सङ्गठन विभाग । हाल यो विभागका प्रमुख छन् एमाले स्थायी कमिटी सदस्य काशीनाथ अधिकारी । अधिकारीले हालसम्म भण्डारीको सदस्यता नवीकरणबारे आफूलाई जानकारी नभएको बताए ।

भण्डारीको पार्टी सदस्यता नवीकरण भएको हो ? भन्ने रातोपाटीको प्रश्नमा अधिकारीले गोलमटोल जवाफ दिँदै भने, ‘सदस्यता नवीकरणको सबै रिपोर्ट आइसकेको छैन । सबै रिपोर्ट नआइ र अध्ययन नगरी भन्न सकिँदैन ।’

अबको तीन हप्ताभित्र देशभरको सदस्यता नवीकरणको तथ्याङ्क पठाइसक्न मौखिक रूपमा भनेको पनि उनले जानकारी दिए । त्यो तथ्याङ्क आएपछिमात्र भण्डारीको सदस्यता नवीकरण भएको हो कि होइन भनेर भन्न सकिने उनको भनाइ छ ।

एमाले पोलिटव्युरो सदस्य कृष्ण राईले विद्या भण्डारीले एमालेको पार्टी सदस्यता नवीकरण गर्नु कुनै अनौठो नहुने जवाफ दिए ।

‘यसमा के अनौठो मान्नुपर्छ र ?’ राईले प्रश्न गर्दै भने, ‘उहाँ (विद्या भण्डारी) ले राजनीति गर्ने चाहना राख्नुभएको छ भने सदस्यता पनि नवीकरण हुन्छ ।’

भण्डारीले एमाले सदस्यता नवीकरण गरेको भनेर हल्ला गर्नुपर्ने विषय नभएको राईको भनाइ छ । ‘मैले त पहिलादेखि नै उहाँ एमालेको सक्रिय राजनीतिमा फर्कनुपर्छ भनेर भन्दै आएको हुँ’, राईले भने ।

राईजस्तै एमालेका केही नेता भने भण्डारीलाई सक्रिय राजनीतिमा ल्याउन प्रयासरत छन् । भण्डारी आफैँले आफू निकटस्थमार्फत सक्रिय राजनीतिमा फर्कनेबारे ‘मिडिया ट्रायल’ गरेको हुनसक्ने कतिपयको विश्लेषण छ । त्यसो त उनलाई पार्टीमा अहिल्यै सक्रिय बन्दा पार्टीमा स्पेसको समस्या समेत रहेको बताइन्छ ।

‘राष्ट्रपति भइसकेको मानिस अध्यक्ष वा संरक्षकभन्दा तल बस्ने कुरा भएन । केपी ओलीले अझै अर्को कार्यकाल पनि अध्यक्ष छाड्नुहुन्न’, एमालेका एक नेताले भने, ‘यस्तो अवस्थामा विद्या भण्डारी पार्टीमा आएर पनि अर्थ हुन्न ।’  

एमालेका अर्का पोलिटव्युरो सदस्य विशाल भट्टराई भण्डारी सक्रिय राजनीतिमा आउने वा नआउने भन्नेबारे पार्टीमा आधिकारिक रूपमा छलफल नभएको बताउँछन् । ‘उहाँ एमालेको सक्रिय राजनीतिमा आउने/नआउने र ल्याउने/नल्याउने भन्ने आधिकारिक बहस र छलफल भएकै छैन’, भट्टराईले भने, ‘किनभने अझै तीन वर्ष केपी ओलीकै कार्यकाल छ । त्यसपछि अर्को ५ वर्षे कार्यकालका लागि पनि ओली नै निर्वाचित हुनुहुन्छ ।’

भट्टराईले आगामी आठ वर्षपछिको कुरालाई लिएर अहिले को ल्याउने/नल्याउने भन्नेमा बहस गर्न जरुरी नभएको र पछि नै सल्लाह गर्दा हुने बताए । उनले भण्डारीलाई जोडेर बाहिर भइरहेका चर्चामा सत्यता नभएको दाबीसमेत गरे ।

‘बाहिर आएका हल्ला वाहियात हुन्’, भट्टराईले भने । उनले पूर्वराष्ट्रपति भइसकेको, देश बुझेको नेता एमालेमा आउँछु भन्ने कुरा नराम्रो नभए पनि अहिलेसम्म भण्डारीले इच्छा व्यक्त नै नगरेको बताए ।

उनले कालान्तरमा भण्डारी एमालेको सक्रिय राजनीतिमा आउने कुरा भएको खण्डमा सिङ्गो पार्टीले रातो कार्पेट बिच्छ्याएर स्वागत गरिने पनि बताए । ‘कालान्तरमा आउनुभयो भने एमालेले स्वागत गर्छ, तर उहाँ सजिलै आउनुहुन्छ भन्ने मलाई लाग्दैन’, भट्टराईले भने ।

जिन्दगीभर एमालेमा लागेको व्यक्ति कहीँ कतै पार्टीको कार्यक्रममा सहभागी हुनुलाई सक्रिय राजनीतिमा फर्कन लागेको भनेर बुझ्न नहुने भट्टराईको भनाइ छ ।

एमाले प्रचार विभाग प्रमुखसमेत रहेका नेता राजेन्द्र गौतमले पूर्वराष्ट्रपति भण्डारीले एमाले सदस्यता नवीकरण गरेको भन्ने चर्चा नै असत्य भएको टिप्पणी गरे ।

‘पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सदस्यता नवीकरण गर्नुभयो भन्ने चर्चा नै सत्य होइन र पार्टीलाई आधिकारिक जानकारी पनि छैन’, गौतमले रातोपाटीसँग भने, ‘उहाँ (विद्यादेवी भण्डारी) राजनीतिमा आउने हो कि होइन भन्ने निर्णयको अन्तिम अथोरिटी विद्या भण्डारीमै छ ।’

गौतमले कुनै पनि औपचारिक र अनौपचारिक फोरमहरूमा भण्डारीले राजनीतिमा आउँछु भनेर नभनेको बताए । ‘उहाँले नभनेसम्म आउनुहुन्छ कि आउनुहुन्न वा त्यसका प्रभाव के हुन्छन् भनेर विश्लेषण र चर्चा गर्नुको औचित्य छैन’, गौतमको भनाइ छ ।

नेकपा एमाले काठमाडौँ जिल्लाका अध्यक्ष दीपक निरौलाले पूर्वराष्ट्रपति भण्डारीले सदस्यता नवीकरण गरे पनि, नगरे पनि एमाले नै भएको बताए । ‘सदस्यता नवीकरण गरेको हो भने राम्रो हो तर यसबारे चर्चा गर्न जरुरी पनि छैन । नवीकरण गरेको भए अन्यथा मान्नुपर्ने विषय पनि होइन’, निरौलाको भनाइ छ ।

यता भण्डारीको निजी सचिवालयले भने उनको सदस्यता नवीकरण र सक्रिय राजनीतिमा फर्कने चर्चाबारे अहिले केही भन्न नसकिने बताएको छ ।

‘यो बारेमा अहिले केही कुरा भएको छैन, त्यसैले केही भन्न सकिन्न,’ भण्डारीका स्वकीय सचिव राजकुमार राईको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप