बुधबार, ०७ कात्तिक २०८१
ताजा लोकप्रिय
टी–२० विश्वकप

नेपाल पहिलो पटक दक्षिण अफ्रिकासँग भिड्दै, छैन जितको विकल्प

शुक्रबार, ३२ जेठ २०८१, १९ : ०९
शुक्रबार, ३२ जेठ २०८१

काठमाडौँ । आईसीसी टी–२० विश्वकपमा शनिबार नेपालले बलियो प्रतिद्वन्द्वी दक्षिण अफ्रिकाको सामना गर्दैछ । उक्त खेल किङ्सटाउनस्थित १८ हजार दर्शक क्षमताको आर्नोस भेल स्टेडियममा नेपाली समय अनुसार, विहान ०५ः१५ बजे सुरु हुनेछ । 

नेपाल र दक्षिण अफ्रिका समूह ‘डी’ मा छन् । बङ्गलादेश, नेदरल्यान्ड्स र श्रीलङ्का पनि यही समूहमा रहेका छन् । यो खेलमा नेपाल ‘गर या मर’ को स्थितिमा छ । प्रतियोगिताको ‘सुपर–८’ चरणमा पुग्ने सम्भावना जीवित राख्न यो खेलमा नेपालसँग दक्षिण अफ्रिकालाई हराउनुको विकल्प छैन । 

नेपालका लागि दक्षिण अफ्रिका बलियो प्रतिद्वन्द्वी हो । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलद्वारा घोषित पछिल्लो टी–२० अन्तर्राष्ट्रिय वरीयतामा दक्षिण अफ्रिका सातौँ स्थानमा छ । नेपाल भने वरीयताको १७औँ स्थानमा आसीन छ । 

दक्षिण अफ्रिका अघिल्लो संस्करणमा गरेको प्रदर्शनका आधारमा सिधै नवौँ संस्करणमा सहभागी भएको हो । नेपाल भने एसियाली क्षेत्रबाट छनोट चरण पार गर्दै विश्वकपमा सहभागी भएको हो । टी–२० विश्वकपमा नेपालको यो दोस्रो सहभागिता हो । 

यसअघि नेपालले सन् २०१४ मा सम्पन्न टी–२० विश्वकप खेलेको थियो । त्यतिबेला नेपाली टोली प्रारम्भिक चरणबाटै बाहिरिएको थियो । त्यतिबेला नेपालले समूहगत चरणमा तीनमध्ये दुई खेलमा जित हात पारेको थियो । 

टी–२० विश्वकपमा दक्षिण अफ्रिकाको यो नवौँ सहभागिता हो । दक्षिण अफ्रिकाले सन् २००७ मा सम्पन्न पहिलो संस्करणदेखि नै टी–२० विश्वकपमा सहभागिता जनाउँदै आएको छ । तर, दक्षिण अफ्रिका हालसम्म विश्वकपको फाइनलसम्म पनि पुग्न सकेको छैन । 

यसअघि दुई पटक दक्षिण अफ्रिका विश्वकपको सेमिफाइनलमा पुगेको छ । दक्षिण अफ्रिका सन् २००९ को सेमिफाइनलमा पाकिस्तानसँग सात रनले पराजित भएको थियो । त्यसपछि सन् २०१४ को सेमिफाइनलमा दक्षिण अफ्रिकालाई भारतले ६ विकेटले हराएको थियो । 

अङ्क तालिकाको समीकरण

समूह ‘डी’ मा नेपाल बाहेक अन्य टोलीले तीन–तीन खेल खेलिसकेका छन् । नेपालले भने आफ्नो तेस्रो खेल खेल्न लागेको हो । तीन खेलबाट ६ अङ्क बटुल्दै दक्षिण अफ्रिका पहिलो र समान खेलबाट चार अङ्क जोड्दै बङ्गलादेश दोस्रो स्थानमा छन् ।

Capture

यसैगरी तीन खेलबाट दुई अङ्क बटुलेको नेदरल्यान्ड्स तालिकाको तेस्रो स्थानमा छ । दुई खेलबाट एक अङ्क जोडेको नेपाल चौथो स्थानमा आसीन छ । तीन खेलबाट एक अङ्क जोडेको श्रीलङ्का पाँचौँ स्थानमा छ । श्रीलङ्का भने उपाधि होडबाट बाहिरिइसकेको छ ।

दक्षिण अफ्रिका यसअघि नै प्रतियोगिताको ‘सुपर–८’ चरणमा पुगिसकेको छ । दक्षिण अफ्रिका नवौँ विश्वकपको ‘सुपर–८’ चरणमा पुग्ने पहिलो टोली पनि हो । नेपालले भने सुपर–८ मा पुग्ने सम्भावना जीवित राख्न बाँकी दुवै खेल जित्नैपर्ने हुन्छ । नेपालले अन्तिम खेल बङ्गलादेशसँग खेल्नेछ ।  

अघिल्ला दुई खेलमा नेपालको प्रदर्शन

नेपाली टोली समूहगत चरणको आफ्नो पहिलो खेलमा नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको थियो । त्यो खेलमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपालले १९.२ ओभरमा अलआउट हुनुअघि एक सय ६ रनमात्र बनाउन सकेको थियो ।

जवाफी ब्याटिङमा ओर्लिएको नेदरल्यान्ड्सले भने १८.४ ओभरमा केवल चार विकेट गुमाएर एक सय नौ रन बनाउँदै विजयलक्ष्य पार गरेको थियो । त्यो खेलमा नेपालको ब्याटिङ र फिल्डिङ निराशाजनक देखिएको थियो । 

महत्वपूर्ण क्षणमा नेपालले दुईवटा क्याच छाडेको थियो भने एउटा रन आउटको अवसर पनि खेर फालेको थियो । त्यो खेलमा नेपालका कप्तान रोहित पौडेल बाहेक अन्य ब्याट्सम्यानले गतिलो प्रदर्शन गर्न सकेका थिएनन् । रोहितले सर्वाधिक ३५ रन बनाएका थिए । नेपालको ओपनिङ जोडी पनि सस्तैमा पेभेलियन फर्किएको थियो । 

ओपनर कुशल भुर्तेल सात र आसिफ शेख चार रनमा आउट भएका थिए । कप्तान रोहितका अतिरिक्त अनिल साह (११ रन), गुलसन झा (१४ रन) र करण केसी (१७ रन) ले मात्र दोहोरो सङ्ख्यामा रन बनाउन सकेका थिए । समग्रमा तीव्र गतिका दक्षिण अफ्रिकी बलरको आक्रमणका अगाडि नेपाली ब्याट्सम्यानहरू निरीह बनेका थिए ।

बलिङतर्फ नेपालका सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र अविनाश बोहराले एक–एक विकेट लिएका थिए । नेपाल र श्रीलङ्काबिच हुने भनिएको दोस्रो खेल भने वर्षाका कारण रद्द भएको थियो । त्यसपछि दुवै टोलीले एक–एक अङ्क पाएका थिए । शनिबारको खेलमा दक्षिण अफ्रिकालाई हराउन सके नेपाली टोली तीन अंकसहित तालिकाको तेस्रो स्थानमा उक्लनेछ ।

दक्षिण अफ्रिकाको अघिल्लो तीन खेल

अर्कोतिर, जारी विश्वकपमा दक्षिण अफ्रिका बलियो टोलीको रूपमा देखिएको छ । दक्षिण अफ्रिकाले यसअघि खेलेको तीन वटै खेलमा जित हात पारेको छ । दक्षिण अफ्रिका समूहगत चरणमा अपराजित रहँदै ‘सुपर–८’ चरणमा पुग्ने धुनमा छ । 

New-Project-2024-06-14T130203.427

त्यसैले टेस्ट राष्ट्र दक्षिण अफ्रिका शनिबारको खेलमा नेपालका लागि निकै बलियो प्रतिद्वन्द्वी हो । दक्षिण अफ्रिकाले आफ्नो पहिलो खेलमा अर्को टेस्ट राष्ट्र श्रीलङ्कालाई ६ विकेटले हराएको थियो । त्यो खेलमा श्रीलङ्काले दिएको ७८ रनको लक्ष्य दक्षिण अफ्रिकाले १६.२ ओभरमा पुरा गरेको थियो । 

आफ्नो दोस्रो खेलमा दक्षिण अफ्रिकाले नेदरल्यान्ड्सलाई चार विकेटले हराएको थियो । तेस्रो खेलमा भने दक्षिण अफ्रिकाले बंगलादेशमाथि चार रनको रोमाञ्चक जित हासिल गरेको थियो । जारी विश्वकपमा दक्षिण अफ्रिकाले उत्कृष्ट प्रदर्शन गर्दै आएको छ ।

टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो भिडन्त

नेपाल र दक्षिण अफ्रिकाको सिनियर टोलीले हालसम्म आपसमा एउटा पनि टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका छैनन् । त्यसैले यी दुवै टोली एक–अर्काका लागि नयाँ प्रतिद्वन्द्वी हुन् । विश्वकपमा शनिबार यी दुई टोलीबिच पहिलो पटक आपसमा भिडन्त हुनेछ । 

उमेर समूहमा नेपालले हराएको प्रतिद्वन्द्वी

उमेर समूहको अन्तर्राष्ट्रिय प्रतियोगितामा भने यसअघि नेपालले दुई पटक दक्षिण अफ्रिकालाई हराएको छ । सन् २००४ को यू–१९ विश्वकप बंगलादेशमा आयोजना भएको थियो । त्यो विश्वकपमा नेपालले पनि सहभागिता जनाएको थियो । त्यो विश्वकपमा नेपालले समूहगत चरणमा दक्षिण अफ्रिकालाई एक विकेटले हराएको थियो । 

यसैगरी सन् २००६ को यू–१९ विश्वकप श्रीलङ्कामा आयोजना भएको थियो । त्यो विश्वकप नेपालका लागि ऐतिहासिक थियो । त्यही विश्वकपमा पहिलो पटक नेपालले प्लेट च्याम्पियनसिपको उपाधि पनि चुमेको थियो । 

यू–१९ विश्वकपमा नेपालले हासिल गरेको त्यो सबैभन्दा ठुलो उपलब्धि थियो । प्लेट च्याम्पियनसिपको फाइनलमा नेपालले बलियो टेस्ट राष्ट्र न्युजिल्यान्डलाई एक विकेटले हराएको थियो । त्यसअघि सेमिफाइनल खेलमा नेपालले दक्षिण अफ्रिकालाई दुई रनले पराजित गरेको थियो । 

सन्दीपको आगमनले उत्साही

जारी विश्वकपमा नेपालको यसअघिको दुवै खेल अमेरिकामा थियो । अघिल्ला दुईमध्ये एक खेलमा नेपाल पराजित भएको थियो भने एक खेल वर्षाका कारण रद्द भएको थियो । अघिल्ला दुई खेलमा प्रभावशाली लेग–स्पिनर सन्दीप लामिछाने नेपाली टोलीमा सहभागी थिएनन् ।

अमेरिकाले भिसा (प्रवेशाज्ञा) दिन अस्वीकार गरेका कारण सन्दीप अमेरिका जान पाएका थिएनन् । तर, नेपालले जारी विश्वकपको पछिल्ला दुई खेल भने क्यारेबियन राष्ट्रमा खेल्दैछ । पछिल्ला दुवै खेलमा सन्दीप लामिछाने नेपाली टोलीमा रहने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ ।

सन्दीप विश्वकपको पछिल्ला दुई खेल खेल्न एक साताअघि नै वेस्ट इन्डिज पुगिसकेका छन् । दक्षिण अफ्रिकाविरुद्धको खेलअघि सन्दीपले अभ्यास गर्दै गरेको तस्बिरहरू पनि क्यानले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको छ । 

क्यानले विश्वकपको पछिल्ला दुई खेलका लागि सन्दीपलाई टोलीमा पनि समावेश गरेको छ । त्यसैले दक्षिण अफ्रिकाविरुद्धको खेलमा सन्दीप पनि प्लेइङ–११ भित्र पर्ने अनुमान गरिएको छ । नेपाली टोलीका कप्तान रोहित पौडेलले पनि सन्दीपले पछिल्ला दुई खेल खेल्ने सङ्केत गरेका छन् ।

पछिल्लो समय सन्दीपले राष्ट्रिय टोलीको प्रतिनिधित्व नगरे पनि व्यावसायिक क्रिकेटमा सक्रिय रहेकाले उनको लयमा कुनै फरक नपरेको कप्तान रोहितको बुझाइ छ । सन्दीपले गत वर्षको नोभेम्बरदेखि अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका छैनन् । 

सन्दीप वेस्ट इन्डिजका स्टेडियमको पिचसँग पनि राम्रैसँग परिचित छन् । क्यारेबियन राष्ट्रको पिचमा स्पिन बलरहरूले उत्कृष्ट प्रदर्शन पनि गर्दै आएको पाइन्छ । २३ वर्षीय सन्दीपले यसअघि क्यारेबियन प्रिमियर लिग पनि खेलिसकेका छन् ।  

पुरा गर्लान् त सय विकेटको कोशेढुंगा ?

नेपाली टोलीका प्रभावशाली बलर सन्दीप लामिछाने नेपालका लागि सबैभन्दा बढी अन्तर्राष्ट्रिय विकेट लिने बलर हुन् । उनले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा पनि एक सय विकेटको सँघारमा छन् । उनले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा हालसम्म ९८ विकेट लिइसकेका छन् । 

जारी विश्वकपको दक्षिण अफ्रिकाविरुद्धको खेलमा थप दुई विकेट लिए उनले एक सय विकेटको कोशेढुंगा पार गर्नेछन् । सन्दीपले ५२ वटा टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेल्दै ९८ विकेट लिएका हुन् । दक्षिण अफ्रिकाविरुद्धको खेल उनका लागि ५३औँ खेल हुनेछ । 

दक्षिण अफ्रिकाविरुद्धको खेलमा थप दुई विकेट लिएमा उनले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा एउटा कीर्तिमानको बराबरी पनि गर्नेछन् । सन्दीपले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा कम खेल खेल्दै एक सय विकेट लिने खेलाडीको सूचिमा आफ्नो नाम दर्ता गराउने छन् । 

टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा कम खेल खेल्दै एक सय विकेट लिने बलर अफगानिस्तानका रासिद खान हुन् । उनले पनि ५३ खेल खेल्दै एक सय विकेट लिएका हुन् । शनिबारको खेलमा थप दुई विकेट लिए सन्दीपले रासिदको बराबरी गर्नेछन् ।

सन्दीपले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटको एउटै पालीमा गरेको उत्कृष्ट प्रदर्शन केवल नौ रन दिएर पाँच विकेट हो । विभिन्न राष्ट्रमा चर्चित फ्रेन्चाइज क्रिकेट खेलिसकेका उनले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा एकपटक पाँच विकेट र दुई पटक चार विकेट लिएका छन् । 

यसका अतिरिक्त उनले ५१ एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको ५० पालीमा कुल एक सय १२ विकेट लिएका छन् । एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा उनको उत्कृष्ट प्रदर्शन केवल ११ रन खर्चिएर ६ विकेट हो । एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा उनले तीन पटक पाँच वा त्योभन्दा बढी विकेट र आठ पटक चार विकेट लिएका छन् ।

सन्दीप सन् २०२३ मा एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक विकेट लिने विश्वभरका बलरहरूको सूचिमा चौथो नम्बरमा रहेका थिए । उनले सन् २०२३ मा २१ खेल खेल्दै ४३ विकेट लिएका थिए । भारतका मोहम्मद सामीले भने १९ खेलमा ४३ विकेट लिएका थिए । 

त्यो वर्ष भारतका कुलदीप यादबले २९ पालीमा सर्वाधिक ४९ विकेट लिएका थिए । यो सूचिको दोस्रो स्थानमा रहेका भारतीय बलर मोहम्मद सिराजले २४ पालीमा ४४ विकेट लिएका थिए । नेपाललाई टी–२० विश्वकपमा छनोट गराउन पनि सन्दीपको महत्त्वपूर्ण भूमिका रहेको थियो ।

ओपनिङ जोडीमा सुधार आवश्यक

पछिल्लो समय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको ओपनिङ जोडीको प्रदर्शन प्रभावकारी देखिएको छैन । जारी विश्वकपको नेदरल्यान्ड्सविरुद्धको पहिलो खेलमा पनि यो क्रमले निरन्तरता पायो । त्यो खेलमा नेपालका दुवै ओपनर कुशल भुर्तेल र आसिफ शेख सस्तैमा पेभेलियन फर्किए ।

ओपनिङ जोडीले गतिलो सुरुआत दिन नसकेपछि दबाबमा परेका अन्य ब्याट्सम्यान पनि एकपछि अर्को गर्दै पेभेलियन फर्किने क्रम जारी रह्यो । ओपनिङ जोडीले डच टोलीविरुद्ध केवल १० रनको साझेदारी गरेको थियो । 

विश्वकपअघि खेलिएको क्यानडाविरुद्धको अभ्यास खेलमा पनि ओपनिङ जोडी कुशल भुर्तेल र आसिफ शेखले गतिलो प्रदर्शन गर्न सकेका थिएनन् । क्यानडाविरुद्धको उक्त खेलमा ओपनर कुशल भुर्तेल केवल १० रन बनाउँदै आउट भएका थिए । अर्का ओपनर आसिफ शेख पनि २२ रन बनाउँदै पेभेलियन फर्किएका थिए ।

विश्वकपमा बलिया प्रतिद्वन्द्वीहरुविरुद्ध टोलीलाई गतिलो सुरुआत दिन ओपनिङ जोडीले निखारिएको प्रदर्शन गर्नुको विकल्प देखिँदैन । विश्वकपअघि घरेलु मैदानमा सम्पन्न त्रिकोणात्मक टी–२० शृङ्खलामा पनि नेपालको ओपनिङ जोडी खासै प्रभावकारी देखिएको थिएन ।

उक्त शृङ्खलाको नामिबियाविरुद्धको पहिलो खेलमा कुशल शून्य रनमा र आसिफ शेख ६ रनमै आउट भएका थिए । नेदरल्यान्ड्सविरुद्धको दोस्रो खेलमा कुशल भुर्तेल शून्य रनमा र आसिफ शेख ३४ रनमा पेभेलियन फर्किएका थिए ।

नामिबियाविरुद्धको तेस्रो खेलमा भने ओपनरको भूमिकामा कुशल भुर्तेलको स्थानमा अनिल साह आएका थिए । त्यो खेलमा अनिल साह २३ रन बनाउँदै आउट भएका थिए भने आसिफ शेख एक रनको व्यक्तिगत स्कोरमै क्रिजबाट बाहिरिएका थिए । नेदरल्यान्ड्सविरुद्धको चौथो खेलमा नेपालका ओपनर कुशल भुर्तेल १२ र आसिफ शेख आठ रन बनाउँदै आउट भएका थिए । 

यसैगरी सन् २०२४ को अप्रिलमा ओमानमा खेलिएको एसीसी प्रिमियर कपमा पनि नेपाली ओपनरको भूमिका खासै प्रभावकारी देखिएको थिएन । प्रिमियर कपमा नेपाल चौथो भएको थियो । तेस्रो स्थानका लागि खेलिएको हङ्कङविरुद्धको खेलमा नेपालका ओपनर कुशल भुर्तेल शून्य र आसिफ शेख पाँच रनमा आउट भएका थिए । 

त्यसअघि खेलिएको संयुक्त अरब इमिरेट्स (यूएई)विरुद्धको सेमिफाइनल खेलमा पनि नेपालका ओपनर कुशल भुर्तेल शून्य र आसिफ शेख आठ रनमा पेभेलियन फर्किएका थिए ।सोही प्रतियोगिताको समूहगत चरणमा साउदी अरेबियाविरुद्ध नेपालका ओपनर कुशल भुर्तेलले शून्य र आसिफ शेखले दुई रनमात्र बनाउन सकेका थिए ।

यसैगरी समूहगत चरणमै हङ्कङविरुद्धको खेलमा भने नेपालको ओपनिङ जोडीले निखारिएको प्रदर्शन गरेको थियो । त्यो खेलमा ओपनिङ जोडीले ७० रनको साझेदारी गरेको थियो । कुशल भुर्तेलले ३२ र आसिफ शेखले ४० रन बनाएका थिए । 

कतारविरुद्धको खेलमा पनि नेपालका ओपनर ब्याट्सम्यान आसिफ शेखले उत्कृष्ट अर्धशतक बनाएका थिए । त्यो खेलमा उनले ४१ बलमा ६ चौकाको मद्दतले ५२ रन बनाएका थिए । अर्का ओपनर कुशल भुर्तेल भने १२ रनमा पेभेलियन फर्किएका थिए । 

एसीसी प्रिमियर कपको समूहगत चरणमा मलेसियाविरुद्धको पहिलो खेलमा पनि नेपालको ओपनिङ जोडीको प्रदर्शन खासै प्रभावकारी थिएन । त्यो खेलमा ओपनिङ जोडीले ४४ रनको साझेदारी गरेको थियो । त्यो खेलमा ओपनर कुशल भुर्तेलले २४ र आसिफ शेखले ३२ रन बनाएका थिए । त्यसैले टी–२० विश्वकपको बुधवार बिहान खेलिने श्रीलंकाविरुद्धको पहिलो खेलमा नेपालको ओपनिङ जोडीमाथि धेरैको आँखा रहने छ । 

वर्षाको सम्भावना कम

नेपाल र दक्षिण अफ्रिकाबिच खेल हुने दिन शनिबार किङ्सटाउनको आकाश बादलले ढाकिएको हुनेछ । तर, वर्षाको सम्भावना भने निकै कम रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । किङ्सटाउनमा शनिबारको औसत तापक्रम ३० डिग्री सेल्सियस रहने बताइएको छ ।

सन्तुलित प्रकृतिको पिच

नेपाल र दक्षिण अफ्रिकाबिचको खेल हुने किङ्सटाउनस्थित आर्नोस भेल स्टेडियमको पिच सन्तुलित प्रकृतिको रहेको छ । यो स्टेडियममा यसअघि बङ्गलादेश र नेदरल्यान्ड्सबिचको खेल खेलिएको थियो । त्यो खेलमा पहिले ब्याटिङ गर्दै बङ्गलादेशले पाँच विकेट गुमाएर एक सय ५९ रन बनाएको थियो ।

जवाफी ब्याटिङमा ओर्लिएको नेदरल्यान्ड्सले भने निर्धारित ओभरमा आठ विकेट गुमाएर एक सय ३४ रनमात्र बनाउन सकेको थियो । खेलमा बङ्गलादेश २५ रनले विजयी भएको थियो । त्यो खेलको सुरुको ओभरमा बल निकै स्विङ भएको देखिन्थ्यो । सुरुको केही ओभरपछि त्यहाँको पिचले स्पिन बलरहरूलाई राम्रो साथ दिएको थियो । यो स्टेडियममा ब्याट्सम्यानको प्रदर्शन पनि सन्तोषजनक देखिन्छ । 

सम्भावित टोली

नेपालको सम्भावित टोलीमा रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), अनिल साह, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, गुलसन झा, करण केसी, सागर ढकाल वा सन्दीप लामिछाने र अविनाश बोहरा रहेका छन् । 

यसैगरी दक्षिण अफ्रिकाको सम्भावित टोलीमा एडेन मारक्रम (कप्तान), क्विन्टन डी काक (विकेटकिपर), रिजा हेन्ड्रिक्स, ट्रिस्टन स्टब्स, हेनरिच क्लासेन, डेभिड मिल्लर, मार्को जानसेन, केशव माहाराज, कागिसो राबडा, ओट्निल बार्टम्यान र एनरिच नोर्जे रहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रोशन राउत
रोशन राउत
लेखकबाट थप