एमाले मोरङमा विवाद : आत्माआलोचना गर्न जिल्ला अध्यक्षलाई थापा पक्षको आग्रह
विराटनगर । नेकपा एमाले विराटनगर महानगरपालिकाका अध्यक्ष सागर थापासहित ६ जनाले जिल्ला अध्यक्ष बाबुराम कार्कीले थमाएको पत्र सच्याउन र आत्माआलोचना गर्न आग्रह गरेका छन् ।
विराटनगरस्थित एमाले पार्टी कार्यालयमा सोमबार पत्रकार सम्मेलन गर्दै उनीहरूले आफूहरूलाई गरिएको भनिएको कारबाही खारेज गरेर पार्टी काममा फर्कने वातावरण निर्माण गर्न माग गरेका हुन् ।
२०८१ जेठ ३१ गते नेकपा एमाले जिल्ला अध्यक्ष बाबुराम कार्कीले पार्टीका नेता र कार्यकर्तालाई मानगढ खानेपानी उपभोक्ता समितिको निर्वाचनको विषयलाई लिएर सोधेको स्पष्टीकरण र त्यसबाट उत्पन्न भएका परिस्थितिका बारेमा धारणा सार्वजनिक गर्दै थापाले भने, ‘दर्ता चलानीसमेत नगरी पत्रहरू दिइएको छ । यो प्रक्रिया हेर्दा पूर्वाग्रहले प्रेरित भएर शक्तिको दुरुपयोग गरिएको देखिन्छ ।’
पत्रकार सम्मेलनमा पार्टीका आधिकारिक उम्मेदवार भनिएको राम घिमिरेले २६ वर्षदेखि मानगढ खानेपानीको नेतृत्व गर्दा भ्रष्टाचार र अनियमितता गरेको आरोप पनि लगाएका छन् ।
‘नेकपा एमालेले अवसरहरूको समानुपातिक वितरण गर्नु पर्छ भन्ने मान्यता राख्छ, यो मान्यतालाई हेर्दा २६ वर्षदेखि मानगढ खानेपानी आयोजनामा एकै व्यक्ति निरन्तर अध्यक्ष भएका छन् । फेरी हुने प्रयत्नमा छन् । कहिले पार्टीको सहयोग लिँदै तथा कहिले मानगढको अध्यक्ष हुन कै लागि पनि पार्टी छोडेर अन्य पार्टीमा प्रवेश गरेर क. राम घिमिरे अध्यक्ष हुँदै आउनु भएको छ,’ थापाले भने, ‘गएको केही वर्षयता उहाँले स्थानीय पार्टीको नेताको सल्लाह सुझावलाई अवहेलना गर्ने मात्रै गरिरहनु भएको थिएन, खानेपानीकै गुणस्तर समेत कम भएको जनगुनासोलाई समेत वेवास्ता गर्दै आउनु भएको थियो ।’
पत्रकार सम्मेलनमा बोल्दै एमाले महानगरका सहसचिव नवराज नेपालले घिमिरेले जग्गा खरिदमा घोटला गरेको र अहिलेसम्म लेखा समिति पनि नबनाएको बताए ।
यस्तै थापा पक्षले एमाले मोरङ र विराटनगर महानगरको अधिवेशनलाई प्रभावित पार्नका लागि आफूहरूलाई कारबाही गरेको दाबी पनि गरेका छन् । ‘नेकपा एमाले मोरङ र विराटनगर महानगर कमिटीको अधिवेशन केही महिनाभित्रै हुँदैछ । यी अधिवेशनमा प्रभाव पार्ने र पार्टी नेतृत्वलाई गलत ढंगले सूचना दिने तथा कार्यकर्ताहरूको मनोबल गिराएर आफ्ना उद्देश्य पुरा गर्ने हिसाबले कारबाहीको प्रक्रिया अगाडि बढाइएको हाम्रो ठहर छ,’ थापाले भने ।
उनले आफूहरूलाई बुझाएको पत्र फिर्ता लिएर आत्माआलोचना गर्न पनि जिल्ला अध्यक्ष कार्कीलाई आग्रह गरेका छन् ।
थापाले पार्टीको बिधानको दफा ८० को ३ र ६ बमोजिम कारबाही गरेको पत्र बुझाएको भएपनि विधानको सो दफा यो विषयमा आकर्षित हुने आधार नभएको दाबी गरे । उनले जिल्ला समिति मातहतबाटै समस्या समाधानका लागि आग्रह पनि गरेका छन् ।
पत्रकार सम्मेलनमा एमाले विराटनगरका अध्यक्ष थापा, जिल्ला सदस्य मुकेश बुढाथोकी, महानगर सहसचिव नवराज नेपाल, महानगर समिति सदस्य सुरज न्यौपाने, वडा नम्बर ३ का अध्यक्ष लालमणि भट्टराई र महानगर सदस्य सन्दीप पोखरेल तथा एमाले विराटनगरका दर्जनौँ नेता कार्यकर्ताको उपस्थिति थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी डलरको भाउ स्थिर, अन्य कसको मूल्य कति ?
-
पाँच महिनामा ५५ गर्भवती र सुत्केरीको उद्धार
-
ला लिगामा बार्सिलोनालाई धक्का, सेल्टा भिगोले बराबरीमा रोक्यो
-
लुम्बिनीलाई मुक्तिनाथसँग जोड्यो कालीगण्डकी करिडोरले
-
दुर्गा प्रसाईंको बीएण्डसी मेडिकल कलेजमा एमबीबीएस पठनपाठनको तयारी
-
ब्राइटन, वुल्भ्स विजयी हुँदा एस्टन र क्रिस्टल, एभर्टन र ब्रेन्टफोर्डले अंक बाँडे