चरैवेति उपन्यास : धर्म परिवर्तनको कथा
नेपाली उपन्यासको फाँटमा उपन्यासकार जीवन जीवन्त देखापरेका छन् । २०८० सालमा प्रकाशित उनको ‘चरैवेति’ नामको औपन्यासिक कृतिमा नेपालका अधिकांश इसाई समाजको वास्तविक र सिङ्गो चित्र उतारिएको छ ।
उपन्यासकारले बाइबलजस्तो पवित्र धर्मग्रन्थका विरोधाभासलाई सटीक ढङ्गले औपन्यासिकीकरण गरेका छन् । यो उपन्यास एउटा डायरीमा उल्लेख भएको टिप्पणीको उपज हो भन्नु गलत नहोला ।
चरैवेति एक सामान्य मान्छेको नियतिको कथा हो । यसमा सामान्यभन्दा सामान्य मानिसले मानिस भएर समाजमा बाँच्ने क्रममा कस्तो नियति भोग्न पुग्छ भन्ने सन्दर्भलाई निकै मार्मिक ढङ्गले अभिव्यक्त गरिएको छ ।
यस उपन्यासमा एउटा बाबुले आफ्ना मुटुका टुक्रा छोरीहरूलाई छोटो समयमै क्रमशः गुमाउनुपर्दाको दुःख–पीडा र विवशताको प्रस्तुति बडो मार्मिक एवं सजीव ढङ्गले आएको छ । ‘आकस्मिकता’, ‘नियतिको नियत’, ‘देउताढुङ्गा’, ‘तराई जहर’जस्ता उपन्यासका उपशीर्षकले मानिसले नै मानिस भएर मानिसको अस्तित्व जोगाउन सक्छ भन्ने देखाएको छ । एउटा मानिसलाई अस्तित्व रक्षाका लागि कुनै न कुनै आस्थाको सहारा चाहिन्छ र त्यो स्वाभाविक छ ।
जब उपन्यासको मुख्य पात्रले छोरीलाई बचाउन सक्दैन, तब ऊ देउतालाई ढुङ्गा अर्थात् निर्जीव वस्तु मात्र देख्न थाल्छ । जब मानिसले अदृश्य शक्तिसँग पुकार गरेर आफ्नाहरूको अस्तित्व जोगाउन सक्दैन, त्यो बेला उसले आफूले आस्था गरेको देउतामाथि प्रश्न गर्छ या यसको विकल्प खोज्ने चेष्टा गर्छ भन्ने भावलाई कथानकीय शिल्पमा कुशलतापूर्वक उपन्यासकारले बाँधेका छन् । त्यस्तै, दिदीभाइको मायाको विषय पनि निकै मार्मिक तवरले उपन्यासभित्र झल्काइएको छ । दिदी एउटा भाइका लागि दिदी मात्र नभएर एउटा असल अभिभावक रहेको भाव उपन्यासमा सजीव तवरले उठान गरिएको छ ।
उपन्यास पाठकको अन्तर्दृष्टि जगाउने त्यो ज्योति हो, जसले हामीलाई चेतनाको नवीनतम संसारमा पु¥याउँछ । त्यहाँ डुलाउँछ, भुलाउँछ र आल्हादित तुल्याउँछ ।
यस उपन्यासमा प्रयोग भएको विषय नौलो र शैली रोचक छ । ‘आमा कुम्लो–कुटिरोको महाभारत बोकेर शिवालिक पर्वत आइपुग्नुभएको थियो । गहु्रँगो भारीको एकोहोरो मिचाइमा पिठ्युँको लुगा पसिनामय भएको थियो । भित्रबाट परिश्रमी पसिनाको मिठो गन्ध आइरहेको थियो । ती सबलाई भरथेग गर्न उहाँका रापिला गोडाहरू थर्थराउँदै ओरालो झर्दै थिएँ’ यस्तै विम्बात्मक भाषाबाट उपन्यासको सुरुवात हुन्छ ।
पञ्चायती शासनकालको समय सन्दर्भमा इसाई बन्नुको कठिन परिस्थितिलाई उपन्यासले दर्शाउँछ । एउटा सामान्य मान्छे इसाई भएपछि उसले समाज र आफ्नो परिवारबाट कस्ता–कस्ता लाञ्छना खेप्नुपर्छ र उनको दैनिकी कसरी व्यतीत हुन्छ भन्ने तथ्यको आख्यानीकरण यस उपन्यासभित्र चाखलाग्दो छ ।
यस्तै भाषामा उपन्यासको गति अघि बढ्छ, ‘बुबाको दाहिने खोकिलामा मैलो तन्नाको कुम्लो झुन्डिएको थियो । त्यस कुम्लोभित्र भोलिको आवश्यकता मात्र थिएन, हिजोका दुःखपीडा गुटमुटिएका थिए । हिजोेको आर्जन र भोलिको आवश्यकतालाई आमाको भारी र बुबाको कुम्लोभित्र अटाइएको थियो ।’
उपन्यासले चाख दिएर बाइबलको पठन गर्छ अनि पछि त्यसका अन्धविश्वासलाई समातेर पुनर्पठनको माग गर्छ, पुनर्लेखनको माग गर्छ, ‘परमेश्वरको कथाको गहिराइ बढ्दै गएकाले म त्यसमा डुब्दै थिएँ । त्यसले मलाई खेतमा काम गरिरहँदा पनि डुबाइरहेको थियो । म तैरिन थालेँ । संसारको सृष्टि, मान्छेको सिर्जना, मान्छेले नखानु भनेको फल खाएका कुरा मनको जालीमा पर्दै गए । त्यसमा तैरिरहँदाको आनन्दले मलाई छोड्नै सकेन । नगर्नु र नखानु भनेको कुरा अवज्ञा गर्नैपर्ने मान्छेको स्वभाव विचित्रकै हुन्छ ।’
उपन्यासले जीवन भोग्छ, जीवनका अनेकन् आरोह–अवरोह भोग्छ र जीवन दर्शनको चास्नी बनाउँछ । मान्छे परिस्थितिको दास हो भनेर त्यसै भनिएको होइन रहेछ । जतिसुकै सरल जीवन जिउने प्रयास गर्दागर्दै पनि परिस्थितिले उसलाई जटिलताको भुमरीमा पु¥याउँदो रहेछ ।’ म पात्रको जीवनका नियति र सङ्कट साँच्चिकै अत्यासलाग्दा छन्, ‘साम्लिङेदाइले बसाएको बिजुवा झाँक्रीको काममा जानु मेरो के दोष थियो र ? फेरि म मात्र थिएँ र त्यहाँ ? अरूहरू पनि थुप्रै थिए । अरूले पनि ती सब गरेकै थिए । किन मलाई मात्र नचाहिँदो आरोप लगाइयो ?’ ऊ यस्तै परिस्थितिको दास बनेर इसाई बन्छ । नेपाली समाजमा अनेक कारणले धर्म परिवर्तन हुने गरेको छ । यस उपन्यासले जातीय विभेद र अज्ञानतालाई मूल जरो बनाएको छ । पञ्चायती शासनकालको समय सन्दर्भमा इसाई बन्नुको कठिन परिस्थितिलाई उपन्यासले दर्शाउँछ ।
एउटा सामान्य मान्छे इसाई भएपछि उसले समाज र आफ्नो परिवारबाट कस्ता–कस्ता लाञ्छना खेप्नुपर्छ र उनको दैनिकी कसरी व्यतीत हुन्छ भन्ने तथ्यको आख्यानीकरण यस उपन्यासभित्र चाखलाग्दो छ । दैनिक इसार्ई जीवनको अभ्यास भए पनि बाइबलमा भएका अनेकौँ विरोधाभासी प्रश्नप्रति आफू अनुत्तरित हुनु आफैँमा बहुसङ्ख्यक इसाईहरूको वास्तविकता हो । यसै वास्तविकताको खेलभित्र चरैवति उपन्यास खेलेको छ । त्यसैले यो यथार्थवादी आख्यानको कोटिमा पुग्छ ।
समग्रमा यो उपन्यास राम्रै छ । सबैभन्दा लेखकको मजबुत पक्ष भनेको एउटा विषयको घाँटी अँठ्याएपछि अन्त्यसम्म घाँटी नछोडी उपन्यासलाई टुङ्ग्याउनु हो । यो विशेषता थोरै मात्र साहित्यकारमा पाइन्छ । प्रायः साहित्यकारले कथावस्तुलाई घुमाएर वा सान्दर्भिक भन्दा भिन्न कुरा लेखेर पुस्तकको पृष्ठ बढाउनमा केन्द्रित भएका हुन्छन् । उपन्यासका शब्दहरू सरल, सहज र अत्यन्त व्यावहारिक भएकाले जुनसुकै हैसियतका पाठकले पनि बुझ्न सक्ने र पचाउन सक्ने खालका छन् । उपन्यासका सकारात्मक पक्ष जो उपन्यासमा समेटिएका छन्, ती सुरुदेखि अन्तसम्म कुतूहलता जन्माउन सफल मात्र नभएर एउटा पात्रले अर्को पात्र सामु सानो भएकाले मर्यादाका सुकुमार शब्दहरू पस्केर आदरपूर्वक सम्मान दर्शाउनु अर्को सफल पक्ष मान्न सकिन्छ । भाषा सरल र स्पष्टता रोचक शैलीले यो उपन्यास निकै राम्रो मान्नैपर्छ ।
यस उपन्यासको अन्त्यमा आदर्श विचारको भाव अभिव्यक्त छ । म पात्रले हजुरबुबाको सेवा गर्न नपाएकामा गरेको पश्चाताप होस् वा वर्षौंअघि कलह गरी छुटेका दाजुभाइको मिलन सबै परिघटना एउटा जीवन आदर्शको पुटका सिर्जित छन्, ‘हजुरबुबाको मृत्यु पहाडमै भयो । उहाँ काइँला काकासँग नै बस्नुहुन्थ्यो त्यहीँ उहाँको मृत्यु भयो । हाम्रो आउने–जाने थिएन । पहिले पहिले त बुबाले काकाहरूलाई फकाउन धेरै प्रयास गर्नुभयो, तर खासगरी कान्छा काकाका कारण कसैले पनि बुबालाई विश्वास गरेनन् । पछि त बुबा यस्ता कुराबाट क्रमशः मुक्त हुँदै जानुभएको थियो । उहाँलाई काकाहरूको चिन्ता पर्न छाडेको थियो तर हजुरबुबाको सेवा गर्न नपाएको कुराले भने बेलाबेला सताउने गथ्र्यो र हजुरबुबालाई आफ्नै घरमा ल्याएर सेवा गर्न उहाँलाई बोलाउन खबर पठाउनुहुन्थ्यो तर आफ्नै कर्मको लज्जाबोधले हो वा अन्य कारणले गर्दा यता आउन सक्नुभएन । बुबाको इच्छालाई अधुरै बनाएर उहाँ परमधाम जानुभयो ।’
आधुनिक नेपाली उपन्यासको आरम्भ नै रुद्रराज पाण्डेको रूपमती उपन्यासबाट भएको हो । यो उपन्यास रूपमतीले अघि सारेको आदर्शोन्मुख यथार्थवादी औपन्यासिक चिन्तन धाराको नवीन आयाम बनेको अनुभूत हुन्छ । अन्त्यमा उपन्यासकार जीवनले लेखेको चरैवेति नामक उपन्यासले नवीन विषयमा नयाँ स्वाद पस्किएकाले सबैले पढिदिनुहोला भन्ने अपेक्षा राख्छु ।
पुस्तकः चरैवेती (उपन्यास)
लेखकः जीवन जीवन्त
प्रकाशक : पेज टर्नर प्रालि
संस्करण : पहिलो २०८० फागुन
मूल्यः रु. ५२५/–
पृष्ठ : २४३
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : रविलगायत विरुद्ध ४२७ पृष्ठ लामो अभियोगपत्र दायरदेखि सरकारको कार्यशैलीप्रति कांग्रेसभित्र असन्तुष्टिसम्म
-
फाल्गुनन्द गोल्डकप : झापा–११ माथि मच्छिन्द्रको फराकिलो जित
-
नागरिक लगानी कोष र म्याग्दी हाइड्रोपावरबिच सेयर प्रत्याभूति सम्झौता
-
लक्ष्मी सनराइज बैंक र आईएफसीबिच नेपालमा वित्तीय दुरुपयोग समाधान गर्ने बारे साझेदारी
-
ताली बजाएर र भाषण गरेर मात्रै क्रिकेटको विकास हुँदैन : अध्यक्ष चन्द
-
मन्त्रालयको बजेट नगरपालिकाको भन्दा पनि कम हुँदा काम गर्न सकिएन : खेलकुद मन्त्री