सरकारले पकेट बैंकबाट योजना छनोट गरेर बजेट ल्यायो : योगेश भट्टराई
काठमाडौँ । नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले योजना बैंकबाट भन्दा पनि सरकारले पकेट बैंकबाट योजना छनोट गरेर बजेट ल्याएको बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्रालय र अर्थ मन्त्रालयको विनियोजित बजेटमाजिको छलफलमा भाग लिँदै सचिव भट्टराईले यस्तो बताएका हुन् ।
उनले बजेट निर्माणको क्रममा राष्ट्रिय योजना आयोगमा भएको योजना बैंकमार्फत प्राथमिकताका आधारमा योजना छनोट भएर बजेट आउनुपर्ने भएपनि आगामी आर्थिक वर्षको बजेटमा अर्थमन्त्रीले पकेट बैंकमार्फत योजना छनोट गरी बजेट विनियोजन गरेको आरोप लगाए ।
भट्टराईले योजना आयोगको आयोजना बैंकमार्फत अर्थमन्त्रालयले योजनाहरु ल्याउनुपर्ने भएपनि आगामी आर्थिक वर्षको बजेटमा बनाउने क्रममा योजना बैंकको बजेटमा प्रतिविम्ब नभएको उल्लेख गरे । उनले पुँजीगत खर्चलाई बढाउने वित्तीय व्यवस्थापन नियन्त्रण गर्ने कुरा नै मुलुकको अर्थतन्त्रको निम्ति स्थायी बाटो हुन नसक्ने भन्दै अर्थमन्त्रीको ध्यानाकर्षण गराए ।
सचिव भट्टराईले सानातिना आयोजनाहरु लगेर निर्वाचन जितिन्छ भन्ने मानसिकताले कुनै पनि प्रतिफल दिन नसक्ने बताए । उनले मन्त्रीहरुले बजेट लैजाँदैमा चुनाव जितिन्छ भन्ने आधारबाट मुक्त हुन जरुरी रहेको समेत बताए । विगतदेखि बजेट बनाउँदा व्यापारिक घरानाले फाइदा लिएको भन्ने आंशका अहिले पनि आएको उनले बताए ।
भट्टराईले प्रधानमन्त्रीले संघीय सरकारले ३ करोडसम्मका योजना बजेटमा राख्ने कुरा संसद्मा उभिएर भने पनि व्यहारमा कार्यान्वयन नभएको बताए । उनले बजेट विनियोजनका पुस्तकहरु रामायणका ठेली जस्तो भएको समेत बताए । उनले बजेट विनियोजन पुस्तकका पाना धेरै बनाएर सबैलाई बजेट दिए भनेर सन्तुष्टि लिने ठाँउ नभएको समेत बताए ।
उनले संघले गर्ने एक दुई लाखको बजेटले कुनै परिणाम, प्रतिफल नदिने र रोजगारी सिर्जना नगर्ने बताए । उनले तीन तहका सरकारलाई निश्चित अंकभन्दा माथिको बजेट मात्रै व्यवस्था गर्ने प्रणाली स्थापित गर्नसके मात्रै परिणाममुखी ढङ्गले बजेट कार्यान्वयन गर्न सकिने बताए । उनले पुँजीगत खर्च घटिरहेको र वित्तीय व्यवस्थापनको खर्च बढिरहेकोकाले अर्थतन्त्रमा चुनौती रहेको बताए ।
उनले भने, ‘प्रधानमन्त्रीले संघीय सरकारले ३ करोडसम्मका योजना बजेटमा राख्ने कुरा संसद्मा उभिएर भन्नुभयो । त्यो असाध्यै उचित कुरा थियो । त्यसो भयो भने बजेट विनियोजनका पुस्तक पनि साना–साना हुनेछन् । अहिले हेर्ने हो भने विनियोजन पुस्तकहरु रामायणका ठेली जस्ता भएका छन् । विनियोजन पुस्तकका पाना धेरै बनाएर सबैलाई बजेट दिए भनेर सन्तुष्टि लिने ठाउँ छैन । त्यसले कुनै परिणाम निकाल्दैन । संघले गर्ने एक दुई लाखको बजेटले कुनै परिणाम ,प्रतिफल दिदैन र रोजगारी सिर्जना पनि गर्दैन । त्यसले स्थानीय तहमा समेत असन्तुष्टिहरु सिर्जना गर्छ ।’
सचिव भट्टराईले सरकारले जलविद्युतलाई प्राथमिकता दिएको भने पनि तमोर जलाशययुक्त आयोजना बनाउने विषयमा ध्यान नदिएको गुनासो गरे । उनले भारतबाट आयात भइरहेको ५ सय मेगावट जलविद्युत तमोर एउटै आयोजनाले धान्नसक्ने क्षमता राख्ने बताए ।
उनले जलविद्युत व्यवसायीहरुले राज्यबाट पाउने अभिभावकत्व सरकारले नदिएको गुनासो अहिले पनि व्यवसायीहरुबाट सुन्न थालेको बताए । उनले जलविद्युतको विकासका लागि निजी क्षेत्रले उठाएका मागहरुलाई सम्बोधन गर्न आवश्यक रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अखिल क्रान्तिकारी निर्वाचन : उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशित
-
प्रेस सेन्टर उदयपुरको अध्यक्षमा अभिमन्यु लामिछाने चयन
-
दोस्रो पौवादुङमा गोल्ड कपको उपाधि राजगढ झापालाई
-
बिहीबारदेखि सभापति कप फुटबल
-
सामाजिक सञ्जालबाट यौन दुर्व्यवहार गर्ने इन्ड्राइभ राइडर पक्राउ
-
बैतडीमा आगलागीबाट सात लाख बढीको क्षति