बिहीबार, ०६ मङ्सिर २०८१
ताजा लोकप्रिय
जात, वर्ण र वर्ग

एउटा चुनावदेखि अर्को चुनावसम्म मात्र वर्ण व्यवस्थाको मुद्दा उठाउँछन् कम्युनिस्टहरू

सोमबार, ०३ असार २०८१, १० : ४५
सोमबार, ०३ असार २०८१

मानव उत्पत्तिको शैशवकालमा कुनै किसिमको भेदभाव थिएन । ठुलो सानो, उचनिच र धनी–गरिब कोही थिएनन् । त्यहाँ समभावको व्यवहार हुन्थ्यो । अफ्रिकाबाट उत्पत्ति भएको भनिएको मानव जातिमा आर्य, मंगोल, अष्ट्रो द्रविड र निग्रोइड जाति थिए । मानव जाति आज जुन रूपमा विकास भएको छ, त्यसका लागि लाखौँ वर्ष लाग्यो होला । 

आदिम समाजमा आ–आफ्नो वंशको गण हुन्थ्यो र गण समूहमा बस्ने मानिसले गण प्रमुखले तोकेको काम गर्थे; सामूहिक प्रयासबाट प्राप्त खाद्य पदार्थ, सिकार बाँडीचँुडी खाने गर्थे । कुनै बलको काम गर्दा समूह नै कराएर आवाज निस्कियो, त्यही आवाजबाट आफ्ना समस्या एक अर्कालाई सङ्केत गर्न जाने । यसरी भाषाको विकास भयो । 

गणहरू विस्तार हँुदै जाँदा जनसङ्ख्यामा वृद्धि भयो । एउटै गण समूहमा रहँदा बस्न, खान र सुरक्षामा समस्या सिर्जना भयो । त्यसैले गणहरू धेरै गण समूहमा विभाजित भए । आफूबाट विभाजित भएर गएका गणले एक–अर्कालाई नचिन्ने भए । कहिलेकाहीँ त एउटै गणबाट छुट्टिएका गण समूहका बिच लडाइँ पनि हुन्थ्यो । एउटै गण वा समूहबाट विभाजित मानिस पनि मौसम, रहन–सहन, भाषा–संस्कृति आदि कारणले एक–अर्काबाट भिन्न हुँदै गए । 

यस्तै, आपसमा लडाइँ हुँदा पराजितलाई या त दास बनाइन्थो या मारिन्थ्यो । ढुङ्गा, हड्डी र लौरोको उपयोग गरेर आफ्नो सुरक्षा गर्न र शत्रुसँग लड्न मानव जातिले समूहमा काम गर्न थाल्यो । फलामको प्रयोगबाट धनुस वा धारिला हतियारको प्रयोग गरेर सिकार गर्न थाल्यो । बाघ, भालु, हात्ती, गैँडाबाट सुरक्षित हुन सिके । 

आगोको आविष्कारले तत्कालीन मानव जातिको जीवनमा ठुलो परिवर्तन ल्यायो । मान्छेले मासु पोलेर खान सिक्यो र मस्तिष्कमा प्रभाव पार्‍यो । मूल थलोबाट पूर्वोत्तर लागेका आर्य जातिले वन र नदी छिचोल्दै खेतीयोग्य जमिनमा पशुपालन र खेती गर्न जाने । ठुला नदी र वनहरू पार गर्दा महिला, अशक्त बाटैमा मरे र महिलाको संख्यामा कमी भयो । त्यसैले उनीहरूले गैरआर्य महिलासँग सम्पर्क गरेर वर्णशङ्कर सन्तान जन्माए । सँगै बस्ने, सँगै खाने, माटाका भाँडा बनाउने कला र संस्कृतिको निर्माण भयो । 

निकै लामो समयसम्म मातृसत्तामक व्यवस्था थियो । भित्री काम महिलाले गर्थिन् र बाहिर र बलको काम पुरुषले गर्थे । महिलाले इच्छ्याइएको व्यक्तिसँग मात्र यौन सम्बन्ध गर्थिन् । त्यस बेलासम्म महिला निर्बन्ध थिइन्, तर जब एकनिष्ठ विवाहको चलन चल्यो, त्यतिबेला महिलाको पराजय भयो र पितृसत्तात्मक व्यवस्था लागु भयो । महिला दासी रूपमा प्रयोग हुन थालिन् । पराजित व्यक्तिलाई उत्पादनमा लगाएपछि उत्पादनको विकास भयो । सुरुमा दासहरूलाई ‘पुरुषमेध यज्ञ’मा प्रयोग गरिन्थ्यो, तर जब उत्पादनमा उनीहरूलाई प्रयोग गरियो तब ‘अश्वमेध यज्ञ’ गर्न थालियो, पुरुषमेध यज्ञ बन्द गरियो । 

समाज र कामलाई व्यवस्थित गर्न सभा नायक वा गणनायक बेलाबेला चुनिन थाल्यो । समूहबाट गणनायक छान्दा योग्यलाई छानिन्थ्यो । त्यसले परम्परा र पारिवारिक रूप लियो । गण सङ्घको विघटन र दास युगको सुरुवात भयो । पछि त्यो परम्परा राजतन्त्रमा परिणत भयो र सामन्तवादको उदय भयो । सामन्तवादमा राजा, गुरु, पुरेत र सामन्तका लागि किसान, शिल्पकार आदि हुन्थे । भूमिहीन मानिसको आफ्नो भन्नु केही थिएन । समाज विकासको सन्दर्भमा मानव समाजमा धनी गरिब, शोषक शोषित, शासक र शासित वर्गको उत्पत्ति भयो । विपरीत स्वार्थका कारण शोषक र शोषित वर्गका बिच हिंसात्मक द्वन्द्व हुन थाल्यो । 

वर्ण व्यवस्था

वर्ग आर्थिक व्यवस्थामा आधारित हुन्छ भने वर्ण समाजको निर्माणका सन्दर्भमा हुन्छ । वर्गमा शोषक र शोषित हुन्छन् भने वर्गभित्र पनि वर्ण हुन्छ । 

भारतीय उपमहाद्वीपमा ३५ सय वर्षअगाडि चार प्रकारको श्रम विभाजन थियो, जुन श्रम क्षेत्रलाई वर्ण व्यवस्था भनियो । दक्षिण एसियामा वर्ण व्यवस्था विशेष प्रकारको व्यवस्था थियो; जुन मंगोल, द्रविड र निग्रोमा पाइन्न ।

वर्ण व्यवस्था सामाजिकीकरण, आर्थिक र राजनीतिक प्रणाली हो; जुन पेसामा आधारित थियो । आदिम साम्यवादमा वर्ग र वर्ण, शोषण र उत्पीडन थिएन; दमनकारी राज्य थिएन । वर्गीय समाजको उत्पत्तिसँगै वर्ग सङ्घर्ष सुरु भएको थियो । प्राचीन समाजका गाउँहरू वर्ण व्यवस्थामा आधारित थिए । वर्ण र जातिविहीन आदिम साम्यवादी युगमा त्यस्तो खालको समाजको अस्तित्व थिएन । 

ब्राह्मणले शिक्षा दिने, पूजापाठ गर्ने, ऋतु परिवर्तनका सम्बन्धमा मात्र उसले विचार गर्दथ्यो । सैनिक क्षमता र सैनिक सेवा गर्ने क्षत्रिय थियो । उसलाई राजाको रूपमा स्विकारिएको थियो । अर्को समूह भूमिकर उठाउँथ्यो, जसलाई वैश्य भनियो । 

यसम सबैभन्दा पिँधमा शूद्र थिए, जसलाई अछुत मानिन्थ्यो । जब जनविद्रोह सुरु भयो, सत्तापक्षले विद्रोह दबाउन सक्तैनथ्यो, त्यसबेला ब्राह्मण र क्षत्रीहरूले भन्ने गर्दथे— ‘प्रत्येक जाति स्वधर्म पालनामा विफल भएको छ । यस सङ्कटबाट पार पाउने उपाय भनेको प्रत्येक व्यक्ति र जातिले आ–आफ्ना धर्म पालना गर्नु हो र सङ्घर्षलाई शान्त गरी शान्तिसुरक्षा कायम गर्नुपर्छ ।’ 

गण समूहका सम्पत्ति र वर्ण सम्पत्तिबिचको अन्तर्विरोध तीव्र भयो जसबाट गणराज्यको जन्म भयो । त्यतिबेला गाई पवित्र भएर नमारिएको होइन, तिनीहरू दुर्लभ हुँदै गए र त्यसको महत्त्व र गुणहरू धेरै थिए । गाईमा आधिपत्य भएकाले ‘बीश’ वा शूद्रले गाई खान पाउँथेनन् । निजी सम्पत्ति र वर्गहरूको जन्म हुनासाथ वर्णहरू स्वयं आत्मविरोधी वर्गहरूमा विभाजित हुन्छन् । ऋग्वेदमा वैश्यको उत्पत्ति, सामवेदबाट ब्राह्मणको उत्पत्ति, यजुर्वेद क्षेत्रीयको उत्पत्ति भयो तर यी संहितामा शूद्रको उल्लेख गरिएको छैन । 

समाजमा वर्णहरूको उत्पत्ति भएपछि उत्पादनमा सामूहिकता नष्ट भएर गयो । डा. राम मनोहर लोहियाले आफ्नो पुस्तक ‘इतिहास चक्र’मा यस बारे उल्लेख गरेका छन् । भारतीय उपमहाद्वीप वर्णका विरुद्ध दुईवटा आन्दोलनसँग परिचित छ । पहिलो आन्दोलन ३६ सय वर्षपूर्व सुरु भई पाँच शताब्दीसम्म चलेको थियो । चार सय वर्षपछि समाजको सिर्जनात्मक शक्ति अगाडि आयो र फलस्वरूप वर्णहरूका विरुद्ध अर्को आन्दोलन सुरु भयो । तत्कालीन साहित्यले यो बताउँछ कि आन्दोलन पूर्णतः निन्दाको विषय थियो । वर्णको आखिरी आन्दोलन धेरै लामो समयसम्म झन्डै १२०० वर्षभन्दा बढी चल्यो । 

ऋग्वेदमा पनि वर्णहरूको व्यवस्था गरिएको छ, तर यस्तो पनि चलन थियो कि अघिल्लो दिनको शूद्र भोलि ब्राह्मण हुन्थ्यो र हिजोको क्षेत्री आज वैश्य हुने परम्परा पनि थियो । वर्ण व्यवस्थालाई व्यवस्थित गर्ने काम चाहिँ मनुले गरेका थिए । यस व्यवस्थाभन्दा अगाडि नारीहरू निर्बन्ध हुन्थे । यस हिमालय उपमहाद्वीपमा अघि आएका र पछि आएका बिच भीषण लडाइँ लड्नुपरेको थियो । ईपू ३००० देखि ईपू २००० का बिच आर्यजनहरूले सिन्धुघाँटीको वरिपरि आफ्नो आधिपत्य जमाएका थिए । उनीहरूले त्यहाँका मूलवासीमाथि विजय प्राप्त गरेपछि वर्ण व्यवस्था र दासताको विकास गरेका थिए । 

त्रेता युगका महापुरुष भनिएका श्रीरामले वेद पढ्यो भनेर शूद्र कहलिएका ‘शम्बूक’लाई बाण हानेर मारेका थिए तर वाल्मीकिले रामलाई महापुरुष भनेर महाकाव्य रचना गरे र उनलाई विष्णु अवतारका रूपमा प्रस्तुत गरे । उनले रामलाई अलौकिक शक्तिका रूपमा व्याख्या गरे पनि बालिलाई झुक्याएर मार्नु, रावणलाई बानर सेनाको सहयोगले मार्नु, सीतामाथि सतित्वको शंका गर्नु अतिरञ्जना थियो । 

वाल्मीकि रामायण महाभारत महाकाव्यभन्दा पछिको स्मृति हो । वाल्मीकिका लागि महाभारतका पात्र बेठिक लागेर रामलाई राम्रो रूपमा प्रस्तुत गरिएको हुन सक्छ । कुरुक्षेत्रको १८ दिनको लडाइँ सत्ताका लागि गरिएको एउटै कुलवंशको भीषण युद्ध थियो, जहाँ कौरवहरूको वंशनाश भयो र यदुवंशको पनि सत्यानाश भयो । पाण्डवहरूको बाँकी कथा अहिलेसम्म थाह छैन । त्यहाँ पनि शूद्र भएका कारण द्रोणाचार्यले एकलव्यलाई शस्त्र विद्या सिकाएनन् । तर उनले द्रोणाचार्यलाई गुरु स्थापना गरेर शस्त्र विद्यामा अर्जुनभन्दा अब्बल भए, तर उनको तेजोबोध गर्न एकलव्यसँग दाहिने हातको बुढी औँठा गुरु भेटी मागियो, ताकि उनी अर्जुनभन्दा अब्बल हुन नसकून् ।

एकलव्यले हाँसीहाँसी औँठा काटेर द्रोणाचार्यलाई चढाए, अन्यथा उनको जीवन जान सक्थ्यो । गीतामा अर्जुनलाई कौरवसँग लड्न कृष्णले विभिन्न रूपले उक्साए, जसबाट महाभारतको युद्ध भएको थियो । गीताको मुख्य सार अस्तित्वभन्दा चेतना प्रथम भन्ने थियो । पाप गरे पनि धर्म युद्धमा मरेपछि स्वर्गको बास हुन्छ, मुक्ति पाइन्छ भनियो र बलात् महाभारको युद्ध गराइयो । 

वर्ण व्यवस्था सामाजिक र सांस्कृतिक जग हुँदै आयो, जसलाई भत्काउन चानचुने प्रयत्नले सम्भव थिएन, छैन पनि । वर्ण व्यवस्थाको उत्पत्तिसँगै शोषणमूलक समाजले जातीय रूप लियो । मूलतः वर्ण व्यवस्था स्थायी समाज भइसकेको थियो । शूद्र, नारी र दास धनीको सेवाका लागि जन्म भएको भन्ने गीताको कथन छ । यसको दार्शनिक आधार आदर्शवाद थियो, पुनर्जन्म र भाग्यवादले यस व्यवस्थालाई गाँजिसकेको थियो । 

आर्य जातिको शक्ति, वैभव र सम्पन्नता ‘विश’ र ‘शूद्र’हरूको श्रमबाट वृद्धि भएको थियो । अभिजात्य हिन्दु जातिले गंगाको मैदानमा आइपुग्दा हिन्दुदास व्यवस्थालाई बलियो बनाइसकेका थिए । शूद्रलाई छाडेर अन्य सबै वर्णले शस्त्र धारण गर्न पाउँथे । गण सदस्यले लोकतन्त्र अब धनी कुलहरू र ज्येष्ठहरूको अभिजात्यले गर्दा अत्यन्त सङ्कुचित भएको थियो । त्यसपछि गण समाज समाप्त भयो । त्यतिबेला भारतीय उपमहाद्वीपमा लिच्छवि, मल्ल, चल्ल, शाक्य, मौर्य, कुकर र पाञ्चाल आदि अति प्रशिद्ध ‘राजगणहरू’ थिए । वर्गीय समाजमा शूद्र हुँदैनथे । ऋग्वेद र गीतामा पनि वर्ण व्यवस्था पाइन्छ । 

राजा वेनले दास व्यवस्थाका विरुद्ध युद्ध सञ्चालन गरे । समाजको नयाँ शक्तिले गति लिइसकेको हुनाले त्यो पुरानो साम्यसङ्घको पुनस्र्थापना हुन सकेन । वेन ब्राह्मणद्वारा मारिए र उनका छोरा पृथुलाई ब्राह्मणले राजा बनाए र त्यस समाजमा ब्राह्मण क्षत्रियको आर्थिक प्रभुत्व कायम भयो ।

तत्कालीन शासक वर्गलाई डर यो भयो कि शूद्र र गरिब वैश्य मिलेर त्यस समाजलाई उलटफेर नगरून् । वर्ण उत्पत्तिलाई आर्य सङ्घले अलौकिक शक्तिका आधारमा भएको मान्दै आएको छ । यो पनि तर्क गरिन्छ कि वर्ण विभाजनले समाजमा ऐतिहासिक खालको प्रगति ल्याइदियो । 

काममा विविधताका कारण कार्य विभाजन सुरु भयो । यो वर्ण व्यवस्थाको मूल आधार आर्य साम्यसङ्घ भएकाले वर्णहरूबारे बुझ्न आर्य साहित्यको सहयोग आवश्यक छ । गीतामा जुन कुरा आएको छ, त्यो कृष्ण र अर्जुनको संवादका रूपमा युद्ध लड्नु जायज ठहराउने प्रयत्न थियो । भारत र नेपालमा वर्ण व्यवस्था लगभग एकै समयमा भएको थियो । सन् ६ सयमा पुग्दा छुवाछुत तथा भेदभाव सुरु भइसकेको थियो । 

जब विनिमय व्यापार, निजी सम्पत्ति र धनको उत्पत्ति भयो, त्यसपछि आ–आफ्नो वर्ण स्थितिका माध्यमबाट प्रत्येक वर्णसँगको परिवारले निजी सम्पत्तिमा अधिकार जमायो । गीतामा श्रीकृष्णले अर्जुनलाई युद्धको तयारीका लागि यो भने कि ‘यदि तिमीले युद्धमा विजय भए सारा राज्य र भूमि तिम्रो हुनेछ, मर्‍यौ भने स्वर्ग मिल्नेछ ।

जयस्थिति मल्लले जात व्यवस्थालाई अरु कठोर बनाए । लिच्छविहरू नेपाल पस्दा जात व्यवस्था आफूसँगै ल्याएका थिए । जयस्थिति मल्लले जातलाई ६४ श्रेणीमा बाँडे । गोरखाका राजा राम शाहले पनि समाजलाई ३६ जातमा विभाजन गरेका थिए । जनजातिमा वर्ण व्यवस्था नभए पनि हिन्दु वर्ण व्यवस्थाको सम्पर्कमा आएपछि उनीहरूले पनि जात व्यवस्थालाई त्यही रूपमा प्रयोग गर्न थाले । 

भारतका संविधानविद् डा. भीमराव अम्बेडकरले पुँजीवादी व्यवस्थाभित्रै दलित समस्या समाधान गर्न सकिने विचार व्यक्त गरे, जुन आदर्शवादमा आधारित थियो, तर भारतमा उच्चवर्गीय आर्य जातिको वर्चस्व भएकाले अम्बेडकरले दलितका लागि संवैधानिक व्यवस्था गर्न सकेनन् । जब उनले वर्ण व्यवस्थालाई नष्ट गर्न सकेनन्, उनले धर्म परिवर्तन गरी बुद्ध धर्म अँगाले । त्यसले पनि वर्ण व्यवस्थामा वा छुवाछुतमा खासै परिवर्तन भएन, तर बुद्ध धर्मभित्र भएको समानताबाट उनले आत्मसन्तुष्टि लिए । 

कम्युनिस्टहरूले जात व्यवस्थाका विरुद्ध अग्रिम मोर्चाबाट लड्नुपर्ने हो, तर उनीहरू जात व्यवस्थालाई आरक्षण दिएपछि ठिक हुन्छ भन्ने स्थितिमा पुगेजस्तो देखिन्छ । दलित आन्दोलनले मात्र जात व्यवस्था उन्मूलन हुँदैन, त्यसमा गैरदलितहरू र मूलतः कम्युनिस्टले पहलकदमी लिनुपर्छ, जसले गर्दा वर्ण व्यवस्था उन्मूलन हुन सकोस् । 

नेपालमा पनि टीआर विश्वकर्मालाई मन्त्री बनाए पनि अन्य दलित जातिले त्यसबाट दलित मुक्ति पाएनन्, न त टीआरले नै छुवाछुत व्यवस्थाबाट मुक्ति पाउन सके । सम्पन्न दलित मात्रै प्रतिनिधिका रूपमा मन्त्री वा सांसद हुन सक्छन् र आम दलितमा त्यो कुरा लागु हुन सक्तैन, तर त्यो सत्तामा पुगेको दलित पनि सांस्कृतिक र सामाजिक उत्पीडनमा छ । 

जात व्यवस्थाका विरुद्ध दलितको मात्र प्रयासले पुग्दैन, त्यसमा उच्च जातिको सघन सहभागिता चाहिन्छ । यो सामाजिक, सांस्कृतिक र राजनीतिक व्यवस्थाले वर्ण व्यवस्थाको अन्त्य हुन सक्तैन । 

नेपाली समाज र दक्षिण एसियामा रहेको हिन्दुद्वारा शासित समाज सामन्तवाद र जात व्यवस्थामा आधारित हुँदै आयो । त्यस समाजमा शूद्र वा दलितहरू सधैँ अपहेलित हुन्थे, तर उसका कलाकृतिले समाजका उच्च जातका भण्डार भरिएका हुन्थ्यो । दलित भने सधैँ पिँधमै रहन्थ्यो, उसको भातपानी चल्थेन, जातभातको चलन अद्यापि कायम छ । 

शासक वर्गको विद्रोहमा उठेकाहरू जुनसुकै वर्णका भए पनि दलित जातिमा झारिन्थ्यो र यसरी दलित जातमा व्यापक वृद्धि भयो । छुवाछुतविरोधी आन्दोलनलाई जबसम्म माथिल्लो वर्णले समर्थन गर्दैन, त्यो सफल हुन सक्तैन । अहिले संविधानतः छुवाछुत हटे पनि व्यवहारमा माथिल्लो जातिले त्यसलाई बेवास्ता गर्दै आएको छ । 

कुनै सीप नलागेपछि अछुत जातिले धर्मान्तरण गरेर उत्पीडनलाई कम गर्ने प्रयत्न गरेका छन्, जसले केही हदसम्म परिवर्तित धर्ममा समानता होला, तर आर्य हिन्दु समाजलाई त्यसले त्यति प्रभाव पार्दैन । धर्मान्तरण गरेका छुत अछुतले हिन्दु वर्ण व्यवस्थामा त्यति ठुलो प्रभाव पार्न सक्तैनन्, तर उनीहरूमा समानताको आत्मतुष्टि होला । त्यसले वर्ण व्यवस्थालाई खास असर पार्न सक्तैन । 

माओवादी आन्दोलन जात व्यवस्था विरोधी आन्दोलन पनि थियो, त्यसैले त्यहाँ अन्तर्जातीय विवाहमार्फत जातीय भेदभाव हटाउन खोजिएको थियो । जब १२ बँुदे सहमति अनुसार माओवादी खुला रूपमा बाहिर आयो, त्यसले वर्ण व्यवस्थामा व्यापक खैलाबैला ल्यायो । जातीय समाजमा त्यसले धेरै उथलपुथल ल्यायो, जसले गर्दा कैयौँको परिवार छिन्नभिन्न भयो । माओवादी आन्दोलनले पनि जातीय व्यवस्थाको निरूपण गर्न सकेन । त्यसले संविधानमा जनजाति, दलित, महिला र पिछडिएका जातिको अधिकार सुनिश्चित गरियो भन्ने बाहेक जात व्यवस्थामा खास परिवर्तन गर्न सकेन । 

अधिकारहरू संविधानमा लेखे पनि जसले समानताको नारा दिएर आन्दोलन गरेको थियो, त्यसैको घरपरिवारमा जात व्यवस्था कायम छ । उसले दलितसँग लेनदेन बिहेबारी नगरी आफ्नै वर्ण र जातको खोजी गर्छ, जसले माओवादी आन्दोलनलाई विकृत बनाएको छ । 

डा. अम्बेडकरले जीवनको अन्त्यमा बौद्ध धर्म अँगाले पनि भारतीय अछुत जाति अहिले पनि सबैभन्दा अपहेलित छ । धर्म भनेको त कुनै एउटा काल्पनिक वस्तुलाई प्राणप्रतिष्ठा गरेर जीवित बनाउन खोज्नु हो, जुन उपाय र तरिका निरर्थक छ । अन्तर्जातीय विवाहबाट वर्ण व्यवस्थालाई कम गर्न सकिन्छ कि भन्ने छ, तर अन्तर्जातीय विवाह गर्दा कानुनी होइन सामाजिक र सांस्कृतिक परम्परा के छ भने जसले जुन कथित सानो भनिएको जातिसँग विवाह गर्छ, त्यसलाई समाजले त्यही रूपमा हेर्छ । अर्कोतिर दलितभित्रै पनि विभेद छ, विवाह गर्न हिचकिचाउँछन् । त्यसकारण रूपान्तरण आफूबाटै हुनुपर्छ । 

हामीले त्यस्ता उदाहरण बिरलै पाएका छौँ, जहाँ कम्युनिस्ट भनिने र ब्राह्मण वा क्षत्रीय पनि भनिनेले दलितकी छोरी ल्याएको वा र दलितलाई छोरी दिएको होस् । उनीहरू यसमा विवाह स्वेच्छिक हुनुपर्छ भन्छन्, जुन कम्युनिस्ट आन्दोलनको माग विपरीत छ । दलितको समानताको मागलाई गैरदलितले दिलैदेखि सहयोग गर्नुपर्छ । गैरदलित नेतृत्वले जबसम्म त्यस सिद्धान्तलाई स्वीकार गर्दैनन्, एसियाको आर्य समाजमा वर्ण व्यवस्था लामो समयसम्म कायम रहन्छ, तथापि केही खुकुलोपना भने आउन सक्छ । आमूल परिवर्तन गरी वर्ण व्यवस्थालाई नष्ट गर्न निर्मम सङ्घर्ष गर्न जरुरी हुन्छ । दलित समुदायको एकल सङ्घर्षबाट मात्र यो सम्भव छैन । नेपाली समाजमा जात व्यवस्थाको उन्मूलन त्यति सजिलो छैन । 

गीता र उपनिषदको सिद्धान्त त्यस बेला जन्म भयो, जब मानिसहरू लोभीपापी र अपराधमा सम्मिलित भए र उनीहरूलाई विनम्र हुने शिक्षा दिइन्छ, यो वैदिक साहित्यको दार्शनिक व्याख्या हो । गीता दर्शनले महाभारत युद्धको भीषण तथा अपार नरसंहारलाई माया र भ्रमको जालमा विलीन पारिदियो । गीतामा भनिएको छ कि यद्यपि नारी, वैश्य र शूद्रहरूको जन्म दासताका निम्ति नै भएको हो, तर उनीहरू मेरा (श्रीकृष्णका) भक्तजन हुन भने उनीहरूलाई स्वर्गवासमा स्वतन्त्रता हुन सक्छ । 

गणहरूका बिच आफ्ना जीविकाका लागि भीषण सङ्घर्ष गरिएका कथा वैदिक साहित्यमा पढ्न सकिन्छ । समाजमा जति राम्रो काम गरे पनि शूद्रहरूमाथि छुवाछुत गरियो । पहिलो कुरा उनीहरू श्रमिक वर्गमा परे, दोस्रो कुरा वर्ण व्यवस्थाका कारण उनीहरू छुवाछुतको मारमा पनि परे ।

प्राचीन युगमा कुन पशुको मासु नखाने कुनको खाने भन्ने प्रतिबन्ध थिएन । वर्ग र वर्ण व्यवस्थाको उत्पत्तिसँगै शोषक र शोषित समूहको जन्म भयो । ऋषिहरूमार्फत गोत्रको जन्म भयो र उप ऋषिहरूमार्फत प्रवरको जन्म भयो । त्यसले शुद्ध रक्त सम्बन्धको कुरा दर्शाउँथ्यो । अरु जातिलाई मूलतः अछुत जातिको गोत्र र प्रवरलाई धार्मिक मान्यता थिएन । वैदिक कालमा नियोगद्वारा सन्तान जन्माउनु धर्म हुन्थ्यो भने जसरी भए पनि राजगद्दी खाली गर्नु हुन्थेन । त्यस परम्परा महाभारत र रामायणका पात्रमा पाइन्छ । 

स्वर्ग, नर्क, पाप, धर्म आविष्कार गरियो । पूर्वजन्मका कारण गरिब दुःखी हुनुपरेको हो, त्यसकारण राजा पुरेत र सम्पन्न वर्गको सेवा गरेपछि धर्म हुन्छ र मरेपछि शान्तिपूर्ण स्वर्गको उपभोग गर्न पाइन्छ भनेर एउटा काल्पनिक संसारको रचना गर्‍यो । गरिब अछुतले त्यही मिथ्या कल्पनामा विश्वास गरे । मनु र शङ्कराचार्यले जात व्यवस्थालाई कठोर बनाए । 

पश्चिम नेपालमा जात व्यवस्था कठोर छ, उच्च वर्ग र दलितले खाने पानीको कुवा भिन्न–भिन्न छन् । नेपालमा तीन समुदायमा जात व्यवस्था पाइन्छ— खस–आर्य समुदाय, मधेसी समुदाय र नेवार समुदाय । 

कम्युनिस्टहरूले जात व्यवस्थाका विरुद्ध अग्रिम मोर्चाबाट लड्नुपर्ने हो, तर उनीहरू जात व्यवस्थालाई आरक्षण दिएपछि ठिक हुन्छ भन्ने स्थितिमा पुगेजस्तो देखिन्छ । दलित आन्दोलनले मात्र जात व्यवस्था उन्मूलन हँुदैन, त्यसमा गैरदलितहरू र मूलतः कम्युनिस्टले पहलकदमी लिनुपर्छ, जसले गर्दा वर्ण व्यवस्था उन्मूलन हुन सकोस् । विडम्बना ! नेपाली कम्युनिस्ट र अरु क्रान्तिकारीले वर्ण व्यवस्थाको मुद्दा एउटा चुनावदेखि अर्को चुनावसम्म मात्र उठाउँछन् । यस सम्बन्धमा कम्युनिस्टले आफ्नो धारणा खुला राख्न सकेका छैनन् । धर्म परिवर्तन वा अन्तर्जातीय विवाहले मात्र वर्ण व्यवस्थाको अन्त्य हुँदैन । त्यसका लागि दार्शनिक, सामाजिक, सांस्कृतिक, आर्थिक र राजनीतिक रूपले नै समाजमा आमूल परिवर्तन हुन जरुरी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भुबहादुर अधिकारी
शम्भुबहादुर अधिकारी
लेखकबाट थप