आइतबार, ०९ मङ्सिर २०८१
ताजा लोकप्रिय
कथा

छोराको कविता

शनिबार, ०१ असार २०८१, १३ : ३७
शनिबार, ०१ असार २०८१

विनोदको अनुहार निन्याउरो र बेचैन छ । उसका गालामा पीडाका दसी भएर बसेका छन् आँसुका लेग्रा । चित्तको औडाहा आँखामा सोहोरिँदा थकित र उदास छन् उसका आँखा । जीवनका घोर कष्टले थला परेका ढाका जस्ता । बालकको चिन्ताग्रस्त अनुहारमा जीवनका क्रूरताहरूको टड्कारो छाप छ । भुक्तभोगी विनोदको कथाले भनिरहेछ मानौँ क्रूरताको कुल्चाइसँगै जीवनको थालनी हुन्छ र क्रूरताले कुल्चेरै जीवन सकिन्छ ।

विनोदको बाबु खिन्न भावले छोराका अगाडि उभियो । उसले क्रोध र करुणामिश्रित दृष्टिले छोरालाई पलभर हेर्‍यो । विनोदले भयले बिच्केका कलिला नजर बाबुतिर पुलुक्क उठायो र उत्निखेरै घोस्से मुन्टो लगायो ।

‘यता हेर्,’ कठोरताको छनक आउने स्वरमा बाबुले भन्यो, ‘जे नगर्नु भनेको हो फेरि त्यै गरिस्, हैन ?’

विनोदको घोस्से मुन्टो झन्झन् दबियो । उसलाई लाग्यो, अब बाबुले उसको जुल्फी लुछ्नेछ, उसका गालाबाट आगो निकाल्नेछ, उसलाई घरबाट निकाला गर्नेछ र सके फेरि फर्केर यस घरमा नआउनू भन्ने छ । हिजै त हो विनोदको साथी सुरेशलाई उसको बाबुले त्यसै गरेको । आखिर कसुर उही थियो । घुम्दै–फिर्दै आयो अब उसको पालो । सम्झेर ल्याउँदा विनोदको मनमा काँडा उम्रे– अहो ! उसको साथी कति रोएथ्यो ! तर जति रोए पनि उसको बाबुले छाडेको होइन । लछार्‍यो, पछार्‍यो, मुन्ट्यायो र आखिरमा घरबाट घिसार्दै निकाल्यो ।

कुटाइको तोडबाट जोगिन खोजेझैँ विनोदले घुँडाका बिचमा मुन्टो लुकायो । बितिरहेका पलपलसँगै उसको मुन्टो कुमको बिचमा झन्झन् धसिँँदै गयो । उसलाई केहीले छोएको हो कि जस्तो आभास भयो र उसका आतङ्कित नसामा काँडे तरङ्गहरू घोलिएको चेत दगुर्‍यो । उसले मुन्टो छाम्यो । त्यहाँ केही थिएन । उसलाई यसो मुन्टो उठाएर बाबुको चाल नियाल्न मन लाग्यो । तर आँट आएन । अहिले उसका बाबुको हात उसका थाप्लामा बज्रिन तम्तयार भई थाप्लैमाथि उठेको होला । त्योे बिस्तारै–बिस्तारै, अनि त्यसपछि छिटोछिटो तल्तिर खसिरहेको होला । विनोद अत्तालियो र उसले हत्तपत्त दुई हातले टाउको छोप्यो ।

‘तैँले फेरि पनि चोरिस्, हैन के ?’ 

विनोदको होसहवास उडेझैँ भयो ।

अब भने एउटा हलुका हातले साँच्ची नैै विनोदको कपाल मुसार्न थाल्यो । अहो ! त्योे स्पर्शमा त मायाको तरङ्ग पो छ । विनोदलाई अचम्म लाग्यो । हिजै मात्र सुरेशलाई उसका बाबुले कस्तो गर्‍या’थ्यो ! आखिर कसुर उसको पनि त उही हो । सके अहिले बाबुले उसलाई फकाउँदै भकुर्न खोजेको होला । अघिल्लोपटक कसुर गर्दा अर्कोपटक बाँकी राख्दिनँ भनेको थियो उसले । त्योे पहिलो, दोस्रो, तेस्रोपटक पनि त होइन । अहो ! बाबुले पहिलोपटकदेखि नै चाल पाएको भएदेखि... ।

‘भन् ।’ बाबुले तर्साउने स्वरमा भन्यो, ‘तँलाई म के गरुँ ?’

छोराले भारी मुन्टो उठाएर बाबुलाई पुलुक्क हेर्‍यो । बाबुका आँखामा टिक्न नसकेर उसका आँखा भुइँमा पछारिए । 

‘तैँ भन्, म तँलाई के गरुँ ?’ विनोदको बाबु कड्क्यो । 

‘लाउनुपर्छ सिस्नोपानी,’ फुत्त ढोकामा देखापर्दै विनोदकी आमाले भनी, ‘एकपल्ट हैन, दुईपल्ट हैन । हुँदाहुँदा यो त साँच्चीको डाँका निक्लिने भो । रातदिन पुलपुल्याएपछि किन नटेकोस् त टाउकामा ?’

‘तिमी चुप् लाग । बित्थामा किन धुर पस्नु पर्‍या हो ?’

‘किन नपस्नु त ? यो मैले अराएको क्यै टेर्दैन । जसरी हुन्छ यस अटेरीलाई लाउनुपर्छ तह ।’

‘थिचोमिचोले क्वै तह लाग्दैन । देखिनौ, राजाको थिचोमिचो त चलेन भन्देखिन्... ।’

विनोदकी आमा कम्मरमा हात राखेर ढोकाअगाडि उभिइरही । 

‘अरुका मुखेन्जी मसँग मुखमुखै लाग्छ यो दुच्छर !’ विनोदकी आमाका नसा थर्किंदा फरियाको फुर्को सुस्तरी हल्लियोे । आवेगको चापले उसको सास बढेको थियो, उसका नाकका पोरा एक उदेकले फुक्दै र साँगुरिँदै थिए । ‘अरूका अगाडि मसँग मुखमुखै लाग्ने यो !’ ऊ फतफताइरही । आमाबाबुको भनाभन देखेर विनोदको भय किञ्चित् मत्थर भयो । हँ भाइ, आज त बाँचिएला कि ! 

‘जन्माउने आमालाई यो नगन्ने ?’ आमाको एकोहोरो गनगन चलिरह्योे ।

‘मान भनेको पनि दोहोरो ह्ुन्छ, बुझ्यौ ?’ नीति वचनमा विनोदको बाबु बोल्यो, ‘मान खोज्नेले अरूको मान राख्न पनि त जान्नुपर्छ ।’

‘मैले जन्माएकालाई मैल्यै मान गर्नुपर्ने ? ए बाबा !’

‘तिमीले कमारा बनाउन सन्तान जन्माएकी हौ र ?’ 

‘यै चाल हो भने यल्ले सप्पैका टाउकाँ टेक्छ । हेरिराख्नु होला, मैले भन्दिया छु– कुन दिन यल्ले घर फोर्छ ।’

विनोदको टाउको ठडियो । मौका छोपेर उसलाई कतै भागुँ–भागुँ लाग्यो । तर ढोकामा बार भएर आमा उभिएकी थिई । 

‘ठिक छ, यसरी नै पुलपुल्याइरहनू ।’ 

‘कसरी तह लाउँछ्यौैँ त यल्लाई ?’ चिन्ताग्रस्त बाबुले सोध्यो ।

‘अदपमा राखेर ।’ 

‘मान्छेलाई कुल्चेर अदपमा राख्ने दिन अब गए,’ बाबुको स्वर सिलिङतिर उठ्यो, ‘हिजोको जमाना कहाँ छ ?’

‘कसैको नभ’को जमाना ! छोराले आमालाई नगन्ने यो कस्तो जमाना ?’

‘विनोदकी आमा,’ ऊनेर गएर बाबुले भन्यो, ‘मान्छेले मान्छेका अगाडि निहुरिने दिन अब गए । बुहारीले सासुका अगाडि, स्वास्नीले लोग्नेका अगाडि, रैतीले राजाका अगाडि निहुरिने दिन अब... रैतीलाई कजाएर एकलौटी तर मार्न खोज्दा अस्ति मात्रै राजाको कस्तो गति भो, देखिनौ ?’

विनोदले चैनको सास फेर्‍यो, ‘बाँचे ! आजलाई बाँचे !’

विनोदकी आमा फन्केर बाहिर गई ।

‘ल भन्,’ बाबुचाहिँ छोरातिर फक्र्यो, ‘ठुलो भएर तँ चोर हुने कि सज्जन हुने हो, भन् ? तँ किन बोल्दैनस् ?’ बाबुले हल्का हातले छोराको जुल्फी समात्योे । विनोद रुन थाल्यो । उसका आँखामा उही तस्बिर झलझली नाचिरहेको थियो– बाबै ! सुरेशका बाले सुरेशलाई कसरी भकुरे ! कसरी लछारपछार पारे ! कसरी केरकार गरे र कसरी घरबाटै निकालिदिए ! 

बाबुले छोराको कपाल मुसार्‍यो । बाबुको नरम हुँदै गएको व्यवहार देखेर छोराको भक्कानो फुटेर आयो ।

‘बा, अबदेखि म चोर्दिनँ !’ उसले रुवाइको हिक्काको बिचबाट भन्यो, ‘तैँले चोर्छस् । अस्ति चोर्दिनँ भनिस्, हिजो फेरि चोरिस् ।’

‘अब म चोर्दिनँ बा,’ आँसुले भिजेका आँखा छोराले बाबुका चिन्तित आँखातिर उठायो ।

विनोदको बाबुलाई थाहा छ, बालकले अलिबेरमा आफ्नोे वाचा बिर्सनेछ । र, पसलका नानाओली जिनिस सम्झेर लोभिँदै उसले फेरि चोर्नेछ । अनि चोर्दै जाँदा... ।

बाबुका आँखासामु छोराका भविष्यको धमिलो चित्र नाच्यो । अहो ! जता पनि मान्छेभित्र लोभलालच, कुभावना र उत्ताउलोपना भरिदिने तŒवहरूको बिगबिगी छ । हो, तिनै तŒवहरूको जालमा फसेको छ उसको छोरो । ऊ बाबु हो, तर उसले के गर्नसक्छ ? सोच्दासोच्दै छोराको भविष्य बाबुको चित्तमा एउटा अनन्त अँध्यारो सुरुङजस्तो देखियो । उसले गहिरो सुस्केरामा आहत मनका सन्तापहरू पोख्यो । अनि ऊ उठ्यो । उसले खल्तीबाट साँचोको झुत्तो झिक्यो र सामुन्नेको भित्तोमा काँटीमा झुन्ड्यायो ।

‘हेर्,’ छोरानेर गएर उसले भन्यो, ‘साँचो हेरु त्यहाँ छ । बाकसमा अलिकता पैसा छ । त्योे पैसा तेरो हो । फारुतिनो गरी जोगाए पनि त्योे तेरो हो । फुर्मासी गरेर मासे पनि त्योे तेरै हो । म तँभन्दा पहिले जन्मेको मान्छे, म तँभन्दा पहिले नै मरुँला । जो भएको हिफाजत गरेपछि तँलाई नै राम्रो होला । बुझिस् ?’

विनोद तीन छक् पर्‍यो । उसले बाबुलाई र साँचोलाई पालैपालो हेर्‍यो । बुढाले ठट्टा गरेका होलान्, उसले सोच्यो, तर तीव्र आवेगको चापले बाबु चाहिँका नाकका पोरा फुलेका थिए ।

‘अनि यो घर पनि तेरो हो,’ बाबुले भन्यो, ‘आजै भत्काए पनि तेरो, पछिसम्म जोगाइराखे पनि तेरो ।’ यति भनेर विनोदको बाबु फटाफट बाहिर गयो । 

छिनभरमै फर्की आएको विनोदको बाबुले भन्यो, ‘हेर्, म तेरो बाबु हुँ । यो मेरो ज्यान पनि तेरो हो । बिक्छ भने कतै बेचेर मासे पनि यो ज्यान तेरै हो । चाहिन्छ भने जोगाइराखे पनि यो ज्यान तेरै हो ।’ यति भनेर ऊ फेरि फटाफट बाहिर गयो ।

विनोद वाल्ल पर्‍यो । बाले त्यस्तो के भनेका होलान् ? अहो ! कसैले आफ्नोे बाबुलाई पनि बेच्छ ? उसको कलिलो चित्तमा गहिरो चोट लाग्यो । उसलाई त्यसैत्यसै भक्कानो फुटेर आयो । उसले कोठाचोटा चहार्‍यो, कतै कोही छैन । ऊ आएर ओछ्यानमा बस्यो । उसका आँखा भित्ताको साँचोमा परे । अरू बेला त्यही साँचो खोज्न कत्रो दुःख गर्नुपथ्र्यो, अहिले साँचो उसका नाकै अगाडि छ । बाले भनेका छन्, बाकसमा पैसा छ । उता पसलमा रङ्गीबिरङ्गी जिनिस छन् । रसगोला, झिल्के लट्टाई, लाम्पुच्छ«े चङ्गा, कार्टुन चित्र टिनटिन... ।

विनोदले मेचमाथि उभिएर साँचो झिक्यो । अरू दिन त्यही साँचो छुँदा उसलाई कति आनन्द हुन्थ्यो, अहिले त्यहीँ साँचो छुँदा उसलाई हत्केलामा काउकुती लागेजस्तो, काँडाले घोँचेजस्तो लाग्यो । तैपनि साँचो हातमा लिएर बाकस अगाडि ऊ निह्ुरियो । उसका हात काम्न थाले । बाबुका वचन उसका कानमा एक तमाससँग गुन्जिए— यो पैसा तेरो, योे घर तेरो, मेरो यो ज्यान पनि तेरो... । अहो ! त्यसो भन्दा बाबुको स्वर कसरी कामिरहेको थियो ! डर, पछुतो र के केले हो कुन्नि विनोदको चित्त अचम्मसँग दुख्यो । उसले हत्तपत्त साँचो जहाँको त्यहीँ झुन्ड्यायो । अनि फेरि सिरकले गुटुमुटु जिउ ढाकेर ऊ अलिबेर सिरकभित्र लुक्यो । उसको बाबुका आवेगले थर्केका वचन उसको मानसपटमा गन्जिरहे– जोगाए पनि तेरो, मासे पनि तेरो । यो मेरो जिउ पनि तेरो ।

विनोदको उद्वेलित मनमा निसासलाग्दो धुवाँको मुस्लो मडारिन थाल्यो । उसलाई बेचैनी, उकुसमुकुस, के गरुँ, कसो गरुँ भयो । मनभित्र उठेको बबन्डर आँधीलाई पन्छाउन उसलाई जोडजोडले चिच्याउन मन लाग्यो । तर के भनेर चिच्याउने ? चिच्याएर कसलाई सुनाउने ? उसको चित्त पग्लेर आँसुको कुलेसो भई बग्न थाल्यो । उसले हातमा कलम–कापी लियो । अनि आफैँले धरी नबुझ्ने भावनाहरूको उत्ताल तरङ्ग आँसुका थोपासँगै उसले कागतमा पोख्यो ः

पहराले छेक्न सक्दैन

नदीले बगाउन सक्दैन

आगोले पोल्न सक्दैन

चोरले चोर्न सक्दैन

आमा–बाबुको जस्तो माया

भगवान्ले पनि दिन सक्दैन ।

बेलुका विनोदको बाबु घर फर्कंदा छोरो ओछ्यानको भित्तोमा सिरकभित्र डल्लो परेर निदाइरहेको थियो । गाढा निद्रामा पनि उसको छातीमा रुवाइको थकित हिक्का फुटिरहेको थियो । ओछ्यानको एकछेउमा तीव्र आवेगको क्षणमा कोरिएका बाङ्गाटिङ्गा हरफहरूको कविता फेला पर्‍यो । कविता के भन्नु, त्योे त बालकको चित्त पग्लेर बगेको आँसुको फोहरा थियो । कविता हेर्दै विनोदको बाबु निकैबेर चुपचाप उभिइरह्यो । उसले देख्यो, बालकका गालामा आँसुका लेग्रा छँदै छन् । उसका छातीको अतल गहिराइबाट मुटु चिरिने हिक्का फुटिरहेकै छ । बाबुले बडो भावुक हुँदै निहुरिएर छोराका गालामा ठिक त्यहीँनेर म्वाइ खायो, जहाँ आँसुको गहिरो छाप थियो ।

भोलिपल्ट बिहान विनोदको त्योे कविता चिटिक्क परेका अक्षरमा लेखेर भित्तामा साँचोको झुत्तोमुन्तिर टाँसेको देखियो । विनोदकी आमा कविताका हरपैmहरफ सुस्तरी आँखा सार्दै गम्भीर मुद्रामा उभिइरहेकी थिई ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

खगेन्द्र संग्रौला
खगेन्द्र संग्रौला

लेखक एवं वाम चिन्तक/विश्लेषक
 

लेखकबाट थप