विभिन्न स्थानबाट लागू औषधसहित ६ जना पक्राउ
काठमाडौँ । लागू औषधसहित विभिन्न स्थानबाट ६ जना पक्राउ परेका छन् । काठमाडौँ, चितवन बाँके लगायतका जिल्लामा ६ जना पक्राउ परेका हुन् । काठमाडौँको चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट लागू औषध नाईट्राभेट १ सय ६० ट्याब्लेटसहित एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा रौतहट सिमरा भवानीपुर नगरपालिका–९ बस्ने २४ वर्षीय अरूणकुमार चौधरी रहेका छन् । प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको संयुक्त टोलीले उनलाई सोमबार दिउँसो पक्राउ गरेको हो ।
रौतहट गौरदेखि काठमाडौँतर्फ आउँदै गरेको बा.प्र.०३–००१ख २९६१ नम्बरको बस जाँच गर्ने क्रममा चौधरी पक्राउ परेका हुन् । त्यस्तै चितवनमा पनि लागूऔषधसहित २ जना पक्राउ परेका छन् । जिल्लाको राप्ती नगरपालिका–११ डुम्रीखाडीबाट सोमबार दिउँसो गाँजा ४ किलो ९ सय ग्रामसहित २ जना पक्राउ परेका हुन् ।
पक्राउ पर्नेहरूमा रत्ननगर नगरपालिका–११ बस्ने २४ वर्षीय मनोज गुरूङ र नवलपरासी गैंडाकोट नगरपालिका–५ बस्ने २४ वर्षीय सुशील पुन रहेका छन् । इलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको प्रहरीले थाकलटारबाट भण्डारातर्फ जाँदै गरेको ना.५९ प ९९०८ नम्बरको मोटरसाइकलमा सवार दुवै जनालाई उक्त गाँजासहित पक्राउ गरेको हो ।
उता, बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१५ जमुनाह चेक प्वाइन्टबाट पनि लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्रामसहित एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको बैजनाथ गाउँपालिका–२ बस्ने २१ वर्षीय प्रदिप कुमार बस्नेत रहेका छन् ।
उनलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्युरो नेपालगञ्जबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालगञ्जतर्फ आउँदै गरेको भे.५ प ४५५३ नम्बरको स्कुटरमा सवार उनलाई पक्राउ गरेको हो ।
त्यस्तै बर्दियाको बढैयाताल गाउँपालिका–२ फुटाहबाट खैरो हेरोइन ४ सय ४० मिलिग्रामसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा बाँसगढी नगरपालिका–६ बस्ने २४ वर्षीय शिसिर भण्डारी र २० वर्षीय निरज थारू रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय बर्दिया र इलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई आइतबार दिउँसो पक्राउ गरिएको जानकारी दिएको छ ।