बागमतीको बजेटमा उत्कृष्ट नारा, कार्यान्वयनमा आशङ्का कायमै
मकवानपुर । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटमा विकास लक्षित विभिन्न नारा समेटे पनि कार्यान्वयनका संयन्त्रमा भने खासै चासो देखाइएको छैन । कुल ६४ अर्ब ५४ करोड रुपैयाँको बजेटमा विशेषगरी कृषि तथा वन र सामाजिक क्षेत्रतर्फ विभिन्न नारा समावेश गरिएको छ ।
शब्द चयन र लयका हिसाबले उत्कृष्ट नारा समेटिए पनि कार्यान्वयनको संयन्त्रमा भने खास ध्यान दिएको देखिँदैन । प्रदेश सरकारले लिएका केही विकास निर्माणका नारा विगतकै निरन्तरता हुन्, जो चालु आर्थिक वर्षमा समेत कार्यान्वयनमा आउन सकेका छैनन् ।
आंशिक रूपमा कार्यान्वयनमा आएका नारासहितका कार्यक्रमको प्रभावकारिता र उपलब्धि निकै न्यून देखिन्छ ।
प्रदेश सरकारले विगतकै निरन्तरता स्वरुप कृषि क्षेत्रमा बागमती प्रदेशको अभियानः वडा वडामा उत्पादन, एक वडा एक कृषि उत्पादन, बागमती प्रदेश सरकारको बाचा, दुध उत्पादन र माछा, एक प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र, एक प्रांगारिक मल उत्पादन कारखाना लगायतका कार्यक्रम अघि सारेको छ । ती कार्यक्रमको कार्यान्वयन र उपलब्धि भने न्यून छ ।
बागमती प्रदेशको अभियान : वडा वडामा उत्पादन
प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ‘बागमती प्रदेशको अभियानः वडा वडामा उत्पादन’ भन्ने नारासहित खाद्यान्न, फलफूल, तरकारी तथा पशुपालनमा संलग्न साना किसानहरूलाई व्यावसायिक उत्पादनतर्फ प्रोत्साहित गर्न ‘एक वडा, एक कृषि उत्पादन’ कार्यक्रम संचालनका लागि बजेट विनियोजन गरेको छ । स्थानीय तहसँग सहकार्य गरी सहभागितामा आधारित उक्त कार्यक्रम सञ्चालन गर्न ३० करोड रुपैयाँ विनियोजन गरिएको छ ।
एआई जडित कृषि उपक्रमः प्रविधिमैत्री स्मार्ट फर्म
प्रदेश सरकारले नवीन सोच भएका युवा उद्यमीहरूको कृषितर्फको आकर्षण बढाउन तथा नवप्रवर्तन मार्फत कृषि उत्पादन लागत घटाउन स्मार्ट एग्रिकल्चर कार्यक्रम अघि सारेको छ । प्रदेश सरकारले प्रतिस्पर्धात्मक क्षमता बढाउन एआई जडित कृषि उपक्रमः प्रविधिमैत्री स्मार्ट फर्मको अवधारणा अनुरुप सो कार्यक्रम अघि सारेको हो ।
त्यस्तै सोही अवधारणा अन्तर्गत प्रदेश सरकारले उच्चस्तरका कृषि क्षेत्रका विज्ञहरूलाई स्वदेशमै कामको वातावरण बनाउन कृषि ज्ञान रत्न प्रोत्साहन कार्यक्रम सञ्चालनको तयारी गरेको छ । सो कार्यक्रमका लागि प्रदेश सरकारले २ करोड रुपैयाँ विनियोजन गरेको छ ।
बागमती प्रदेश सरकारको बाचा, दुध उत्पादन र माछा
प्रदेश सरकारले विगतको निरन्तरताको रूपमा बागमती प्रदेश सरकारको बाचाः दुध उत्पादन र माछा भन्ने नारालाई आत्मसात् गर्दै उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रम कार्यान्वयन गर्ने भएको छ । प्रदेश सरकारले सो नारा अन्तर्गत दुग्ध व्यवसायमा संलग्न किसानलाई उपलब्ध गराउँदै आएको प्रोत्साहन कार्यक्रमलाई स्थानीय तहबाट कार्यान्वयन हुने गरी सशर्त अनुदान उपलब्ध गराउन बजेट विनियोजन गरेको हो ।
उक्त कार्यक्रमका लागि प्रदेश सरकारले २० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । सोही नारा अन्तर्गत प्रदेश सरकारले माछापालन व्यवसायलाई व्यवस्थित र विस्तारित गर्दै मत्स्य क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धि गर्न आवश्यक बजेट व्यवस्था गरेको छ ।
प्राङ्गारिक मल उत्पादन कारखाना
प्रदेश सरकारले चालु आर्थिक वर्षको निरन्तरताका रुपमा प्राङ्गारिक मल कारखाना स्थापनाको कार्यक्रम अघि सारेको छ । प्रदेश सरकारले रासायनिक मलको अत्यधिक निर्भरतालाई घटाउँदै वैकल्पिक मलको प्रयोगलाई प्रोत्साहन गर्न एक प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र, एक प्राङ्गारिक मल उत्पादन कारखाना स्थापना कार्यक्रम अघि सारेको हो ।
स्थानीय तह र निजी क्षेत्रको साझेदारीमा कार्यान्वयन गर्न ७ करोड रुपैयाँ विनियोजन गरेको छ । चालु आर्थिक वर्षको बजेटमा ५ करोड रुपैयाँका १० वटा कारखाना स्थापना गर्ने सरकारको योजना रहे पनि कार्यान्वयन भने हुन सकेको छैन ।
बागमती प्रदेशको सानः मेहनती किसान
प्रदेश सरकारले ‘बागमती प्रदेशको सानः मेहनती किसान’ भन्ने नाराका साथ किसानहरूको सूचीकरण र वर्गीकरण तथा प्रोत्साहन गर्ने कार्यक्रम तय गरेको छ । सङ्घीय सरकार र स्थानीय तहसँगको समन्वयमा कृषि पेसामा निरन्तर संलग्न रहेका किसानहरूको सूचीकरण र वर्गीकरण गरी किसानको आत्मसम्मानलाई अभिवृद्धि गर्न उक्त कार्यक्रम ल्याएको हो । सो कार्यक्रम अन्तर्गत प्रदेश सरकारबाट दिइने प्रोत्साहनलाई लक्षित वर्गका किसानहरूसम्म पुर्याउने व्यवस्था बजेटमा गरिएको छ ।
पर्यटन र संस्कृतिः राष्ट्रको समुन्नति
प्रदेश सरकारले पर्यटन र संस्कृतिः राष्ट्रको समुन्नति भन्ने नाराका साथ पर्यटकको बसाइ लब्याउने योजना बनाएको छ । सो कार्यक्रम अन्तर्गत प्रदेशलाई आकर्षक पर्यटकीय गन्तव्यको रूपमा विकास गरी पर्यटकको बसाइ अवधि लम्ब्याउन र प्रतिपर्यटक खर्च वृद्धि गर्न पर्यटन पूर्वाधार निर्माण तथा सुधार गर्ने सरकारको तयारी छ ।
स्वदेशमै कमाऔँ, स्वदेशमै रमाऔँ
प्रदेश सरकारले उद्यमशीलता प्रवर्द्धन गर्न स्वदेशमै कमाऔँ, स्वदेशमै रमाऔँ भन्ने नारा अघि सारेको छ । उक्त नारा अन्तर्गत स्वरोजगारका पर्याप्त अवसर सिर्जना गर्न प्रदेशका सबै निर्वाचन क्षेत्रमा सिप, प्रविधि हस्तान्तरण तथा परामर्श सेवासहितको उद्यमशीलता प्रवर्द्धन कार्यक्रम सञ्चालनका लागि प्रदेश सरकारले बजेट विनियोजन गरेको छ ।
दिगो वन व्यवस्थापनः अर्थतन्त्रमा योगदान
प्रदेश सरकारले वन र अर्थतन्त्रलाई जोड्न ‘दिगो वन व्यवस्थापनः अर्थतन्त्रमा योगदान’ नारासहित कार्यक्रम तयार गरेको छ । कार्यक्रम अन्तर्गत वन पैदावारको प्रभावकारी व्यवस्थापन र उत्पादन वृद्धि गरी हरित रोजगारी सिर्जना गर्दै अर्थतन्त्रमा योगदानका लागि दिगो वन व्यवस्थापनका कार्यक्रमहरू सञ्चालन गरिने छ । सो नारा अन्तर्गतको कार्यक्रमका लागि प्रदेश सरकारले ६ करोड ३२ लाख रुपैयाँ विनियोजन गरिएको छ ।
पारिस्थितिकीय प्रणालीको पुनःस्थापना, स्वच्छ वातावरण हाम्रो चाहना
प्रदेश सरकारले पारिस्थितिकीय प्रणालीको पुनःस्थापना, स्वच्छ वातावरण हाम्रो चाहना भन्ने नाराका साथ वृक्षरोपण, मिचाहा प्रजातिहरूको नियन्त्रण कार्यक्रम निर्माण गरेको छ । प्रदेश सरकारले पारिस्थितिकीय प्रणालीको पुनरुत्थानका लागि डाँडापाखा, पर्ती चौर, नदी उकास जमिन लगायत हैसियत बिग्रँदै गएको वन क्षेत्रमा रैथाने बहुमूल्य प्रजाति, बाँस÷अम्रिसोको सघन वृक्षारोपण तथा मिचाहा प्रजातिहरूको नियन्त्रण कार्यक्रम मार्फत सो नारालाई साकार गर्ने लक्ष्य लिएको छ । उक्त कार्यक्रमका लागि १० करोड ९४ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।
संरक्षित जलाधार समुन्नतिको आधार
प्रदेश सरकारले संरक्षित जलाधार समुन्नतिको आधार भन्ने नाराका साथ समुदायमा आधारित भू तथा जलाधार संरक्षण कार्यक्रम अघि बढाएको छ । उक्त कार्यक्रम मार्फत् जैविक, भौतिक तथा मानवीय दृष्टिले सबैभन्दा जोखिमपूर्ण जलाधार क्षेत्रमा बायो इन्जिनियरिङ प्रविधिको प्रयोगलाई उच्च प्राथमिकता दिने र एकीकृत जलाधार व्यवस्थापन गरिने जनाइएको छ । सो कार्यक्रमका लागि प्रदेश सरकारले ७० करोड ५० लाख रुपैयाँ बजेट छुट्ट्याएको छ ।
हरित सहर हाम्रो रहर, स्वच्छ र हरित सहरका लागि सामुदायिक पहल
हरित सहर हाम्रो रहर, स्वच्छ र हरित सहरका लागि सामुदायिक पहल नारासहित प्रदेशलाई प्लाष्टिकजन्य पदार्थको प्रयोग नियन्त्रणको कार्यक्रम प्रदेश सरकारले तर्जुमा गरेको छ । स्थानीय तह र सामुदायिक सङ्घ÷संस्थाहरूको समन्वय र सहकार्यमा सहरी क्षेत्र, राजमार्गका छेउछाउ, ऐतिहासिक, धार्मिक, पुरातात्विक तथा पर्यटकीय क्षेत्रहरूमा प्लाष्टिकजन्य पदार्थहरूबाट बढ्दो प्रदूषण नियन्त्रणका सो कार्यक्रम कार्यान्वयन गरिने छ ।
उक्त नारा अन्तर्गत बागमती प्रदेशमा शून्य प्लाष्टिकजन्य पदार्थ अभियान सञ्चालनका लागि १ करोड ६१ लाख रुपैयाँ बजेट छुट्ट्याएको छ ।
हरित सहर हाम्रो रहर
हरित सहर हाम्रो रहर अभियान अन्तर्गत एक घर एक बिरुवा रोपण कार्यक्रम सञ्चालन गर्ने सरकारको तयारी छ । प्रदेशका सबै सहरी क्षेत्रमा स्थानीय तहसँगको सहकार्यमा घरको नक्सा पास गर्दा एक घर एक बिरुवा रोपण कार्यक्रम सञ्चालन गरिने छ । सो नारा अन्तर्गत सहरी क्षेत्रमा वातावरणीय स्वच्छता कायम गर्न सडक किनार वृक्षारोपण कार्यक्रम सञ्चालनका लागि ५ करोड ९४ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
स्वस्थ नागरिक गुणस्तरीय जीवन
प्रदेश सरकारको स्वस्थ नागरिक गुणस्तरीय जीवन भन्ने नाराका साथ सेवालाई विकास र विस्तार गर्न बजेटको व्यवस्था गरिएको छ ।
मेरो स्वास्थ्य, मेरो जिम्मेवारी
नसर्ने रोगको रोकथामका लागि प्रदेश सरकारले मेरो स्वास्थ्य, मेरो जिम्मेवारी अभियान सञ्चालन गर्ने भएको छ । उक्त अभियान अन्तर्गत सिकलसेल एनिमिया, हेमोफिलिया, थालासेमिया, अटिजम लगायतका स्वास्थ्य समस्या निःशुल्क परीक्षण गर्ने व्यवस्था गर्ने भएको छ ।
गरिबसँग प्रदेश सरकार
प्रदेश सरकारले गरिबसँग प्रदेश सरकार भन्ने नाराका साथ प्रदेशभित्र निरपेक्ष गरिबीको रेखामुनि रहेका नागरिकको जीवनस्तर सुधारका लागि बजेट विनियोजन गर्ने भएको छ । सो नारा अन्तर्गत पहिचान भएका गरिब परिवारलाई कृषि, पशुपालन र साना व्यावसायिक कार्यका लागि दिइने कर्जामा ब्याज अनुदान दिन १ करोड रुपैयाँ विनियोजन गरिएको छ ।
दिगो सडकको आधारः नियमित मर्मत सम्भार
दिगो सडकको आधारः नियमित मर्मत सम्भारको नारा अनुरुप सडक सम्पत्तिको प्रभावकारी तथा सुरक्षित उपभोग र जगेर्ना गर्न सरकारले कार्यक्रम तय गरेको छ । प्रदेश सरकारले सो अन्तर्गत प्रादेशिक सडकहरूको नियमित, पटके, आवधिक तथा आकस्मिक मर्मत सम्भारको लागि बजेट व्यवस्था गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : सहकारी बोर्ड खारेजदेखि प्रहरीमा नातेदारलाई बढुवा गर्न चलखेलसम्म
-
लेखा समिति सभापति पोखरेल भन्छन्- ‘मेरी श्रीमती घरमै छिन्, जङ्गल जाने कुरा भएन !'
-
अन्तर्राष्ट्रिय ब्याडमिन्टन च्यालेन्जमा शोभा र क्षितिजको जोडीलाई सफलता
-
१० बजे १० समाचार : रवि लामिछानेका पार्टनरको इन्कारी बयानदेखि प्रहरीको बढुवामा चलखेलसम्म
-
किन ग्रिनल्यान्ड किन्न चाहन्छन् ट्रम्प ?
-
दार्चुला केन्द्रबिन्दु भएर भूकम्प