बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय
विश्वकप विशेष

टी–२० विश्वकपमा नेपाल : फेरि पनि ब्याटिङमै समस्या

सोमबार, ०३ असार २०८१, १६ : १२
सोमबार, ०३ असार २०८१

काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेटमा निराशाजनक ब्याटिङ नेपालको पुरानै समस्या हो । अन्तिम समयमा ब्याटिङमा चिप्लिएकै कारण नेपालले थुप्रै अन्तर्राष्ट्रिय प्रतियोगितामा अप्रत्याशित हार ब्यहोर्नु परेको छ । नेपाली क्रिकेटले विगतमा यस्ता नमिठा क्षण धेरैपटक ब्यहोरेको छ ।

यस्तै नियति नेपालले हाल वेस्ट इन्डिज र अमेरिकामा जारी आईसीसी टी–२० विश्वकपको नवौँ संस्करणमा पनि भोग्नु पर्‍यो । यो विश्वकपमा नेपालले तीनवटा खेल खेल्यो । ती तीनवटै खेलमा कमजोर ब्याटिङ र खराब फिल्डिङ नै नेपाली टोलीको अप्रत्याशित हारको कारण बन्न पुग्यो ।

cricket nepal

समूहगत चरणमा नेपाल र श्रीलंकाबिचको खेल भने वर्षाका कारण रद्द भएको थियो । नेपाली टोली १० वर्ष लामो प्रतीक्षापछि दोस्रो पटक टी–२० विश्वकपमा छनोट भएको थियो । यो उपलब्धि हासिल गर्न नेपालले लामो समय अनवरत सङ्घर्ष गर्नुपरेको थियो ।

 पुरानो उपलब्धि दोहोर्‍याउन पनि असफल

nepali

तर, नेपालले यो विश्वकपमा १० वर्षअघिको उपलब्धि पनि दोहोर्‍याउन सकेन । सन् २०१४ मा पहिलो पटक टी–२० विश्वकपमा सहभागी हुँदा नेपालले समूहगत चरणमा तीनमध्ये दुई खेलमा जित हात पारेको थियो ।

त्यो विश्वकपको प्रारम्भिक चरणमा नेपाल समूह ‘ए’ मा परेको थियो । नेपालको समूहमा आयोजक बंगलादेश, अफगानिस्तान र हङ्कङ पनि थिए । समूह ‘बी’ मा भने जिम्बाबे, नेदरल्यान्ड्स, आयरल्यान्ड र यूएई रहेका थिए ।

दुबै समूहबाट एक–एक टोली ‘सुपर टेन’ चरणमा पुग्ने प्रावधान थियो । नेपालले आफ्नो पहिलो खेलमा हङ्कङलाई ८० रनले हराएको थियो । दोस्रो खेलमा नेपाली टोली टेस्ट राष्ट्र बंगलादेशसँग आठ विकेटले पराजित भएको थियो ।

cricket-nepal

यसैगरी समूहगत चरणको अन्तिम खेलमा नेपालले अफगानिस्तानलाई नौ रनले हराएको थियो । समूहगत चरणमा नेपाल र बंगलादेश दुबैले दुई–दुई खेलमा जित र एक–एक खेलमा हारको नतिजा निकालेका थिए । बंगलादेशी टोली भने हङ्कङसँग दुई विकेटले पराजित भएको थियो ।

समूहगत चरणमा नेपाल र बंगलादेशको चार–चार अंक थियो । तर, नेट रन रेटमा नेपालभन्दा अगाडि रहँदै बंगलादेश ‘सुपर टेन’ चरणमा पुग्न सफल भएको थियो । बंगलादेशको नेट रन रेट १.४६६ र नेपालको नेट रन रेट ०.९३३ रहेको थियो ।

त्यो विश्वकपमा नेपाल झिनो अन्तरका कारणमात्र ‘सुपर टेन’ चरणमा पुग्नबाट बञ्चित भएको थियो । त्यो विश्वकपमा गरेको उत्कृष्ट प्रदर्शनकै कारण नेपालले अन्तर्राष्ट्रिय क्रिकेट समुदायको ध्यान आफूतिर तानेको थियो ।

nepali cricet

तर, १० वर्षपछि छनोट चरण पार गर्दै फेरि विश्वकप यात्रामा होमिएको नेपालले आफूलाई पुरानो उपलब्धिनजिक समेत पुर्याउन सकेन । ब्याटिङमा लगातार खराब प्रदर्शन नै यसको प्रमुख कारण बन्न पुग्यो । आफूले खेलेको तीनवटै खेलमा नेपालको ब्याटिङ निकै कमजोर रह्यो ।

जारी विश्वकपमा नेपालले तीनमध्ये एक खेलमा पहिले ब्याटिङ गर्‍यो भने बाँकी दुई खेलमा जवाफी ब्याटिङ गरेको थियो । जारी विश्वकपमा नेपालले बनाएको उच्च स्कोर एक सय १४ रन हो । पहिले ब्याटिङ गरेको खेलमा पनि नेपाल एक सय ६ रनभन्दा अगाडि बढ्न सकेको थिएन ।

नेदरल्यान्ड्सविरुद्ध पहिलो खेल

nnnn

समूह ‘डी’ तालिकामा नेपाल समग्रमा पाँचौँ भयो । चारमध्ये एक खेलमा विजयी भएको नेदरल्यान्ड्स तालिकामा नेपालभन्दा अगाडि रह्यो । नेपाली टोली समूहगत चरणको आफ्नो पहिलो खेलमा नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको थियो ।

त्यो खेलमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपालले १९.२ ओभरमा अलआउट हुनुअघि एक सय ६ रनमात्र बनाउन सकेको थियो । जवाफी ब्याटिङमा ओर्लिएको नेदरल्यान्ड्सले भने १८.४ ओभरमा केवल चार विकेट गुमाएर एक सय नौ रन बनाउँदै विजयलक्ष्य पार गरेको थियो ।

नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालको ब्याटिङ र फिल्डिङ निराशाजनक थियो । महत्त्वपूर्ण क्षणमा नेपालले दुईवटा क्याच छाडेको थियो भने एउटा रन आउटको अवसर पनि खेर फालेको थियो । त्यो खेलमा कप्तान रोहित पौडेल बाहेक अन्य ब्याट्सम्यानले गतिलो प्रदर्शन गर्न सकेका थिएनन् ।

रोहितले सर्वाधिक ३५ रन बनाएका थिए । नेपालको ओपनिङ जोडी पनि सस्तैमा पेभेलियन फर्किएको थियो । ओपनर कुशल भुर्तेल सात र आसिफ शेख चार रनमा आउट भएका थिए । ओपनर ब्याट्सम्यानले केवल १० रनको साझेदारी गरेका थिए ।

rohit-anil

कप्तान रोहितका अतिरिक्त अनिल साह (११ रन), गुलसन झा (१४ रन) र करण केसी (१७ रन) ले मात्र दोहोरो अंकमा रन बनाउन सकेका थिए । नेपाली टोलीका सात ब्याट्सम्यान त अनावश्यक सट खेल्ने क्रममा क्याच आउट भएर मैदानबाट बाहिरिएका थिए ।

दुई ब्याट्सम्यान बोल्ड भएका थिए भने ओपनर कुशल भुर्तेल एलबीडब्लूको धरापमा परेका थिए । समग्रमा त्यो खेलमा तीव्र गतिका दक्षिण अफ्रिकी बलरको आक्रमणका अगाडि नेपाली ब्याट्सम्यानहरु निरीह बनेका थिए ।

त्यो खेलमा तुलनात्मक रूपमा नेपाली बलरहरुको प्रदर्शन उत्कृष्ट थियो । नेपालका सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र अविनाश बोहराले एक–एक विकेट लिएका थिए । नेदरल्यान्ड्सले विजयलक्ष्य पुरा गर्न १९औँ ओभरसम्म सङ्घर्ष गर्नु परेको थियो ।

kn

जबकि टेक्सासस्थित ग्रान्ड प्रेरी स्टेडियममै खेलिएको अमेरिका र क्यानडा तथा पाकिस्तान र अमेरिकाबिचको खेलमा उच्च स्कोर बनेको थियो । त्यही स्टेडियममा क्यानडाले दिएको एक सय ९५ रनको लक्ष्य अमेरिकाले १७.४ ओभरमा केवल तीन विकेट गुमाएर पुरा गरेको थियो ।

दक्षिण अफ्रिकाविरुद्ध तेस्रो खेल

pani

नेपाल र श्रीलंकाबिच हुने भनिएको दोस्रो खेल भने वर्षाका कारण रद्द भएको थियो । त्यसपछि दुबै टोलीले एक–एक अंक पाएका थिए । त्यसपछि नेपाली टोली आफ्नो तेस्रो खेलमा बलियो टेस्ट राष्ट्र दक्षिण अफ्रिकासँग केवल एक रनले पराजित भएको थियो ।

टस हारी पहिले ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले निर्धारित ओभरमा सात विकेट गुमाएर एक सय १५ रनमात्र बनाउन सकेको थियो । नेपाली टोलीका बलरको लगातारको आक्रमणसामु दक्षिण अफ्रिका ब्याट्सम्यान दबाबमा आएका थिए ।

‘पावर प्ले’ मै पनि दक्षिण अफ्रिकाले गतिलो संख्यामा रन बटुल्न सकेको थिएन । कुशल भुर्तेलले चार र दीपेन्द्रसिंह ऐरीले तीन विकेट लिएका थिए । समग्रमा त्यो खेलमा नेपाली टोलीका बलरहरुको प्रदर्शन उत्कृष्ट थियो ।

kushal-dipendra

जबाफी ब्याटिङमा ओर्लिएको नेपालले पालीको सुरुआत पनि गतिलो गरेको थियो । लामो समयदेखि नचलेको नेपालको ओपनिङ जोडीले पनि ३५ रनको साझेदारी गरेको थियो । ओपनर आसिफ शेखले ४२ र कुशल भुर्तेलले १३ रन बनाएका थिए ।

यसका अतिरिक्त चौथो नम्बरका ब्याट्सम्यान अनिल साहले पनि २७ रन बनाएका थिए । तर, यसअघिका खेलमा राम्रो प्रदर्शन गर्दै आएका कप्तान रोहित पौडेल यो खेलमा असफल देखिए । उनले खातासम्म खोल्न सकेनन् ।

अर्का अनुभवी अलराउन्डर दीपेन्द्रसिंह ऐरी पनि ब्याटिङमा जम्न सकेनन् । उनी ६ रन बनाउँदै पेभेलियन फर्किए । कुनै समय नेपाली टोलीलाई जितका लागि आवश्यक रनभन्दा खेल्न बाँकी बल निकै बढी रहेको अवस्थासम्म थियो ।

तर, यही हुँदा पनि नेपाल जितसम्म पुग्न सकेन । नेपाललाई अन्तिम एक बलमा जितका लागि केवल दुई रन आवश्यक थियो । तर, रन लिन दौडिएका नेपाली टोलीका ब्याट्सम्यान गुलसन झा दुर्भाग्यपूर्ण तरिकाले रन आउट हुन पुगे । त्यो रन पुरा भएको भए खेल ‘सुपर ओभर’ मा पुग्ने थियो ।

ns

समग्रमा अन्तर्राष्ट्रिय प्रतियोगिताको लामो अनुभव बटुलेका प्रभावशाली ब्याट्सम्यानहरुले सम्हालिएर खेल्न नसक्नु र त्यसपछि आएका ब्याट्सम्यानहरुले तनावपूर्ण अवस्थामा दबाबलाई उचित तरिकाले झेल्न नसक्नु नै उक्त खेलमा नेपालको हारको कारण बन्न पुग्यो ।  

बंगलादेशविरुद्ध चौथो खेल

विश्वकपको नवौँ संस्करणमा नेपालले समूहगत चरणको चौथो तथा अन्तिम खेल बंगलादेशसँग खेल्यो । बंगलादेशविरुद्धको खेलमा पनि नेपाली टोलीका बलरले आफ्नो धर्म निर्वाह गरे । तर, यो खेलमा पनि ब्याट्सम्यानको प्रदर्शन भने बिर्सनलायक नै रह्यो ।

sompal

टस हारी पहिले ब्याटिङको निम्तो पाएको बंगलादेशले १९.३ ओभरमा अलआउट हुनुअघि एक सय ६ रनमात्र बनाउन सक्यो । बलियो टेस्ट राष्ट्र बंगलादेशका लागि ‘सुपर–८’ चरणमा पुग्न यो खेलमा जितको विकल्प थिएन ।

nb

त्यसैले बंगलादेशी ब्याट्सम्यानले ठुलो स्कोर बनाउने सक्दो प्रयास गरेका थिए । तर, नेपाली बलरको धारिलो बलिङका कारण सुरुदेखि नै बंगलादेशी ब्याट्सम्यान दबाबमा परे । बंगलादेशका कुनै पनि ब्याट्सम्यान लामो समय क्रिजमा टिक्न सकेनन् ।

कुनै पनि बंगलादेशी ब्याट्सम्यानले १७ भन्दा बढी रन बनाउन सकेनन् । बंगलादेशले केवल ५२ रनको कुल स्कोरमै आफ्नो पाँच विकेट गुमाइसकेको थियो । नेपाली टोलीका बलर सोमपाल कामी, सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी र रोहित पौडेलले दुई–दुई विकेट लिए । बंगलादेशका दुई ब्याट्सम्यान भने रन आउट भएका थिए ।

dipendra

सामान्य विजयलक्ष्य पछ्याएको नेपाली टोलीका ब्याट्सम्यान यो खेलमा पनि निरीह देखिए । नेपाली टोली १९.२ ओभरमा केवल ८५ रन बनाउँदै अलआउट हुन पुग्यो । बंगलादेशी टोलीले २१ रनले खेल जित्यो र ‘सुपर–८’ चरणमा स्थान पनि पक्का गर्‍यो ।

यो खेलमा पनि नेपालको ओपनिङ जोडीको प्रदर्शन निराशाजनक रह्यो । ओपनिङ जोडीले नौ रनको साझेदारी मात्र गर्‍यो । कुशल भुर्तेल केवल चार रन बनाउँदै पेभेलियन फर्किए । त्यसलगत्तै अनिल साह पनि खाता खोल्नुअघि नै आउट भए ।

kushal bhurtel

कप्तान रोहित पौडेल पनि एक रनभन्दा अगाडि बढ्न सकेनन् । ओपनर आसिफ शेख १७ रनको व्यक्तिगत स्कोरमा आउट भए । सन्दीप जोरा एक रन बनाउँदै पेभेलियन फर्किए । यसरी सातौँ ओभरको खेल सकिँदासम्म नेपालले केवल २६ रनमा पाँच प्रभावशाली विकेट गुमाइसकेको थियो ।

माथिल्लो क्रममा ब्याट्सम्यानहरुको निराशाजनक प्रदर्शनपछि त्यसपछि आउने ब्याट्सम्यानहरु पनि दबाबमा परे । त्यसपछि छैटौँ नम्बरका ब्याट्सम्यान कुशल मल्ल र सातौँ नम्बरका ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरीले गतिलो साझेदारी गर्दै केही आश जगाएका थिए ।

rohit

तर, ५२ रनको साझेदारी गर्दै कुशल मल्ल २७ रनमा आउट भएपछि नेपालको आश झिनो बन्न पुगेको थियो । लगत्तै क्रिज समाल्न आएका गुलसन झा पनि शून्य रनमै पेभेलियन फर्किए भने उनलाई पछ्याउँदै दीपेन्द्रसिंह ऐरी पनि २५ रनको व्यक्तिगत स्कोरमा आउट भए ।

nepal

नेपालका पाँच ब्याट्सम्यानले त खातासम्म खोल्न सकेनन् । त्यसमध्ये सन्दीप लामिछाने अविजित रहेका थिए । नेपालका तीन ब्याट्सम्यानले मात्र दोहोरो अंकमा रन बनाउन सकेका थिए । नेपाली ब्याट्सम्यानले कुल ७५ रन बनाए भने १० रन नेपालले अतिरिक्त रुपमा पाएको थियो । यसरी आफ्नो अन्तिम खेलमा पनि नेपाली टोली कमजोर ब्याटिङका कारण पराजय स्विकार्न बाध्य बन्यो ।

टी–२० मा सन्दीप र सय विकेट

sandeep2

जारी विश्वकपमा नेपालको सुरुको दुई खेल अमेरिकामा राखिएको थियो । अघिल्ला दुईमध्ये एक खेलमा नेपाल पराजित भएको थियो भने एक खेल वर्षाका कारण रद्द भएको थियो । अघिल्ला दुई खेलमा प्रभावशाली लेग–स्पिनर सन्दीप लामिछाने नेपाली टोलीमा सहभागी थिएनन् ।

अमेरिकाले भिसा (प्रवेशाज्ञा) दिन अस्वीकार गरेका कारण सन्दीप अमेरिका जान पाएका थिएनन् । तर, नेपालले जारी विश्वकपको पछिल्ला दुई खेल भने क्यारेबियन राष्ट्रमा खेल्यो । त्यसैले पछिल्ला दुवै खेलमा सन्दीपको पनि सहभागिता रह्यो ।  

दुई खेलमात्र खेल्ने अवसर पाए पनि २३ वर्षीय सन्दीपका लागि यो विश्वकप उपलब्धिमूलक रह्यो । सन्दीपले यही विश्वकपमार्फत टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा एक सय विकेटको कोशेढुंगा पुरा गरे । दक्षिण अफ्रिकाविरुद्धको खेलमा उनले विकेट लिन सकेनन् । यद्यपि, त्यो खेलमा उनले निकै किफायती बलिङ गरेका थिए ।

Sandeep Lamichhane

दक्षिण अफ्रिकाविरुद्ध दुई विकेट लिन सकेको भए सन्दीपले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा कम खेल खेल्दै एक सय विकेट लिने बलरको कीर्तिमानसँग बराबरी गर्ने थिए । विश्वकपमा सहभागी हुनुअघि सन्दीपले ५२ खेल खेल्दै ९८ विकेट लिएका थिए । दक्षिण अफ्रिकाविरुद्धको खेल उनका लागि ५३औँ खेल थियो ।

तर, त्यो खेलमा उनले विकेट लिन सकेनन् र कीर्तिमान बनाउनबाट चुके । टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा कम खेल खेल्दै एक सय विकेट लिने बलर अफगानिस्तानका रासिद खान हुन् । उनले पनि ५३ खेल खेल्दै एक सय विकेट लिएका थिए ।

sandeep

तर, जारी विश्वकपमा बंगलादेशविरुद्धको खेलमा दुई विकेट लिँदै सन्दीपले एक सय विकेटको कोशेढुंगा पुरा गरे । तर, उनले रासिद खानले भन्दा एक खेल बढी खेलेर एक सय विकेट पुरा गरे । सन्दीपले ९९औँ विकेटका रूपमा बंगलादेशका तानजिम हसन सकिबलाई बोल्ड गरेका थिए । उनले एक सयौँ विकेटका रूपमा बंगलादेशी ब्याट्सम्यान जाकेर अलीलाई बोल्ड गरेका थिए ।

लामिछाने नेपालका लागि सबैभन्दा बढी अन्तर्राष्ट्रिय विकेट लिने बलर पनि हुन् । उनले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा एक सय र एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा एक सय १२ विकेट लिइसकेका छन् । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा उनको उत्कृष्ट प्रदर्शन केवल ११ रन खर्चिएर ६ विकेट हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रोशन राउत
रोशन राउत
लेखकबाट थप