‘भ्रष्टाचार विरोधी अभियन्ता हौँ’ भनेर आतंक सिर्जना गरेको आरोपमा ४ जना पक्राउ

काठमाडौँ । ‘भ्रष्टाचार विरोधी अभियन्ता हौँ’ भनेर काठमाडौँको गोकर्णेश्वर नगरपालिकामा आतंक सिर्जना गरेको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँको गोकर्णेश्वर नगरपालिका बस्दै आएका ३१ वर्षीय राजु सुनार, २६ वर्षीय आदर्श क्षेत्री, २० वर्षीया अस्मिता खत्री र ४५ वर्षीय प्रेम प्रसाद श्रेष्ठ छन् ।
उनीहरुले भ्रष्टाचार विरोधी अभियन्ताको नाममा गैह्र कानुनी रूपमा संस्था समेत खोलेर आतंक सिर्जना गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता (एसपी) नवराज अधिकारीले रातोपाटीलाई बताए ।
आरोपीहरुले गोकर्णेश्वर नगरपालिका भित्रका स्थानीय निकाय, संघसंस्था तथा उपभोक्ता समितिमा गएर उजुरी परेको र छानबिन गर्न आएको भन्दै धम्क्याउने गरेको आरोप छ । पुष्टि नै नभएको कुराहरूलाई पनि उनीहरुले सामाजिक सञ्जालमा राखेर चरित्रहत्या समेत गरेको आरोप छ । उनीहरूमाथि प्रहरी वृत बौद्धले अनुसन्धान गरिरहेको छ ।