शनिबार, १० कात्तिक २०८१
ताजा लोकप्रिय
प्रदेश आर्थिक सर्वेक्षण प्रतिवेदन

प्रदेशमा डिम्याट खोल्नेको सङ्ख्या ११ लाख नाघ्यो, बीमा प्रिमियम बापत १४ अर्ब २५ करोड सङ्कलन

मोबाइल बैंकिङ ग्राहक सङ्ख्या ६१ लाख ४७ हजारभन्दा बढी
मङ्गलबार, ०४ असार २०८१, ०९ : ५३
मङ्गलबार, ०४ असार २०८१

विराटनगर । कोशी प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले आर्थिक सर्वेक्षण प्रतिवेदन सार्वजनिक गरेको छ । उक्त प्रतिवेदन अनुसार कोशी प्रदेशमा बैंक तथा वित्तीय संस्थाहरूले प्रभाव बढाउँदै लगेको देखिएको छ ।

सर्वेक्षण प्रतिवेदन अुनसार प्रदेशमा बैंक तथा वित्तीय संस्थाका शाखा सञ्जालमा भएको विस्तारका कारण बैंकिङ सेवामा जनताको पहुँच बढ्दै गएको छ । २०८० फागुनसम्ममा कोशी प्रदेशमा बैंक तथा वित्तीय संस्थाद्वारा प्रतिशाखा औसत २ हजार ६६५ जनसङ्ख्यामा बैंकिङ सेवा प्रवाह भइरहेको जनाइएको छ ।

प्रदेशमा एटीएम बुथको सङ्ख्या ६६६ पुगेको छ भने मोबाइल बैंकिङ ग्राहकको सङ्ख्या ६१ लाख ४७ हजार नाघेको छ । इन्टरनेट बैंकिङ ग्राहक सङ्ख्या १ लाख ८५ हजार नाघेको छ ।

यस्तै बैंकिङ सेवाको विस्तारसँगै ऋणीहरूको सङ्ख्यामा समेत वृद्धि हुँदै गएको छ । कोशी प्रदेशका बैंक तथा वित्तीय संस्थाद्वारा प्रवाह गरिने सहुलियतपूर्ण कर्जा प्रवाहमा वृद्धि भएको छ । २०८० असारमा यस्तो कर्जा प्रवाह ३२ अर्ब ४२ करोड ८३ लाख रहेकोमा २०८० फागुनमा ३३ अर्ब १६ करोड १८ लाख रुपैयाँ पुगेको छ ।

२०८० फागुनसम्म देशकै कुल बिमक सङ्ख्या २ हजार ९३२ छ । कोशी प्रदेशमा भने यस्तो सङ्ख्या १६.३ प्रतिशत रहेको छ । देशकै कुल बिमक सङ्ख्या २ हजार ९३२ छ । कोशी प्रदेशमा भने यस्तो सङ्ख्या १६.३ प्रतिशत छ । कोशी प्रदेशमा २०८० फागुनसम्म बीमा प्रिमियम बापत सङ्कलन भएको रकम १४ अर्ब २५ करोड पुगेको छ ।

कोशी प्रदेशमा हितग्राही (डिम्याट) खाताको सङ्ख्या ११ लाख ८७ हजार ४९१ पुगेको छ । कोशी प्रदेशको कुल डिम्याट खाता सङ्ख्यामध्ये झापामा सबैभन्दा बढी २२.४ प्रतिशत र तेह्रथुम जिल्लामा सबैभन्दा कम १.९ प्रतिशत छ ।

आर्थिक वर्ष २०७५–७६ देखि चालु आर्थिक वर्षको फागुनसम्ममा कोशी प्रदेशमा सामाजिक सुरक्षा कोषमा आवद्ध हुने रोजगारदाता १ हजार ९६८ छन् भने ४९ हजार ३४५ जना योगदानकर्ता सूचीकृत भएका छन् ।

चालु आर्थिक वर्षमा कोशी प्रदेशको कृषि क्षेत्रको उत्पादन २.४५ प्रतिशतले बढ्ने अनुमान गरिएको छ । आर्थिक वर्ष २०७९/८० मा कोशी प्रदेशमा प्रमुख खाद्यान्न बालीको उत्पादन १३ लाख ३६ हजार २५७ मेट्रिकटन थियो । कोशी प्रदेशमा कृषिको सुपरजोन १, जोन ३७ र १३८ पकेट क्षेत्र छन् ।

चालु आर्थिक वर्षको चैतसम्म प्रदेश सरकारबाट कुल ३ करोड ८२ लाख रकम कृषि अनुदानस्वरुप हस्तान्तरण भएको छ । कोशी प्रदेशमा कुल २ लाख ८४ हजार ९१२ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुगेको छ भने वर्षभरि सिँचाइ हुने क्षेत्र २ लाख १० हजार ८८३ हेक्टर पुगेको छ ।

कोशी प्रदेशमा २०८० चैत मसान्तसम्म दर्ता भएका उद्योगहरूको सङ्ख्या ठुला, मझौला र साना गरी ८२ हजार ४९७ पुगेको छ । त्यस्तै यस अवधिमा कुल ९५ हजार ५४६ लघु, घरेलु तथा साना उद्योग कोशी प्रदेशमा दर्ता भएका छन् ।

कोशी प्रदेशमा तारे स्तरका होटल गत वर्ष ११ वटा रहेकोमा यस वर्ष एउटा थप भइ १२ पुगेको छ । पर्यटकीय स्तरको होटल ३ वटा थप भइ ३६ वटा पुगेको छ भने निजी र सामुदायिक होमस्टे गरी कुल होमस्टेको सङ्ख्या १०५ पुगेको छ ।

कोशी प्रदेशमा चालु आर्थिक वर्षको फागुनसम्मको तथ्याङ्क अनुसार सबै तहका अस्पताल २२२ वटा, शिक्षण अस्पताल २, प्राथमिक स्वास्थ्य केन्द्र ३३, स्वास्थ्य चौकी ६३०, आधारभूत स्वास्थ्य सेवा केन्द्र ३७२, सामुदायिक स्वास्थ्य इकाई १५८, सहरी स्वास्थ्य केन्द्र १०५, डायग्नोष्टिक सेन्टर ४, प्रतिष्ठान १, नर्सिङ होम १ र अन्य स्वास्थ्य संस्था १४२ गरी जम्मा १ हजार ६६६ वटा स्वास्थ्य संस्था छन् ।

चालु आर्थिक वर्षमा कोशी प्रदेशको आर्थिक वृद्धिदर ३.५ प्रतिशत रहने अनुमान गरिएको छ । जसमा प्रदेशको कृषि र गैरकृषि क्षेत्रको वृद्धिदर क्रमशः २.४५ र ३.६९ प्रतिशत रहने अनुमान गरिएको छ ।

प्रदेशको कुल गार्हस्थ उत्पादन ९ अर्ब ३ अर्ब ५ करोड रहने अनुमान गरिएको छ । जुन देशको कुल गार्हस्थ उत्पादनको १५.८ प्रतिशत हो । जसमा कृषि क्षेत्रको योगदान ३३.२, सेवा र उद्योगको योगदान क्रमशः ५०.९ र १५.९ प्रतिशत रहने अनुमान छ । कोशी प्रदेशको कुल गार्हस्थ उत्पादन १ हजार ३३६ अमेरिकी डलर पुग्ने अनुमान छ ।

कोशी प्रदेशमा बेरुजु रकम भने बढ्दै गएको छ । आर्थिक वर्ष २०७८/७९ मा कायम भएको बेरुजु ४ अर्ब ९६ करोड ३४ लाख थियो । आर्थिक वर्ष २०७९/८० मा १२.४३ प्रतिशतले वृद्धि भइ ५ अर्ब ५८ करोड ४ लाख पुगेको छ । कुल बेरुजुमध्ये नियमित गर्नुपर्ने बेरुजु ८३ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ ।

कोशी प्रदेशमा निरपेक्ष गरिबीको रेखामुनि रहेको जनसङ्ख्या १७.२ प्रतिशत छ । चालु आर्थिक वर्षको फागुनसम्म कोशी प्रदेशमा सूचीकृत भएका बेरोजगारहरूमध्ये १.५ प्रतिशत न्यूनतम रोजगारीमा खटिएका छन् । आर्थिक वर्ष २०७९/८० मा १३.२ प्रतिशत सूचीकृत बेरोजगार न्यूनतम रोजगारीमा खटिएका थिए ।

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत चालु आर्थिक वर्षको फागुनसम्ममा कोशी प्रदेशका ११६ वटा पालिकामा सञ्चालित १ हजार २२८ आयोजनाबाट औसत ६४.९५ दिनका आधारमा कुल १ लाख ७ हजार ९४२ जनाले रोजगारी प्राप्त गरेका छन् ।

आर्थिक वर्ष २०७९/८० मा नेपालमा कुल श्रम स्वीकृति लिनेको सङ्ख्या ४ लाख ३ हजार ६४१ थियो । जसमध्ये कोशी प्रदेशबाट श्रम स्वीकृति लिनेको प्रतिशत १८.४४ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप