मङ्गलबार, ०९ पुस २०८१
ताजा लोकप्रिय
कविता

कर्णालीले निले खच्चड !

शनिबार, ०१ असार २०८१, १४ : ४३
शनिबार, ०१ असार २०८१

वारिबाट पारी पुग्न हिँडेका 
एक हुल खच्चड
पिठ्युँ भरी सयौँ किलो वजनको भारी 
बिचरा बेजवान खच्चड
हिँड्दा-हिड्दै छिने झोलुङ्गे पुलको लट्ठा 
झर्न मन नलाग्दा-नलाग्दै 
कोही सिधै खोलामा झरे
कोही उद्धारको पर्खाइमा
सयौँ किलोको ज्यान र भारी थेगेर
एउटा खुट्टाको भरमा अड्केर बसे
निक्कै बेर पछि
झरे मरे अनि बगे
न दोष कर्णाली को थियो 
जो धर्तीको रक्त नली बनेर बग्दै छ ।
न दोष धेरै वर्ष देखि अछाम र दैलेखको 
साइनो गाँस्ने झोलुङ्गे पुलको थियो 
जो भ्रष्ट नेता र भ्रष्ट ठेकेदारको
ठेक्कामा परेर अकालमै
चुँडिएर अपाङ्ग हुन विवश छ ।
न दोष बेजवान निरीह खच्चड थियो 
जो दूर-दराजमा बाँच्दै गरेका 
निरीह जनताको ढुवानी सेवा बनेको छ ।

-बिचरा खच्चड
पीडा थियो होलान् मनभित्र 
बाठा मान्छे सँग बोलौँ भने फुटेन बोली
भोक-प्यास नभनी मालिकको इसारामा खेद्नु थियो
आधुनिक युगको खिल्ली उडाउँदै
देश हाँक्ने 
सरकारको नाक काट्दै ।
कर्णाली दूर-दूर सम्म पुग्न 
तीव्र वेगमा बग्दै थियो
त्यहीँ वेगमा बगेर जीवन समाप्त गरेको छ
निरीह खच्चड 
सरकार !
खोला वारि बाट पारी पुग्न
कति छन् कति अनगिन्ती  सकसका कहरहरू
नबोल्ने बेजवान प्राणीलाई
बोल्न सक्ने मान्छेहरूलाई
कतै पुल छिनेर जीवन बिसाऊँ छन् 
कतै तुइन चुँडेर खोलामा झर्छन् 
कतै तुइन काटेर नदीमा झारी दिन्छन् 

-तर,
सरकार सदाबहार कुर्सी  
अकुत अनावश्यक कमाई अनि
आ-आफ्नो व्यक्तिगत 
निजी स्वार्थ र अभिमान पूरा गर्नको निम्ति
भुल्दैछ लाजै पचाएर आफैले खाएका बाचाहरू 
के राजनीति 
आफ्ना हरूको जिन्दगी 
सुरक्षित बनाउनको निम्ति मात्रै हो ?
के राजनीति  बफादारी  निभाउने
अघि-पछि लाग्ने झोले र झण्डे
कार्यकर्ताहरूको निम्ति हो ?
कहिले सम्म गर्छौ 
बेइमानीको रङले लिपिएको कर्म
कहिले सम्म बनाई राख्ने
छिनेको तुइन 
मक्किएको झोलुङ्गे पुलको लट्ठाहरूका कथा
सीमान्तकृत दूर-दराजको व्यथा 
कहिले सम्म....... 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुशील लामा
सुशील लामा
लेखकबाट थप