न्युजिल्यान्डलाई स्तब्ध पार्दै विश्वकपमा पहिलो जित निकाल्ने दाउमा पपुवा न्यु गिनी
काठमाडौँ । आईसीसी टी–२० विश्वकप क्रिकेटमा सोमबार राति न्युजिल्यान्डले पपुवा न्यु गिनीको सामना गर्दैछ । उक्त खेल ट्रिनिडाड एन्ड टोबागोस्थित ब्रायन लारा क्रिकेट एकेडेमीमा नेपाली समय अनुसार, राति २०ः१५ बजे सुरु हुनेछ ।
न्युजिल्यान्ड र पपुवा न्यु गिनी दुवै टोली यसअघि नै उपाधि होडबाट बाहिरिइसकेका छन् । यी दुवै टोली प्रतियोगिताको समूह ‘सी’ मा छन् । उक्त समूहमा अफगानिस्तान, वेस्ट इन्डिज र युगान्डा पनि रहेका छन् ।
समूह ‘सी’ बाट वेस्ट इन्डिज र अफगानिस्तान यसअघि नै सुपर–८ चरणमा पुगिसकेका छन् । तर, समूह विजेता र उप–विजेताको टुङ्गो लाग्न भने बाँकी छ । तीन खेल खेलेको अफगानिस्तान ६ अंकसहित पहिलो र समान खेलबाट समान अंक जोडेको वेस्ट इन्डिज दोस्रो स्थानमा छन् ।
न्युजिल्यान्ड र पपुवा न्यु गिनीले समूहगत चरणमा आफ्नो अन्तिम खेल खेल्न लागेका हुन् । तीन खेलबाट दुई अंक बटुलेको न्युजिल्यान्ड तालिकाको तेस्रो स्थानमा छ । चारवटै खेल सकेको युगान्डा दुई अंकसहित चौथो स्थानमा छ । तीनवटै खेलमा पराजित भएको पपुवा न्यु गिनी पाँचौँ स्थानमा छ ।
त्यसैले सोमबार रातिको खेलमा जित हात पार्दै न्युजिल्यान्ड तालिकाको तेस्रो स्थानमा रहेर विश्वकप यात्रा टुङ्ग्याउने धुनमा छ । अर्कोतिर, पपुवा न्यु गिनी भने विश्वकपको नवौँ संस्करणमा पहिलो जितको खोजीमा हुनेछ ।
बलियो टेस्ट राष्ट्र न्युजिल्यान्डले जारी विश्वकपमा निराशाजनक प्रदर्शन गर्दै आएको छ । न्युजिल्यान्ड आफ्नो पहिलो खेलमा अफगानिस्तानसँग ८४ रनले पराजित भएको थियो । दोस्रो खेलमा न्युजिल्यान्डको टोली आयोजक वेस्ट इन्डिजसँग १३ रनले हारेको थियो ।
तेस्रो खेलमा भने न्युजिल्यान्डले तुलनात्मक रुपमा कमजोर प्रतिद्वन्द्वी युगान्डालाई नौ विकेटले पराजित गरेको थियो । पपुवा न्यु गिनी भने पहिलो खेलमा वेस्ट इन्डिजसँग पाँच विकेटले, दोस्रो खेलमा युगान्डासँग तीन तीन विकेटले र तेस्रो खेलमा अफगानिस्तानसँग सात विकेटले हारेको थियो ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलद्वारा घोषित पछिल्लो टी–२० अन्तर्राष्ट्रिय वरीयतामा न्युजिल्यान्ड पाँचौँ र पपुवा न्यु गिनी २०औँ स्थानमा आसिन छन् । पपुवा न्यु गिनीले टी–२० विश्वकपमा दोस्रो पटक सहभागिता जनाएको हो ।
टी–२० विश्वकपमा हालसम्म ६ खेल खेलेको पपुवा न्यु गिनीले एक खेल पनि जित्न सकेको छैन । पपुवा न्यु गिनी ६ वटै खेलमा पराजित भएको छ । पपुवा न्यु गिनीले सन् २०२१ मा पहिलो पटक टी–२० विश्वकप खेलेको थियो ।
न्युजिल्यान्डको भने टी–२० विश्वकपमा यो नवौँ सहभागिता हो । सन् २००७ मा सम्पन्न पहिलो संस्करणदेखि नै न्युजिल्यान्डले टी–२० विश्वकप खेल्दै आएको छ । सन् २०२१ मा पहिलो पटक न्युजिल्यान्ड टी–२० विश्वकपको फाइनलमा पुगेको थियो ।
विश्वकपको त्यो संस्करणको फाइनलमा न्युजिल्यान्डलाई छिमेकी प्रतिद्वन्द्वी अस्ट्रेलियाले आठ विकेटले हराएको थियो । विश्वकपमा हालसम्म ४५ खेल खेलेको न्युजिल्यान्डले २४ जित र १९ हारको नतिजा निकालेको छ । न्युजिल्यान्डको दुई खेल भने बराबरीमा सकिएको छ ।
टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा न्युजिल्यान्ड र पपुवा न्यु गिनी हालसम्म आपसमा भिडेका छैनन् । त्यसैले सोमबार राति यी दुई टोली पहिलो पटक आपसमा भिड्नेछन् । न्युजिल्यान्ड र पपुवा न्यु गिनीबिच खेल हुने समयमा ट्रिनिडाड एन्ड टोबागोमा वर्षाको सम्भावना ६० प्रतिशत रहेको छ ।
न्युजिल्यान्डको सम्भावित टोलीमा केन विलियम्सन (कप्तान), फिन एलन, ट्रेन्ट बोल्ट, माइकल ब्रासवेल, डेभोन कनवे, लोकी फर्गुसन, ड्यारल मिचेल, ग्लेन फिलिप्स, रचिन रविन्द्र, मिचेल सान्टनर र टिम साउथी रहेका छन् ।
यसैगरी पपुवा न्यु गिनीको सम्भावित टोलीमा असदुल्ला भाला (कप्तान), एली नाओ, सीजे अमिनी, ज्याक गार्डनर, जोन कारिको, किपलिङ डोरिगा, लेगा सियाका, नर्मन वनुआ, सेमा कामिया, सेसे बाउ र टोनी उरा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमन्त्रीले भने, ‘सशस्त्रका जवानलाई १६ वर्षमा अवकाश दिने गरी कानुन बन्दैछ’
-
सिमेन्टमा भएको मूल्यवृद्धि तत्काल नियन्त्रण गर्न समितिको निर्देशन
-
आयरल्यान्डसँग स्तब्ध हुँदै उपाधि होडबाट बाहिरियो पाकिस्तान
-
धावनमार्ग नजिकका पक्की पर्खाल भत्काउँदै दक्षिण कोरिया
-
अवैध भरुवा बन्दुकसहित एक जना पक्राउ
-
कवाडी व्यवसायीको विषयमा जसपा नेपालले गरायो सरकारलाई ध्यानाकर्षण