सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१० बजे, १० समाचार

सोमबार, ०३ असार २०८१, २१ : ४९
सोमबार, ०३ असार २०८१

आज २०८१ असार ३ गते सोमबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘रात्रिकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–

आजका मुख्य समाचारमा सत्ता गठबन्धनभित्र बढेकै हो अविश्वास ?, जारी टी–२० विश्वकपमा नेपालको यात्रा समाप्त, पेट्रोलियम ढुवानी मजदुरको आन्दोलन फिर्ता, राजधानीबाट ६ किलो सुनसहित पक्राउ चिनियाँ नागरिकसँग नेपाली नागरिकता, राष्ट्रपति पौडेललाई जर्मनमा ‘गार्ड अफ अनर’, हुल बाँधेर दिइन्छ वरिष्ठ अधिवक्ताको उपाधि, मुस्लिम धर्मावलम्बीले मनाएर बकर इद, माओवादी घटकबिच एकता अलपत्र लगायत छन् ।

१. सत्ता गठबन्धनभित्र बढेकै हो अविश्वास ?
सत्ता गठबन्धनभित्र अविश्वास बढेको बुझ्न सकिने गरी पछिल्लो समय समाचार प्रकाशमा आइरहेका छन् । खासगरी बजेटका सम्बन्धमा सत्तारुढ दलहरूबिच केही अविश्वास देखिएको पाइन्छ । यद्यपि सत्ता सहयात्री प्रमुख घटक नेकपा एमालेले यस्ता विषयले तत्कालै गठबन्धनमा कुनै असर नपर्ने बताइरहेको छ भने रास्वपाका नेताहरू आफ्ना मन्त्रीले मिति खाली राखेर राजीनामा बोकेर हिँडिरहेको बताउने गरेका छन् ।  

२. जारी टी–२० विश्वकपमा नेपालको यात्रा समाप्त
अमेरिका र वेस्ट इन्डिजमा जारी टी–२० विश्वकपमा नेपालको यात्रा समाप्त भएको छ । समूह चरणका चार खेलमध्ये नेपालले एउटामा खेलविना नै अङ्क बाँडेको थियो भने तीन खेलमा पराजय झेल्यो ।

३. पेट्रोलियम ढुवानी मजदुरको आन्दोलन फिर्ता
सरकार र आन्दोलनरत ट्याङ्कर चालकबिच सहमति भएको छ । सोमबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको छलफलमा ट्याङ्कर चालकले राखेको मागबारे अध्ययन गर्न समिति गठन गर्ने सहमतिसँगै आन्दोलन फिर्ता भएको हो ।

४. राजधानीबाट ६ किलो सुनसहित पक्राउ चिनियाँ नागरिकसँग नेपाली नागरिकता
काठमाडौँको तिनचुलीबाट ६ किलो सुनसहित पक्राउ परेका चिनियाँ नागरिक सोनाम गुरुङको साथमा नेपाली नागरिकता भेटिएको छ । जिल्ला प्रशासन कार्यालय मुस्ताङबाट जारी भएको नागरिकता उनको साथमा भेटिएको सीआईबीका प्रवक्ता (एसपी) होविन्द्र बोगटीले रातोपाटीलाई बताए ।

५. राष्ट्रपति पौडेललाई जर्मनमा ‘गार्ड अफ अनर’
जर्मन भ्रमणमा रहेका राष्ट्रपति रामचन्द्र पौडेललाई सोमबार बर्लिनमा जर्मन सरकारले गार्ड अफ अनर दिएको छ । राष्ट्रपति पौडेल र जर्मनीका राष्ट्रपतिबिच द्विपक्षीय भेटवार्ता हुनु अघि सो सम्मान दिइएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।  

६. हुल बाँधेर दिइन्छ वरिष्ठ अधिवक्ताको उपाधि
सर्वोच्च अदालतले वरिष्ठ अधिवक्ताको उपाधि दिने प्रक्रिया अघि बढाएको छ । फुल कोर्टमा सिफारिस सूची पुगेसँगै यो उपाधि दिने मापदण्डका बारेमा बहस हुन थालेको छ ।

७. मुस्लिम धर्मावलम्बीले मनाएर बकर इद
मुस्लिम धर्मावलम्बीको महान् पर्व बकर इद (इदुल जोहा) सोमबार देशभरका मस्जिदमा मनाइएको छ । इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने धार्मिक विधि छ ।

८. माओवादी घटकबिच एकता अलपत्र
नेकपा (माओवादी केन्द्र) र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबिचको एकता प्रक्रिया ठोस रूपमा अगाडि बढ्न नसक्दा अन्योल देखिएको छ । सैद्धान्तिक रूपमा दुई पार्टीबिच एकता गर्न कुनै मतभिन्नता देखिँदैन तर मार्गदर्शक सिद्धान्त, साङ्गठनिक संरचनाको विषयमा कुरा नमिल्दा एकता प्रक्रियाले ठोस आकार ग्रहण गर्न नसकेको हो ।

९. गरिबी निवारण कोष अलपत्र
गरिबी न्यूनीकरणका लागि काम गर्ने भन्दै सुरु भएको गरिबी निवारण कोष आफैँ सिंहदरबारमा अलपत्र भएको छ । करिब पाँच वर्षदेखि कोषको सामानहरू सिंहदरबारको एक स्टोरमा थन्किएको छ भने पदाधिकारी विरुद्धको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ ।

१०. प्रदेशका बजेटमा आ–आफ्नै सुरताल
सबै प्रदेशले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरिसकेका छन् । बजेटमा केही प्रदेशले आकर्षक नारालाई महत्व दिएका छन्, केही प्रदेश बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउन प्रयत्नशील देखिन्छन् भने केहीले स्रोत सुनिश्चित नभए पनि बजेटको आकार बढाएका छन् । यसै सन्दर्भमा गण्डकी, बागमती, कोशी र कर्णाली प्रदेशका बजेटसम्बन्धी समाचार हेर्नुहोस् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप