एक्सन सजिलो रहेनछ : पूजा शर्मा
अभिनेत्री पूजा शर्मालाई दर्शकले सधैँ रोमान्टिक प्रेमकथामा देख्दै आएका छन् । अब भने उनलाई एक्सन भूमिकामा देख्न पाउने भएका छन् । उनको एक्सनमा डेब्यु फिल्म ‘दान्भी’ आगामी शुक्रबारबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ । फिल्मले आफूलाई एक्सन अभिनेत्रीको रुपमा चिनाउने विश्वास उनले लिएकी छन् ।
‘प्रेमगीत’, ‘म यस्तो गीत गाउँछु’, ‘अझै पनि’, ‘रामकहानी’ लगायत दर्जनभन्दा बढी फिल्ममा लभरगर्लको भूमिका निर्वाह गरेकी शर्मा नयाँ पुस्ताका अभिनेत्रीमा देखिएको खडेरी टार्न आफूले एक्सन रोजेको बताउँछिन् । एक्सन अभिनय निकै गाह्रो रहेको उनको अनुभव छ । पूजासँग फिल्म ‘दान्भी’मा अभिनयको विषयमा रातोपाटीले गरेको कुराकानीको सम्पादित अंश-
- ‘दान्भी’ मार्फत पहिलो पटक एक्सनमा देखापर्दै हुनुहुन्छ । रिस्क छैन ?
एउटा कलाकारले सधैँ एकै किसिमको फिल्म गर्नु हँुदैन । फरक–फरक खालको फिल्म गर्न सक्नुपर्छ । त्यसले सिक्ने र जान्ने मौका मिल्छ । त्यही भएर पनि ‘दान्भी’ रोजेको हो । यो फिल्म अगाडि मलाई एक्सनको विषयमा केही पनि थाहा थिएन । फिल्म अभिनयपछि एक्सनका विषयमा धेरै सिक्न र जान्न पाएँ ।
- दर्जनभन्दा बढी फिल्म गरेपछि अहिले आएर एक्सन गर्न किन मन लाग्यो ?
एक समय रेखा थापा दिदीले एक्सन गर्नुभयो । त्यतिबेला उहाँले एक्सन गरेको फिल्म राम्रो चल्यो । अहिलेका पुस्तामा एक्सन गर्ने अभिनेत्री कोही छैन । नयाँ पुस्तामा पनि एक्सन कलाकार चाहिन्छ भनेर मैले यो फिल्म छानेको हो ।
मैले अहिलेसम्म धेरै फिल्ममा अभिनय गरेँ । तर यो फिल्म अभिनयपछि जति पनि ठाउँमा गएँ, सबैले तपाईंको ‘दान्भी’ हेर्न मन छ भनेका छन् । यो साउथ फिल्म होकि भनेर समेत भनेका छन् । यी सबै चासो मैले एक्सन गरेको कारण हो ।
- एक्सन भूमिकाको अभिनय अनुभव कस्तो रह्यो ?
एक्सन गर्न एकदमै गाह्रो रहेछ । मैले जति सोचेको थिएँ, त्यो भन्दा धेरै गाह्रो रहेछ । सिधै भन्नुपर्दा अहिलेसम्म गरेको प्रोजेक्टमध्ये सबैभन्दा गाह्रो र मेहनत यो फिल्ममा भयो ।
- ‘दान्भी’ प्रेमकथामा बनेको भए अभिनय गर्नुहुन्थ्यो ?
‘दान्भी’मा एक्सन भूमिका भएकै कारण रोजेको हो । यदि अन्य फिल्मजस्तै प्रेमकथामा यो फिल्म बन्ने भए म गर्दिनँ थिए । फिल्म निर्माणको क्रममा छलफलमा पहिलो हिरो राखेर बनाउने कुरो पनि भयो । मैले हिरोको एक्सन दर्शकले धेरै देखिसकेका छन्, यसमा केटीको एक्सन गरौँ, दर्शकका लागि स्पेशल हुन्छ भनेर भनेँ । निर्माण टिमले पनि मान्नुभयो ।
- एक्सनका लागि सिक्नु पनि भयो कि ?
द्वन्द्व निर्देशक श्री श्रेष्ठसँग एक महिना प्रशिक्षण लिएँ । सुटिङका क्रममा सुरुसुरुमा धेरै कुटाइ खाएँ । हातखुट्टा दुखेर चलाउन हुँदैन थियो । कहिले नियमित ६÷७ घण्टा पनि एक्सनको सुटिङ गर्नुपर्थ्यो । एक्सन सिन गर्दागर्दा हिँड्न समेत नसक्ने हुन्थेँ ।
- कस्तो फिल्म हो ‘दान्भी’ ?
यो एक्सन प्रधान फिल्म हो । ‘दान्भी’ शक्तिको उदाहरण पनि हो । जे परिस्थिति आए पनि लड्न सक्ने । यसले केटीलाई निडर भएर जिउन सिकाउँछ । नेपाली दर्शकले एक्सन फिल्म हेरिरहेको हो । यो फिल्मको एक्सन अलि फरक छ । दर्शकलाई कलाकारले साँच्चिकै फाइट हानेको अनुभूति गराउँछ ।
- दर्शकले ‘दान्भी’ किन हेर्ने ?
पहिलो कुरो पूजा शर्मा पहिलो पटक एक्सन भूमिकामा देखिँदैछ । मैले गरेको एक्सन हेर्ने यो पहिलो अवसर पनि हो । अर्काे कुरो, फिल्मको स्टोरी बलियो छ । हामीले हेरिरहेको सामान्य फिल्मभन्दा यसमा केटीको एक्सनलाई प्रस्तुत गरिएको छ । जुन दर्शकका लागि नौलो स्वाद हुन्छ ।
- फिल्मलाई लिएर व्यावसायिक दबाब छ ?
एकदमै दबाब छ । यो फिल्मको कथा मेरो वरिपरि घुम्छ । निर्माण युनिटले मलाई एक्सन भूमिकामा लिएर फिल्म बनाउनु भएको छ । फिल्मले व्यवसाय गर्नुपर्छ भन्ने लाग्छ । अहिले मेरो फिल्म ‘रावायण’को छायाङ्कन चलिरहेको छ । फिल्म सफल बनाउन म छायाङ्कन छोडेर प्रचार हिँडिरहेकी छु ।
- फिल्मको ट्रेलरमा समेटिएको तपाईंको गन बोकेको दृश्यलाई लिएर कतिले उडाएको देखियो त ?
फिल्ममा मैले गन बोकेको देखेर उडाएका हुन् । मैले बोकेको त्यो गन कुनै हिरोले बोकेको भए ‘वाउ’ भन्थे । धेरै कोणबाट तारिफ हुन्थ्यो । म केटी भएको कारण गन बोक्न पनि आएन । एक्सप्रेसन भएन भनेर पनि भने । मैले गन बोकेको छु भने म गनसँग डराउने होइन । योसँग इजी हुने हो । मानिसको सोचाई यसको विपरीत पाएँ ।
- त्यो आलोचनाले कति गाह्रो भयो ?
आलोचनाको त मलाई बानी परिसक्यो । खासै फरक पर्दैन ।
- हिरोको वरिपरिबाट बाहिर निस्कन नसकेको आरोप लाग्दैगर्दा अहिले एक्सनमार्फत छवि परिवर्तन गर्ने सोच हो तपाईंको ?
त्यो होइन । अहिलेसम्म दर्शकले मलाई रुचाएको प्रेमकथाको फिल्ममै हो । मैले दर्शकले रुचाएको ट्रयाक चेन्ज गर्न थालेँ भने म खस्कन्छु । फेरि पहिलेको अवस्था आउन धेरै समय लाग्छ । म सधैँ प्रेमकथाको फिल्म गर्न सक्दिनँ । त्यो उमेरले पनि सुहाउँदैन । अहिले मेरो उमेर प्रेम गर्ने हो । ४० वर्षपछि म यो गर्न सक्दिनँ । समय र उमेरलाई इन्जोय गर्न मैले प्रेमकथा फिल्म रोजेकी हुँ ।
- पछिल्लो समय धेरै अभिनेत्री गाउँले क्यारेक्टरमा देखिँदै आएका छन् । तपाईंले चाहिँ एक्सन रोज्नुभयो । किन भिन्न हुन मन लाग्यो ?
गाउँले रोलमा अभिनय गर्न मलाई मन नपरेकाले हो । किनभने मलाई त्यो भूमिका सुहाउनु पनि त पर्यो नि । अर्काेकुरो मानिसले घरमा पनि दुःख पाइरहेको हुन्छ । फिल्ममा पनि किन दुःख हेर्ने ? दुःख हेर्ने हो भने हाम्रो रियल लाइफको दुःख कम छ र ? रियल जीवनभन्दा फरक देखिन र अनुभव गर्न म गाउँले केटीको भूमिका नकार्दै आएकी छु ।
- अबको फिल्ममा एक्सन निरन्तरता रहन्छ कि पुग्यो ?
त्यो कुरो ‘दान्भी’को प्रदर्शनपछि भन्छु । यो फिल्मको मेरो एक्सन दर्शकले रुचाउनुभयो भने म नियमित एक्सन फिल्म गर्छु । अहिले पनि केही एक्सन फिल्मका अफर छन् । यो फिल्मको प्रदर्शनपछि मात्र कुरा गरौँला भनेर अड्काएर राखेकी छु ।
- तपाईं निर्माता पनि, आफ्नो ब्यानरमा एक्सन फिल्म बनाउनुहुन्छ कि हुँदैन ?
फिल्ममा एक्सन गर्दा खर्च धेरै हुँदोरहेछ । तर पनि सन्तुष्टि धेरै रहेछ । मेरो ब्यानरबाट एक्सन फिल्म बन्छ कि बन्दैन भन्ने कुरा ‘दान्भी’को रिजल्टले निर्धारण गर्छ ।
- ‘दान्भी’बाट व्यावसायिक लाभको आश छ कि, एक्सनमा सफलताको ?
साँच्चिकै भन्नुपर्दा मेरो एक्सन प्रयास रुचाइयोस् भन्ने नै लागेको छ । फिल्मको निर्माता पनि सुरक्षित हुनुपर्छ । यो फिल्मबाट पूजाले राम्रो एक्सन गरेकी छ भनेर प्रतिक्रिया पाए पुग्छ । यसले अन्य अभिनेत्रीलाई पनि फिल्ममा एक्सन गर्न प्रेरित गर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माघ नसकिँदै देशभर तापक्रम बढ्न थाल्यो
-
युवाले खोलेका उद्योग नै चलेनन्, ६ महिनामा ३०० वटा खारेज
-
रातोपाटी बिफिङ : वामदेव एमाले फर्किने ‘च्याप्टर’ तत्काललाई क्लोजदेखि पूर्व उपराष्ट्रपतिलाई उपाध्यक्ष बनाउने प्रचण्ड योजना स्थगितसम्म
-
अखिल क्रान्तिकारी निर्वाचन : उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशित
-
प्रेस सेन्टर उदयपुरको अध्यक्षमा अभिमन्यु लामिछाने चयन
-
दोस्रो पौवादुङमा गोल्ड कपको उपाधि राजगढ झापालाई