युरोकप फुटबल : अनुभवी फ्रान्सलाई लयमा देखिएको अस्ट्रियाको चुनौती
काठमाडौँ । अस्ट्रियाले पूर्वविजेता फ्रान्ससँग खेल्दै युरोकप फुटबल प्रतियोगिताको १७औँ संस्करणमा आफ्ना यात्रा अगाडि बढाउँदै छ । फ्रान्स र अस्ट्रियाबिचको खेल नेपाली समयअनुसार, मङ्गलवार राति १२ः४५ बजे सुरु हुनेछ ।
उपलब्धिको हिसाबले मात्र होइन, अनुभवका आधारमा पनि युरोकप फुटबलमा फ्रान्सको तुलनामा कमजोर राष्ट्र हो, अस्ट्रिया । युरोकप फुटबलमा अस्ट्रियाको यो केवल चौथो सहभागिता हो । अस्ट्रियाले सन् २००८ मा पहिलो पटक युरोकपमा सहभागिता जनाएको थियो ।
अस्ट्रियाले त्यसपछि सन् २०१६ र सन् २०२० को युरोकप पनि खेलेको थियो । यसको विपरीत युरोकपमा फ्रान्सको यो ११औँ सहभागिता हो । सन् १९६० मा सम्पन्न युरोकपको पहिलो संस्करणमै फ्रान्सले युरोकपमा सहभागिता जनाएको थियो ।
फ्रान्स युरोकपको पूर्वविजेता पनि हो । फ्रान्सले सन् १९८४ मा युरोकपको उपाधि चुमेको थियो । त्यतिबेला फ्रान्सले फाइनलमा बलियो प्रतिद्वन्द्वी स्पेनलाई २–० गोलले हराएको थियो । त्यतिबेला फ्रान्सेली टोली प्रभावशाली खेलाडी मिचेल प्लाटिनी, म्याक्सिम बोसिस, लुइस फर्नान्डेजजस्ता हस्तीको जगमा उभिएको थियो ।
त्यसपछि फ्रान्स सन् २०१६ मा पनि युरोकपको फाइनलमा पुगेको थियो । घरेलु मैदानमा आयोजित त्यो युरोकपको फाइनलमा फ्रान्सेली टोली पोर्चुगलसँग अतिरिक्त समयमा १–० गोलले पराजित भएको थियो ।
त्यसअघि सन् १९६० मा सम्पन्न पहिलो संस्करणमा फ्रान्स चौथो भएको थियो । सन् १९९६ मा पनि फ्रान्सेली टोलीले चौथो स्थान हासिल गरेको थियो । युरोकपको १७औँ संस्करणमा पनि फ्रान्सलाई उपाधिको बलियो दाबेदारका रूपमा हेरिएको छ ।
फ्रान्सेली टोली आफूले खेलेको पछिल्ला चार ठुला प्रतियोगितामध्ये तीन वटाको फाइनलमा पुग्न सफल भएको छ । सन् २०१८ को विश्वकप फुटबलको उपाधि पनि फ्रान्सेले नै जितेको थियो । त्यतिबेला फ्रान्सले फाइनलमा क्रोएसियालाई ४–२ गोलले हराएको थियो ।
त्यसलगत्तै सन् २०२२ मा खेलिएको कतार विश्वकपमा पनि फ्रान्सेली टोली फाइनलमा पुगेको थियो । त्यो विश्वकपको फाइनलमा लियोनल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिनाले फ्रान्सलाई पराजित गर्दै उपाधि चुमेको थियो ।
जारी युरोकपको छनोट प्रतियोगितामा भने फ्रान्स र अस्ट्रिया दुबैले उत्कृष्ट प्रदर्शन गरेका छन् । अस्ट्रिया आफ्नो समूहमा दोस्रो हुँदै युरोकपमा छानिएको थियो । त्यो समूहमा पहिलो भएको बेल्जियमको २० र अस्ट्रियाको १९ अंक रहेको थियो ।
अर्कोतिर, फ्रान्स आफ्नो समूहमा पहिलो हुँदै युरोकपमा पुगेको थियो । फ्रान्स आफ्नो समूहमा अपराजित रहँदै युरोकपमा छनोट भएको हो । आठमध्ये सात खेलमा विजयी भएको फ्रान्स एउटा खेलमा भने बराबरीमा रोकिएको थियो । त्यो समूहबाट नेदरल्यान्ड्स दोस्रो हुँदै युरोकपमा छनोट भएको थियो ।
अस्ट्रियाको वर्तमान टोलीमा प्याट्रिक पेन्ज (गोलरक्षक), स्टेफन पोस्च, फिलिप लिनहर्ट, गेर्नट ट्राउनर, प्याट्रिक विम्मरलगायतका खेलाडी रहेका छन् । फ्रान्सेली टोलीमा एन्टोइन ग्रिजम्यान, केलियन एमबाप्पे, ओसमेन डेम्बेललगायतका चर्चित खेलाडी सहभागी छन् ।
अस्ट्रियाले आफूले खेलेको पछिल्ला ६ मध्ये पाँच खेलमा जित र एक खेलमा बराबरीको नतिजा निकालेको छ । फ्रान्सले भने आफूले खेलेका पछिल्ला ६ मध्ये तीन खेलमा जित, दुई खेलमा बराबरी र एक खेलमा हारको नतिजा निकालेको छ ।
जारी युरोकपमा फ्रान्स र अस्ट्रिया समूह ‘डी’ मा रहेका छन् । उक्त समूहमा नेदरल्यान्ड्स र पोल्यान्डले एक–एक खेल खेलिसकेका छन् । त्यो खेलमा नेदरल्यान्ड्सले पोल्यान्डमाथि २–१ गोलको जित हासिल गरेको थियो । अस्ट्रिया र फ्रान्सले भने पहिलो खेल खेल्न लागेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अखिल क्रान्तिकारी निर्वाचन : उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशित
-
प्रेस सेन्टर उदयपुरको अध्यक्षमा अभिमन्यु लामिछाने चयन
-
दोस्रो पौवादुङमा गोल्ड कपको उपाधि राजगढ झापालाई
-
बिहीबारदेखि सभापति कप फुटबल
-
सामाजिक सञ्जालबाट यौन दुर्व्यवहार गर्ने इन्ड्राइभ राइडर पक्राउ
-
बैतडीमा आगलागीबाट सात लाख बढीको क्षति