शनिबार, १५ असार २०८१
ताजा लोकप्रिय
कलाकार

युट्युबरदेखि रियालिटी शोसम्मले प्रस्फुटन गरेका प्रतिभा

मङ्गलबार, ०४ असार २०८१, १३ : ३३
मङ्गलबार, ०४ असार २०८१

काठमाडौँ । एक समय प्रतिभा प्रस्फुटनका लागि धेरै प्लेटफर्म थिएन । गायनमा करिअर खोज्नेले रेडियो नेपाल र अभिनयका लागि रङ्गमञ्चको भर पर्नुपर्थ्यो ।

तर, अहिले समय फेरिएको छ । सूचना प्रविधिको विकाससँगै प्रतिभा उजागर गर्न फेसबुक, युट्युब, टिकटक लगायतका सामाजिक सञ्जालदेखि थुप्रै टेलिभिजन रियलटी शो भरपर्दो माध्यम बनेका छन् । जसबाट नेपाली कलाक्षेत्रमा विभिन्न नवप्रतिभा उत्पादन हुने गरेका छन् । प्लेटफर्म थुप्रै भए पनि धेरै प्रतिभा टिकटक, युट्युब र रियलटी शोबाट भित्रिएका छन् ।

  • युट्युबरले भित्र्याएका प्रतिभा

अचेल गायक र अभिनय क्षमता प्रदर्शनका लागि युट्युब पनि एउटा भरपर्दो माध्यम बनेको छ । युट्युबरको नजरमा परेर नेपाली कला क्षेत्रमा थुपै प्रतिभा उदाएका छन् । युट्युबरले सडक, बस र गाउँघरमै पुगेर प्रतिभा उजागर गरिरहेका छन् ।

पछिल्लो समय साङ्गीतिक क्षेत्रमा चर्चामा रहेकी बालगायिका कल्पना विष्ट युट्युब मार्फत भित्रिएकी हुन् । बैतडीकी कल्पना विष्टको गायन प्रतिभालाई युट्युबमार्फत बाहिर ल्याउने श्रेय युट्युबर भोजराज थापालाई जान्छ ।

केही अगाडिमात्र भोजराजले कल्पनालाई काठमाडौँ ल्याएका थिए । कल्पनाले ‘मेरो दुःख मेरै पीडा’, ‘फूल रसैको’ लगायत धेरै गीत गाइसकिन् ।

Kamala-Ghimire

गायिका कमला घिमिरे पनि युट्युबबाटै उदाएकी हुन् । उनले गाउँघरमा गाएको दोहोरी एक गायकले युट्युबमा हालेका थिए । त्यसपछि कमलाको खोजी भएको थियो । कतिपय युट्युबर उनलाई खोज्दै उनकै घरसम्म पुगेका थिए । त्यसपछि उनी भाइरल भइन् ।

कमलाले अहिलेसम्म थुप्रै गीत गाइसकेकी छन् । उनी बेलाबेलामा लोकदोहोरी कार्यक्रम इन्द्रेणीमा समेत देखिन्छिन् ।

अशोक दर्जी लगायतका गायक पनि युट्युबबाट उदाएका हुन् । उनीहरूको प्रतिभा युट्युबरले बाहिर ल्याएपछि भाइरल हुँदै सबैतिर छाएका थिए । अहिलेकी चर्चित गायिका सिमरन परियार पनि युट्युबरले खोजेको प्रतिभा हुन् । सिमरनलाई पनि भोजराज थापाले ल्याएका हुन् । सिमरन पछिल्लो समय गायनमा चर्चित छिन् । उनका थुप्रै गीत सार्वजनिक भइसके ।

गायिकाद्वय अन्जु विश्वकर्मा र लक्ष्मी नेपाली पनि युट्युबरले बाहिर ल्याएका प्रतिभा हुन् । यी दुवैको प्रतिभा युट्युबर पारस भट्टराईले बाहिर ल्याएका थिए । यी केही उदाहरणमात्र हुन् । युट्युबरले प्रतिभा खोज्नेमात्र होइन, २०औँ वर्षदेखि काम गरेर पनि गुमनाम रहेका थुप्रै व्यक्ति युट्युबरको नजर परेपछि फेरि चर्चामा आएका छन् ।

जो टिकटकबाट भित्रिए

विश्वकै चर्चित एप टिकटक पछिल्लो समय नेपालमा प्रतिबन्धित छ । तर प्रतिभा भित्र्याउन टिकटकको योगदान पनि कम छैन । टिकटकले देशका कुनाकुनामा लुकेर रहेका प्रतिभाहरूलाई उजागर गरेको थियो । टिकटकबाट नेपाली कलाक्षेत्रमा थुप्रै प्रतिभा भित्रिएका छन् ।

अहिले मिस पबि नामबाट परिचित मोडल पवित्रा साँखी टिकटकबाटै उदाएकी हुन् । टिकटकबाट चर्चा कमाएपछि कलाकारिताका अवसर पाएकी उनले अहिले थुप्रै म्युजिक भिडियो, विज्ञापनमा अभिनय गरिसकेकी छन् । उनी फिल्ममा देखिने तरखरमा समेत छिन् ।

अभिनेत्री रेश्मा घिमिरे पनि टिकटकबाट परिचित भएकी हुन् । चलचित्र ‘यो साइनो मायाको’मा नायिकाको रूपमा काम गर्दा पनि नोटिसमा पर्न नसकेकी उनी टिकटकबाट चम्किएकी हुन् ।

म्युजिक भिडियोमा राम्रो जमेका मोडल प्रिज्मा–प्रिन्सी खतिवडाको प्रतिभालाई पनि टिकटकले चिनाएको हो । ट्विन्स दिदीबहिनी प्रिज्मा र प्रिन्सी अहिले मोडलिङमा बलिउडसम्म पुग्न सफल छन् ।

prisma-and-princi-khatiwada

जेठ २५मा प्रदर्शनमा आएको फिल्म ‘लण्डन टु पेरिस’बाट अभिनेत्रीको रूपमा डेब्यु गरेकी गरिमा शर्मालाई समेत टिकटकले चिनाएको हो । बुबाको चिनजानबाट एक भिडियो अभिनय गरे पनि चम्किन नसकेकी उनी टिकटकमा आएपछि चम्किएकी थिइन् ।

सुदूरपश्चिमकी गीता ढुङ्गानालाई पनि टिकटकले मोडल बनाएको हो । टिकटककै कारण उनले म्युजिक भिडियोमा अभिनयको अवसर पाएकी थिइन् ।

मोडल सुधीर श्रेष्ठलाई पनि टिकटकले अहिलेको स्थानमा ल्याएको हो । टिकटकबाट चर्चा पाएपछि म्युजिक भिडियोमा अभिनयको अवसर पाएका उनलाई आजभोलि काम गर्न भ्याई–नभ्याई छ ।

64a0424e6e683_ushahuprettaa

उषा उप्रेती, सिमरन पन्त, स्मारिक र समारिका ढकाल, विमल क्षेत्री लगायत थुप्रै मोडललाई टिकटकले चम्काएको हो ।

रियालिटी शो

टेलिभिजनको विस्तारसँगै पछिल्लो समय रियालिटी शोको बाढी आएको छ । धेरै प्रतिभा भित्र्याउने काम रियालिटी शोले पनि गरेको छ । नेपालमा प्रतिभा भित्र्याउने रियालिटी शोमा ‘नेपाली तारा’, ‘नेपाल आइडल’, ‘कमेडी च्याम्पियन’, ‘दि भाइस नेपाल’, ‘नेपहपको श्रीपेच’, ‘मेरो भ्वाइस युनिभर्स’, ‘मेरो डान्स युनिभर्स’ लगायत छन् । जसले बर्सेनि अनेक प्रतिभा भित्र्याएको देख्न सकिन्छ ।

dharmendra-sewan

गायनमा राम्रो उचाइ बनाएका दीपक लिम्बु, इन्दिरा जोशी, धर्मेन्द्र सेवान, रुपम डोटेल, सुरेश लामा, सन्तोष लामा लगायत ‘नेपाली तारा’बाट उदाएका हुन् । यीमध्ये अहिले दीपक लिम्बु र धमेन्द्र सेवान गुमनाम छन् ।

बुद्ध लामा, निशान भट्टराई, प्रताप दास, अस्मिता अधिकारी, रचना रिमाल लगायत नेपाल आइडलबाट भित्रिएका हुन् । नेपाल आइडलबाट बर्सेनि थुप्रै प्रतिभा भित्रिने गरेका छन् ।

त्यस्तै ‘कमेडी च्याम्पियन’ले हिमेश पन्त, भरतमणि अधिकारी, सुन्दर खनाल, प्रभात लामा लगायत धेरै प्रतिभा भित्र्याइसकेको छ । त्यसो त ‘दि भाइस नेपाल’, ‘नेपहपको श्रीपेच’, ‘मेरो भ्वाइस युनिभर्स’, ‘मेरो डान्स युनिभर्स’ले पनि थुप्रै प्रतिभा भित्र्याउँदै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप