मधेस टुक्र्याउन हिँडेका सीके अहिले देश जोड्न अग्रसर
काठमाडौँ । डा. सीके राउत नेतृत्वको जनमत पार्टीले मधेस प्रदेश सरकारको नेतृत्व पाएको छ । जनमत पार्टी नेतृत्वको मधेस सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवं बजेट पनि ल्याइसकेको छ ।
नीति तथा कार्यक्रममा र बजेटमा समावेश महत्त्वाकाङ्क्षी कार्यक्रमहरूको प्रचारमा जनमत पार्टीका अध्यक्ष राउतसहित अन्य नेताहरू लागेका छन् ।
मधेस इतिहास पार्क मधेस प्रदेश, वैदेशिक रोजगार उद्धार केन्द्र मधेस प्रदेश, टिच फर मधेस कार्यक्रम, जय मातृभूमि कार्यक्रम, कोडिङ आर्मी मधेस प्रदेश, बाबासाहेब अम्बेडकर पार्क सिरहा, स्पेश एण्ड कम्युनिकेशन रिसर्च सेन्टर मधेस प्रदेश, एक करोड वृक्षारोपण, मोबाइल एम्बुलेन्स, पूर्ण साक्षर मधेस प्रदेश, हरेक निर्वाचन क्षेत्र एक रोजगार प्रवद्र्धन केन्द्र, हरेक पालिकामा कृषि विद्युतीकरण जस्ता कार्यक्रमको आकर्षक पोस्टरसहित जनमत पार्टीका अध्यक्ष राउतले प्रचार गरिरहेका छन् ।
तर त्यही सीके राउतले २०७५ सम्म स्वराज आन्दोलनको नाममा पृथकतावादी गतिविधि चलाउँदै आएका थिए । अहिले उनी देश तोड्ने कुरा होइन, देश जोड्ने कुरा गर्न थालेका छन् ।
जनमत पार्टीले मधेस सरकारको नेतृत्व गरेका कारण सो पार्टीका नेतृत्व पङ्क्ति तथा अन्य नेता कार्यकर्ता खुसी देखिन्छन् । यसलाई जनमत पार्टीले ठुलै उपलब्धिको रूपमा लिएको छ । जनमत पार्टीका नेताहरू जनमत भए सबै सम्भव हुने बताउन थालेका छन् ।
जनमत पार्टीका उपाध्यक्ष नरेन्द्र प्रसाद चौधरीले स्वतन्त्र मधेसको शृङ्खला समाप्त भइसकेको बताए । अहिलेको संविधानलाई स्वीकार गर्दै मूलधारमा आएर मधेस सरकारको नेतृत्व गर्न पाउनु जनमत पार्टीको उपलब्धि रहेको उनको भनाइ छ । तर गठबन्धनको सरकारबाट कति काम गर्न सकिन्छ भन्ने कुरा आउने दिनमा पुष्टि हुने भन्दै उनले अहिले जनमत पार्टी उत्साहित भएर आफ्नो गतिविधिलाई अगाडि बढाइरहेको प्रस्ट पारे ।
अध्यक्ष राउतको विगत हेर्दा उनले स्वतन्त्र मधेसका लागि आफ्नो सम्पूर्ण तयारी गरिसकेका थिए । यहाँसम्म कि उनले मधेस देश चलाउनका लागि आवश्यक कर्मचारीका लागि विज्ञापनसमेत गरिसकेका थिए ।
उनले लेखेका आफ्नो पुस्तक मधेस स्वराज पुस्तकमा आफ्नै सेनाको बारेमा यस्तो वर्णन गरेका छन्–
‘कोई दूसरा समाधान मधेस में रहे नेपाली और पहाडी सेना को पूर्ण रूप से हटाकर उसकी जगह मधेसी सेना को नहीं रख सकता, और जब तक मधेस की भूमि पर नेपाली, पहाड़ी सेना रहेगी, मधेशियों की गुलामी का अन्त नहीं हो सकता । नियम, कानुन, व्यवस्था, संविधान आदि बनते रहते हैं, उनकी कोई अहमियत नहीं जब तक अपनी सेना न हो । साम्राज्य की सेना लगाकर कभी भी नियम, कानून, संविधान और व्यवस्था को निलम्बन किया जा सकता है । इसलिए जब तक मधेस में मधेसी मातहत की मधेसी सेना नहीं, तब तक नियम, कानुन, व्यवस्था, संविधान आदि कुछ भी अपना नहीं ।’
देशको झण्डा, लोगो, राष्ट्रियगान समेत उनले सार्वजनिक गरिसकेका थिए । त्यतिमात्र होइन, उनले मधेस अलग देश हो भन्दै मधेसलाई अलग देशका रूपमा मान्यता दिन संयुक्त राष्ट्र सङ्घमा पत्र पनि पठाइसकेका थिए ।
उनले मधेस अलग देश हो भनेर पटकपटक अभ्यास पनि गराएका थिए । मधेस देशका लागि उनले नमूना जनमत सङ्ग्रह गराएका थिए । कथित जनमत सङ्ग्रहको नतिजा पनि उनले सार्वजनिक गरेका थिए ।
स्वतन्त्र मधेसको बारेमा आफ्नो आत्मकथामा यस्तो लेखेका छन्–
‘स्वतन्त्रता कहिले पनि ढिलो हुँदैन । र, गएको दशकमा मात्र, दुई दर्जन देशहरू स्वतन्त्र भए, र यस दशकमा पनि पूर्वी टिमोर, मोन्टेनेग्रो, सर्बिया र कोसोभो जस्ता देशहरूले स्वतन्त्रता प्राप्त गरे । र मधेसीहरूलाई पनि आफ्नो दासताबाट मुक्त हुन कसैले रोक्न सक्दैन, न त मधेसलाई स्वतन्त्र हुनबाट कसैले रोक्न सक्छ । त्यसै गरी केहीले स्वतन्त्र मधेस निकै सानो देश हुने भनेर गलत हल्ला फैलाउने गर्छन् । क्षेत्रफलका आधारमा कुरा गर्ने हो भने स्वतन्त्र मधेस विश्वका सयभन्दा बढी देशहरूभन्दा ठुलो हुनेछ, इजराइल, फिजी, कुवेत, कतार, लेबनान, साइप्रस, सिंगापुर र माल्दिभ्सजस्ता चर्चित देशहरूभन्दा ठुलो । माल्दिभ्स त सप्तरीको एक चौथाइभन्दा पनि सानो छ । जनसङ्ख्याको आधारमा कुरा गर्ने हो भने स्वतन्त्र मधेस विश्वका करिब एक सय पचास देशहरूभन्दा ठुलो हुनेछ, ग्रीस, पोर्चुगल, बेल्जियम, चेक रिपब्लिक, हंगेरी, बेलारूस, हाइटी, अस्ट्रिया, स्वीट्जरल्याण्ट, डेनमार्क, भुटान र नर्वे जस्ता नाम चलेका देशहरूभन्दा ठुलो । सबै दृष्टिले, मधेस विशाल छ, मधेस महान छ ।’
- बैरागीदेखि वैज्ञानिकसम्म
पुल्चोक क्याम्पसमा इलेक्ट्रोनिक्स इन्जिनियरिङमा स्नातक गरेर एउटा इन्जिनियरिङ क्याम्पसमा केही समय काम गरेका सीके राउतले आफूलाई सोध्दै नसोधी सहायक विभागीय प्रमुख बनाएपछि राजीनामा दिएर जापान हिँडेका थिए । उनी त्यहाँबाट फर्केपछि पनि के गर्ने, कहाँ जाने भन्ने कुनै योजना थिएन ।
अलमलमा परेर उनी वैरागी (जोगी) बनेर हिँड्न थालेका थिए । उनको आत्मकथा अनुसार भगवान खोज्नका लागि उनी भारतका रामेश्वरम, बेङ्गलोर, कलकत्ता, मद्रास, कन्याकुमारीसम्म पुगेका थिए । त्यही क्रममा उनले ब्रह्मज्ञान प्राप्त गरेको आफ्नो आत्मकथामा उल्लेख गरेका छन् ।
त्यो ब्रह्मज्ञानबाट पनि केही प्राप्त हुने नदेखेपछि उनी पुनः जापान फर्के । जापानबाट मास्टर्स डिग्री पूरा गरेपछि बेलायतको क्याम्ब्रिज यूनिभर्सिटीमा विद्यावारिधिका लागि उनले आवेदन दिएका थिए र त्यसमा उनी छनौट पनि भए ।
उनी २०६४ मा नेपाल फर्किंदा मधेस आन्दोलन सुरु भइसकेको थियो । पहिलो पटक उनले तत्कालीन मधेसी मेर्चाद्वारा टुँडिखेलमा आयोजना गरेको जनसभामा आफ्नो मन्तव्य दिएका थिए । त्यो मन्तव्यबाटै उनले आफ्नो परिचय स्थापित गरेका थिए ।
तर मधेस आन्दोलनबाट केही प्राप्त नहुने भन्दै उनले ‘मधेस अधिकार एवं स्वतन्त्रता गठबन्धन’ गठन गरेर मधेसमा गतिविधि सुरु गरेका थिए । त्यतिबेला उनको मूल नारा थियो, ‘नेपाली उपनिवेश र रङ्गभेदको अन्त्य, मधेसीको समुचित अधिकार र मधेसको स्वतन्त्रताको प्राप्ति र गणतान्त्रिक मधेसको स्थापना’ ।
आन्दोलनकै क्रममा उनी २०६५ सालमा अमेरिका पुगेर वैज्ञानिकका रूपमा काम गर्न थालेका थिए । उनी त्यहाँ पुगे पनि मधेसको गतिविधि गर्न छाडेका थिएनन् । त्यहाँ उनले एउटा संस्था गठन गरेर मधेसको बारेमा आवाज उठाउन थाले ।
अमेरिकामा गठन गरेको गैरआवासीय मधेसी सङ्घको ब्यानरमा उनी अमेरिकाबाट नेपाल आएर मेची–महाकाली यात्रा चलाएका थिए ।
उनले सो यात्राको बारेमा आफ्नो आत्मकथामा लेखेका छन्–
‘पहाडीहरू मानवताविरुद्धको अपराधमा, रङ्गभेद र भेदभाव गर्नमा, र आफ्नो उपनिवेश लाद्नमा अझ बढी उग्र र सङ्गठित भएको कुरा त्यस यात्राका दौरानमा मैले अनुभव गरेँ ।’
त्यही यात्राको क्रममा उनले नेपालबाट मधेसलाई अलग बनाउनुपर्छ भनि सोच बनाएका थिए । उनी त्यो यात्राबाट देशलाई बुझेको र मधेसलाई चिनेको बताएका थिए ।
पहाडी शासकबाट मधेसीमाथि भएको विभेदबारे उनले खुलेरै बोल्न थाले । कुनैबेला वैरागी भएका सीके राउत यस्तो उग्र भए कि आजैको आज नेपालबाट मधेस अलग गरिहालौँ भन्ने जसरी मन्तव्य दिन थाले ।
उनको मन्तव्यले गर्दा मधेसी युवाहरूको आकर्षण उनी प्रति बढ्दै गयो । अमेरिकामा राम्रो तलबमा काम गरिरहेका सीके राउतलाई एकाएक मधेसलाई स्वतन्त्र गर्नुपर्छ भनेर ध्यान कसरी आयो भन्ने कुराको आशङ्का अझै निवारण भएको छैन ।
उनी नेपालमा स्वतन्त्र मधेस गठबन्धनको लागि काम गर्न थालेपछि युरोपियन युनियन तथा अमेरिका फन्डबाट सञ्चालित विभिन्न सङ्घसंस्थाले उनलाई सहयोग गर्न सुरु गरेका थिए । अमेरिकामा बसेका मधेसीहरूले उनको लागि पैसा पठाउन थालेका थिए । नेपालमा सबैभन्दा बढी सहयोग एमेनेस्टी इन्टरनेशलले सहयोग गरेको कुरा विभिन्न तथ्यबाट बाहिर आइसकेको छ ।
- मूलधारको राजनीति
२०६७ देखि स्वतन्त्र मधेसको गतिविधिलाई तीव्रता दिएका राउतले ८ देखि १२ वर्षमा मधेसलाई स्वतन्त्र बनाउने योजना बनाएका थिए ।
तर नौ वर्ष नपुग्दै उनी त्यो अभियानलाई छाडेर मूलधारको राजनीतिमा आए । उनका कतिपय कार्यकर्ता अझै भन्छन्, ‘डाक्टर साहब आफ्नो मिसनमै हुनुहुन्छ, उहाँ आफ्नो मिसन अनुसार नै अगाडि बढिरहनु भएको छ, त्यहाँ कुनै दायाँबायाँ भएको छैन ।’
तीन चरणको योजना अनुसार सीके राउतले दुई चरण पार गरिसकेका छन् भने अब तेस्रो चरणमा बचाउको चरणमा छन् । जसरी पनि मधेस गठबन्धन र उसको मिसनलाई बचाउने योजना सीके राउतको रहेको उनकै कतिपय नेताहरू बताउँछन् ।
जनमत पार्टी निर्माण गरेर जनतामा खुला रूपमा जाने र जनताको मत कलेक्सन गर्ने, सङ्गठन अझै बलियो बनाउँदै जाने, सङ्गठन बलियो भएपछि एकैपटक स्ततन्त्र मधेस घोषणा गर्ने योजना राउतको थियो । त्यही योजना मुताबिक अहिले नौलो गणतन्त्रको आन्दोलन रहेको दाबी कतिपय नेताको छ ।
उनले आफ्नो मधेस स्वराज पुस्तकमा पहिलो चरणको तयारीमा प्रचार प्रसार गर्ने, युवा दस्ता बनाउनेदेखि सैन्य र प्रहरी संरचना बनाउनेसम्मका कुरा छन् । दोस्रो चरणमा आन्दोलनको चरणमा नाकाबन्दी, सैनिक र सिपाही विद्रोहसम्मका कुरा गर्ने उल्लेख गरेका छन् । तेस्रो चरणमा बचाउका लागि अन्तर्राष्ट्रिय समर्थन प्राप्त गर्नेदेखि राष्ट्रसङ्घमा दर्तासम्मका कुरा उल्लेख गरेका छन् । अहिले सीके राउत तेस्रो चरणमा रहेको कतिपयले दाबी गरेका छन् ।
सीके राउतले आफ्नो पुस्तकमा भनेका छन्, जब साङ्गठनिक रूपले सक्षम हुन्छौँ अनि असहयोगको आन्दोलन सुरु गर्छौँ, अहिंसात्मक विद्रोह र नाकाबन्दीको सहयोगमा मधेसमा नेपाली साम्राज्यको अन्त्य गर्दै स्वराज स्थापनाका लागि लाग्छौँ ।’
सीके राउत पहिलो पटक २०७१ सालमा पक्राउ परेका थिए । उनी पक्राउ पर्दा कांग्रेस नेतृत्वको सरकार थियो । तत्कालीन सञ्चारमन्त्री मिनेन्द्र रिजालसँग दुई बुँदे सम्झौता गरी उनी रिहा भएका थिए ।
त्यसपछि उनी पटकपटक पक्राउ पर्ने र रिहा हुने काम भयो । जतिपटक उनी पक्राउ पर्थे, त्यति नै उनको सङ्गठन बलियो हुँदै गइरहेको थियो । कतिपयले त राष्ट्र विखण्डनमा राउत लागेको सबै प्रमाण हुँदा हुँदै किन छाडेको पनि सरकारको आलोचना गर्थे । राउतलाई पाल्ने काम राज्यले त गरेको छैन भन्ने आशङ्का पनि कतिपयले गरेका थिए ।
नहुँदै जेलबाट रिहा भएको भोलिपल्टै राज्यसँग ११ बुँदे सम्झौता गरी उनी मूलधारको राजनीतिमा अवतरण गरे ।
जनमत पार्टीका केन्द्रीय सदस्य एवं धनुषा जिल्लाका इन्चार्ज सुरेन्द्र मण्डलले यो आफूहरूको आंशिक उपलब्धि हो, चुनाव जितेर आएपछि यो पहिलो मौका हो, त्यही भएर जनमत खुसी हुनु स्वाभाविक रहेको बताए ।
तर स्वतन्त्र मधेस गठबन्धनको लक्ष्य, उद्देश्य आफूहरू सबै त्यागेको र राजनीतिक दलमा परिणत भएपछि पहिलो पटक जनमत पार्टीलाई आंशिक भए पनि उपलब्धि भएको उनले बताए ।
यसैबाट केही गर्ने सोच बनाएको तर गठबन्धन सरकार भएका कारणले सोचजस्तो काम गर्न सकिन्छ भन्नेमा आशङ्का रहेको उनले बताए । उनले भने, ‘जनमत पार्टी काम गर्न उत्सुक छ तर त्यति नै चुनौती पनि छ ।’
अध्यक्ष राउतले स्वतन्त्र मधेस गठबन्धनबाट मधेसलाई देशबाट अलग गर्न आन्दोलन गरेका थिए । लक्ष्य मधेस देश मनाउने थियो तर मधेस सरकार बनाउन सफल भएको जनमतका नेता मण्डल भन्छन् । उनले भने, ‘थोरै भए पनि यसलाई उपलब्धि भएको मान्नुपर्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार महिनामा १३ अर्ब ४० करोडको मोबाइल आयात
-
विश्वकपमा छनोट भएका महिला क्रिकेट खेलाडी सम्मानित
-
धान फल्ने खेतमा लगाएको सुन्तलाबाट दश लाख आम्दानी
-
इजरायलले प्यालेस्टाइनमा गरेको नरसंहारका विरुद्ध माइतीघरमा प्रदर्शन (तस्बिरहरू)
-
नेपाली रुपैयाँमा चुच्चे नक्सा राखेकोमा भाजपा नेताको आपत्ति
-
शल्यचिकित्सक समाजको चौधौँ राष्ट्रिय सम्मेलन पोखरामा