मङ्गलबार, ०९ पुस २०८१
ताजा लोकप्रिय

सुनचाँदीको व्यवसायमा अस्वस्थ प्रतिस्पर्धा, जर्तीको पैसा छुट नदिन चेतावनी

आइतबार, ०२ असार २०८१, १६ : १३
आइतबार, ०२ असार २०८१

काठमाडौँ । सुनचाँदीको व्यवसायमा कुनै फर्म कम्पनीले आफूखुसी मूल्य निर्धारण गरेको भन्दै छाता संगठनले त्यसो नगर्न चेतावनी दिएको छ ।

काठमाडौँको शुक्रपथ विशालबजारको ठेगाना दिई गहना व्यवसाय गर्ने एक फर्मले ‘सुनको मूल्य अत्यधिक बढेकोले ज्याला र जर्तीमा भारी छुट’ स्लोगनका साथ विज्ञापन प्रकाशित गरी बजारमा भ्रम छर्ने काम गरेको भन्दै व्यवसायसँग सम्बन्धित तीनवटा संगठन नेपाल सुनचाँदी व्यवसायी महासंघ, नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र नेपाल हस्तकला महासंघले आपत्ति जनाएका हुन् । 

विज्ञापनको नाममा आम उपभोक्तामा भ्रम छर्ने, गहना व्यवसायीहरूलाई अन्योलमा पर्ने एवं व्यवसायी र कालिगडबिच द्वन्द्व सिर्जना गर्ने कार्य गरेको भन्दै सम्बद्ध महासङ्घहरूले आइतबार संयुक्त विज्ञप्ति जारी गर्दै गम्भीर ध्यानाकर्षण भएको सङ्गठनहरूले जनाएका छन् ।

मजदुरको पारिश्रमिक, निर्माण क्षति(जर्ती), ज्याला आदि बारेमा नेपाल सरकारबाट विभिन्न समयमा परिपत्रहरु जारी भएका छन् । साथै नेपाल राष्ट्र बैंकको सुन आयात तथा बिक्री वितरण कार्यविधि २०६८ मा सुनका गहना निर्यात हुँदा जर्ती बापत १० प्रतिशत थप शोधभर्ना दिने नियम छ । टक्सार विभागमा सिक्का टकमरी गर्दा ७.२ प्रतिशत जर्तीको व्यवस्था रहेको छ । यी व्यवस्थाहरूलाई मध्यनजर गर्दा कुनै फर्म वा कम्पनीले जर्ती नलिई केवल ७ प्रतिशत निर्माण शुल्कमा गरगहना बिक्री गर्ने विज्ञापनले सुनचाँदी बजारलाई अस्वस्थ प्रतिस्पर्धामा धकेल्ने स्पष्ट रहेको सङ्गठनहरूले उल्लेख गरेका छन् ।  

हेर्दा नाफा नहुने तर घुमाउरो पाराले गुणस्तरमा सम्झौता गर्ने, बैंकिङ प्रणाली बाहेकको अनौपचारिक रूपमा भित्रिएको कमसल सुनको प्रयोग गर्ने र कालिगडको मुनासिब ज्यालामा संकुचन गरी अपारदर्शी र विधि विपरीत नाफा लिने प्रवृत्ति हाबी हुन सक्ने देखिएकाले यस्ता अवाञ्छित क्रियाकलाप नलाग्न समेत सङ्गठनहरूले चेतावनी दिएका छन् । 

साथै सरकारले आर्थिक वर्ष २०८१/८२को बजेट मार्फत सुनको आयातमा लगाउँदै आएको भन्सार शुल्कमा अस्वाभाविक रूपमा वृद्धि गरी २० प्रतिशत पुर्याएकोले गहना व्यवसाय नै धराशायी हुने अवस्था आएको भन्दै व्यवसायीहरुले सुनचाँदीको पुरानै दर कायम राख्न समेत माग गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप