बुधबार, १२ मङ्सिर २०८१
ताजा लोकप्रिय

रोड टु टोटनह्याम : पहिलो टोली बैंग्लोर प्रस्थान

शनिबार, ०१ असार २०८१, १० : ०८
शनिबार, ०१ असार २०८१

काठमाडौँ । श्री भगवली क्लब टोखाको आयोजनामा भएको रोड टु टोटनह्याम कार्यक्रम अन्तरगत छनोट हुन सफल फुटबल खेलाडीहरूको पहिलो टोली बैंग्लोर प्रस्थान गरेको छ ।  क्लबका अध्यक्ष इन्द्रराज जोशी तथा व्यवस्थापक विजेन्द्र पुडासैनीको नेतृत्वमा ३६ सदस्यीय टोलीेले बैंग्लोरको किक स्टार्ट फुटबल क्लबमा (एफसी) छनौट परीक्षण दिने छन् । 

खेलाडीहरूलाई बिदाइ गर्दै अखिल नेपाल फुटबल संघका सहमहासचिव दामोदर ‘बद्री’ भट्टराईले आगामी दिनमा नेपालको प्रतिनिधित्व गर्ने उत्कृष्ट खेलाडी उत्पादन हुनेमा आफू विश्वस्त रहेको बताए। परीक्षणबाट उत्कृष्ट खेलाडीको रूपमा छनोट हुन सफल खेलाडीहरूले किक स्टार्ट एफसीमा प्रशिक्षण प्राप्त गर्ने र प्रशिक्षणमा उत्कृष्ट खेलाडीहरूले टोटनह्याममा सहभागीता जनाउने कार्यक्रम संयोजक मनिष जोशीले जानकारी गराए ।

बैंग्लोर गएको टोलीले त्यहाँ तीन दिन सम्म शारीरिक, खेल कौशल परीक्षणका साथै अन्य प्रशिक्षण र किक स्टार्टले आयोजना गरेको प्रतियोगितामा सहभागिता जनाउने छन् । त्यस पश्चात् खेलाडीहरू नेपाल फर्कने र परीक्षणमा छनौट हुन सफल खेलाडीहरूले आवश्यक प्रक्रिया पुरा गरे पश्चात् पुन: एकेडेमीमा प्रशिक्षण लिने र उक्त प्रशिक्षणमा उत्कृष्ट हुन सफल खेलाडीले टोटनह्यामको टिकट काट्ने व्यवस्थापक बिजेन्द्र पुडासैनीले जानकारी गराए ।

रोड टु टोटनह्यम कार्यक्रममा देशभरिका करिब ३ हजार खेलाडीहरूको सहभागिता रहेको थियो । किक स्टार्ट एफसीबाट नेपाल आएका चार सदस्यीय प्रशिक्षकहरूको टोलीले दुई दिन सम्म सञ्चालन भएको छनोट कार्यक्रमबाट पहिलो चरणमा १४७ खेलाडीहरूलाई छनोट गरेका थिए । छनोट भएका खेलाडीहरूको दोस्रो टोली जुलाईमा बैंग्लोर प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप