१० बजे, १० समाचार
आज २०८१ असार २ गते आइतबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘रात्रिकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–
आजका मुख्य समाचारमा सहकारी ठगीबारे गठित संसदीय छानबिन समितिले बनायो कार्यसूची, मन्त्रीपरिषदमा हेरफेर गर्न राष्ट्रपतिलाई कुर्दै प्रधानमन्त्री, एनजीओबाट प्रायोजित खाजा आएपछि राज्य व्यवस्था समितिको बैठक प्रभावित, अर्काको कार्यकालमा भएको बेथितिलाई बहालवाला सचिव झेल्दै, काठमाडौँ महानगरविरुद्ध कवाड व्यवसायी आन्दोलित, निर्वाचन आयुक्तमा प्रधानको नाम सिफारिस लगायत छन् ।
१. सहकारी ठगीबारे गठित संसदीय छानबिन समितिले बनायो कार्यसूची
विभिन्न सहकारीमा भएको बचत रकम अपचलन सम्बन्धमा छानबिन गर्न गठन भएको संसदीय छानबिन समितिले तथ्य र सूचना सङ्कलनका लागि कार्यसूची तय गरेको छ । नयाँ बानेश्वरमा आइतबार बसेको समितिको बैठकले कार्यविधि अनुसार कार्यसूची तय गरेको हो ।
२. मन्त्रीपरिषदमा हेरफेर गर्न राष्ट्रपतिलाई कुर्दै प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले असार दोस्रो साताभित्र मन्त्रीमण्डल हेरफेरसहित पुनर्गठन गर्ने भएका छन् । प्रधानमन्त्रीले नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीलाई समेटेर मन्त्रीमण्डल पुनर्गठन गर्न लागेका हुन् । राष्ट्रपति रामचन्द्र पौडेल विदेश भ्रमणमा रहेकाले उनी फर्किएलगत्तै मन्त्रीपरिषदमा हेरफेर गर्ने प्रधानमन्त्रीको तयारी छ ।
३. एनजीओबाट प्रायोजित खाजा आएपछि राज्य व्यवस्था समितिको बैठक प्रभावित
आइतबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा एनजीओबाट प्रायोजित खाजा ल्याइएपछि बैठक नै प्रभावित भएको छ । खाजाबारे सांसदहरूले प्रश्न गरेपछि समितिका सचिवले त्यसबारे प्रकाश पारेका थिए । तर बैठकमा सहभागी गृहमन्त्री रवि लामिछानेले एनजीओबाट ल्याइएको खाजाको औचित्यमाथि प्रश्न गर्दै बैठक कक्षबाट बाहिरिएपछि बैठक नै प्रभावित भएको हो ।
४. अर्काको कार्यकालमा भएको बेथितिलाई बहालवाला सचिव झेल्दै
२०७२ सालको महाभूकम्पका बेला खरिद गरिएको त्रिपाल भुक्तानीमा भएको भ्रष्टाचारको मुद्दा अहिले पनि टुङ्गिएको छैन । रोचक त के छ भने अदालतको आदेश कार्यान्यवन छलेका तत्कालीन सचिव डा. रमेशप्रसाद सिंहलाई पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले राष्ट्रिय योजना अयोगको सदस्यजस्तो महत्त्वपूर्ण पदमा नियुक्ति दिएको छ भने बहालवाला सचिव मणिराम गेलाल फाइल च्यापेर अदालत धाइरहेका छन् ।
५. काठमाडौँ महानगरविरुद्ध कवाड व्यवसायी आन्दोलित
कवाडी व्यवसायीहरू काठमाडौँ महानगरपालिकाविरुद्ध प्रदर्शनमा उत्रिएका छन् । उच्च अदालतले कवाडी व्यवसायीलाई नहटाउनु भन्ने आदेश दिँदा पनि महानगरले कवाडी व्यवसायीको टहरामा डोजर चलाएको भन्दै उनीहरूले विरोध प्रदर्शन गरेका हुन् ।
६. निर्वाचन आयुक्तमा प्रधानको नाम सिफारिस
संवैधानिक परिषद्को बैठकले निर्वाचन आयुक्तमा कृष्णमान प्रधानलाई नियुक्त गर्न सिफारिस गरेको छ । आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले रिक्त निर्वाचन आयुक्त पदमा प्रधानलाई नियुक्त गर्न सर्वसम्मत सिफारिस गरेको हो ।
७. बागमतीको बजेटबारे मुख्यमन्त्री र आर्थिक मामिला मन्त्रीबिच कलह
बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटका विषयमा मुख्यमन्त्री शालिकराम जम्कट्टेल र आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाबिच कलह उत्पन्न भएको छ । बजेटको आकार र बजेट विनियोजनमा स्पष्टता नहुँदा मुख्यमन्त्री जम्कट्टेल आर्थिक मामिलामन्त्री थपलियासँग रुष्ट बनेका हुन् ।
८. पेट्रोलियम ढुवानी मजदुर आन्दोलनमा
पेट्रोलियम ढुवानी मजदुर विभिन्न माग राख्दै आन्दोलनमा उत्रिएका छन् । आजदेखि आन्दोलनमा उत्रिएर पेट्रोलियम ढुवानी अवरुद्ध गरेपछि पेट्रोलियम वितरण ठप्प बनेको छ ।
९. नेप्सेमा दोहोरो अङ्कको गिरावट
आइतबार सेयर बजार परिसूचक नेप्से १७.०४ अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आइतबार नेप्से सूचक ०.८० प्रतिशतले घट्दै २ हजार ९५.२५ विन्दुमा झरेको हो ।
१०. नक्कली लाइसेन्स जारी गरेको आरोपमा तत्कालीन कार्यालय प्रमुखसहित पाँच जना पक्राउ
नक्कली सवारी चालक अनुमति पत्र (लाइसेन्स) जारी गरेको आरोपमा प्रहरीले यातायात व्यवस्था कार्यालय बुटवलका तत्कालीन कार्यालय प्रमुखसहित ५ जनालाई पक्राउ गरेको छ ।
यो पनि...
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आइभरी कोस्टको नाममा लेखियो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटको खराब कीर्तिमान !
-
अफगानिस्तानमा गाडी दुर्घटना, ६ जनाको मृत्यु
-
स्वास्थ्य प्रणालीमा विश्वास निर्माण गर्न सक्नुपर्छ : मन्त्री पौडेल
-
प्रधानमन्त्रीको आसन्न चीन भ्रमणबारे देउवा : चीन हाम्रो मित्र राष्ट्र हो, त्यहाँ किन नजाने ?
-
राजनीतिक अस्थिरताका कारण व्यवसायी मारमा : महासचिव पोखरेल
-
बबाल बुमराह, निरीह अस्ट्रेलियाको टप अर्डर !