टी–२० विश्वकप क्रिकेट : समूहगत चरणका रोचक तथ्याङ्क
काठमाडौँ । आईसीसी टी–२० विश्वकप क्रिकेटको नवौँ संस्करणमा समूहगत चरणको खेल मंगलबार सकिएको छ । प्रतियोगितामा बुधबार रातिदेखि ‘सुपर–८’ चरणको खेल सुरु हुनेछ । समूहगत चरणमा कुल ४० खेल भए ।
नवौँ संस्करणमा सहभागी २० वटा टोलीलाई चारवटा समूहमा विभाजन गरिएको थियो । प्रत्येक समूहमा पाँच–पाँच टोली सहभागी थिए । प्रत्येक समूहका टोलीले एक–अर्कासँग एक–एक खेल खेलेका थिए । त्यस अनुरूप प्रत्येक समूहमा १० खेल खेलिएको थियो ।
जारी विश्वकपमा समूहगत चरणको खेल सकिँदासम्म कुनै पनि ब्याट्सम्यानले शतक बनाउन सकेका छैनन् । समूहगत चरणको मंगलबार बिहान सम्पन्न अन्तिम खेलमा अफगानिस्तानविरुद्ध वेस्ट इन्डिजका निकोलस पुरन केवल दुई रनका कारण शतक बनाउनबाट चुके ।
यसैगरी समूहगत चरणको खेल सकिँदासम्म नौ सय ५० वटाभन्दा बढी बाउन्ड्री प्रहार भइसकको छ । जारी विश्वकपको समूहगत चरणका केही तथ्याङ्क यहाँ प्रस्तुत गरिएको छ ।
नवौँ टी–२० विश्वकपको समूहगत चरणको खेल सकिँदासम्म कुल तीन सय २८ वटा छक्का प्रहार भएका छन् । छक्का प्रहारबाट कूल एक हजार नौ सय ६८ रन बनेको छ ।
समूहगत चरणमा विभिन्न टोलीले कुल ६ सय ३४ वटा चौका प्रहार गरिसकेका छन् । चौका प्रहारबाट मात्र कूल दुई हजार पाँच सय ३६ रन बनेको छ ।
समूहगत चरणको खेल सकिँदासम्म सबैभन्दा बढी रन बनाउने ब्याट्सम्यान अफगानिस्तानका रहमानुल्लाह गुरबाज हुन् । उनले चार पालीमा कुल एक सय ६७ रन बनाएका छन् । यो सूचिमा दोस्रो स्थानमा रहेका वेस्ट इन्डिजका निकोलस पुरनले चार पालीमा कुल एक सय ६४ रन बनाएका छन् ।
समूहगत चरणको खेल सकिँदासम्म सर्वाधिक विकेट लिने बलर अफगानिस्तानका फजालहक फारुकी हुन् । उनले चार पालीमा कुल १२ विकेट लिएका छन् । उनले एउटै खेलमा केवल नौ रन खर्चिएर पाँच विकेट लिएका थिए ।
सर्वाधिक विकेट लिने बलरको सूचिमा न्युजिल्यान्डका ट्रेन्ट बोल्ट दोस्रो स्थानमा छन् । उनले चार पालीमा नौ विकेट लिएका छन् । बोल्टसँगै वेस्ट इन्डिजका अकेल होसैन, दक्षिण अफ्रिकाका एनरिच नोर्जे, बंगलादेशका तानजिम हसन सकिब, वेस्ट इन्डिजका अल्जारी जोसेफ र अस्ट्रेलियाका एडम जाम्पाले पनि नौ–नौ विकेट लिएका छन् ।
समूहगत चरणको खेलमा सबैभन्दा ठुलो स्कोर बनाउने टोली वेस्ट इन्डिज हो । वेस्ट इन्डिजले अफगानिस्तानविरुद्धको खेलमा निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर दुई सय १८ रन बनाएको थियो । त्यसअघि दुईवटा टोलीले मात्र जारी विश्वकपमा दुई सयभन्दा बढीको स्कोर बनाउन सकेका थिए । नेदरल्यान्ड्सविरुद्धको खेलमा श्रीलंकाले दुई सय एक रन बनाएको थियो । इङ्ल्यान्डविरुद्धको खेलमा अस्ट्रेलियाले पनि दुई सय एक रन बनाएको थियो ।
जारी विश्वकपको समूहगत चरणमा रनका आधारमा सबैभन्दा फराकिलो अन्तरले जित हात पार्ने टोली वेस्ट इन्डिज हो । वेस्ट इन्डिजले युगान्डालाई एक सय ३४ रनले हराएको थियो । यो सूचिमा दोस्रो स्थानमा अफगानिस्तान छ । अफगानिस्तानले युगान्डालाई एक सय २५ रनले हराएको थियो । यो सूचिमा तेस्रो स्थानमा पनि वेस्ट इन्डिज छ । वेस्ट इन्डिजले अफगानिस्तानलाई एक सय चार रनले हराएको थियो । अन्य खेलमा भने एक सय वा त्योभन्दा बढी रनको अन्तरले हार–जित भए ।
समूहगत चरणको खेलमा रनका आधारमा सबैभन्दा कम अन्तरले जित हासिल गर्ने टोली दक्षिण अफ्रिका हो । दक्षिण अफ्रिकाले नेपालमाथि एक रनको रोमाञ्चक जित हासिल गरेको थियो ।
नवौँ विश्वकपको समूहगत चरणमा दुईवटा खेलमा हार–जितको निर्णय ‘सुपर ओभर’बाट निकालिएको थियो । अमेरिकाले पाकिस्तानलाई ‘सुपर ओभर’मा हराएको थियो । नामिबियाले ओमानलाई पनि ‘सुपर ओभर’मै हराएको थियो ।
समूहगत चरणका तीन खेल वर्षाका कारण रद्द भएका थिए । नेपाल र श्रीलंका, क्यानडा र भारत तथा अमेरिका र आयरल्यान्डबिचको खेल वर्षाका कारण रद्द भएका हुन् ।
समूहगत चरणमा एउटा खेलको निर्णय भने ‘डकवर्थ एन्ड लुइस’ नियमका आधारमा निकालिएको थियो । इङ्ल्यान्ड र नामिबियाबिचको खेल वर्षाले प्रभावित भएपछि ‘डकवर्थ एन्ड लुइस’ नियम लागू गरिएको थियो । त्यो खेलमा इङ्ल्यान्ड ४१ रनले विजयी भएको थियो ।
जारी विश्वकपको समूहगत चरणमा एउटा खेल अनिर्णीत रूपमा सकिएको थियो । स्कटल्यान्ड र इङ्ल्यान्डबिचको खेल अनिर्णीत रूपमा सकिएको हो । स्कटल्यान्डले पहिले ब्याटिङ गर्दै १० ओभरमा ९० रन बनाएपछि वर्षा सुरु भएको थियो । त्यसपछि खेल अगाडि बढ्न सकेन ।
नवौँ विश्वकपको समूहगत चरणमा एउटै खेलमा बनेको सर्वाधिक स्कोर भने कुल तीन सय ९१ रन हो । उक्त खेलमा क्यानडाले पहिले ब्याटिङ गर्दै पाँच विकेट गुमाएर एक सय ९४ रन बनाएको थियो । जवाफी ब्याटिङ गरेको अमेरिकाले १७.४ ओभरमा तीन विकेट गुमाएर एक सय ९७ रन बनाउँदै विजय लक्ष्य पार गरेको थियो ।
समूहगत चरणको एउटै पालीमा सबैभन्दा बढी अतिरिक्त रन पाउने टोली भने पपुवा न्यु गिनी हो । अफगानिस्तानविरुद्धको खेलमा पपुवा न्यु गिनीले अतिरिक्त रूपमा २५ रन पाएको थियो ।
समूहगत चरणमा उच्च स्कोर बनाउने ब्याट्सम्यान वेस्ट इन्डिजका निकोलस पुरन हुन् । उनले अफगानिस्तानविरुद्धको खेलमा ९८ रन बनाएका थिए । यो सूचिमा दोस्रो स्थानमा अमेरिकाका एरोन जोन्स छन् । उनले क्यानडाविरुद्धको खेलमा अविजित ९४ रन बनाएका थिए ।
जारी विश्वकपको समूहगत चरणमा तीनजना ब्याट्सम्यानले दुई–दुईवटा अर्धशतक बनाएका छन् । दुईवटा अर्धशतक बनाउने ब्याट्सम्यान अस्ट्रेलियाका मार्कुस स्टोइनिस, स्कटल्यान्डका ब्रान्डन म्याकमुलन र अफगानिस्तानका रहमानुल्लाह गुरबाज हुन् ।
नवौँ विश्वकपको समूहगत चरणको खेल सकिँदासम्म सबैभन्दा बढी ‘डक आउट’ हुने ब्याट्सम्यान युगान्डाका रोजर मुकासा हुन् । उनले जारी विश्वकपमा तीन खेल खेले र तीनवटै खेलमा ‘डक आउट’ भएका थिए ।
जारी विश्वकपको समूहगत चरणमा सबैभन्दा बढी छक्का प्रहार गर्ने ब्याट्सम्यान अमेरिकाका एरोन जोन्स र वेस्ट इन्डिजका निकोलस पुरन हुन् । यी दुबै ब्याट्सम्यानले १३–१३ वटा छक्का प्रहार गरिसकेका छन् ।
समूहगत चरणको खेलमा एउटै पालीमा सर्वाधिक छक्का प्रहार गर्ने खेलाडी भने अमेरिकाका एरोन जोन्स हुन् । उनले क्यानडाविरुद्धको खेलमा १० वटा छक्का प्रहार गरेका थिए । एउटै पालीमा छक्का र चौकाको मद्दतले सर्वाधिक रन बनाउने ब्याट्सम्यान पनि जोन्स नै हुन् । उनले क्यानडाविरुद्धको खेलमा बाउन्ड्री प्रहारबाट मात्र ७६ रन बटुलेका थिए । त्यो खेलमा उनले चारवटा चौका पनि हिर्काएका थिए ।
समूहगत चरणको खेलमा एउटै पालीमा पाँच–पाँच विकेट लिने बलर अफगानिस्तानका फजालहक फारुकी र वेस्ट इन्डिजका अकेल होसैन हुन् ।
- जारी विश्वकपको समूहगत चरणमा सबैभन्दा बढी ब्याट्सम्यानलाई पेभेलियन फर्काउने विकेटकिपर भारतका रिसभ पन्त हुन् । विकेटकिपरको भूमिकामा उनले सात ब्याट्सम्यानलाई पेभेलियन फर्काएका थिए ।
- समूहगत चरणको खेलमा सबैभन्दा बढी क्याच लिने फिल्डर दक्षिण अफ्रिकाका एडेन मारक्रम र अस्ट्रेलियाका ग्लेन म्याक्सवेल हुन् । उनले ६–६ वटा क्याच लिएका छन् ।
- नवौँ विश्वकपको समूहगत चरणमा सबैभन्दा ठुलो साझेदारी अफगानिस्तानका रहमानुल्लाह गुरबाज र इब्राहिम जदरानले गरेका थिए । उनीहरुले युगान्डाविरुद्धको खेलमा पहिलो विकेटका लागि एक सय ५४ रनको साझेदारी गरेका थिए ।
- जारी विश्वकपको समूहगत चरणमा चार ओभर बलिङ गर्दै एक रन पनि नखर्चने (मेडन ओभर गर्ने) एकमात्र बलर न्युजिल्यान्डका लोकी फर्गुसन हुन् । उनले पपुवा न्यु गिनीविरुद्धको खेलमा उनले चारवटा मेडन ओभर फाल्दै तीन विकेट लिएका थिए ।
- समूहगत चरणको खेलको ‘पावर प्ले’ अवधिमा (अघिल्लो ६ ओभरभित्र) सबैभन्दा बढी रन बनाउने टोली वेस्ट इन्डिज हो । वेस्ट इन्डिजले अफगानिस्तानविरुद्धको खेलमा सुरुको ६ ओभरमै केवल एक विकेट गुमाएर ९२ रन बनाएको थियो । यो उपलब्धिसँग वेस्ट इन्डिजले टी–२० विश्वकपमा १० वर्षअघिको कीर्तिमान पनि तोडेको थियो । यसअघि सन् २०१४ को टी–२० विश्वकपमा नेदरल्यान्ड्सले आयरल्यान्डविरुद्ध ‘पावर प्ले’ मा एक विकेट गुमाएर ९१ रन बनाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नारायणको बार आज कसलाई कति फलदायी ? हेरौँ राशिफल
-
पेरिस सम्झौताबाट बाहिरिने ट्रम्पको घोषणाले जलवायु वित्त कार्यान्वयनमा चुनौती
-
फेरि बढ्यो अमेरिकी डलरको मूल्य, अन्य विदेशी मुद्रा कसको दर कति ?
-
टीकापुर मालपोतका तत्कालीन प्रमुखसहित ८ जना भ्रष्टाचारमा दोषी ठहर
-
पुराण वाचनमा पास हुने पण्डितलाई प्रमाणपत्रको व्यवस्था
-
१२ बजे, १२ समाचार : वामदेवसँग सहकार्य गर्ने एमालेको निर्णयदेखि भूमि अध्यादेशले घरजग्गा कारोबार चम्काउने अनुमानसम्म