बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय

धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया : तीन जना उम्मेदवार नै अन्तरवार्तामा अनुपस्थित

सोमबार, ०३ असार २०८१, १४ : २४
सोमबार, ०३ असार २०८१

काठमाडौँ । नेपाल धितो पत्र बोर्ड (सेबोन) को अध्यक्ष नियुक्ति प्रक्रिया अन्योल बन्दै गएको छ । आइतबार अन्तरवार्ता तथा व्यावसायिक कार्यपत्र प्रस्तुतिका लागि बोलाइएका पाँच जना उम्मेदवारमध्ये तीन जना अनुपस्थित भएपछि नियुक्ति प्रक्रिया थप अन्योल बन्दै गएको हो ।

बोर्ड गत पुसदेखि नेतृत्वविहीन अवस्थामा छ । अध्यक्ष रमेशकुमार हमाल आफ्नो कार्यकाल पुरा गर्दै गत पुस २१ गते बोर्डबाट बाहिरिएका थिए । त्यसयता पाँच महिनाभन्दा बढी समय नेतृत्वविहीन बन्न पुगेको धितो पत्र बोर्डको कामकारबाही प्रवाहित बन्दै आएको छ । 

सेयर निष्कासन तथा व्यवस्थापन, नयाँ कम्पनीलाई पनि सेयर बजारमा भित्र्याउने कामकारबाही सहित धेरै नीतिगत व्यवस्थाहरू प्रभावित हुन पुगेका छन् । तर, ढिला गरी सुरु भएको अध्यक्ष नियुक्ति प्रक्रिया समेत राजनीतिक खिचातानी र स्वार्थका कारण प्रभावित हुन पुगेको छ । 

बोर्डको अध्यक्ष नियुक्तिका लागि गत फागुन १६ गते सार्वजनिक आवेदन आह्वान गरिएको थियो । जसमा १९ जनाको आवेदन परेको थियो । धितो पत्र बोर्ड अध्यक्ष छनोट तथा सिफारिस समितिले सोमध्येबाट ५ जनाको नाम सर्ट लिस्टमा छानेको थियो । 

बोर्डका निर्देशक डा.नवराज अधिकारी र मुक्ति श्रेष्ठसहित नेपाल स्टक एक्सचेन्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्णबहादुर कार्की, तत्कालीन बिमा समिति (नेपाल बिमा प्राधिकरण) का अध्यक्ष चिरञ्जीवी चापागाईँ र सन्तोष नारायण श्रेष्ठ सर्ट लिस्टमा परेका थिए । 

राजनीतिक खिचातानी र लामो समयको रस्साकस्सी पछि छनोट समितिले यी ५ जनालाई उम्मेदवारलाई अन्तरवार्ताका लागि आइतबार बोलाएको थियो । तर, अन्त्यमा सर्ट लिस्टमा परेका मध्ये २ जना बाहेक अरु तीन जना सहभागी नभएका हुन् । प्रतिस्पर्धी मध्येका दुई जना सन्तोष नारायण श्रेष्ठ र मुक्ति श्रेष्ठले मात्र अन्तरवार्तामा सहभागिता जनाएको अध्यक्ष छनोट तथा सिफारिस समितिले जनाएको छ । 

राजनीतिक स्वार्थमा अड्कियो छनोट प्रक्रिया

खासगरी राजनीति स्वार्थको टकराब नेकपा माओवादी केन्द्र र नेकपा एमालेबिचको स्वार्थले बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया विवादित बन्न पुगेको हो । नेकपा एमालेका अध्यक्ष समेत रहेका केपी शर्मा ओलीले आफ्नो मान्छे जसरी पनि बोर्डमा पठाउन चाहेपछि विवाद बढेको हो । ओलीले आफू निकट दीपक भट्टको स्वार्थमा सन्तोष नारायण श्रेष्ठलाई जसरी पनि अध्यक्षमा नियुक्त गर्नुपर्ने अडान राखेपछि समस्या उत्पन्न भएको स्रोतको दाबी छ ।

यता सरकारको नेतृत्वकर्ता नेकपा माओवादी केन्द्र र अर्थमन्त्री वर्षमान पुनले समेत आफू अनुकूल व्यक्तिलाई धितो पत्र बोर्डको अध्यक्ष बनाउन चाहेपछि दुई पक्षको भिडन्तमा बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया अन्योलतामा फसेको हो । 

धितो पत्र बोर्डको अध्यक्षका लागि अन्तिम ३ जनाको नाम मन्त्रीपरिषद्मा सिफारिस गर्न छनोट समितिले ५ जनालाई आइतबार अन्तरवार्ताका लागि बोलाइएको थियो । तर, सन्तोष नारायण श्रेष्ठ र मुक्ति श्रेष्ठ बाहेक सर्टलिष्टमा परेका बाँकी तीन जना कृष्ण बहादुर कार्की, चिरञ्जीवी चापागाईँ र डा.नवराज अधिकारी अन्तरवार्तामा सहभागी नै भएनन् । 

स्वास्थ्य प्रतिकूलतालाई कारण देखाउँदै तीन जना उम्मेदवार अन्तरवार्ता तथा व्यावसायिक कार्ययोजना प्रस्तुतिमा भाग नलिएको अर्थ मन्त्रालय स्रोतले रातोपाटीलाई जानकारी दिएको छ । 

‘राजनीतिक स्वार्थको खेलको परिणाम हो यो । सत्ता साझेदार दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले जसरी पनि आफू निकटको व्यक्तिलाई अध्यक्ष बनाउन दबाब दिएपछि प्रक्रिया रोक्न अर्थमन्त्रीले तीन जनालाई अन्तरवार्तामा जान रोके’ स्रोतले भन्यो, ‘यो स्वाभाविक थियो ।’

अनुपस्थित तीन जना उम्मेदवारले स्वास्थ्य प्रतिकुलतालाई कारण देखाउँदै उपस्थित हुन नसकेको जानकारी दिएका छन् । ‘घाँटी दुखेका कारणले अन्तरवार्तामा उपस्थित हुन नसकेको जानकारी दिएका छन्’ बोर्ड अध्यक्ष छनोट तथा सिफारिस समितिले जानकारी दिएको छ । 

यता समितिले आइतबार पाँचै जनाको अन्तरवार्ता लिएर अन्तिम तीन जनाको नाम सोही दिन मन्त्रिपरिषद् पठाउने योजना बनाएको थियो । तर अन्तरवार्तामा उम्मेदवारहरू नै सहभागी नभएपछि अध्यक्ष छनौट प्रक्रिया नै प्रभावित बन्न पुगेको छ । समितिले छुटेकाहरूका तीन जनलाई अन्तरवार्ताका लागि पुनः असार ५ गते बोलाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप