आइतबार, २० असोज २०८१
ताजा लोकप्रिय
अदालत

वैदेशिक रोजगारीबाट फर्किँदा सुन तस्करी गरेको आरोप लागेका पाँच जनालाई सर्वोच्चले थुनामै पठायो

जिल्ला र उच्च अदालतकै निर्णय सदर
शुक्रबार, ३२ जेठ २०८१, १९ : ३७
शुक्रबार, ३२ जेठ २०८१

काठमाडौँ । सर्वोच्च अदालतले वैदेशिक रोजगारीबाट फर्केका श्रमिकमार्फत साढे दुई अर्ब रुपैयाँ बराबरको सुन तस्करी गरेको अभियोगमा थुनामा गरेका पाँच प्रतिवादीलाई थुनामै राख्ने निर्णय सदर गरेको छ ।

उक्त प्रकरणमा १२ जना पक्राउ परेका थिए भने उनीहरू विरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर भएको थियो । काठमाडौँ जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । उच्च अदालत पाटनले समेत जिल्ला अदालतकै आदेश सदर गरेको थियो ।

सर्वोच्चले शुक्रबार तल्लो अदालतकै निर्णय सदर गरेको हो । सर्वोच्चले सदर गरेसँगै उनीहरू मुद्दाको फैसला नभएसम्मका लागि थुनामा गएका छन् ।

वैदेशिक रोजगारीमा गएका नेपालीहरूलाई नेपाल फर्कदा तस्करहरूले निश्चित रकम दिएर नेपाल पठाउने अनि तस्करी गराउने गरेको दाबी अभियोगपत्रमा गरिएको थियो

कतारबाट भन्सार छली ल्याएको सुन काठमाडौँ, बागबजारस्थित निमाई साहले सञ्चालन गरेको सुर्पना ज्वेलर्समा बिक्री गर्ने गरेको अनुसन्धानमा खुलेको थियो ।

सुन तस्करी बापतको १ करोड ६७ लाख ८९ हजार ९९९ रुपैयाँ विभिन्न बैंकमा रहेका खातामा जम्मा भएको पाइएको थियो । सञ्जुकुमारी साहले रितेश जेनेरल स्टोर्स कै नाममा रहेको विभिन्न बैंक खाताहरूमा २ करोड १ लाख १८ हजार ५००, मोहन कुमार यादवले सोही स्टोर्सको नाममा रहेका विभिन्न बैंक खातामा ५ करोड १६ लाख १२ हजार, शिव सुन्दर राउतले मोहन कुमार यादवको नाममा रहेका विभिन्न बैंक खातामा १४ करोड ३९ लाख ७१ हजार ७० रुपैयाँ रकम पठाएको अनुसन्धानमा देखिएको थियो ।

त्यसैगरी, शिव सुन्दर राउतले सञ्चालन गरेको रितेश जेनेरल स्टोर्सको कुल कारोबार १ अर्ब ९६ करोड, शिवसुन्दर राउतको कुल कारोबार १२ करोड ११ लाख ४२ हजार ४००, विनोद कुमार साहको कुल कारोबार ४१ करोड ५४ लाख ७६ हजार ८६९ देखिएको प्रहरीको भनाइ छ ।

उनीहरूले वैदेशिक रोजगारका लागि कतारमा रहेकाहरूलाई प्रलोभनमा पारेर सुन तस्करी गराइरहेको पाइएको थियो ।

वैदेशिक रोजगारबाट फर्किन लागेकाहरूलाई विभिन्न प्रलोभनमा पारेर दैनिक १५ देखि २० जनालाई ५०÷५० ग्रामको दरले सुन नेपाल पठाउने गरेको अनुसन्धानमा पाइएको थियो ।

अनुसन्धानका क्रममा प्रहरीले निमाई साहले सञ्चालन गरेको सुर्पना ज्वेलर्सबाट ५४२ ग्राम तस्करी मार्फत भित्र्याएको सुन बरामद गरेको थियो ।

उक्त प्रकरणमा पक्राउ परेकामध्ये सञ्जुकुमारी साह, देनन्दन साह, शिव सुन्दर राउत, निमाई साह र विनोदकुमार साहले नेपाल सरकारलाई विपक्षी बनाउँदै सर्वोच्चमा ७३ नम्बरको निवेदन दिएका थिए । जिल्ला र उच्चले पुर्पक्षका लागि थुनामा पठाएपछि उक्त निर्णय विरुद्ध मुलुकी फौजदारी संहिता अनुसार माथिल्लो अदालत जाने सुविधा ७३ नम्बरमा दिइएको छ । उक्त सुविधा अनुसार उनीहरू सर्वोच्चमा पुगेका थिए ।

धनुषाधाम नगरपालिका–५ का ३४ वर्षीय नरेश पंजियार, सिराहा पर्टेवा नगरपालिका–१७ का २४ वर्षीय दिनेशकुमार यादव, बाँके राप्ती सोनारी गाउँपालिका–४ का ३६ वर्षीय भुमबहादुर वली, धनुषा मिथिला बिहारी नगरपालिका–५ का २५ वर्षीय सुनिल कुमार महरा, कपिलवस्तु शुद्धोधन गाउँपालिका–६ का २३ वर्षीय सन्त गुलाम मुराव, सप्तरी बलान बिहुल गाउँपालिका–२ घर भइ काठमाडौँ–९ सिनामङ्गल बस्ने २८ वर्षीय विनोद कुमार साह र उनकी श्रीमती २५ वर्षीय सञ्जु कुमारी साह लगायत पक्राउ परेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप