शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

पशु विज्ञानका विद्यार्थीलाई कृषिको प्रश्नपत्र !

मङ्गलबार, ०४ असार २०८१, १६ : ५१
मङ्गलबार, ०४ असार २०८१

सिराहा ।  प्राविधिक तथा व्यवसायीक शिक्षा एवम् तालिम परिषद् (सीटीइभीटी) अन्तर्गत डिप्लोमा तहको परीक्षामा सहभागी परीक्षार्थी मर्कामा परेका छन् । आज सम्पन्न परीक्षामा गोलबजारस्थित रामप्रताप रामप्रसाद तामाङ जनता बहुमुखी क्याम्पस केन्द्रमा सञ्चालित डिप्लोमाको परीक्षामा पशु विज्ञानका विद्यार्थीलाई कृषिको प्रश्नपत्रमा परीक्षा दिन लगाएपछि परीक्षार्थी मर्कामा परेका हुन् । 

परीक्षार्थीहरूले कृषि विज्ञानको प्रश्नपत्र परेको ढिलागरी थाहा पाएको बताए । उनीहरूले भने, ‘छोटो समय भएकाले हामी प्रश्नपत्र पाउनासाथ लेख्ने ध्याउन्नमा लाग्यौँ । बिच बिचमा असहज भइरहेको थियो । पछि प्रश्नपत्र नियाल्दा हामी पशु विज्ञानका विद्यार्थीका हातमा कृषिको प्रश्नपत्र रहेछ । त्यसपछि हाम्रो होस हवास नै उड्यो ।

केन्द्रमा खटिएका शिक्षकहरूलाई देखाउँदा उनीहरूले पहिला किन नदेखाएको भन्दै हप्की दप्की गरेको परीक्षार्थीहरूले बताए । अहिले उनीहरू एक वर्ष खेर जाने हो की भन्ने चिन्तामा छन् ।

सरस्वती माध्यमिक विद्यालय गोलबजार ३ का प्राविधिकतर्फका संयोजक समेत रहेका डाक्टर ओम प्रकाश साहले परीक्षा सञ्चालकको लापरबाहीले आफ्नो विद्यार्थीको भविष्यमाथि खेलबाड भएको बताए। उनले भने, ‘विषय नै फरक भएकाले कसरी कपी काटिन्छ? थाहा छैन । तर, यो उहाँहरूको ठुलो गल्ती हो ।

आज सम्पन्न परीक्षामा डिप्लोमा इन एनिमल साइन्सका विद्यार्थीलाई एग्रिकल्चर विषयको प्रश्नपत्र पर्न गएको परीक्षा केन्द्राध्यक्ष किशोर कुमार साहले बताए । उनले भुलवश पर्न गएको भन्दै त्यस विषयमा माथि छलफल भइरहेको बताएको छ ।

‘भुलवश प्रश्नपत्र तलमाथि परेको रहेछ। हामीले माथि कुरा गरिरहेका छौँ । विद्यार्थीलाई मर्का पर्दैन’, उनले भने ।  कृषितर्फमा वास्तविक परीक्षार्थीको प्रश्न पत्र भने कम भएपछि उनीहरुलाई फोटोकपी गरेर दिइएको बताइएको छ । 

यता सीटीइभीटीका प्रतिनिधिका भोला राय यादव र सुजित रायले पनि यसबारे माथि कुरा भइसकेको भन्दै अब के गर्ने भन्नेबारे निर्णय आउने बताए । 

जिल्लाको जनता माध्यमिक विद्यालय, धनगढीमाई ५ तीनकोनी, जय गोविन्द साह टेक्निकल इन्सिच्युट गोलबजार, सरस्वती माध्यमिक विद्यालय गोलबजार ३ सहित ४ वटा विद्यालयको यो परीक्षा केन्द्रमा परीक्षा भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रामभरोसी यादव
रामभरोसी यादव

रामभरोसी यादव रातोपाटीका सिरहा संवाददाता हुन् ।

लेखकबाट थप