मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन संशोधन गर्न कांग्रेसको माग

हेटौँडा । बागमती प्रदेशसभाका सदस्य इन्द्रबहादुर बानियाँले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७६ संशोधन गर्न माग गरेका छन् । उनले हेटौँडा अस्पताललाई प्रादेशिक अस्पतालको रूपमा विकास गर्न माग गरेका हुन् ।
प्रदेशसभाको शुक्रबार बसेको बैठकमा विशेष समय माग गरेर उनले हेटौँडा अस्पताल र प्रतिष्ठान बिचको विवाद समाधान गर्न ऐन संशोधन गर्नुपर्ने बताएका हुन् । हेटौँडा अस्पताल प्रादेशिक अस्पतालको रूपमा संघीय सरकारबाट हस्तान्तरण भएकाले त्यसको अस्तित्व मास्न नहुने उनको भनाई छ ।
‘सरकारको निर्णयका कारण विशेष समय माग गरिएको हो । सरकारले प्रादेशिक अस्पताल निर्माण गर्ने निर्णय किन गर्यो ? विवादित भइरहेकै अवस्थामा राजनीतिक दलहरूसँग छलफल नै नगरी किन हतारमा सरकारले मकवानपुरमा प्रादेशिक अस्पताल निर्माण गर्ने निर्णय गरिरहेको छ ?’ उनले प्रश्न गरे, ‘सङ्घीय सरकार अन्तर्गतको हेटौँडा अस्पताल प्रादेशिक अस्पताल प्रदेश सरकारलाई हस्तान्तरण हो । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालन ऐन गलत छ । हेटौँडा अस्पतालको चल अचल सम्पत्ति मदन भण्डारीको हुन्छ भन्ने निर्णय कहाँ गरिएको छ ? प्रतिष्ठानको ऐन परिमार्जन गर्नुपर्छ ।’
सङ्घीय सरकारबाट व्यवस्थापकीय जिम्मा प्रदेश सरकारलाई दिइएकाले प्रतिष्ठानको नाममा अस्पतालको सम्पत्ति माथि हस्तक्षेप गर्न अधिकार नरहेको उनले बताए । मेडिकल अध्यापन गराउने उद्देश्यले स्थापना गरिएको प्रतिष्ठान विवादमा गरिमा घट्दै गएको उनले बताए । प्रतिष्ठानको कार्य योजनामा ध्यान नदिई सरकारले विवाद थप गर्न स्थायी कर्मचारीलाई हटाएर करारका कर्मचारीलाई अधिकार दिने काम गरिरहेको उनको भनाइ छ ।
‘प्रतिष्ठान र अस्पतालको समस्या समाधानमा सरकारले ध्यान दिन छोडेर प्रादेशिक अस्पताल निर्माणमा सरकारले निर्णय गरेको छ । हेटौँडा अस्पताललाई प्रादेशिक अस्पतालको रूपमा विकास गरेर अघि बढ्नुपर्छ’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अधिकांश तरकारीको मूल्य घट्यो, कुन कति घट्यो ?
-
निर्माणाधीन कुस्ती प्रशिक्षण कक्षमा बजेट अभाव
-
१४ दिनदेखि सडकमै छन् शिक्षक, भर्ना अभियान अन्योल (तस्बिरहरू)
-
सरकारी कार्यालयमा पेन्सन नपाउने कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध
-
अपाङ्गताको पेन्सन थाप्न १६ वर्ष बोल्न नसक्ने अभिनय
-
सिन्धुली कलाघर– जहाँबाट सुरु हुँदैछ विश्वलाई जोड्ने कला–क्रान्ति