त्यो जीवनी पढेपछि फेरियो जीवन, ३० हजारबाट सिधै करोडपति
‘प्राक्टिस मेक्स् म्यान परफेक्ट’ अङ्ग्रेजीमा रहेको यो चर्चित उखानको अर्थ हो ‘अभ्यासले मानिसलाई परिपूर्ण बनाउँछ’ । तर नेपाली सङ्गीत क्षेत्रको एउटा हस्ती बनिसकेका विमल शाहको जीवनमा पनि यो उक्ति चरितार्थ भएको छ ।
हार्मोनियम सफा गर्ने, पेच कस्ने कामबाट करिअर सुरु गरेका उनी हाल हार्माेनियममा डिजिटल ट्युनिङ गर्छन् । हार्माेनियम सुनेर सुर, बेसुर छुट्याउँने र सुर लगाउने कामसमेत गर्दै आएका छन् उनले । त्यसैले त उनलाई कतिपयले हार्माेनियमका चिकित्सक (डाक्टर) भन्छन् भने कतिले हार्मोनियमका ‘बादशाह’ भनेर चिन्छन् ।
साङ्गीतिक क्षेत्रमा हार्मोनियमको महत्त्व अत्यधिक छ । तर हार्मोनियम किन्ने र मर्मत गर्ने पसल कम छ । राजधानीको असनमा हरेराम रुपनारायणले हार्मोनियममा पहिलेदेखि नै आधिपत्य जमाएका थिए । त्यसपछि विमल यो क्षेत्रमा उदाएका हुन् । विमल हार्माेनियम मर्मत, सर्भिसिङदेखि डिजिटल ट्युनिङसम्म गर्छन् ।
‘गलालाई सुरमा ल्याउने काम हार्मोनियमले गर्छ, हार्मोनियमलाई सुरमा म ल्याउछु’, विमलले भने, ‘नेपालमा हार्माेनियममा डिजिटल ट्युनिङ गर्न सक्ने अर्काे कोही छैन ।’
हार्मोनियम सुरमा ल्याउने कुनै विधि वा तरिका नभएको बताउने उनी कानले सुनेर हार्माेनियमको सुर, बेसुर छुट्याउने क्षमता आफूमा भएको सुनाउँछन् ।
सिङ्गल बेलो, डबल बेलो, नाइ स्टपर, सेभेन स्टपर, फाइभ स्टपर, वान लिड, डबल लिड, ट्रिपल लिड, चौबर लिड, मेल, फिमेल, भजन, भोकल, क्लासिकल, गजल, दोहोरी लगायत हार्मोनियम थुप्रै प्रकारका छन् । ती सबैमा डिजिटल ट्युनिङ गर्छन् विमल । लामो समय यसैमा भिजेकाले यी काम गर्न सम्भव भएको उनी बताउँछन् ।
यसै कामका कारणले उनले हालै अमेरिकाबाट एक अवार्ड पनि प्राप्त गरेका छन् । हार्माेनियममा डिजिटल ट्युनिङ गर्ने ४२ हजार मानिसमध्ये आफूले अवार्ड प्राप्त गरेको उनले बताए । उनले नेपाल र भारतका थुप्रै सम्मान पनि हात पारेका छन् ।
- अनि सुरु भयो यात्रा
सर्लाहीको ईश्वरपुरमा जन्मिएका विमलमा हार्माेनियमप्रति लगाव सानैदेखि थिएन । न्यून वर्गीय परिवारमा जन्मिएका उनले १७ वर्ष अगाडि एसएलसी पास गरे । त्यसपछि अध्ययनका लागि परिवारले खर्च जुटाउन नसक्दा उनी काम गर्दै अध्ययन गर्न भनेर काठमाडौँ छिरे ।
काठमाडौँ छिरेपछि असनमा रहेको भिनाजुको हार्मोनियम पसलमा उनले काम गरे । हार्मोनियम के हो थाहा नभएका उनले त्यहाँ सुरुमा पेच खोल्ने, सफाइ गर्ने काम गरे ।
काम गर्दै जाँदा हार्मोनियमसँग लगाव बढ्दै गयो । त्यसले हार्मोनियमको सुर के हो, कसरी डिजिटल गर्ने भन्ने जान्न मन लाग्यो । हार्मोनियम सिक्न उनी कलकत्ता पुगे । त्यहाँ ट्युनिङ र मर्मतसम्बन्धी स्पेसल कोर्स लिए । कोर्सकै क्रममा बिचबिचमा उनी नेपाल आउँथे । खान र बस्नका लागि होटलमा काम गर्थे ।
करिब ४ वर्ष कलकत्तामा उनले यस सम्बन्धी काम सिके । जसले उनलाई ‘पर्फेक्ट’ बनायो । त्यसपछि उनी नेपाल फर्किए ।
‘नेपालमा हार्मोनियमको ट्युनिङ गर्छु भन्दा कतिले पागल हो भने, कतिले सक्दैन भन्थे’, विमलले विगतको अनुभव सुनाए, ‘त्यो समय जीवनको सबैभन्दा दुःखको क्षण थियो ।’
त्यतिबेला कयौँ रात सडकमा कटाएको कति दिन भोकै सुतेको उनले बताए । त्यही क्रममा उनले विनोद चौधरी, मुकेश अम्बानी, नरेन्द्र मोदी लगायत धेरै व्यक्तिका जीवनी पढे । सबैको जीवनीबाट उनले प्रेरणा पाए ।
२०७३ सालमा ३० हजार लगानी गरेर सिनामंगलमा उनले २ वटा कोठा भाडामा लिएर ‘पशुपतिनाथ हार्माेनियम मर्मत तथा बिक्री केन्द्र’ सुरु गरे ।
- आफैँ ब्राण्ड
‘पशुपतिनाथ हार्माेनियम मर्मत तथा बिक्री केन्द्र’ खोले पनि उनलाई सुरुमा पत्याउने र काम दिने कोही थिएनन् । त्यसैले उनी झोला बोकेर सडक–सडकमा निस्किएर ‘हार्माेनियम बनाउने छ ?’ भन्दै उपत्यकाका गल्ली चहारे ।
‘सिकेको छ भनेर पहिलो पटक कसैले विश्वास नगर्ने रहेछ । विश्वास दिलाउन र काम खोज्न हिँड्दै कहिले साँखु, कहिले दक्षिणकाली पुग्थेँ’, उनले भने, ‘जहाँजहाँ पुग्थेँ, आफ्नो नम्बर छोड्थेँ । त्यसरी केही महिना बित्यो ।’
कहिले दिनभर हिँड्दा पनि विमलले काम पाउँदैनथे । ‘त्यो दुःखले मलाई झन् मेहनेती बनायो,’ उनले भने । विभिन्न ठाउँ डुलेर हार्माेनियम बनाउने क्रममा उनले कतिपयलाई पसलसम्म ल्याइपुर्याउँथे । बिस्तारै उनको पसलमा आवतजावत बाक्लो हुन थाल्यो ।
अहिले उनीसँँग हार्मोनियम बनाउनुपर्दा कम्तीमा पनि १५ दिन पालो कुर्नुपर्छ । ३० हजारबाट सुरु भएको उनको ‘पशुपतिनाथ हार्माेनियम मर्मत तथा बिक्री केन्द्र’मा अहिले करोडभन्दा बढीका सामान छन् । अहिले उनको ३ वटा त हार्माेनियमको गोदाम छ । जसमा सबै प्रकारका हार्माेनियम, त्यो पनि उनकै नामको ब्राण्डबाट बिक्री हुन्छ । उनले आफ्नै नामबाट हार्मोनियम ब्राण्ड बनाएका छन् ।
विमल हार्मोनियमको अलावा उनले विमल तबला, विमल गितार र विमल मादल गरेर ४ ब्राण्ड दर्ता गरेर राखेका छन् । भविष्यमा यसको व्यवसाय गर्ने उनको योजना छ ।
अहिले दिनमा २ वटादेखि ३० वटासम्म हार्मोनियम बिक्री हुने बताउँछन् विमल । आफूसँग हार्माेनियम किन्ने साङ्गीतिक क्षेत्रका चलेका कलाकारदेखि स्कुल, मन्दिर, चर्च र भजन टोलीसम्म आउने उनले बताए । ‘अमेरिका, क्यानडा, अस्ट्रेलिया, सिंगापुर लगायत १०, १२ वटा देशमा मेरो ब्राण्डको हार्मोनियम जान्छ’ उनले भने ।
- लोभ छैन
सुरुका दिनमा ठाउँठाउँ चहार्दै आफ्नो मार्केटिङ गरेका विमल अहिले पसलमै धेरै समय बिताउँछन् । पसलमा आउने र जानेको भिड लाग्ने गर्छ । व्यवसाय नै भएन भने पनि महिनामा हार्मोनियम बनाएर र बिक्री गरेर उनी एक लाखभन्दा बढी कमाउँछन् । त्यसैले यो कामबाट आफू सन्तुष्ट रहेको उनी बताउँछन् ।
उनले काठमाडौँमा अहिलेसम्म घर र गाडी जोड्न सकेका छैनन् । त्यो चाहना आफूमा नभएको उनले सुनाए । ‘छोरा राम्रो स्कुलमा पढ्छ । हामी परिवार मिठो खाएर बसेका छौँ’, उनले भने, ‘कमाउँदै यसैमा लगानी गरेर यति ठुलो भएको हो । घर र गाडी जोड्न थालेको भए देश विदेशमा कहाँ व्यवसाय फैलिन्थ्यो र ?’
पसलमा आउने जो कोहीलाई विमल चिया, चिसो, खाजा अनिवार्य खुवाएर पठाउँछन् । अतिथि खुसी हुँदा बिजनेस झन् बढ्ने उनको बुझाइ छ ।
‘एउटा पसलबाट सुरु गरेको व्यवसाय अहिले नेपालमा विभिन्न जिल्ला गरेर ११ ठाउँमा छ’, उनले भने, ‘मलाई कुनै कमी हुन सक्दैन । किनभने ममा कसैलाई ढाँट्ने, ठग्ने, लोभ लालच केही छैन ।’
- कलाकारका ट्युनिङ मास्टर
शम्भुजीत बाँस्कोटा, दीप श्रेष्ठ, कुन्ती मोक्तान, टीका भण्डारी, रामकृष्ण ढकाल, मनोजराज, सन्तोष श्रेष्ठ, शिव परियार, राजेश पायल राई, अन्जु पन्त, प्रमोद खरेल, विश्व नेपाली, राज सिग्देललगायत नेपालमा चर्चित गायक गायिकाले विमलबाट हार्माेनियममा ट्युनिङ गराएका छन् ।
सङ्गीत प्रशिक्षणमा नेपालमै सर्वाधिक चर्चित चन्दनकुमार श्रेष्ठ, गुरुदेव कामत, चण्डीप्रसाद काफ्लेले समेत उनीसँग हार्मोनिङ ट्युनिङ गराउँदै आएका छन् ।
बलिउडतिर भने उदितनारायण, दीपानारायण, सोनु निगम, कुमार सानु र अनु मलिक लगायतको हार्माेनिम ट्युनिङ गरिदिएको अनुभव उनीसँग छ । उनले भोजपुरीका चर्चित गायक तथा अभिनेता पवन सिंह, दिनेशलाल यादव, अवधेश प्रेमी लगायतका हार्मोनियमसमेत मर्मत गरिसकेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनलाई जिते जित : आचार्य महाप्रज्ञले मनलाई देखाएको बाटो
-
कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते
-
स्याउ किसानसँग मुख्यमन्त्री : किसानका गुनासै गुनासा, सक्दो सहयोग गर्ने प्रतिबद्धता
-
३४ बिरामीको घुँडाको शल्यक्रिया
-
मुक्तिनाथ पुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी
-
गणतन्त्र सेनानी कोषले १५ जना योद्धाहरूलाई सम्मान गर्दै