बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय

बाइडेनको स्वास्थ्य अवस्थालाई लिएर अनेक प्रश्न : स्टेजबाट ओर्लन ओबामाको साथ

मङ्गलबार, ०४ असार २०८१, १४ : ५५
मङ्गलबार, ०४ असार २०८१

वासिङ्टन डिसी । लस एन्जलसमा एक कार्यक्रममा अमेरिकी राष्ट्रपति जो बाइडेन अचानक स्टेजमा पूरै ‘फ्रिज’ भए । यो देखेर धेरैले बाइडेन पूरै स्वस्थ छैनन् कि भनेर प्रश्न उठाउन थालेका छन् ।

बाइडेनले पुनः राष्ट्रपतिको निर्वाचनमा लड्न हुन्छ कि हुन्न भन्ने प्रश्न पनि उठिरहेको छ । यो घटना शनिबारको हो । बाइडेन र पूर्व राष्ट्रपति बाराक ओबामा डेमोक्रेटिक पार्टीका लागि पैसा जुटाउने कार्यक्रममा सहभागी भएका थिए ।

पिकक थिएटरमा जिम्मी किमेलसँग ४५ मिनेटको अन्तरवार्तापछि दुवै नेताले जनताबाट अभिवादन स्वीकार गरिरहेका थिए । यसैबीच, जो बाइडेन स्टेजमा करिब २० सेकेन्डसम्म पूरै ‘फ्रिज’ भएको देखियो । ओबामाले समयमै उनको हात समातेर उनलाई मञ्चबाट तल ल्याए । बाराक ओबामाले जो बाइडेनको हात समातेपछि जो बाइडेन निद्राबाट ब्युँझिएको जस्तो देखिन्छ । अहिले बाराक ओबामाले जो बाइडेनलाई स्टेजबाट तल ल्याएको भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ ।

जी–७ शिखर सम्मेलनमा फरक देखिएका थिए बाइडेन

यो भिडियो सार्वजनिक भएपछि बाइडेनको स्वास्थ्य अवस्थालाई लिएर अनेक प्रश्न उठिरहेको छ । कयौँ अवसरहरूमा बाइडेनले फरक हर्कत गरेको वा अचानक अस्थिर बनेको देखिएको छ । यसअघि जी–७ सम्मेलनमा पनि जो बाइडेनले फरक व्यवहार गरेको देखियो । जब सबै नेताहरूसँगै उभिएका बाइडेन अचानक टाढिन थाले । त्यतिबेला इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीले उनको हात समातेर सबै नेताको सम्मुखमा उनलाई ल्याएको देखियो ।

ह्वाइट हाउसमा अड्किएका थिए बाइडेन

यसअघि ह्वाइट हाउसमा कन्सर्टका क्रममा बाइडेन केही सेकेन्ड पूरै शान्त देखिएका थिए । उनी सीधा उभिएर टाढा हेरिरहेका देखिन्थे ।  उपराष्ट्रपति कमला ह्यारिसलगायत समारोहमा उपस्थित अन्य व्यक्तिहरू नाच्दै र गीत गाउँदै थिए । बाइडेनका यस्ता धेरै भिडियो बाहिर आएपछि आम जनताले निरन्तर प्रश्न उठाइरहेका छन् । नयाँ भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा प्रयोगकर्ताहरूले यो सामान्य नभएको बताइरहेका छन् ।

पत्नी जिलले गरिन् बाइडेनले बचाउ

गत हप्ता अमेरिकी प्रथम महिला र जो बाइडेनकी पत्नी डा. जिल बाइडेनले चुनावी भाषणमा बाइडेनको उमेरको बचाउ गरेकी थिइन् । निर्वाचनमा उमेरले निर्णायक कारक हुन नुहुने उनको तर्क थियो । उनले आफ्नो पति र उनका प्रतिद्वन्द्वी डोनाल्ड ट्रम्प एउटै उमेरका भएको बताएकी थिइन् । जिल बाइडेनले जो बाइडेनको प्रशंसा गर्दै उनलाई स्वस्थ र बुद्धिमानको बताएकी थिइन् ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप