श्रीलंकाको लोभलाग्दो भौतिक पूर्वाधार विकास र पर्यटन क्षेत्र
कोलम्बो। तीव्र आर्थिक सङ्कटको सामना गरेको श्रीलंका विदेशी मुद्राको सञ्चिति ऋणात्मकमा गएर आवश्यक कागजसमेत किन्ने हैसियतमा थिएन । चर्को ब्याजमा विदेशी ऋण लिएर सडक सञ्जाल, भौतिक पूर्वाधार निर्माणलाई जोड दिएकाले नै श्रीलंका भुक्तानीको दबाबमा फसेको र आर्थिक सङ्कटमा परेको बताइन्छ । यद्यपि नेपालको तुलनामा श्रीलंकाको भौतिक पूर्वाधारको विकासलाई भने मान्नैपर्छ ।
श्रीलंकन एयरलाइन्सले ६ जुन, २०२४ मा केही नेपाली पत्रकारलाई श्रीलंकाको भ्रमण अवसर जुराएको थियो । सोही भ्रमण दलमा एक सदस्यको हैसियतले श्रीलंकाको विविध पक्षबारे प्रत्यक्ष जानकारी लिने अवसर प्राप्त भयो ।
साढे ३ घण्टाको उडान पश्चात् दक्षिण श्रीलंकाको बन्दरानाइके अन्तर्राष्ट्रिय विमानस्थलमा हामी सवार विमान अवतरण गर्यो । त्यहाँको विशाल र सुविधाजनक विमानस्थल, सहज अध्यागमन प्रक्रियाले आफ्नै देशको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई सम्झिन बाध्य तुल्यायो । झन्झटिलो अध्यागमन प्रक्रिया, अन्तर्राष्ट्रिय मात्र होइन, डोमेस्टिक उडानमा समेत यात्रुलाई जुत्तामोजा खोल्न लगाएर नाङ्गेझार पार्ने प्रणाली सम्झिएँ । श्रीलंकामा यस्तो कुनै झन्झटिलो प्रक्रियाविना नै हामी विमानस्थलबाट बाहिरियौँ ।
हामीलाई सोही दिन एयरपोर्टदेखि श्रीलंकाको मध्य भागस्थित ऐतिहासिक क्षेत्र धम्बुला पुग्नु थियो । हामीलाई लिन गाडी एयरपोर्टमा नै आयो । बन्दरानाइके विमानस्थलदेखि मताले, धम्बुलासम्मको करिब साढे ४ घण्टाको यात्रा (१२६ किलोमिटरको दुरी) पार गरेको पत्तै भएन ।
नेपालको तराई भेगको वातावरण जस्तै समथर भूभाग अनि सानासाना एक, दुई तले घर, सामान्य खुद्रे पसलहरूले हाम्रै तराई क्षेत्रको झल्को दिइरहेको थियो । बृहत् अकर्षक हाईवे टेक्ने बित्तिकै श्रीलंकाप्रतिको मेरो धारणा एकाएक फेरियो । चिल्ला र फराकिलो ८ लेनको सडकले श्रीलंकाको भौतिक पूर्वाधार विकासको ज्वलन्त उदाहरण दिइरहेको थियो । कुल १३७ किलोमिटर लामो सेन्टर एक्सप्रेस–वे सन् २०२२ मा मात्र सम्पन्न भएको श्रीलंकाको मेघा प्रोजेक्ट हो ।
ई ०१ देखि ई ०९ सम्म ९ वटा एक्सप्रेस–वे हाईवे निर्माण गरिसकेको श्रीलंकाले दक्षिण र मध्यभागमा गरी कुल २७१ किलोमिटर लम्बाईभन्दा बढी सुविधासम्पन्न सडक बनाइसकेको छ । मध्य भागलाई समेटेर श्रीलंकाले फास्ट ट्रयाकलाई थप विस्तार गर्ने योजना बनाएको छ ।
- पर्यटनमा सम्भावना नै सम्भावना बोकेको देश
हाम्रो भ्रमणको खास उद्देश्य श्रीलंकाको मुख्य पर्यटकीय गन्तव्यहरूको अवलोकन भ्रमण गर्नु थियो । चारैतिर समुद्रले घेरिएको ऐतिहासिक देश श्रीलंकामा प्राकृतिक तथा धार्मिक सयौँ पर्यटकीय गन्तव्य छन्, जसले विदेशी पर्यटक तानिरहेको छ । तर पनि नेपाल र श्रीलंका जस्तो एकआपसमा धार्मिक महत्त्वले जोडिएको दुई पर्यटकीय देशबिच एकअर्कामा व्यावसायिक रूपमा पर्यटन व्यवसायको आदानप्रदान भने खासै हुन सकेको छैन ।
हाम्रो भ्रमणको पहिलो गन्तव्य बन्यो धम्बुलास्थित पिडुरंगला–रक अर्थात् रोयल केभ टेम्पल । खासगरी बौद्धमार्गी धर्मालम्बीहरूको आस्थाको केन्द्र (ध्यान केन्द्र) मानिएको यो क्षेत्रमा पाँचौँ शताब्दीका राजा कस्यपले दरबार बनाएका थिए । रोयल केभ टेम्पलले चिनिने यस क्षेत्रमा विशाल ढुङ्गा छ । जसको सामुन्ने रहेको श्रीगिरी अर्थात् चर्चित राजा रावणको लङ्का दरबार नियाल्न सकिन्छ ।
रामायणमा खलपात्रको रूपमा उभ्याइएको शक्तिशाली राजा रावणले सिंहगिरी अर्थात् श्रीगिरीमा दरबार बनाएका थिए रे । बृहत् चट्टानमाथि अहिले पनि त्यो बेलाका केही भग्नावशेष पाउन सकिन्छ । हिन्दु धर्मालम्बीहरूका लागि यो क्षेत्र आकर्षणको केन्द्र मानिन्छ । यो दरबार पनि पाँचौँ शताब्दीका राजा कस्यपले नै बनाएका थिए ।
चट्टानमाथिको यो ऐतिहासिक दरबार क्षेत्रलाई युनेस्कोले विश्व सम्पदा सूचीमा राखेको छ । विश्व ऐतिहासिक महत्त्व बोकेको यो क्षेत्र पर्यटकीय दृष्टिकोणले निकै महत्त्वपूर्ण छ । तथापि, हामीले ठिक अगाडि रहेको रोयल केभ दबारसँगै पिडुरंगला रक (चट्टान) चढे पनि श्रीगिरी भने चढेनौँ ।
- ‘टेम्पल अफ दि टुथ्’
श्रीलंकाको अर्को धार्मिक तथा ऐतिहासिक महत्त्वले भरिएको क्षेत्र हो क्याण्डी सहर । ‘केएएनडी नो सीएएनडी’ हाम्रा गाइड अर्थात् नेपालका लागि श्रीलंकन एयरलाइन्सका कन्ट्री हेड निलिन पथिरानाले मजाक गरे । क्याण्डी सहर मध्यप्रदेशको राजधानी समेत हो भने सिंहाली राजवंशको अन्तिम शासन क्षेत्र पनि हो । यस सहरस्थित श्री दलादा मलाइगवा मन्दिरभित्र भगवान् गौतम बुद्धको दाँत राखिएको किंवदन्ती छ । ध्यान, जपतपका लागि प्रसिद्ध यस बौद्ध गुम्बामा नेपालसहित दक्षिण एसियाका दर्जनौँ देशका धार्मिक अनुयायीहरू आउने गर्छन् ।
सन् १९८८ मा युनेस्कोले विश्व सम्पदा सूचीमा सूचीकृत गरेको यस पवित्र स्थलमा नेपालसहित १७ वटा देशले आ–आफ्नो देशको बौद्ध धर्म र संस्कृतिसँग सम्बन्धित सङ्ग्रहालय स्थापना गरेका छन् । केही शुल्क तिरेर हामीले यस मन्दिरको अवलोकन भ्रमण गर्यौँ ।
- उच्च पहाडी क्षेत्रको प्रसिद्ध नुवारा इलिया
श्रीलंकामा पहाडी इलाका पनि होला र भन्ने हामीलाई लागेको थियो । तर, श्रीलंकामा समुन्द्री सतहदेखि २५२४ मिटर उचाइसम्मको चुरे पिडुरुटलगला पहाड रहेछ । उच्च पिकभन्दा ५ सय मिटर कम २ हजार मिटरको हारहारीमा प्रसिद्ध पर्यटकीय क्षेत्र नुवारा इलिया रहेछ । श्रीलंकाका प्रधानमन्त्रीको बंगलासमेत रहेको यस पहाडी इलाका चिया खेतीका लागि निकै प्रसिद्ध छ । हावापानी र भू–बनोटले ठ्याक्कै नेपालको कन्याम–इलाम जस्तै ।
श्रीलंका चियाका लागि निकै प्रसिद्ध छ । ब्रिटिस शासनका बेला सिलोनका नामले चिनिने श्रीलंकाले सोही सिलोन ब्राण्डका नाममा अहिले पनि ठुलो परिमाणमा चिया उत्पादन र निर्यात गर्नेगर्छ ।
विश्व बजारमा निकै चर्चित सिलोन टी उत्पादनका हिसाबले श्रीलंका विश्वको चौथो र निर्यातको हिसाबले तेस्रो मुलुक हो । श्रीलंकाले वार्षिक ३ करोड ४० लाख किलोग्राम चिया उत्पादन गर्छ । तथापि, उत्पादनको अधिकतम ९० प्रतिशत खपत आफ्नै देशभित्र गर्ने श्रीलंकाले १० प्रतिशत उत्कृष्ट चिया बाहिर निर्यात गर्ने गरेको छ ।
खासगरी मध्यपूर्वका देशहरू रसिया, चीन, युरोपेली मुलुकसँगै अमेरिका र जापान नै श्रीलंकाको चियाको मुख्य बजार हो । आर्थिक मन्दीले समस्यामा पर्दा यही चियाको निर्यातले श्रीलंकाको अर्थतन्त्रमा केही भरथेग गरेको थियो ।
श्रीलंकास्थित चिया बोर्डका अनुसार पछिल्लो वर्ष श्रीलंकाको चियाको बिक्री ४३ प्रतिशतले बढेको छ भने सोबाट प्राप्त राजस्वको हिस्सा ५८ प्रतिशतले बढेको छ । गत वर्षको अप्रिलसम्ममा श्रीलंकाले १०४ बिलियन अर्थात् ३१ अर्ब ७२ करोड रुपैयाँभन्दा बढी श्रीलंकन करेन्सी बराबरको चिया बिक्री गरेको छ ।
हामीले भ्रमणका क्रममा चिया बगानमै गएर चिया उत्पादन र प्रशोधनको प्रक्रिया हेर्यौँ । नुवारा इलियामा रहेको प्रसिद्ध चिया ब्राण्ड डाम्रोको उत्पादन हाउसमै गएर अर्ग्यानिक चियाको मिठो स्वादसमेत लियौँ ।
- सीता फेला परेको पवित्र धार्मिक स्थल
भ्रमणको तेस्रो दिन हामी नुवारा इलियाको विशेष ठाउँहरू घुम्यौँ । ब्रिटिस शासनका बेला बनाइएका भौतिक संरचना र विशेष तालको अवलोकन गर्यौँ । त्यहाँबाट अर्को रुट हुँदै पुरानो तर ऐतिहासिक पर्यटकीय क्षेत्र एल्ले झर्ने भ्रमण तालिका बन्यो । एल्ले झर्दैगर्दा बाटोमै पवित्र धार्मिकस्थल श्रीराम अजयम मन्दिर पर्ने रहेछ । यो त्यही क्षेत्र हो, जहाँ माता सीतालाई फेला पारिएको थियो ।
रामायणको कथामा व्याख्या गरिए बमोजिम लङ्काका राजा रावणले सीतालाई हरेर (अपहरण) गरेर लगेका थिए । भगवान् रामले सीता खोज्न हनुमानलाई लङ्का पठाएका थिए । सोही क्रममा रावणले सीतालाई ओडारमा लुकाएर राखेको अवस्थामा हनुमानले फेला पारेका थिए । यही ठाउँमा मन्दिर बनाइएको रहेछ । हिन्दु धर्मावलम्बीहरूले बडो आस्थाका साथ यहाँ पूजापाठ गर्ने रहेछन् ।
खासगरी श्रीलंकाका हिन्दु धर्मावलम्बी र छिमेकी मुलुक भारतबाट दैनिक सयौँको संख्यामा धार्मिक पर्यटक यहाँ आउने रहेछन् ।
यस्तै, राजधानी कोलम्बोमै रहेको हिन्दु शिव मन्दिर, विभिन्न देवीदेवताका मन्दिरहरू पनि श्रीलंकाको धार्मिक पर्यटनको केन्द्र बनेका छन् । ७० प्रतिशतभन्दा बढी बौद्ध धर्मावलम्बी र १० प्रतिशत हाराहारी हिन्दु धर्मावलम्बी रहेको श्रीलंका आकर्षक धार्मिक पर्यटन गन्तव्य बन्न सक्छ । ८० प्रतिशत हिन्दु धर्मावलम्बी र १० प्रतिशत हाराहारी बौद्ध धर्मावलम्बी भएको मुलुक नेपालले श्रीलंकासँग राम्रो धार्मिक पर्यटन आदानप्रदान गर्न सक्ने सम्भावना देखिन्छ ।
- ऐतिहासिक गाला
श्रीलंकाको दक्षिणी भागको समुन्द्री किनारमा अवस्थित गाला सहर ऐतिहासिक महत्त्वले भरिपूर्ण छ । खासगरी १६औँ शताब्दीमा पोर्चुगाली शासकले यो सहर बसालेका थिए ।
१६औँ शताब्दीदेखि १८औँ शताब्दीसम्म पोर्चुगाली डच र ब्रिटिसहरूले पालैपालो शासन गरेको यो इलाकामा तत्कालीन समयमा सामुद्रिक युद्धहरूमा प्रयोग गरेका किल्ला तथा युद्ध स्थलहरू देख्न सकिन्छ । समुद्रको किनारमा बनाइएका ठुलठुला संरचना, ढुङ्गाका पर्खालहरू, युद्धका लागि तयार गरिएका लाइट हाउस लगायतका संरचना देख्न सकिन्छ ।
ब्रिटिसहरूले आफ्नो शासनकालमा बनाएका पुराना र ऐतिहासिक दरबार, चर्च तथा प्रशासनिक भवनहरू यो क्षेत्रका विशेषता हुन् । सन् १६७१ देखि डच शासकहरूले सञ्चालन गरेका शासन, हातहतियार र युद्ध सामग्री सङ्ग्रहित मरिटाइम म्युजियम समेत यस क्षेत्रमा छ । हामीले भ्रमणका क्रममा यस क्षेत्रमा रहेका ठुल्ठुला युद्ध सामग्री, तोपहरूको अवलोकन गर्न पायौँ ।
- स्वच्छ र हराभरा सहर कोलम्बो
यो भ्रमणको छुटाउनै नहुने र गजब लागेको पक्ष भनेको श्रीलंकाको व्यवस्थित सडक जीवन र सहरी बस्ती नै हो । लगभग २ करोड २२ लाख जनसङ्ख्या रहेको श्रीलंकाको सहरी क्षेत्रमा पनि त्यति मानव चाप देखिएन । न त हाम्रोमा जस्तो उच्च सवारी चाप नै ।
हराभरा कोलम्बो सहरमा सबै कुरा सिस्टममा चलिरहेका देखिन्थे । सरकारी कार्यालय बिहान ८ बजेदेखि अपराह्न ५ बजेसम्म चल्ने रहेछन् । यो हाम्रा लागि अनौठो थियो ।
१० बजेदेखि ५ बजेसम्मको कार्यालय समय कटाउन पनि मुस्किल मान्ने हाम्रो कार्यप्रणालीका सामु श्रीलंकालीहरूले कसरी दैनिक ९ घण्टा काम गरिरहेका होलान् ! ८ बजे अफिज जान बिहान कति बजे उठ्दा हुन् ? हाम्रा मनमा यस्ता प्रश्न स्वाभाविक रूपमा उब्जिए । विद्यालयहरू पनि बिहान ८ बजेदेखि दिउँसो ३ बजेसम्म चल्ने रहेछन् ।
तथापि, कुनै समय ब्रिटिस शासन रहेको श्रीलंकामा अन्य मुलुकमा जस्तै सातामा दुई दिन शनिबार र आइतबार छुट्टी दिने व्यवस्था छ ।
सहरी इलाकामा मात्र होइन, श्रीलंकाको सबै ठाउँमा सवारी हर्न निषेध गरिएको रहेछ । एउटै गाडीले हर्न नबजाउने । सडक नियमलाई पूर्णतः पालना गरेको श्रीलंकाले सडक जीवन अत्यन्त शान्त र सुरक्षित बनाएको देखियो ।
जुन ११ तारिखका दिन हामी नेपाल फर्कियौँ । भ्रमणभरि हासिल गरेका नयाँ अनुभव, श्रीलंकाको मनै लोभ्याउने पर्यटकीय क्षेत्र र सेवा सत्कारलाई मनभरि सँगालार नेपाल फर्कियौँ ।
सम्पूर्ण भ्रमणको संयोजन गर्ने श्रीलंकाको राष्ट्रिय ध्वजावाहक श्रीलंकन एयरलाइन्स, जेथिन ट्राभल्स् र नेपालस्थित श्रीलंकन दूतावासलाई विशेष धन्यवाद ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी डलरको भाउ स्थिर, अन्य कसको मूल्य कति ?
-
पाँच महिनामा ५५ गर्भवती र सुत्केरीको उद्धार
-
ला लिगामा बार्सिलोनालाई धक्का, सेल्टा भिगोले बराबरीमा रोक्यो
-
लुम्बिनीलाई मुक्तिनाथसँग जोड्यो कालीगण्डकी करिडोरले
-
दुर्गा प्रसाईंको बीएण्डसी मेडिकल कलेजमा एमबीबीएस पठनपाठनको तयारी
-
ब्राइटन, वुल्भ्स विजयी हुँदा एस्टन र क्रिस्टल, एभर्टन र ब्रेन्टफोर्डले अंक बाँडे