मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय

भारतीय पक्षबाट निर्माण गरिएको साईफन बाढीबाट जनधनकाे क्षति हुनु अगावै खोल्नुपर्ने माग

शनिबार, ०१ असार २०८१, ०९ : ५२
शनिबार, ०१ असार २०८१

रौतहट । रौतहटको सीमावर्ती ईशनाथ नगरपालिकाका स्थानीय बासिन्दाहरूले भारतीय पक्षबाट एकोहोरो निर्माण गरिएको साईफन बाढीबाट जनधनको क्षति हुनु अगावै खोल्नुपर्ने माग गरेका छन्।

भारतीय पक्षले ईशनाथ नगरक्षेत्र अन्तर्गत कैयौँ स्थानमा निर्माण गरेको साईफनको कारण वर्षा याममा पानीको निकास अवरुद्ध भएर बर्सेनि हुँदै आएको डुबानको कारण क्षति हुनु अगावै यस पटक साईफन खोल्नुपर्ने स्थानीयहरूले माग गरेका हुन्।

ईशनाथ नगरपालिका ४ काली मन्दिर छेउ मुख्य सीमास्तम्भ नेपाल भारत अन्तर्राष्ट्रिय सिमाना नजिकै शनिवार सशस्त्र प्रहरी ११ नम्बर हेक्का रौतहटद्वारा आयोजीत 'सीमाबासीसँग सशस्त्र प्रहरी' विषयक अन्तरक्रिया कार्यक्रममा सहभागी स्थानीयहरूले आफ्नो पिडासँगै विभिन्न सुझाव राखेका छन्।

सशस्त्र प्रहरी, नेपाल प्रहरी, दुवै देशका जनप्रतिनिधि,भारतीय सीमा सुरक्षा बल एसएसबीको सहभागितामा अन्तर्क्रिया कार्यक्रम आयोजना गरिएको थियो। 

सशस्त्र प्रहरी बल रौतहटका प्रमुख एसपी विक्रम हुमागाईँको प्रमुख आतिथ्य तथा ईशनाथ नगरपालिकाकी मेयर कौसल्या देवीको विशिष्ट आतिथ्यमा तथा दुवै देशका सुरक्षा अधिकारी सम्मिलित भएको कार्यक्रममा  बर्सात तथा मनसुनको समयमा हुनसक्ने बाढीबाट उत्पन्न हुने जोखिम, भारतीय पक्षद्वारा निर्मित साईफन समयमा नखुल्दा हुने डुबानको जोखिमबाट बच्ने उपाय, सीमा सुरक्षा अपराध न्यूनीकरण बारे स्थानीयहरूले प्रश्न उठाएका थिए।

त्यस्तै हाल खेतीपातीको सिजनमा बीउबिजन, मलखाद ओसारपसार भारतीय समकक्षी एसएसबी तथा दुवै देशका सुरक्षा निकाय द्वारा सहजीकरण हुनुपर्ने माग गरेका थिए। सिमानामा हुनसक्ने अवैध गतिविधिको सशस्त्र अनुगमन निगरानी, सीमा स्तम्भको रेखदेख, सीमा नजिकै रहेको मदिरा पसल निश्चित समयमा खोल्ने बन्द गर्ने व्यवस्था हुनुपर्ने माग गरेका थिए।

सीमासँग जोडिएको पालिकाका बासिन्दाले उत्पादन गरेको कृषिजन्य वस्तु जिल्ला भित्र एक ठाउँबाट अर्को ठाउँमा लैजाँदा हुनेगरेको विभिन्न किसिमका हैरानीको अन्त हुनुपर्ने, सीमा क्षेत्रमा आवतजावत गर्न दुवै देशका जनतालाई अत्यावश्यक शौचालय निर्माणको लागि पहल तथा वारपार हुने सवारीसाधनको व्यवस्थापनको लागि माग गरेका थिए। विगतमा केही स्थानीय पत्रपत्रिका सामाजिक सञ्जालमा सीमा क्षेत्रमा अवैध गतिविधि भइरहेको बारे भएको समाचार सम्प्रेषण बारे सत्य तथ्य छानबिन हुनुपर्ने सीमावासीले माग गरेका थिए।

सीमावासीले उठाएको प्रश्नको कार्यक्रमका प्रमुख अतिथि सशस्त्र प्रहरीका एसपी विक्रम हुमागाईंले जवाफ दिएका थिए। कार्यक्रममा दुवै देशका सुरक्षा अधिकारी, जनप्रतिनिधि सीमा सहजीकरण समितिका पदाधिकारी तथा ईशनाथ नगरपालिकाका स्थानीय बासिन्दा गरी १५० भन्दा बढी मानिसको सहभागिता रहेको सशस्त्र प्रहरी बल रौतहटले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप