‘आलु तथा तरकारी बालीमा आसलाग्दो काम गरेका छौँ’
हाम्रो सबै भौगोलिक क्षेत्रमा सबै मौसममा उत्पादन हुने बाली हुन्, आलु तथा तरकारी । तरकारी बालीको कुरा गर्दा हामीकहाँ ५६ वटा तरकारीलाई रेकर्डमा राखिएको छ । जसमा ५४ वटा ‘आइडेन्टिफाई’ (पहिचान) भएका छन् र बाँकी दुईवटा तरकारीलाई अन्य तरकारीमा राखिएको छ । अन्यमा राखिएका तरकारी सम्भवतः रैथाने हुनुपर्छ ।
क्षेत्रफल, उत्पादन र उत्पादकत्वका आधारमा पछिल्लो १० वर्षको तथ्याङ्कलाई विश्लेषण गर्दा हामीकहाँ तरकारी तथा आलुको उत्पादन बढ्दो क्रममै देखिन्छ ।
तरकारी उत्पादनमा— क्षेत्रफलका आधारमा हेर्दा हामीकहाँ प्रत्येक वर्ष १.६८ प्रतिशतले बढ्दो क्रममा छ, उत्पादनका हिसाबले २.४५ प्रतिशत प्रत्येक वर्ष बढ्दो क्रममा रहेको छ । यस्तै, तरकारीको उत्पादकत्वका हिसाबले हेर्दा प्रत्येक वर्ष ०.७ प्रतिशतले बढ्दो क्रममा छ ।
यस्तै, पछिल्लो १० वर्षको तथ्याङ्क केलाउँदा उत्पादन क्षेत्रका आधारमा प्रत्येक वर्ष ०.१३ प्रतिशतले आलुको उत्पादन बढ्दो क्रममा छ । उत्पादनका आधारमा प्रत्येक वर्ष २.६७ प्रतिशतले आलुको उत्पादन बढ्दो क्रममा छ । यस्तै, आलुको उत्पादकत्व २.४५ प्रतिशतले बढ्दो क्रममा छ ।
यो तथ्याङ्कले आलु तथा तरकारीको क्षेत्र सुधारोन्मुख देखाउँछ । आयात–निर्यातको पाँच वर्षको तथ्याङ्क विश्लेषण गर्दा पनि सुधारोन्मुख देखिएको छ । कृषि क्षेत्रमा हामीले केही गर्न सकेका छैनौँ भन्ने होइन; आलु तथा तरकारी बालीमा हामीले राम्रो काम गरेका छौँ ।
पछिल्ला पाँच वर्षका तथ्याङ्क हेर्दा निर्यातमा हामी प्रत्येक वर्ष १९.४५ प्रतिशतले बढ्दो क्रममा छौँ । त्यस्तै, आयातमा ४.४३ प्रतिशतले बढ्दो क्रममा छौँ ।
यस्तै, परिमाणको अवस्था हेर्दा पाँच वर्षमा निर्यातका हिसाबमा १५.३९ प्रतिशतले बढ्दो क्रममा अगाडि बढेका छौँ । आयातका आधारमा १०.२३ प्रतिशतले घट्दो क्रममा छौँ । यसले के देखाउँछ भने हामीले गरेका जति पनि लगानी छन् आलु र तरकारीमा, यसले राम्रो ‘आउटपुट’ भएको देखाउँछ ।
कुन तरकारीको स्थान कति ?
नेपालको सन्दर्भमा बढी उत्पादन हुने तरकारीमा काउली, बन्दा, मुला, प्याज, रायो, करेला लगायत अग्र स्थानमा छन् । उत्पादन क्षेत्रफल, परिमाण र उत्पादकत्वका आधारमा ती बालीलाई ‘प्रमुख १० तरकारी’ भनेर छुट्ट्याउन सकिन्छ ।
नेपालको सन्दर्भमा बढी उत्पादन हुने तरकारीमा काउली, बन्दा, मुला, प्याज, रायो, करेला लगायत अग्र स्थानमा छन् । उत्पादन क्षेत्रफल, परिमाण र उत्पादकत्वका आधारमा ती बालीलाई ‘प्रमुख १० तरकारी’ भनेर छुट्ट्याउन सकिन्छ ।
उत्पादन गरिने क्षेत्रफलका आधारमा हामीकहाँ क्रमशः काउली, बन्दा, टामाटर , मुला, प्याज, रायो, काँक्रा, करेला, भिन्डी र भेन्टाको उत्पादन अग्रस्थानमा छ । यस्तै, उत्पादनका आधारमा क्रमशः काउली, बन्दा, टमाटर, मुला, रायो, प्याज, करेला, भेन्टा र लौका अग्रस्थानमा छन् ।
उत्पादकत्वका आधारमा क्रमशः खरबुजा, तरुल, टमाटर, मोरिङ्गा, बन्दा, लौका, अन्य तरकारी, मुला र काउली अग्रस्थानमा छन् ।
पहिचान भएका तरकारी
देशभर जम्माजम्मी २७३ वटा तरकारीका भेराइटी पहिचान गरिएको छ । हामीले तरकारी क्षेत्रमा काम गरिरहँदा ७७.३ प्रतिशत आयातीत तरकारीका भेराइटी दर्ता गरेका छौँ । तरकारीको बिउमा धेरै कार्य गर्न बाँकी छ भन्ने देखिन्छ । नेपालमा रहेका जति पनि तरकारीका ‘भेराइटी’ छन् । बाहिरबाट आयातीत हुन् वा आन्तरिक ‘भेराइटी’; ती सबै ‘भेराइटी’ हेर्दा ‘ओपन पोलिनेटेड भेराइटी’ ३१.५ प्रतिशत देखिन्छ भने ‘हाइब्रिड भेराइटी’ ६८.५ प्रतिशत देखिन्छ । त्यस्तै, आलुको अहिलेसम्म १६ वटा ‘भेराइटी’ दर्ता भएका छन् ।
नीति तथा व्यवस्था
संविधानले खाद्य सुरक्षा तथा खाद्य सम्प्रभुता हकलाई मौलिक हकका रूपमा व्यवस्था गरेको छ । यसमा हामीलाई नीतिगत सहयोग छन् भनेर अगाडि बढेका छौँ । यही हकलाई कार्यान्वयन गर्न ‘खाद्य सुरक्षा तथा खाद्य सम्प्रभुता नियमावली २०७८’ आएको छ । कृषि पेसालाई जसरी विश्वका सबै राष्ट्रले संरक्षण गर्दै आएका छन्, हामीले पनि त्यसैगरी संरक्षण गर्दै आएका छौँ र गर्नेछौँ । हामीकहाँ अहिले ‘लोकल भेराइटी’लाई प्रमोसन गर्न अनुसन्धानलाई प्राथमिकता दिएको देखिन्छ ।
यस्तै, बिउ–बिजन नियमावली २०६९ कार्यान्वयनमा छ । यसअन्तर्गत बिउबिजन गुणस्तर नियन्त्रण केन्द्र सञ्चालित छ ।
‘खाद्य अधिकार तथा खाद्य सम्प्रभुतासम्बन्धी नियमावली २०८० कार्यान्वयनमा आएको छ । यसमा विशेषगरी धान, गहुँ, मकै, कोदो मसुरो लगायत अन्य बालीको समर्थन मूल्य निर्धारण गर्न सकिने उल्लेख छ ।
अबका दिनमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयले खाद्यान्न, तरकारी, फलफूल लगायत विभिन्न बालीनालीका लागि सहयोग गर्ने गरी कार्यविधि बनाएर अगाडि जान सक्ने बाटो खोलिदिएको छ ।
किसान सूचीकरणको काम भइरहेको छ । यसले पनि तरकारी तथा आलु बालीलाई सहयोग गर्नेछ ।
यसैगरी हामीसँग कृषि नीति पनि छ, जसले कृषिको उत्पादन र उत्पादकत्व बढाउन बाटो देखाएको छ । यसैगरी हामीसँग कृषि विकास रणनीति पनि छ, जसले सातवटा भिजन इन्डिकेटर्स लिएर अगाडि बढेको छ ।
(नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्र्तगत राष्ट्रिय बागवानी अनुसन्धान केन्द्रको ११औँ राष्ट्रिय बागवानी कार्यशाला गोष्ठीमा ‘राष्ट्रिय आलु, तरकारी तथा मसला बाली विकास केन्द्र’ प्रमुख जानुका पण्डितले प्रस्तुत गरेको कार्यपत्रमा आधारित ।)