शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय

नेपाली सञ्चार गृहले एआईको प्रयोग बढाउनुपर्छ : विज्ञहरू

शनिबार, ०१ असार २०८१, २० : ३०
शनिबार, ०१ असार २०८१

काठमाडौँ ।  सञ्चार क्षेत्रका विज्ञहरूले नेपाली सञ्चार गृहमा एआईको प्रयोग बढाउनुपर्ने बताएका छन् ।  राजधानीमा शनिबार आयोजित राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स सम्मेलनअन्तर्गत ‘द फ्युचर अफ मिडिया : एआई इनोभेसन इन ग्लोबल एन्ड लोकल कन्टेक्स्ट’ सत्रमा बोल्दै विज्ञहरूले आर्थिक, सामाजिक र राजनीतिक कारणले नेपाली सञ्चार गृहमा एआईको प्रयोग हुन नसकेको उल्लेख गरेका हुन् । 

क्यानडाको ओटावा विश्वविद्यालयका प्राध्यापक डा.भानुभक्त आचार्यले नेपालका सञ्चार माध्यमबाट एआई साक्षरता नभएको बताए । ‘नेपालका कतिपय ठाउँमा च्याट जिपीटी र एआई भन्ने छुट्टै बुझाइ रहेछ । ट्राई गरेको देखिन्छ । केहीले फोटोको लागि प्रयोग गरेको देखिन्छ । तर जेनेरेटिक रूपमा प्रयोग हुन सकेको छैन ।

खासगरी समाचार सामग्री निर्माणमा न्युज रुममा प्रयोग भएको देखिँदैन । केहीले हेडलाइन र लिड लाइन राख्न प्रयोग गरेको भन्ने सुनाएका छन् । च्याट जिपीटी फोरले झन्डै झन्डै हाल्ने खालको समाचार दिन्छ । तर एआई लिटरेसी छैन,’ उनले भने, ‘एआई टुल्सलाई मिडियामा मज्जाले प्रयोग गर्न सकिन्छ । क्रस फेरिफिकेसन, हेडलाइन म्याचिङलगायत धेरै काम गर्न सकिन्छ । यसलाई मिडिया हाउसमा प्रयोग गर्नुपर्छ ।’ एआईमा न्युज रुमले लगानी गर्नुपर्ने उनको भनाइ थियो । ‘चलेकै छ भन्ने हिसाबले चलेको छ । चुनौती आत्मसात् गर्ने भन्दा लतारिएर जाने, घिसारेर जाने छ । यसलाई अन्त्य गर्नुपर्छ,’ उनले भने । 

आचार्यले एआईको विकासले सञ्चारकर्मी रूपान्तरित हुनुपर्ने औँल्याएको बताए । ‘अल्छी जागिरको पत्रकार त खोस्छ खोस्छ । त्यो भन्दा माथि थिंक गरेर आउनुभयो भने कायम रहन्छ । अब अल्छी गर्ने समय गयो भन्ने सन्देश हो एआई । एआई टुल्स थाहा पाउनुपर्‍यो, त्यसको प्रयोग गर्दा राम्रो सम्पादन हुन्छ,’ उनले भने, ‘पत्रकारिता जे आए पनि मर्दैन । पत्रकारको कुरा आफ्नो क्षमता अभिवृद्धि गरिएन भने पछाडि परिन्छ । जागिर जान्छ र अरूमा सिफ्ट हुनुपर्ने अवस्था आउँछ ।‘ 

काठमाडौँ विश्वविद्यालयका कम्प्युटर साइन्स र इन्जिनियरिङ विभागका प्राध्यापक डा.सुदन झाले कन्टेन्ट डेलिभरीमा मिडिया संवेदनशील हुन जरुरी रहेको बताए । ‘मिडियामा ट्रेन्डिङ के छ भनेर हेरौँ । सिस्टमले यसमा बढी हिट छ त्यही भएर यो सत्य हो भन्ने ठान्छ । यो डिसास्टर हुनसक्छ । तर यसको जिम्मेदार त हामी नै हो । सिस्टमले इथिकल वायसनेस हटाउनेमा केन्द्रित हुनुपर्छ । होइन भने समाजलाई रेसिजमतिर पनि लान सक्छ । कन्टेन्ट डेलिभरीमा मिडिया संवेदनशील हुन जरुरी छ,’ उनले भने । एआईलाई तथ्य जाँच र ज्ञानमा प्रयोग गर्न सकिने उनको भनाइ थियो । 

अनलाइन खबरका प्रधान सम्पादक शिव गाउँलेले नेपाली सञ्चार गृहमा एआईको सीमित प्रयोग रहेको बताए । ‘हामीले केही इमेज तयार पार्दा एआईको प्रयोग गरेका छौँ । समाचार, विचार, सम्पादकीय टिप्पणी निर्माणमा सहभागी भइरहँदा त्यहाँ सहभागी नहुने एउटा मेसिन छ । जसले सामान्यीकरणभन्दा धेरै ज्ञान राखेको छ ।

त्यसक्रममा हामीले तस्बिरको अभ्यासका लागि प्रयोग गर्‍यौँ । जुन रमाइलो थियो,’ उनले सुनाए, ‘संसदमा निजामति विधेयक अझै आएन, त्यससँग सामग्री राख्न इमेज चाहियो, एआईले चार जना टक्क टेबलमा उभिएको घरको तस्बिर दियो । जहाँ सबै प्रहरी छन् । अर्को कमान्ड दिँदा नेपालीपन दिँदैन । फेरि माग्दा चन्द्र सूर्य झन्डा राखेर दियो । हाम्रो समाज र विविधता समेट्न सकेन । निजामतीको विषय इमेजमा बदल्ने कुरा जटिल रहेछ ।’ 

नेपाली न्युज रुम टेक्नोलोजीमा अभ्यस्त भइसकेको भन्दै गाउँलेले थपे, ‘एआईबारे सुनेको छ, जानुपर्छ भन्ने छ । तर विभिन्न बाध्यताहरू, संरचनाहरूको कारणले जान सकेको छैन । यसमा गएन भने चुनौती छ भन्ने छ । तर अभ्यासमा गइसकेको छैन । सैद्धान्तिक ज्ञानको अभाव छ । एआईले के गर्छ, के फाइदा हुन्छ भन्ने स्पष्ट छैन । लिटरेचर रिभ्यु, पुरानाहरू खोज्नका लागि एआई प्रयोग गर्न सकिन्छ भन्ने चेत छैन । प्रश्न र नयाँपनमा विवेकको प्रयोग गरेर एआई हामीसँग सँगसँगै हुन्छ कि पछि हुन्छ ? यो प्रश्न छ । यसबारे सचेतना बढ्दो छ । तर न्युज रुमको प्राथमिकता छैन । राजनीति, अर्थनीति, सामाजिक जन्जालले गन्जागोल भएजस्तो लाग्छ ।’  

प्रधान सम्पादक गाउँलेले एआईले सञ्चारकर्मीको पेसामा असर नपार्ने जिकिर गरे । ‘पत्रकारको जागिर खोस्न एआई आउनुपरेको छैन । अरू नै कारण छन् । एआईले हाम्रो प्रतिस्पर्धी क्षमता बढाउँछ । ब्याकग्राउण्ड कन्टेन्टमा सहयोगी हुन्छ ।

एआईले ह्युमन रिसोर्स क्षमतावान बनाउन मद्दत गर्छ । जागिरको अवस्था कस्तो बनाउँछ भन्न सकिँदैन,’ उनले भने । गाउँलेले जेनेरेटेड कन्टेन्टको बारेमा नेपाली सञ्चार क्षेत्रमा कुनै पनि नीति भएको र ठुलो दुर्घटना हुन सक्नेतर्फ सचेत गराए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप