मङ्गलबार, ०८ माघ २०८१
ताजा लोकप्रिय
मजदुरहरूको आन्दोलन

पेट्रोलियम ढुवानीकर्ताको आन्दोलन : निगमको अक्षमताले निम्त्याएको सकस

सोमबार, ०३ असार २०८१, १९ : १२
सोमबार, ०३ असार २०८१

काठमाडौँ । पेट्रोलियम पदार्थलाई सरकारले अत्यावश्यकको सूचीमा राखेको छ । यो सूचीमा पर्ने वस्तुको ढुवानी, बिक्री वितरण र सेवामा कुनै प्रकारको बन्द र हड्ताल गर्न पाइँदैन । यदि कसैले बन्द हड्ताल घोषणा गरेर अत्यावश्यक वस्तुको सेवा अवरुद्ध गरेमा कारबाही गर्ने कानुनी प्रावधान छ ।

तर यो कानुनी प्रावधान कागजमै सीमित रहँदा समय–समयमा अत्यावश्यक सेवाको क्षेत्रमा समेत बन्द हड्ताल हुँदै आएको छ भने उपभोक्ताले सास्ती खेप्दै आइरहेका छन् । पेट्रोलियम ट्याङ्कर चालक सङ्घले जेठ २९ गते नै विज्ञप्ति जारी गर्दै आन्दोलनको चेतावनी दिएको थियो ।

सङ्घको लेटरहेडमा जारी भएको विज्ञप्तिअनुसार जेठ ३२ गतेदेखि विरोधको कार्यक्रम सुरु भइसकेको थियो । ३२ गते कालोपट्टी बाँधेर विरोध गर्ने, असार १ गते गाडीमा कालो झण्डा राखेर विरोध गर्ने पूर्वजानकारी गरायो । यस्तै सङ्घले चेतावनीको भाषामा लेखेको थियो, ‘पूर्ण रूपमा काम छाडेर गाडीको साँचो ट्याङ्कर धनीलाई हस्तान्तरण गर्ने ।’

आन्दोलनको कार्यक्रम सुरु हुनुभन्दा २ दिन अघिदेखि नै पूर्वसूचना दिँदा पनि नेपाल आयल निगमले सहमति र वार्ताका लागि उदासीनता देखायो । परिणामस्वरुप उपत्यकामा पछिल्लो २४ घण्टा पेट्रोलियम पदार्थको वितरण सकसपूर्ण बन्यो । ३२ गतेदेखि विरोध कार्यक्रम सुरु भएपछि निगमले तत्कालै छलफलको बाटो रोज्नुपर्थ्यो ।

१ गते शनिबार भएकाले त्यो दिन उपत्यकाका पेट्रोल पम्पमा तेल उठेन । शुक्रबारदेखि पम्पहरूले भरेको तेल शनिबार झनै रित्तियो । जसको परिणाम आइतबार भयावह स्थिति सिर्जना भएपछि देखियो । आइतबार दिँउसो १२/१ बजेसम्म स्थिति सामान्य नै रहे पनि त्यसपछि भने पम्पहरू धमाधम बन्द हुन थाले । बेलुका कार्यालय बन्दको समयमा उपत्यकाका सबैजसो पम्पमा सवारी साधनको लामो लाइन लागिसकेको थियो ।

उपत्यकामा पेट्रोलियम पदार्थको हाहाकार सुरु भएको २४ घण्टाभन्दा बढी समयपछि भने आपूर्ति सुरु भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा निगम नेतृत्वसहित आन्दोलनरत चालकसँगको बैठकले सहमति जुटाएपछि आपूर्ति पुनः सुरु भयो । तर, यस बिचमा निगम नेतृत्वले आन्दोलनरत पक्षसँग वार्ता प्रक्रियामा ढिलाइ गर्दा उपत्यकावासीले २४ घण्टाभन्दा बढी समय सकसपूर्ण अवस्थामा बिताउनुपर्‍यो ।

निगमका प्रवक्ता मनोजकुमार ठाकुर मजदुरले आफ्नो माग राखेर आन्दोलन गरेदेखि नै छलफल प्रक्रिया अघि बढेको बताउँछन् । उनले सोमबार ट्याङ्कर व्यवसायीसहित चालक र निगम पक्षबिच भएको वार्ताबाट निकास निस्किएको बताए । तर, समयमै निकासको पहल नहुँदा उपत्यकावासी उपभोक्ताले सबैजसो पेट्रोल पम्पमा लामो लाइन झेल्नुपर्‍यो ।

नेपाल पेट्रोलियम डिलर्स एसोसिएसनका अध्यक्ष दिलेन्द्रप्रसाद प्रधान निगम र ट्याङ्कर चालक गैरजिम्मेवार बन्दा भयावहपूर्ण स्थिति आएको बताउँछन् । रातोपाटीसँगको कुराकानीमा उनले भने, ‘निगमले पनि यो स्थिति आउला भनेर आकलन गरेको थिएन होला । चालकले पनि आफ्नो माग सम्बोधन छिट्टै हुन्छ भन्ने आकलन नगरेका हुन सक्छन् ।’

प्रधानका अनुसार सरकारलाई समयमै सूचना दिँदासमेत माग सम्बोधन नभएपछि यस प्रकारको समस्या आउने गरेको हो ।

pradhan

यसअघि डिलर्सले २०७९ मा भाडादर वृद्धिको माग राख्दै आन्दोलन घोषणा गरेको थियो । सो समयमा पनि अहिलेको जस्तै भयावहपूर्ण स्थिति आइपरेको थियो । त्यसबारे बुझ्दा प्रधान भन्छन्, ‘व्यवसायीमाथि सरकारविरुद्ध आन्दोलन गर्नुपर्ने बाध्यात्मक स्थिति रहेको बताउँछन् ।’ व्यवसायीले राख्ने सबै माग सम्बोधनयोग्य नभए पनि वार्तामा बोलाउनुपर्नेमा स्थिति खराब बनेपछि मात्रै वास्ता गर्नेगरेको उनको भनाइ छ ।

ट्याङ्कर चालक सङ्घका अध्यक्ष ईश्वर लामासमेत यस्तै अनुभव सुनाउँछन् । निगमसँग माग राखेर आन्दोलनमा उत्रिएको सङ्घलाई निगमले प्रत्यक्ष रूपमा चिन्दैन । चालक सङ्घसँगभन्दा पनि ढुवानी व्यवसायी महासङ्घसँग निगमको सम्बन्ध र सम्झौता हुन्छ । सोहीअनुसार पेट्रोलियम ढुवानी हुन्छ ।

तर, आवश्यकताअनुसार सेवा सुविधा नपाउँदा निगम लक्षित आन्दोलन गर्नुपरेको लामाको भनाइ छ । ‘हामीलाई कसैले सुन्दै सुन्दैन । सुन्थ्यो भने २९ गते नै पूर्वजानकारी दिएका थियौँ,’ लामाले भने ।

त्यस यताको अवधिमा निगमले सहमतिको बाटो रोज्नुपर्नेमा बेवास्ता गरेको लामाले बताए । ‘हाम्रो आन्दोलनले उपभोक्तालाई मार पर्‍यो, यसबारे हामी जानकार छौँ,’ उनले भने, ‘हामीले वर्षौंदेखि खेप्दै आइरहेको समस्याबारे त कसैले सुनेकै छैन । यही समस्या सुनाउन आन्दोलन गरेको हो ।’

तर निगमले पहिला नै वार्तामा बोलाएको भए उपभोक्ताले दुःख नै नपाउने उनको दाबी छ । ‘हामीले सहमति गर्नेगरी नै आन्दोलनको चेतावनी दिएका थियौँ,’ लामाले भने, ‘तर निगमले बेवास्ता गर्‍यो र उपभोक्ताले दुःख पाए ।’

जेठ २९ गते नै आन्दोलनको पूर्व कार्यतालिका सार्वजनिक भएपछि निगम नेतृत्वले यसलाई समाधानको बाटोतर्फ लैजानुपर्थ्यो । तर, सोअनुसार अघि बढ्न निगमले अक्षमता देखाउँदा उपभोक्ताले २४ घण्टाभन्दा बढी सकसपूर्ण स्थितिमा बिताउनुपर्‍यो ।

निगमका अनुसार काठमाडौँ उपत्यकामा ८५ वटा हाराहारी पम्प छन् । यी पम्पमा प्रतिपम्प ८ देखि १२ किलोलिटर पेट्रोल र १२ देखि २० किलोलिटर डिजेल भण्डारण हुन्छ ।

शुक्रबारदेखि सुरु भएको आन्दोलनलाई सोही दिन वा अघि नै सल्टाएको भए यो समस्या नै आउने थिएन । २९ गते आन्दोलनको कार्यक्रम घोषणा भएपछि निगमले ३० र ३१ तथा ३२ गते नै सहमति गर्न सक्नुपर्थ्यो । निगमले वार्ताका लागि अक्षमता प्रस्तुत गर्दा पछिल्लो हाहाकार मच्चिएको हो ।

उपभोक्ता अधिकारकर्मी ज्योति बानियाँ सरकार र व्यवसायीको गैरजिम्मेवारपूर्ण व्यवहारका कारण यो समस्या आइपरेको बताउँछन् । ‘सरकार र व्यवसायीको मिलेमतोमा हुने यस प्रकारका गतिविधिबाट उपभोक्ताले अनावश्यक दुःख पाउँछन्,’ उनले भने, ‘सरकारले सुरुमै वार्तामा बोलाउनुपर्थ्यो भने चालक यो हदसम्म जान हुँदैनथ्यो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

निकेश खत्री
निकेश खत्री

खत्री रातोपाटीका लागि आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप