शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय
बैंकको कर्जा

गाडी किन्न बैंकले दियो १२४ अर्ब, घरखर्च चलाउन पौने १० खर्ब ऋण !

मङ्गलबार, ०४ असार २०८१, १८ : ५६
मङ्गलबार, ०४ असार २०८१

काठमाडौँ । बैंकको कर्जा लगानीको स्थिति हेर्दा चालु आर्थिक वर्षको १० महिनामा कुल ५१ खर्ब १२ अर्ब ५८ करोड रुपैयाँ प्रवाह भएको छ । राष्ट्र बैंकबाट इजाजपत्र प्राप्त क वर्णको वाणिज्य बैंकमार्फत अधिकतम ४५ खर्ब १६ अर्ब ५० करोड रुपैयाँ लगानी भएको छ भने ख वर्गको विकास बैंकमार्फत ४ खर्ब ९६ अर्ब ५४ करोड रुपैयाँ ।

बाँकी अन्य फाइनान्स कम्पनीहरूले ९८ अर्ब ६५ करोड रुपैयाँ कर्जा लगानी गरेका छन् । बैंक तथा वित्तीय संस्थाहरूले चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म गरेको कर्जा लगानीको तथ्याङ्क हो यो ।

राष्ट्र बैंकको रिपोर्ट अनुसार सबैभन्दा बढी कर्जा होलसेल तथा रिटेल व्यावसायिक क्षेत्रमा गएको छ । १० महिनामा बैंक तथा वित्तीय क्षेत्रले यस्तो व्यापार क्षेत्रमा मात्र १० खर्ब १५ अर्ब ६ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यो कुल कर्जाको १९.८५ प्रतिशत हो ।

आर्थिक शिथिलताका कारण पछिल्लो समय उपभोग्य बजारको क्रय शक्ति घट्दा यो क्षेत्रको कर्जा माग समेत केही घट्न पुगेको छ । चैत महिनासम्म होलसेल तथा रिटेल क्षेत्र एक्लैले १० खर्ब २२ अर्ब रुपैयाँ कर्जा उपभोग गरेकोमा पछिल्लो महिना यस्तो कर्जा उपभोगमा ०.६८ प्रतिशतले ह्रास आएको छ ।

तर, २०८० असार मसान्तको तुलनामा भने ३.२१ प्रतिशतले कर्जा लगानी बढेको छ । राष्ट्र बैंकका अनुसार असार मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरूले होलसेल तथा रिटेल क्षेत्रमा ९ खर्ब ८३ अर्ब ५० करोड कर्जा लगानी गरेका थिए ।

घर खर्च चलाउन पौने १० खर्ब ऋण

कर्जा परिचालनको तथ्याङ्क हेर्दा अधिक कर्जा घर खर्चमा प्रवाह गरेको देखिन्छ । वैशाख मसान्तसम्म बैंकहरूले ९ खर्ब ७८ अर्ब २२ करोडभन्दा बढी कर्जा यो क्षेत्रमा प्रवाह गरेका छन् । यो होलसेल तथा रिटेल क्षेत्रपछिको दोस्रो बढी कर्जा प्रवाह भएको क्षेत्र हो । कुल कर्जा लगानीको तुलनामा उपभोग्य क्षेत्रको कर्जा उपभोग १९.१३ प्रतिशत छ ।

चैत मसान्तसम्म ९ खर्ब ७८ अर्ब ८७ करोड रुपैयाँ होल्ड गरेको यो क्षेत्रको कर्जा उपभोग पछिल्लो महिना ०.०७ प्रतिशतले घटेको छ । तर २०८० असार मसान्तको तुलनामा भने ५.६४ प्रतिशतले बढेको छ । गत असारसम्ममा उपभोग्य क्षेत्रमा बैंकहरूको कर्जा लगानी ९ खर्ब २६ अर्ब १३ करोड रुपैयाँ थियो ।

कृषि तथा गैरकृषि उत्पादनको क्षेत्र (उद्योग)

तेस्रो नम्बरमा कृषि, वन पैदावार तथा खाद्य तथा पेय पदार्थ उत्पादनको क्षेत्रमा बैंकहरूले ८ खर्ब ५० अर्ब ३४ करोड कर्जा प्रवाह गरेका छन् । यो अघिल्लो महिनाको तुलनामा ०.५० प्रतिशतले कम हो । चैत मसान्तसम्म यो क्षेत्रमा बैंक तथा वित्तीय संस्थाहरूले कुल ८ खर्ब ५४ अर्ब ६१ करोड रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।

घट्दो उपभोग्य बजारको माग र उत्पादनले बैंकिङ कर्जामा समेत प्रभाव पारेको छ । तथापि, २०८० असार मसान्तमा ७ खर्ब ८२ अर्ब ५३ करोड कर्जा उपभोग गरेको यो क्षेत्रले पछिल्लो १० महिनामा ६ अर्ब ७८ करोड रुपैयाँले कर्जा माग बढाएको छ ।

विशेष क्षेत्रहरू,

· कृषि तथा वन पैदावार क्षेत्रमा– ३ खर्ब ६३ अर्ब २४ करोड रुपैयाँ

· कन्स्ट्रक्सन (निर्माण क्षेत्र) मा– २ खर्ब २० अर्ब ६७ करोड रुपैयाँ

· जलविद्युत, ग्यास र पानीमा– ३ खर्ब ५७ अर्ब ३ करोड रुपैयाँ

· धातुजन्य उत्पादन तथा मेसिनरीको क्षेत्रमा– ७१ अर्ब १ करोड रुपैयाँ

· यातायात, सञ्चार तथा सार्वजनिक सरोकारका क्षेत्रमा– ८९ अर्ब रुपैयाँ

· फाइनान्स, बीमा तथा घरजग्गाको क्षेत्रमा– ३ खर्ब ८० अर्ब ७३ करोड रुपैयाँ

· पर्यटन सेवाको क्षेत्रमा– २ खर्ब २६ अर्ब ५३ करोड रुपैयाँ

· प्राथमिकता प्राप्त क्षेत्रमा लगानीको के छ स्थिति ?

कृषि, पर्यटन, ऊर्जा तथा उत्पादनका क्षेत्र विशेष प्राथमिकताका क्षेत्र हुन् । यस्तो क्षेत्रमा बैंक तथा वित्तीय संस्थाहरूले प्रवाह गर्ने कुल कर्जाको कम्तीमा ४० प्रतिशत अनिवार्य प्रवाह गर्नुपर्ने केन्द्रीय बैंकको निर्देशन छ ।

केन्द्रीय बैंकको रिपोर्ट अनुसार होलसेल तथा रिटेल खुद्रा व्यापारको क्षेत्रलाई छाडेर कृषि, पर्यटन, ऊर्जा क्षेत्रमा कुल ३६ खर्ब २७ अर्ब ६ करोड रुपैयाँ कर्जा लगानी भएको देखिन्छ । यो कुल कर्जा लगानीको ७० प्रतिशतभन्दा बढी हो ।

यसमा औद्योगिक उत्पादनको क्षेत्रमा प्रवाह भएको ८ खर्ब ५० अर्ब ३४ करोडलाई समावेश नगर्ने हो भने कृषि, पर्यटन र ऊर्जा क्षेत्रमा खुद ९ खर्ब ६५ अर्ब ५१ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ । यो कुल कर्जा लगानीको जम्मा १८.८८ प्रतिशत हो । यसले अझै बैंकहरूको कर्जा कृषि, पर्यटन र ऊर्जा क्षेत्रले सहज रूपमा पाउन सकिरहेका छैनन् भन्ने प्रस्ट पार्छ ।

खासगरी लगानी उठ्ने ग्यारेन्टी नहुँदा जोखिमलाई मध्यनजर गर्दै बैंकहरूले यस्तो क्षेत्रको लगानी कम गरेको देखिन्छ ।

गाडी किन्न १२४ अर्ब ऋण

बैंकहरूले लगानीको सुरक्षण खोज्दैगर्दा सवारी कर्जामा १ खर्ब २४ अर्बभन्दा बढी लगानी गएको छ । हायर पर्चेज सेग्मेन्टमा बैंकहरूले यस्तो लगानी गरेका हुन् । तथापि, चैत मसान्तसम्ममा १ खर्ब ३२ अर्ब ३५ करोड रुपैयाँ कर्जा हायर पर्चेज क्षेत्रमा हालेका बैंकहरूले पछिल्लो महिना ५.९० प्रतिशतले लगानी घटाएका छन् । २०८० असारमा भने यस्तो सवारी कर्जाको हिस्सा १ खर्ब ५९ अर्ब २१ करोडमाथि थियो ।

राष्ट्र बैंकले सवारी कर्जालाई सहजीकरण गर्दै मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामार्फत सवारी कर्जाको जोखिम भार १०० प्रतिशतमा झारिदिए पनि यसको प्रभाव लगानीमा देखिएको छैन ।

यस्तै, मौद्रिक नीतिमार्फत सहुलियत दिएको अर्को क्षेत्र मार्जिन प्रकृतिको सेयर धितोकर्जामा पनि उल्लेख्य लगानी बढ्न सकेको देखिँदैन । राष्ट्र बैंकको रिपोर्ट अनुसार बरु उल्टो सेयर धितो कर्जाको लगानी ८६ अर्ब १८ करोडबाट घटेर ८५ अर्ब ९५ करोडमा झरेको छ । यसो हुनुमा सेयर बजारप्रति आम लगानीकर्ताहरूको उत्साह अझै नफर्किएको भन्ने स्पष्ट हुन्छ । राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत सेयर धितोकर्जाको जोखिमभार १५० प्रतिशतबाट १२५ प्रतिशतमा र १२ करोडको सीमालाई २० करोड रुपैयाँसम्म पुर्‍याइदिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

श्रेष्ठ रातोपाटीका लागि आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप