आइतबार, २१ पुस २०८१
ताजा लोकप्रिय
युरो २०२४

थुप्रै रमाइला संयोगबिच आपसमा भिड्दै पोर्चुगल र चेक गणतन्त्र

मङ्गलबार, ०४ असार २०८१, १२ : ५७
मङ्गलबार, ०४ असार २०८१

युरो कपमा आज
० मंगलबार राति २१ः४५ बजे : टर्कीविरुद्ध जर्जिया 
० बुधबार बिहान ००ः४५ बजे : पोर्चुगलविरुद्ध चेक गणतन्त्र

युरो कप फुटबल प्रतियोगिताको १७औँ संस्करणमा बुधबार पूर्वविजेता पोर्चुगलले चेक गणतन्त्रको सामना गर्दैछ । उक्त खेल नेपाली समय अनुसार बिहान ००ः४५ बजे सुरु हुँदैछ । 

जारी युरो कपमा पोर्चुगल र चेक गणतन्त्र समूह ‘एफ’ मा छन् । टर्की र जर्जिया पनि सोही समूहमा रहेका छन् । यसअघि टर्की र जर्जियाबिच समूह ‘समूह डी’ को पहिलो खेल हुनेछ । टर्की र जर्जियाबिचको खेल नेपाली समय अनुसार मंगलबार राति २१ः४५ बजे सुरु हुनेछ ।

पोर्चुगल र चेक गणतन्त्र दुवैले जारी युरो कपमा आफ्नो पहिलो खेल खेल्न लागेका हुन् । युरो कपको अघिल्लो संस्करणमा पोर्चुगल प्रि–क्वार्टरफाइनलमा बेल्जियमसँग पराजित भएको थियो । चेक गणतन्त्र भने अघिल्लो संस्करणको क्वार्टरफाइनलमा पराजित भएको थियो ।

GQSnVDsWEAIHsdW

चेक गणतन्त्रलाई क्वार्टरफाइनलमा डेनमार्कले २–१ गोलले हराएको थियो । यसपटक समकालीन विश्व फुटबलका महान् खेलाडी क्रिस्टियानो रोनाल्डोको टोली पोर्चुगल र प्याट्रिक सिकको टोली चेक गणतन्त्रबिचको भिडन्त रोमाञ्चक हुने अनुमान गरिएको छ । 

यसपटक युरो कपको छनोट प्रतियोगितामा पनि यी दुवै टोलीले उत्कृष्ट प्रदर्शन गरेका थिए । पोर्चुगल आफ्नो समूहको विजेता बन्दै युरो कपमा छनोट भएको हो । पोर्चुगलले छनोट चरणमा खेलिएको १० वटै खेलमा जित हात पारेको थियो । 

portugal

छनोट चरणको प्रतियोगितामा पोर्चुगलले विपक्षीको पोष्टमा कुल ३६ गोल गरेको थियो भने दुई गोलमात्र खाएको थियो । अर्कोतिर, चेक गणतन्त्र आफ्नो समूहको उप–विजेता बन्दै युरो कपमा छनोट भएको थियो । 

चेक गणतन्त्रले छनोट चरणमा आफूले खेलको आठमध्ये चार खेलमा जित, तीन खेलमा बराबरी र एक खेलमा हारको नतिजा निकालेको थियो । छनोट चरणमा चेक गणतन्त्रले विपक्षीको पोष्टमा कुल १२ गोल गरेको थियो भने ६ गोल खाएको थियो । 

पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो र चेक गणतन्त्रका प्रभावशाली खेलाडी प्याट्रिक सिकबिच एउटा रमाइलो संयोग पनि जोडिएको छ । यी दुवै युरो कपको अघिल्लो संस्करणमा सर्वाधिक गोल गर्ने खेलाडी हुन् । रोनाल्डो र सिकले अघिल्लो युरो कपमा पाँच–पाँच गोल गरेका थिए ।

सम्भवतः ३९ वर्षीय रोनाल्डोको यो अन्तिम युरो कप हुनेछ । त्यसैले उनी आफ्नो कप्तानीमा यसपटक पोर्चुगललाई यो महत्त्वपूर्ण प्रतियोगिताको उपाधि जिताउन चाहन्छन् । उसो त रोनाल्डोले यसअघि नै पोर्चुगललाई युरो कपको उपाधि चुमाइसकेका छन् । 

ronaldo

सन् २०१६ मा रोनाल्डोसहितको पोर्चुगलले युरो कपको उपाधि उचालेको थियो । त्यतिबेला पोर्चुगलले फाइनलमा आयोजक राष्ट्र फ्रान्सलाई अतिरिक्त समयमा १–० गोलले हराएको थियो । चेक गणतन्त्रले भने चेकोस्लोभाकियाका रूपमा सन् १९७६ मा युरो कपको उपाधि हात पारेको थियो । 

रोनाल्डोले छैटौँ पटक युरो कपमा सहभागिता जनाउन लागेका हुन् । चेक गणतन्त्रविरुद्धको खेलका लागि मैदानमा ओर्लिए लगत्तै रोनाल्डो युरो कपको ६ वटा संस्करणमा सहभागिता जनाउने एक मात्र खेलाडी बन्नेछन् । 

रोनाल्डोले सन् २००४ देखि नियमित रूपमा युरो कपमा सहभागिता जनाउँदै आएका छन् । उनी युरो कपमा सबैभन्दा बढी खेल खेल्ने खेलाडी पनि हुन् । उनले यो प्रतिष्ठित प्रतियोगितामा हालसम्म २५ खेल खेलिसकेका छन् । 

यसका अतिरिक्त उनी युरो कपमा सबैभन्दा बढी गोल गर्ने खेलाडी पनि हुन् । उनले युरो कपमा १४ गोल गरिसकेका छन् । युरो कपमा सर्वाधिक गोल गर्ने खेलाडीको सूचिमा फ्रान्सका मिचेल प्लाटिनी दोस्रो स्थानमा छन् । उनले युरो कपमा कुल नौ गोल गरेका थिए । 

रोनाल्डो यो युरो कपको छनोट प्रतियोगिता पनि सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा दोस्रो स्थानमा थिए । छनोट प्रतियोगितामा उनले कुल १० गोल गरेका थिए । यसका अतिरिक्त उनले साउदी लिगमा यो सिजन अल नासरका लागि कुल ३१ खेल खेल्दै ३५ गोल गरेका छन् । 

विश्व फुटबल महासंघ (फिफा)द्वारा जारी पछिल्लो वरीयतामा पोर्चुगल छैटौँ र चेक गणतन्त्र ३६औँ स्थानमा छन् । यी दुई राष्ट्रबिच खेलिएको पछिल्लो पाँच अन्तर्राष्ट्रि खेलमध्ये चारवटामा पोर्चुगलले चेक गणतन्त्रलाई हराएको छ । बाँकी एक खेलमा भने चेक गणतन्त्रले पोर्चुगललाई पराजित गरेको छ । 

युरो कपमा भने यी दुई टोलीबिच यसअघि तीनपटक भिडन्त भएको छ । सन् १९९६ को युरो कपमा चेक गणतन्त्रले पोर्चुगललाई १–० गोलले हराएको थियो । त्यसपछि सन् २००८ र सन् २०१२ को युरो कपमा भने पोर्चुगलले चेक गणतन्त्रलाई पराजित गरेको थियो । 

martinez

जारी युरो कपमा रोनाल्डोसँग अर्को एउटा रमाइलो संयोग पनि जोडिएको छ । सन् २०२० को युरो कपमा उनको टोली प्रि–क्वार्टरफाइनलमा बेल्जियमसँग पराजित भएको थियो । त्यतिबेला बेल्जियमको प्रमुख प्रशिक्षक रोबर्टो मार्टिनेज थिए । 

उनै स्पेनिस नागरिक रोबर्टो मार्टिनेज अहिले पोर्चुगलका प्रमुख प्रशिक्षक हुन् । ५० वर्षीय मार्टिनेजले सन् २०२२ मा बेल्जियको जिम्मेवारी छाडेका थिए । त्यसपछि सन् २०२३ मा उनलाई पोर्चुगलले आफ्नो प्रमुख प्रशिक्षक बनाएको थियो । 

जारी युरो कपमा यात्रामा रोनाल्डोसँगै बार्सिलोनाका जोआओ फेलिस्क, पेरिस सेन्ट जर्मनका गोन्कालो रामोस, एसी मिलानका राफेल लियो, म्यानचेस्टर युनाइटेडका ब्रुनो फर्नान्डेस पनि पोर्चुगलको टोलीका सारथी हुन् । 

GQSnVDoXoAAcqsp (1)

जारी युरो कपमा चेक गणतन्त्रको प्रमुख प्रशिक्षक भने ईभान हासेक हुन् । चेक गणतन्त्रको टोलीमा जर्मन क्लब बायर लेभरकुजेनका एडम ह्लोजेक, सोही क्लबका माटेज कोभर, वेस्ट हाम युनाइटेडका टोमस सुसेक, फियोरेन्टिनाका एन्टोनिन बाराकलगायतका खेलाडी छन् । 

यसका अतिरिक्त पोर्चुगल र चेक गणतन्त्रबिच हुने खेलमा अर्को एउटा रमाइलो संयोग पनि जोडिएको छ । युरो कप खेल्ने पोर्चुगिज टोलीमा ब्राजिलमा जन्मिएका सेन्टर ब्याक पेपे पनि सहभागी छन् । उनी युरो कप खेल्ने सबैभन्दा बढी उमेरका खेलाडी बन्दैछन् ।

पोर्चुगलको टोली चेक गणतन्त्रविरुद्ध ओर्लँदा पेपेको उमेर ४१ वर्ष एक सय १३ दिन पुग्नेछ । पेपेले हंगेरीका गोलरक्षक गाबोर किरालीको कीर्तिमान तोड्ने छन् । सन् २०१६ को युरो कपमा बेल्जियमविरुद्ध प्रि–क्वार्टरफाइनल खेल खेल्दा गाबोरको उमेर ४० वर्ष ८६ दिन पुगेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप