कांग्रेसले कहाँ कहाँ गर्यो महासमितिका प्रतिवेदनमा संशोधन ?
काठमाडौँ । नेपाली कांग्रेसले महासमिति बैठकबाट पारित मुख्य तीन वटा प्रतिवेदन संशोधन गरेको छ । गत फागुन ७—१० मा ललितपुरको गोदावरीमा सम्पन्न महासमिति बैठकबाट पारित प्रतिवेदनमाथिको संशोधनको काम सकिएको महामन्त्री गगन थापाले रातोपाटीलाई बताए ।
महासमिति बैठकमा उपसभापति पूर्णबहादुर खड्काको नीति, महामन्त्री गगन थापाको साङ्गठनिक र अर्का महामन्त्री विश्वप्रकाश शर्माको समसामयिक राजनीतिक प्रतिवेदन केन्द्रीय समिति बैठकबाट संशोधनसहित अनुमोदन गर्ने गरी पारित भएको थियो ।
महासमिति बैठकबाट प्राप्त सुझाव अनुसार खड्का, थापा र शर्माले आ–आफ्नो प्रतिवेदन संशोधन गरेका छन् । जेठ १७ मा पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले उनीहरूलाई आ–आफ्नो प्रतिवेदन संशोधनको जिम्मा दिएको थियो ।
महामन्त्री थापाका अनुसार सत्ता पक्षमा हुँदा महासमिति बैठकबाट पारित राजनीतिक प्रतिवेदनलाई फागुन २१ बाट प्रतिपक्षमा पुगेको कांग्रेसले सोही अनुसार नयाँ दृष्टिकोणसहित ल्याएको छ ।
गत बिहीबार पार्टीका आन्तरिक विषयमा महामन्त्रीद्वय थापा र शर्माले छलफल गरेका थिए । महासमितिबाट पारित प्रतिवेदन, विभाग गठन, भ्रातृ सङ्गठन, जनसम्पर्क समिति र आगामी केन्द्रीय समिति बैठकका विषयमा उनीहरूले छलफल गरेका थिए । उपसभापति खड्का उपत्यका बाहिर रहेकाले पार्टीको केन्द्रीय समिति बैठकको मिति टुङ्गिएको छैन ।
महामन्त्री थापाले भने, ‘हामीले महासमितिबाट पारित प्रतिवेदनलाई परिमार्जन गर्ने काम गरिसकेका छौँ । पूर्ण दाइ असार ५ मा सुर्खेतबाट फर्किएपछि केन्द्रीय समिति बैठकको मिति तय गर्छौं ।’
कांग्रेस उपसभापति धनराज गुरुङका अनुसार कांग्रेसले महासमिति बैठकबाट पारित प्रतिवेदन नयाँ राजनीतिक परिस्थितिलाई जोडेर अनुमोदन गर्नेछ ।
महासमिति बैठकबाट पारित प्रतिवेदन गठबन्धन र माओवादीलाई हेर्ने नयाँ दृष्टिकोणसहित परिमार्जन भएको छ । कांग्रेसको महासमिति बैठकको दस्तावेजले गठबन्धन फेर्न माओवादीलाई उद्वेलित बनाएको प्रधानमन्त्री प्रचण्डको दाबी छ ।
प्रधानमन्त्री प्रचण्डले गठबन्धन भत्काउनु पछाडिका पाँच कारणमध्ये एउटा कारण कांग्रेस महासमिति बैठकमा प्रस्तुत प्रतिवेदनलाई औँल्याएका थिए । फागुन २१ मा आफूसँग गठबन्धन भत्काएर एमालेसहितको नयाँ सत्ता समीकरण बनाएपछि कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाई ‘राजनीतिक बेइमान’को संज्ञा दिएको छ ।
सभापति शेरबहादुर देउवाले गत फागुन ११ मा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर महासमितिबाट पारित प्रतिवेदनमा गठबन्धन र माओवादीको जनयुद्ध सम्बन्धी विषय परिमार्जन गर्ने विश्वास दिलाएका थिए ।
कांग्रेसले संस्थागत रूपमै प्रधानमन्त्री प्रचण्डको ‘राजनीतिक बेइमानी’का कारण गठबन्धन भत्किएको निष्कर्ष निकालेको थियो । सोही अनुसार प्रतिवेदनहरूमा नयाँ राजनीतिक घटनाक्रम उल्लेख भएको महामन्त्री थापा बताउँछन् ।
कांग्रेसले गठबन्धन नभत्किएको भए महासमितिबाट पारित नीति, साङ्गठनिक र समसामयिक राजनीतिक प्रतिवेदन केन्द्रीय समिति बैठकबाट परिमार्जन गर्ने तयारी गरेको थियो ।
सभापति शेरबहादुर देउवाले गत फागुन ११ मा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर महासमितिबाट पारित प्रतिवेदनमा गठबन्धन र माओवादीको जनयुद्ध सम्बन्धी विषय परिमार्जन गर्ने विश्वास दिलाएका थिए ।
उपसभापति खड्काको नीति प्रतिवेदनबाट माओवादीको सशस्त्र द्वन्द्व उल्लेखित विषय हटाउने तयारी थियो । कांग्रेसको नीति प्रतिवेदनमा माओवादीको हिंसात्मक गतिविधिका कारण देश पछाडि धकेलिएको भन्दै त्यो आवश्यक थिएन भन्ने विषय राखिएको थियो ।
कांग्रेस नेताहरूका अनुसार तत्कालीन गठबन्धनलाई निरन्तरता दिने निर्णयको ठाउँमा प्रधानमन्त्री प्रचण्डको ‘राजनीतिक बेइमानी’को कुरा उल्लेख हुनेछ । महामन्त्री थापाले महासमिति बैठकमा प्रस्तुत गरेको १५ औँ महाधिवेशनको कार्यतालिका पनि केन्द्रीय समितिबाट अनुमोदन हुने छैन ।
यस्तै महामन्त्री थापाको साङ्गठनिक प्रतिवेदनबाट गठबन्धन र १५ औँ महाधिवेशनको कार्यतालिका लगायतका विषय संस्थापन पक्षले हटाउने रणनीति बनाएको थियो । आगामी केन्द्रीय समिति बैठकमा माओवादी र गठबन्धन विरोधी विषय विना परिमार्जन पेस हुँदैछन् ।
गठबन्धन भत्किएपछि महामन्त्री शर्माको समसामयिक राजनीतिक प्रतिवेदनमा उल्लेखित ‘कोशी प्रकरणको च्याप्टर’ हटाइएको छ । यस्तै प्रधानमन्त्री प्रचण्डले फागुन २१ मा कांग्रेससँग गठबन्धन भत्काएपछि महासमिति बैठकको निर्णय पनि उल्टिने भएको छ ।
कांग्रेस नेताहरूका अनुसार तत्कालीन गठबन्धनलाई निरन्तरता दिने निर्णयको ठाउँमा प्रधानमन्त्री प्रचण्डको ‘राजनीतिक बेइमानी’को कुरा उल्लेख हुनेछ । महामन्त्री थापाले महासमिति बैठकमा प्रस्तुत गरेको १५ औँ महाधिवेशनको कार्यतालिका पनि केन्द्रीय समितिबाट अनुमोदन हुने छैन ।
विधान अनुसार महाधिवेशनको कार्यतालिका बनाउने काम केन्द्रीय समितिले गर्नेछ । महासमिति बैठकबाट कार्यतालिका पास गर्दा भोलि संशोधन गर्नु परेमा फेरि महासमिति बैठकमै जानुपर्ने भएपछि महामन्त्री थापा ‘ब्याक’ भएका थिए ।
पार्टी विधानले महाधिवेशनको कार्यतालिका बनाउने अधिकार केन्द्रीय समितिलाई दिएको छ । महामन्त्री थापाले केन्द्रीय समितिले गर्ने कुरा महासमितिबाट गर्नु हुँदैन भन्ने नभएको भन्दै महासमितिमै महाधिवेशन कार्यतालिकाको प्रस्ताव लगेका थिए । महासमिति बैठकमै साङ्गठनिक प्रतिवेदनको अनुसूचीबाट महाधिवेशनको कार्यतालिका हटाइएको थियो ।
विधान अनुसार महाधिवेशनको कार्यतालिका बनाउने काम केन्द्रीय समितिले गर्नेछ । महासमिति बैठकबाट कार्यतालिका पास गर्दा भोलि संशोधन गर्नु परेमा फेरि महासमिति बैठकमै जानुपर्ने भएपछि महामन्त्री थापा ‘ब्याक’ भएका थिए । १५ औँ महाधिवेशन २०८२ मा गर्ने कुरा महासमितिबाट पास भइसकेको छ ।
महामन्त्री थापाका अनुसार उक्त कुरा साङ्गठनिक प्रतिवेदनबाट हट्ने छैन । केन्द्रीय कार्यसमिति बैठक असार दोस्रो साता बस्ने तयारी छ । ‘केन्द्रीय समिति बैठकका लागि पार्टी कार्यालयको तयारी पूरा भएको छ । सम्भवतः असार दोस्रो साता बस्ने गरी केन्द्रीय समिति बैठक तय हुन्छ होला,’ महामन्त्री थापाले भने ।