बुधबार, ०७ कात्तिक २०८१
ताजा लोकप्रिय

टी–२० विश्वकप : उपाधि होडबाट बाहिरिएका न्युजिल्यान्ड र युगान्डा अपसमा पहिलो पटक भिड्दै

शुक्रबार, ३२ जेठ २०८१, १७ : ०५
शुक्रबार, ३२ जेठ २०८१

काठमाडौँ । आईसीसी टी–२० विश्वकप क्रिकेटको नवौँ संस्करणमा शनिबार न्युजिल्यान्ड र युगान्डाबिच भिडन्त हुँदैछ । खेल ट्रिनिडाड एन्ड टोबागोस्थित ब्रायन लारा क्रिकेट एकेडेमीमा नेपाली समय अनुसार, विहान ०६ः१५ बजे सुरु हुनेछ ।

न्युजिल्यान्ड र युगान्डा दुबै समूहगत चरणबाटै घर फर्किने निश्चित भइसकेको छ । यी दुबै टोली प्रतियोगिताको समूह ‘सी’ मा छन् । त्यो समूहमा अफगानिस्तान, वेस्ट इन्डिज र पपुवा न्यु गिनी पनि रहेका छन् ।

समूह ‘सी’ बाट वेस्ट इन्डिज र अफगानिस्तान सुपर–८ चरणमा पुगिसकेका छन् । अन्य टोली भने उपाधि होडबाट बाहिरिएका छन् । तीन खेलबाट ६ अंक जोडेको अफगानिस्तान पहिलो र समान खेलबाट समान अंक जोडेको वेस्ट इन्डिज दोस्रो स्थानमा छन् ।

यसैगरी तीन खेलबाट दुई अंक बटुलेको युगान्डा तेस्रो स्थानमा छ । तीन खेल खेलेको पपुवा न्यु गिनी र दुई खेल खेलेको न्युजिल्यान्डले भने अंक बटुल्न सकेका छैनन् । युगान्डा आफ्नो पहिलो खेलमा अफगानिस्तानसँग एक सय २५ रनले हारेको थियो ।

युगान्डाले आफ्नो दोस्रो खेलमा पपुवा न्यु गिनीलाई तीन विकेटले हराएको थियो । युगान्डा आफ्नो तेस्रो खेलमा वेस्ट इन्डिजसँग एक सय ३४ रनले पराजित भएको थियो । न्युजिल्यान्ड भने आफ्नो पहिलो खेलमा अफगानिस्तानसँग ८४ रनले हारेको थियो ।

आफ्नो दोस्रो खेलमा न्युजिल्यान्डको टोली वेस्ट इन्डिजसँग १३ रनले पराजित भएको थियो । जारी विश्वकपमा खराब प्रदर्शन गरेको बलियो टेस्ट राष्ट्र न्युजिल्यान्डले समूहगत चरणमा आफ्नो अन्तिम खेल जुन १७ तारिखमा पपुवा न्यु गिनीसँग खेल्नेछ ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलद्वारा घोषित पछिल्लो टी–२० अन्तर्राष्ट्रिय वरीयतामा न्युजिल्यान्ड पाँचौँ र युगान्डा २२औँ स्थानमा छन् । टी–२० विश्वकपमा न्युजिल्यान्डको यो नवौँ सहभागिता हो । सन् २००७ मा सम्पन्न पहिलो संस्करणदेखि नै टी–२० विश्वकपमा सहभागिता जनाउँदै आएको छ ।

टी–२० विश्वकपमा न्युजिल्यान्डको उत्कृष्ट प्रदर्शन फाइनल प्रवेश हो । न्युजिल्यान्ड सन् २०२१ मा सम्पन्न टी–२० विश्वकपको फाइनलमा अस्ट्रेलियासँग आठ विकेटले पराजित भएको थियो । युगान्डाको भने टी–२० विश्वकपमा यो पहिलो सहभागिता हो ।

न्युजिल्यान्ड र युगान्डाले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा आपसमा एक खेल पनि खेलेका छैनन् । त्यसैले शनिबार विहान यी दुई टोली टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो पटक आपसमा भिड्ने छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप